चुलाचुलीको बजेट ४९ करोड १० लाख, कृषि, पूर्वाधार र सुशासनलाई प्राथमिकता

  नयाँ बुलन्द
14 Shares

इलाम : इलामको चुलाचुली गाउँपालिका ले आर्थिक वर्ष २०८३/८४ का लागि ४९ करोड १० लाख ८५ हजार रुपैयाँको बजेट पारित गरेको छ । गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम, बजेट तथा विभिन्न विधेयकहरू सर्वसम्मत रूपमा पारित गर्दै बुधबार सम्पन्न भएको हो ।

चुलाचुली-४ स्थित गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनमा गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष राजेन्द्र केरुङको अध्यक्षता रहेको थियो । अधिवेशनले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, चालु आर्थिक वर्षको यथार्थ आयव्यय विवरणसहितको बजेट वक्तव्य, लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउने सम्बन्धी ऐन २०८३, न्यायिक समितिले उजुरीको कारबाही तथा फैसला कार्यान्वयन गर्दा अपनाउनुपर्ने कार्यविधि सम्बन्धी विधेयक–२०८३ तथा लेखा समिति गठन सम्बन्धी कार्यविधि २०८३ सर्वसम्मत रूपमा पारित गरेको छ ।

गाउँसभाको पहिलो कार्यसूची अन्तर्गत अध्यक्ष केरुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । २० पृष्ठ लामो नीति तथा कार्यक्रममा कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, सुशासन तथा भाषासंस्कृति संरक्षणलाई प्राथमिकता दिइएको छ ।

यस्तै, दोस्रो कार्यसूची अन्तर्गत उपाध्यक्ष दिलकुमारी लावतीले चालु आर्थिक वर्ष २०८२/८३ को यथार्थ आयव्यय विवरणसहित आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी थिइन् । उनले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४२ करोड ८७ लाख १० हजार रुपैयाँ आम्दानी भएको र त्यसको ६१.०५ प्रतिशत खर्च भइसकेको जानकारी दिइन् ।

क्षेत्रगत बजेट विनियोजन

उपाध्यक्ष लावतीले प्रस्तुत गरेको बजेटअनुसार आर्थिक विकास क्षेत्रअन्तर्गत कृषि, पशु सेवा, सहकारी तथा पर्यटन कार्यक्रमका लागि ६४ लाख रुपैयाँ विनियोजन गरिएको छ। सामाजिक विकासतर्फ २ करोड ९१ लाख ४८ हजार रुपैयाँ छुट्याइएको छ भने पूर्वाधार विकास क्षेत्रमा ६ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी वातावरण तथा विपद् व्यवस्थापनका लागि ५५ लाख रुपैयाँ, संस्थागत विकास तथा सुशासनका लागि २७ लाख ५० हजार रुपैयाँ तथा कार्यालय सञ्चालन र प्रशासनिक खर्चका लागि १० करोड ५७ लाख ८७ हजार रुपैयाँ विनियोजन गरिएको छ। संघ तथा प्रदेश सरकारसँग साझेदारीमा सञ्चालन हुने कार्यक्रमका लागि २ करोड ५५ लाख रुपैयाँको समपूरक कोषको व्यवस्था गरिएको छ ।

बजेटका स्रोत

गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट व्यवस्थापनका लागि विभिन्न स्रोतबाट रकम जुटाउने योजना बनाएको छ । बजेटका प्रमुख स्रोतहरूमा संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबापत ९ करोड १० लाख ८५ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट ७२ लाख ७० हजार २५० रुपैयाँ, संघीय वित्तीय समानीकरण अनुदानबाट ९ करोड ८० लाख रुपैयाँ तथा कोशी प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानबाट ८६ लाख ७ हजार रुपैयाँ समावेश छन् ।

त्यसैगरी संघीय सरकारको सशर्त अनुदानबाट १८ करोड ७ लाख रुपैयाँ, प्रदेश सरकारको सशर्त अनुदानबाट ४० लाख रुपैयाँ, संघीय समपूरक अनुदानबाट १ करोड ५५ लाख रुपैयाँ, संघीय विशेष अनुदानबाट ४५ लाख रुपैयाँ तथा प्रदेश समपूरक अनुदानबाट १ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ

स्थानीय राजस्व बाँडफाँटबाट ३ करोड ५० लाख रुपैयाँ, गाउँपालिकाको आन्तरिक स्रोतबाट २ करोड १ लाख ९५ हजार रुपैयाँ, सञ्चित कोषको मौज्दातबाट १ करोड १८ लाख ८६ हजार ७ सय ५० रुपैयाँ तथा जनसहभागिताबाट ४० लाख रुपैयाँ जुट्ने अनुमानका आधारमा बजेट निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

लेखा समिति गठन

गाउँसभाले वडा नम्बर ३ का वडा सदस्य सुरेश थुलुङको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत गठन गरेको छ । समितिले गाउँपालिकाको वित्तीय अनुशासन, पारदर्शिता तथा खर्चको प्रभावकारिता अनुगमन गर्ने जिम्मेवारी पाउनेछ ।

जनप्रतिनिधिहरूले उठाए विकासका मुद्दा

गाउँसभाको अन्त्यमा भएको शून्य समयमा वडा नम्बर १ का वडाध्यक्ष पूर्ण लावती, वडा नम्बर २ का वडाध्यक्ष लक्ष्मण श्रेष्ठ, वडा नम्बर ५ का वडाध्यक्ष बबिन राई तथा कार्यपालिका सदस्य गंगा सुवेदीले आआफ्नो धारणा राख्दै आगामी बजेटको प्रभावकारी कार्यान्वयन, विकास योजनाको गुणस्तर तथा सेवा प्रवाह सुधारमा जोड दिएका थिए ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटलाई कृषि उत्पादन वृद्धि, पूर्वाधार विकास, सुशासन प्रवर्द्धन तथा स्थानीय आवश्यकतामा आधारित विकास योजनाको कार्यान्वयनमार्फत समृद्ध चुलाचुली निर्माण गर्ने आधारका रूपमा प्रस्तुत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार