फाकफोकथुमका सातै वडामा सार्वजनिक सुनुवाइ सम्पन्न, नागरिकका सुझावलाई योजना निर्माणमा समेटिने  (तस्बिर/भिडियोसहित)

  नयाँ बुलन्द
21 Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिकाले सञ्चालन गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम सातै वडामा सम्पन्न भएको छ ।

स्थानीय सरकारको कामकारबाहीलाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममार्फत गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न भएका विकास निर्माण, सेवा प्रवाह तथा सुशासनसम्बन्धी गतिविधिबारे नागरिकलाई जानकारी गराएको छ ।

गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रमअनुसार जेठ ३१ गते वडा नं. २ को कोलबोटेबाट सुरु भएको सार्वजनिक सुनुवाइ असार ६ गते शनिबार फाकफोकथुम गाउँपालिकाको सभाहलमा सम्पन्न सातौं कार्यक्रम सम्पन्न भएको हो ।

फाकफोकथुम गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा सेवाग्राहीहरुले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

कार्यक्रममा अर्जुनकुमार लिम्बू, प्रजापति भण्डारी, टटबहादुर राई, लक्ष्मण घतानीलगायतले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

उनीहरुले पूर्वाधार विकास, सडक निर्माण, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन, बसाइसराई तथा विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहका विषयमा गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

सेवाग्राहीको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, ३ नं. वड अध्यक्ष दिपेन्द्र लिम्बू, स्वास्थ्य शाखा प्रमुख यामबहादुर बस्नेत, शिक्षा शाखाका लिलाराज कोइरालालगायतले दिएका थिए । उनीहरुले सेवाग्राहीको प्रश्न र सुझावलाई सम्पतिको रुपमा ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयन गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

गाउँपालिका अध्यक्ष खनालले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले प्राप्त सुझावहरु आइतबारदेखि हुने कार्यपालिका बैठकमा छलफल गर्ने गर्ने र आवश्यक सुझावहरु कार्यान्वयन गर्ने बताए ।

कार्यक्रमको उद्देश्यसहित स्वागत मन्तव्य ३ नं. वडा सचिव सीता राइले गरेकी थिइन् । ३ नं. वडाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहबारे वडा अध्यक्ष दिपेन्द्र लिम्बू र गाउँपालिकाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहबारे प्रशासकीय अधिकृत विज्ञान पौडेले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका सहजकर्ता राम योङहाङले नागरिक अभिमत प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु ‍औंल्याईएको थियो ।त्यस्तै बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।

यसअघि असार १ गते वडा नं. ६ को पोखरीमा, २ गते वडा नं. ७ को दोकानडाँडामा, ३ गते वडा नं. ५ को लुम्देमा, ४ गते वडा नं. ४ को फुएतप्पामा, ५ गते वडा नं. १ को ठिङ्गेपुरमा समेत कार्यक्रम आयोजना गरी स्थानीय नागरिक, राजनीतिक दल, सामाजिक संघसंस्था, विद्यालय, सहकारी तथा विभिन्न सरोकारवालासँग प्रत्यक्ष संवाद गरिएको गाउँपालिकाले जनाएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्षहित वडाध्यक्षहरू, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरूले हालसम्म सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, खानेपानी, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन तथा अन्य सेवा प्रवाहका विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा सहभागी नागरिकहरूले विकास निर्माणका कामको गुणस्तर, योजनाको प्रभावकारिता, सेवा प्रवाहमा देखिएका समस्या तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा आफ्ना धारणा, सुझाव र जिज्ञासा राखेका थिए । सहभागीहरूले सडक, खानेपानी, कृषि विकास, स्वास्थ्य सेवा, विद्युत् विस्तार तथा युवामुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए ।

जनप्रतिनिधि तथा कर्मचारीहरूले नागरिकबाट प्राप्त गुनासा र सुझावको जवाफ दिँदै समस्याको समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सार्वजनिक सुनुवाइमा उठेका विषयलाई आगामी नीति, कार्यक्रम तथा बजेट निर्माणका क्रममा प्राथमिकताका साथ समेटिने गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए ।

सार्वजनिक सुनुवाइ स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण माध्यम भएको बताउँदै अध्यक्ष खनालले जनताका सुझाव र प्रतिक्रियालाई विकास योजनाको आधार बनाइने उल्लेख गरे । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

सार्वजनिक सुनुवाइबाट नागरिकको सहभागिता वृद्धि हुनुका साथै स्थानीय सरकारप्रति विश्वास अभिवृद्धि भएको प्रमुख प्रशासकीयअ अधिकृत निर्मल तुम्रोकले बताए । साथै विकास निर्माणका काममा पारदर्शिता कायम गर्न, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा जनप्रतिनिधि र कर्मचारीलाई उत्तरदायी बनाउन कार्यक्रम उपयोगी बनेको उनको भनाइ छ ।

सातै वडामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय तहमा सुशासन प्रवर्द्धन, नागरिक सहभागिता अभिवृद्धि र विकास प्रक्रियामा जनउत्तरदायित्व सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन् ।

भिडियो लिङ्क

तस्बिरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार