फाकफोकथुम गाउँपालिका-१ मा सडक स्तरोन्नति, कृषि प्रवर्द्धन र सेवा प्रवाहमा उल्लेखनीय प्रगति

  नयाँ बुलन्द
28 Shares

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका वडा नं. १ ले आर्थिक वर्ष २०८२/०८३ मा पूर्वाधार विकास, कृषि तथा पशुपालन प्रवर्द्धन, स्वास्थ्य सेवा, सुशासन र प्रभावकारी सेवा प्रवाहका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।

शुक्रबार फाकफोकथुम गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सार्वजनिक गरेको प्रगति विवरणअनुसार सेवाग्राहीलाई सहज र छिटो सेवा प्रदान गर्न विभेदरहित सेवा प्रणाली अवलम्बन गरिएको छ । कार्यालयमा ‘पहिले आउनेलाई पहिले सेवा’ नीति लागू गरिएको छ भने अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिकालाई विशेष प्राथमिकता दिइएको छ । राजस्व संकलन तथा नागरिकता सिफारिसलगायतका सेवाहरू अनलाइन प्रणालीमार्फत प्रदान गरिएको छ । योजनासम्बन्धी कागजात तयारी, आवश्यक फोटोकपी सेवा तथा विद्युतीय माध्यमबाट कागजात पठाउने व्यवस्था समेत मिलाइएको वडा अध्यक्ष कर्णबहादुर लिम्बूले बताए ।

सामाजिक सुरक्षा भत्ता नवीकरण तथा बायोमेट्रिक प्रमाणीकरणका लागि विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको वडाले जनाएको छ । उपभोक्ता समिति गठन प्रक्रिया पारदर्शी बनाउन कम्तीमा तीन दिन अगावै सूचना प्रकाशन गर्ने अभ्यासलाई निरन्तरता दिइएको छ । पाँच लाख रुपैयाँभन्दा माथिका योजनाहरू गाउँपालिकाको उपाध्यक्षसहितको अनुगमन टोलीबाट निरीक्षणपछि मात्र भुक्तानी सिफारिस गरिने व्यवस्था गरिएको छ ।

पूर्वाधार विकासतर्फ संघ र प्रदेश सरकारको सहयोग तथा गाउँपालिकाको साझेदारीमा आमचोक–ठिङ्गेपुर, दशमी–कुवापानी, उत्तरे-लुङसुङदाङ र पञ्चमी-तमाखे सडकहरूको स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ । गाउँपालिकास्तरीय योजनाअन्तर्गत ३२ लाख रुपैयाँ लागतको आमचोक शंकरचोक-ठिङ्गेपुर खाम्वाङ सडक निर्माण सम्पन्न भएको छ भने छायादेवी चुक्रुम्बा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । छायादेवी माध्यमिक विद्यालयको गेट निर्माण कार्य भने जारी रहेको छ ।

वडा सिलिङबाट विनियोजित बजेटमार्फत सडक सरसफाइ, विद्यालयका भौतिक संरचना मर्मत, तमसीघाट पर्खाल निर्माण, सिंहदेवी मन्दिर निर्माण, धर्मद्वार गुफा मर्मत, कालीदेवी मन्दिर व्यवस्थापन तथा खाम्वाङ खोप केन्द्रमा शौचालय निर्माणका कार्यहरू सम्पन्न भएका छन् । वडा कार्यालयको रङरोगन तथा व्यवस्थापन कार्य कार्यान्वयनको चरणमा रहेको छ ।

कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै गोठ सुधार कार्यक्रम सञ्चालन गरिएको छ । कृषि प्रवर्द्धन कार्यक्रम कार्यान्वयनमा रहेको छ भने किसान सूचिकरण र गरिब घरपरिवार पहिचान कार्यक्रम सम्पन्न गरिएको छ । पशु स्वास्थ्य सेवाअन्तर्गत पाँच हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरुद्ध खोप लगाइएको छ । २ हजार ५ सय पशुलाई खोरेत, ४२२ पशुलाई लम्पी स्किन, १ हजार ५ सय साना पशुलाई पीपीआर, ६५ पशुलाई रेबिज र २ सय ५० पशुलाई स्वाइन फिभरविरुद्धको खोप लगाइएको वडाले जनाएको छ ।

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत ६ लाख ३० हजार रुपैयाँको लागतमा अविरल वर्षाका कारण क्षति पुगेको एक कुलो मर्मत तथा पुनःनिर्माण गरिएको छ । साथै लुङसुङदाङ र खाम्वाङ क्षेत्रमा सडक सोलिङको काम सम्पन्न गरिएको छ । साना सिँचाइ योजनाअन्तर्गत ठिङ्गेपुर र लुङसुङदाङ क्षेत्रमा निर्माण कार्य सम्पन्न भई भुक्तानीसमेत भइसकेको छ ।

स्वास्थ्य क्षेत्रमा नियमित स्वास्थ्य सेवा तथा खोप कार्यक्रम सञ्चालन भइरहेका छन् । खोज तथा खोप अभियान सञ्चालन गरी वडा पूर्ण खोप सुनिश्चित वडा घोषणा भएको छ । गाउँघर क्लिनिकमार्फत दीर्घरोगीलाई नियमित रूपमा निःशुल्क औषधि वितरण गरिँदै आएको छ । विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम मासिक रूपमा सञ्चालन हुँदै आएको छ भने पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्थाको नियमित अभिलेखीकरण भइरहेको छ ।

महिला तथा लक्षित वर्गको सशक्तीकरणका लागि महिला उद्यमशीलता अभिमुखीकरण तालिम, पाँच दिने उद्घोषण तालिम, मौरीपालन तालिम तथा घार वितरण कार्यक्रम सञ्चालन गरिएको छ । आदिवासी जनजातिहरूका लागि जातीय नाच सिकाउने कार्यक्रम सम्पन्न भएको छ भने गाउँपालिकाको आयोजनामा एकीकृत घुम्ती शिविरसमेत सञ्चालन गरिएको छ ।

सुशासन प्रवर्द्धनतर्फ नागरिक वडापत्रको व्यवस्था, सूचना पाटीमार्फत नियमित सूचना प्रवाह, सामाजिक सञ्जाल तथा सार्वजनिक स्थानमार्फत सूचना प्रकाशन तथा पारदर्शितामा जोड दिइएको वडा कार्यालयले जनाएको छ । जनसहभागितामूलक शासन प्रणालीलाई संस्थागत गर्न वडा निरन्तर सक्रिय रहेको उल्लेख गरिएको छ ।

राजस्व संकलनतर्फ चालु आर्थिक वर्षको जेठ मसान्तसम्म वडा कार्यालयले ६ लाख ८० हजार ७०५ रुपैयाँ ४० पैसा राजस्व संकलन गरेको छ । जसमध्ये मालपोत तथा भूमिकरबाट १ लाख ५ हजार ९६१ रुपैयाँ र विभिन्न सिफारिस तथा सेवा शुल्कबाट ५ लाख ७४ हजार ७०५ रुपैयाँ संकलन भएको वडा सचिव विनोद कार्कीले बताए ।

व्यक्तिगत घटना दर्तातर्फ जेठ मसान्तसम्म ५३ जन्मदर्ता, ३१ मृत्यु दर्ता, २४ विवाह दर्ता, पाँच सम्बन्ध विच्छेद दर्ता तथा २८५ वटा विभिन्न घटना दर्ता भएका छन् । सोही अवधिमा ११५ नागरिकता सिफारिस, ६५ नागरिकता प्रतिलिपि सिफारिस, ८२ नाता प्रमाणित, १७५ घरजग्गासम्बन्धी सिफारिस, ६५ बैंक खाता सिफारिस, ११० अंग्रेजी सिफारिस तथा ३९२ अन्य सिफारिस गरी कुल १ हजार ४ वटा पत्र चलानी भएको तथ्यांक वडाले सार्वजनिक गरेको छ ।

वडा कार्यालयका अनुसार विकास निर्माण, कृषि उत्पादन वृद्धि, स्वास्थ्य सेवा विस्तार, रोजगार सिर्जना तथा सुशासन प्रवर्द्धनमार्फत वडा नं. १ लाई समृद्ध र सेवामुखी बनाउने अभियानलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार