
सन्दकपुर गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
इलाम, कोशी प्रदेश, नेपाल
आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम वक्तव्य
गाउँसभाका सभाध्यक्षज्यू,
गाउँसभाका सदस्यज्यूहरू,
नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुनी व्यवस्था बमोजिम सन्दकपुर गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्त हर्ष लागेको छ ।
यस अवसरमा लोकतन्त्र, संघीय शासन व्यवस्था तथा राष्ट्र निर्माणका लागि जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै राष्ट्रको विकास तथा समृद्धिका लागि योगदान पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति सम्मान व्यक्त गर्दछु ।
१. आर्थिक तथा वित्तीय अवस्थाको समीक्षाः
आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रम तथा योजनाबाट शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सुरक्षा तथा सुशासनका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएका छन् । गत वर्षको असोज १८ देखि २० गतेसम्म परे अविरल वर्षाबाट सिंगो इलाम जिल्ला नै प्रभावित हुदा हाम्रो सन्दकपुर गाउँपालिका पनि अछुतो रहन सकेन । त्यस वाबजुत सीमित स्रोत साधन, बढ्दो जनअपेक्षा तथा विकास निर्माणका चुनौतीहरूको सामना गर्दै विपद् बाट आम जनताको जिवन स्तर उकास्न पालिकाले महत्वपुर्ण भुमिका निर्वाह गरेको कुरा सर्वविदितै रहेको छ ।
२. बजेटका उद्देश्यः
गाउँपालिकाको प्रमुख आर्थिक आधारको रूपमा रहेको कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण तथा विविधीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषकको आयस्तर अभिवृद्धि गर्ने, कृषि उपजको बजारीकरणलाई सहज साथै नस्ल सुधार कार्यक्रम मार्फत कृषकहरुलाई कृषि/पशुपालन क्षेत्रमा आत्मनिर्भरता हासिल गराउने । सन्दकपुर गाउँपालिका भित्र रहेका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण, प्रवर्द्धन र उपयोगमार्फत पर्यटन क्षेत्रको विकास गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने तथा गाउँपालिकाको आर्थिक समृद्धिमा योगदान पुर्याइने छ । शिक्षा तथा स्वास्थ्य क्षेत्रको भौतिक, प्राविधिक र संस्थागत क्षमता अभिवृद्धि गर्दै गुणस्तरीय, सर्वसुलभ र पहुँचयोग्य सेवा सुनिश्चित गरी मानव विकास सूचकाङ्कमा सुधार ल्याइने छ । सडक, पुल, खानेपानी, सिंचाइ, सार्वजनिक भवन लगायतका पूर्वाधारहरूको योजनाबद्ध निर्माण, स्तरोन्नति तथा संरक्षणमार्फत वातावरणमैत्री र दिगो पूर्वाधार विकासलाई निरन्तरता दिइनेछ । स्थानीय स्रोत, साधन र सीपको उपयोग गरी स्वरोजगार तथा उद्यमशीलता विकासका अवसरहरू सिर्जना गर्ने, युवाहरूलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्ने तथा बेरोजगारी न्यूनीकरणमा योगदान पुर्याउने र सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी, जवाफदेही तथा नागरिकमैत्री बनाउँदै सूचना प्रविधिको उपयोग, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण तथा नागरिक सहभागितामार्फत सुशासनको प्रत्याभूति गराउने यो वजेटको मुख्य उद्देश्य रहेको छ ।
३. बजेटका प्राथमिकताः
सन्दकपुर गाउँपालिकाको मुख्य आम्दानीको श्रोतको रुपमा कृषि र पर्यटन रहेका छन् । वजेट निर्माणका क्रममा सिमीत श्रोत साधनहरुको अधिकतम उपयोग गरी कृषि र पर्यटन क्षेत्रमा विषेश वजेटको व्यवस्थापन गरिएको छ । शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग गरि व्यापक रुपमा शैक्षिक सुधार गरिनेछ । शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि विशेष कार्यक्रमको व्यवस्था गरिएको छ । पर्यटन पात्रो अनुसारका कार्यक्रमहरुको कार्यन्वयन गरिनेछ । विपद् बाट क्षति ग्रस्त सडक तथा पुलहरुको संचालनका लागि बजेटको व्यवस्थापन गरिएको छ । नागरिक आरोग्य कार्यक्रमलाई विषेश प्राथमिकता दिएको छ । विपद् बाट प्रभावित नागरिकका लागि जग्गा व्यवस्था तथा विपद्को जोखिम न्युनिकरण गर्नका लागि आवास विमा लगायतका कार्यक्रमहरुलाई प्राथमिकताका साथ बजेटको व्यवस्थापन गरिएको छ । बजेटले उत्पादन र रोजगारी वृद्धि, कृषि आधुनिकीकरण, पूर्वाधार विकास, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, पर्यटन प्रवर्द्धन, सुशासन तथा वातावरण संरक्षणलाई प्रमुख प्राथमिकताका रूपमा अंगीकार गरेको छ ।
४. आय अनुमानः
आर्थिक वर्ष २०८३/०८४ का लागि गाउँपालिकाको कुल आय अनुमान निम्नानुसार रहेको छः
| आयको स्रोत | रकम (रु.) |
| संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान | ८,५८,००,००० |
| संघीय सरकार राजस्व बाँडफाँड | ८,१२,७६,००० |
| सशर्त अनुदान चालु | १६,०१,००,००० |
| सशर्त अनुदान पुजिगत | ३,०२,००,००० |
| समपूरक अनुदान | १,०५,००,००० |
| विशेष अनुदान | ७९,००,००० |
| प्रदेश सरकारबाट प्राप्त समानिकरण अनुदान | ७३,६५,००० |
| प्रदेश सरकार समपुरक अनुदान | १,४०,००,००० |
| प्रदेश सरकार शसर्त अनुदान चालु | ७३,९०,००० |
| प्रदेश सरकार शसर्त अनुदान पुँजिगत | १,१२,३२,००० |
| प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँड | ७१,९५,२९३ |
| स्थानिय राजश्व बाँडफाँड | ११,००,००० |
| आन्तरिक आय | १,७४,१२,००० |
| बैंक मौज्दात | ४०,०९,२७८ |
| जनसहभागिता | १,००,००,००० |
| जम्मा | ४५,५४,७९,५७१ |
५. व्यय अनुमानः
| क्षेत्र | रकम (रु.) |
| आर्थिक विकास | ५,५४,८०,५७१।०० |
| सामाजिक विकास | २१,०२,२२,०००।०० |
| पूर्वाधार विकास | ६,०९,००,०००।०० |
| वन, वातावरण तथा विपद् व्यवस्थापन | ८४,२०,०००।०० |
| सुशासन तथा संस्थागत विकास | १२,०४,५७,०००।०० |
| जम्मा | ४५,५४,७९,५७१।०० |
६. क्षेत्रगत कार्यक्रमहरू
आर्थिक विकास क्षेत्रः
सन्दकपुर गाउँपालिकाको प्रमुख आय स्रोतको रुपमा रहेको कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र उत्पादनमुखी बनाउन स्थानीय स्रोत, साधन तथा प्रविधिको उपयोग गर्दै कृषकहरुको आयस्तर बृद्धि गर्नका लागि स्थानीय स्तरमा फलफूल तथा तरकारी बालीको ब्राण्डीङ्ग तथा प्याकेजिङ्गको कार्यको सुरुवात गरिएको छ ।“किसानसँग स्थानीय सरकार” भन्ने नारा लाइ सार्थकता दिदै कृषकहरुसंग लागत साझेदारीमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नका लागि वजेटको व्यवस्थापन गरिएको छ । प्रत्येक वडाको प्रमुख कृषि उत्पादनको पहिचान गरी उत्पादन वृद्धि तथा बजारीकरण प्रवर्द्धन गर्न “एक वडा एक उत्पादन” कार्यक्रमका लागि रु. १० लाख विनियोजन गरिएको छ । खोरेत रोग तथा लम्फि रोग नियन्त्रणका लागि वजेट विनियोजन गरिएको छ । गत आ व देखि नै सञ्चालनमा रहेका छुर्पी तथा चौरी/याक प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइएको छ । पर्यटन प्रवर्द्धन तथा विकासका लागि निर्माणाधिन फाल्गुनन्द पदमार्ग यसै आ.व मा सम्पन्न तथा सञ्चालन गर्नका लागि रु २ करोड ५६ लाख ९४ हजार विनियोजन गरिएको छ,उक्त ट्रेलमा फाल्गुनन्द ट्रेल रेस र साँस्कृतिक महोत्सव सञ्चालन गर्नका लागि आवश्यक वजेट विनियोजन गरिएको छ । नेपाल पर्यटन वोर्ड,प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा रेडपाण्डा महोत्सव कार्यक्रमलाई निरन्तरता दिइएको छ । पर्यटन प्रवर्द्धनका लागि एक स्थानीय तह स्वाद घर कार्यक्रम साथै अन्य कार्यक्रम सञ्चालन गर्नका लागि रु ११ लाख वजेट विनियोजन गरिएको छ । गाउँपालिकामा पाइने विभिन्न चराहरुको अध्ययन तथा अनुसन्धानका लागि रु २ लाख विनियोजन गरिएको छ । लघुउद्यमको कार्यक्रमलाई निरन्तरता दिदै संघ तथा प्रदेश सरकारसँगको साझेदारीमा रोजगार प्रवर्द्धन कार्यक्रमका लागि रु ३० लाख विनियोजन गरिएको छ । सहकारीहरुको क्षमता विकास तथा अभिमुखिकरणका लागि रु ५ लाख वजेट विनियोजन गरिएको छ । निर्माणाधिन तथा विपद् वाट क्षति पुगेका सिंचाई आयोजनाहरुको मर्मत तथा सञ्चालन गर्नका लागि आवश्यक वजेट विनियोजन गरिएको छ । आर्थिक विकास क्षेत्रका लागि जम्मा रु.५,५४,८०,५७१।०० (अक्षरेपी पाच करोड चौवन्न लाख असी हजार पाच सय एकहत्तर मात्र । )विनियोजन गरिएको छ ।
सामाजिक विकास क्षेत्रः
शिक्षा स्वास्थ्य, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका, युवा तथा खेलकुद, सामाजिक समावेशीकरण, संस्कृति संरक्षण तथा सामाजिक सुरक्षालाई सुदृढ गरी समतामूलक, समावेशी र समृद्ध समाज निर्माण गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ । अन्तर विद्यालयस्तरीय खेलकुद कार्यक्रमका लागि आवश्यक वजेट विनियोजन गरिएको छ । प्र अ शिक्षक र वालविकास सहजकर्ताको क्षमता विकासका लागि रु ७ लाख वजेट विनियोजन गरिएको छ । जिल्ला स्तरीय राष्ट्रपति खेलकुद प्रतियोगितामा मेडल प्राप्त गर्ने विद्यार्थीहरुलाई उचित पुरस्कारका लागि वजेट व्यवस्थापन गरिएको छ । उत्कृष्ट विद्यार्थी,शिक्षक,प्रधानाध्यपक र विद्यालयलाई पुरस्कार सहित सम्मान गर्नका लागि आवश्यक वजेट व्यवस्थापन गरिएको छ । प्रदेश सरकारसंगको साझेदारीमा माध्यमिक विद्यालयमा आवासीय छात्रावास सञ्चालन तथा व्यवस्थापनका लागि रु३० लाख विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रको सुधारका लागि विगतका कार्यक्रमहरुलाई निरन्तरता दिइ आवश्यक वजेटको व्यावस्थापन गरिएको छ । ६० वर्ष उमेर हदका कारण महिला स्वास्थ्य स्वंसेविकाहरुलाई सम्मान सहित विदाइ गर्नका लागि आवश्यक वजेटको विनियोजन गरिएको छ । २४ घण्टे प्रसुति केन्द्रमा काम गर्ने कर्मचारी र स्वयंसेविकाहरुलाई प्रोत्साहनका लागि वजेट व्यवस्थापन गरिएको छ । यस आ व मा वडा नं ३ घरमा हुने प्रसुति अन्त्य गरि पूर्णरुपमा संस्थागत प्रसुति कायम गर्न रु १ लाख वजेट विनियोजन गरिएको छ । एम्वुलेन्स खरिद तथा सञ्चलान व्यवस्थापन गर्नका लागि वजेट व्यवस्थापन गरिएको छ । आर्युवेद शाखा मार्फत नागरिक आरोग्य कार्यक्रम लाई निरन्तरता दिदै वितरण हुने औषधि खरिदका लागि रु.८ लाख २० हजार वजेट विनियोजन गरिएको छ । सन्दकपुर गाउँपालिकालाई वालमैत्री पालिका घोषणा गर्नका लागि वजेट व्यवस्था गरिएको छ । समाजमा हुने कुरीति,छुवाछुत र जातिय भेदभावको अन्त्य सम्वन्धि सचेतनाका लागि आवश्यक वजेट विनियोजन गरिएको छ । लक्षित वर्गहरुको उत्थानका लागि रु.८ लाख वजेट व्यवस्थापन गरिएको छ । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत राष्ट्रिय परिचय पत्र नम्वर वायोम्याट्रिक डिभाइसद्धारा प्रमाणिकरण गर्नका आवश्यक वजेट व्यवस्थापन गरिएको छ । ३५ दिन भित्र जन्म दर्ता गर्ने अविभावकलाई प्रोत्साहन गर्नका लागि वजेट विनियोजन गरिएको छ । सन्दकपुर ३ नं वडाको दिर्घकालिन खानेपानी समस्य समाधान गर्नका लागि मलातेनी सन्दकपुर सुलुवुङ्ग खानेपानी आयोजनाका लागि रु ७९ लाख वजेट विनियोजन गरिएको छ । सामाजिक विकासका लागि जम्मा रु.२१,०२,२२,०००।०० (अक्षरेपी एकाइस करोड दुइ लाख वाइस हजार पाच सय एकहत्तर मात्र । ) विनियोजन गरिएको छ ।
पूर्वाधार विकास क्षेत्रः
दिगो, सुरक्षित, वातावरणमैत्री तथा गुणस्तरीय पूर्वाधार निर्माणमार्फत नागरिकलाई सहज सेवा प्रवाह, आर्थिक गतिविधिको विस्तार तथा समग्र स्थानीय विकासलाई टेवा पुर्याउन बाह्रैमास यातायात सञ्चालन हुने सडक मर्मतका लागि वजेटको व्यवस्थापन गरिएको छ । नेपाल सरकारसँगको ५० प्रतिशत लागत साझेदारीमा निर्माणधिन चाँपगैरी छाँगे आलुवारी विखे भञ्ज्याङ्ग सडकको लागि रु १ करोड ५० लाख विनियोजन गरिएको छ । प्रदेश सरकारसँगको साझेदारीमा निर्माणाधिन कृष्णभिर जमुना जौवारी सडक र देउराली माइपाताल जितपाले सडकका लागि रु.२ करोड वजेट विनियोजन गरिएको छ । विपद् वाट क्षति पुगेका सडकहरुको पुनः निर्माण तथा मर्मतका लागि आवश्यक वजेट विनियोजन गरिएको छ । सिमा जोडिएको स्थानीय तहहरुको साझेदारीद्धारा आयोजना निर्माणका लागि वजेट व्यवस्थापन गरिनुका साथै सन्दकपुर ५ नं वडा मा निर्माणाधिन जमुना स्वास्थ्य चौकी भवनको निर्माण कार्यलाई निरन्तरता दिन रु २० लाख विनियोजन गरिएको छ । सन्दकपुर ५ जमुनामा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक वजेट विनियोजन गरिएको छ । पूर्वाधार शाखालाइ थप व्यवस्थापन गर्नका लागि आवश्यक विनियोजन गरिएको छ । माइपोखरी देउराली सडक निर्माण कार्यलाई निरन्तरता दिनका लागि रु २० लाख वजेट विनियोजन गरिएको छ । गाउँपालिका क्षेत्रभित्रको सडक सञ्जालको दीर्घकालीन तथा योजनाबद्ध विकासका लागि सडक गुरुयोजना निर्माण लागि बजेट विनियोजन गरिएको छ । पूर्वाधार विकास क्षेत्रमा जम्मा रु. ६,०९,००,०००।०० (अक्षरेपी छ करोड नौ लाख मात्र । )विनियोजन गरिएको छ ।
वन वातावरण तथा विपद् व्यवस्थापन विषय क्षेत्रः
प्राकृतिक स्रोत, वन तथा जैविक विविधताको संरक्षण, वातावरणीय सन्तुलन कायम, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा विपद् जोखिम व्यवस्थापन मार्फत सुरक्षित, दिगो र उत्थानशील समुदाय निर्माण गर्नका लागि विपद् व्यवस्थापन कोषमा रु ५० लाख व्यवस्था गरिएको छ । विगतका विपद् तथा प्राकृतिक प्रकोपबाट पाठ सिक्दै पहिलो चरणमा विपद् जोखिम न्यूनीकरणका लागि आवास विमा कार्यक्रम सञ्चालनका लागि रु.२ लाख वजेट विनियोजन गरिएको छ । विपद प्रभावित घर परिवारलाई जग्गा व्यवस्थापन गर्नका लागि रु.७ लाख विनियोजन गरिएको छ । विपद् व्यवस्थापन समिति र स्वंसेवकहरुका लागि विपद् व्यवस्थापन पूर्व तयारी तालिम सञ्चालन गर्न आवश्यक वजेट व्यवस्थापन गरिएको छ । प्राकृतिक श्रोत तथा सम्पदाहरुको संरक्षण तथा सम्वर्द्धन गर्न वृहत वृक्षरोपण कार्यक्रम सञ्चालनका लागि वजेट विनियोजन गरिएको छ । गाउँपालिकामा रहेका प्रमुख पर्यटकिय स्थलहरुको फोहोर व्यवस्थापन गर्नका लागि आवश्यक बजेटको व्यवस्थापन गरिएको छ । वन वातावरण तथा विपद् व्यवस्थापन विषय क्षेत्रमा जम्मा रु. ८४,२०,०००।०० (अक्षरेपी चौरासी लाख विस हजार मात्र । )विनियोजन गरिएको छ ।
सुशासन तथा संस्थागत विकास क्षेत्रः
स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी, जवाफदेही, उत्तरदायी र नागरिकमैत्री बनाउन संस्थागत क्षमता विकास, सुशासन प्रवर्द्धन, वित्तीय अनुशासन, सूचना प्रविधिको प्रयोग तथा प्रशासनिक सुधारका कार्यक्रमहरू सञ्चालन गर्नका लागि आवश्यक बजेटको व्यवस्थापन गरिएको छ । संस्थागत क्षमता अभिवृद्धिका लागि जनप्रतिनिधि तथा कर्मचारीको ज्ञान, सीप र दक्षता विकास गर्न आवश्यकतामा आधारित क्षमता विकास, तालिम, अभिमुखीकरण तथा अध्ययन अवलोकन कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । उपभोक्ता हित संरक्षण बजार अनुगमन कार्यलाइ निरन्तरता दिन वजेटको व्यवस्थापन गरिएको छ । कर्मचारीहरुको क्षमता विकास गर्दै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनका लागि वजेट विनियोजन गरिएको छ । पारदर्शिता र नागरिक सहभागिता अभिवृद्धि गर्न सार्वजनिक सुनुवाई,सार्वजनिक परिक्षण,सामाजिक परिक्षण,व्यवस्थापन परिक्षण लगायतका कार्यहरु साथै पालिकावाट सञ्चालित योजना तथा कार्यक्रमहरुको नियमित अनुगमन तथा सुपरीवेक्षणका गर्नका लागि आवश्यक वजेट विनियोजन गरिएको छ । कर्मचारीहरुको कार्यसम्पादन मुल्याँकन अनुसार प्रोत्साहन उपलब्ध गराउनका लागि वजेट व्यवस्थापन गरिएको छ । मेलमिलाप र मध्यस्ततालाई प्रोत्साहन गरि समाज र टोलमा शान्ति,सुव्यवस्था र आमचयन स्थापनामा पहल गरिने छ । विवादहरुलाई मेलमिलाप र मध्यस्थ गराउने व्यवस्थाका लागि मेलमिलापकर्ताहरुको क्षमता विकासका लागि वजेट विनियोजन गरिएको छ । नियमित रुपमा सञ्चालन हुने एकीकृत घुम्ती सेवा घरदैलो सेवा जस्ता कार्यक्रमहरुलाइ निरन्तर सञ्चालन गर्नका लागि आवश्यक रकमको व्यवस्था गरिएको छ । स्थानीय तहबाट प्रदान गरिने सेवाहरूलाई थप प्रभावकारी, पारदर्शी, प्रविधिमैत्री तथा नागरिकमैत्री बनाउन गाउँपालिकाका सबै वडा कार्यालय तथा सेवा केन्द्रहरूमा डिजिटल वडापत्र प्रणाली सञ्चालन गरिनेछ। यस प्रणालीमार्फत नागरिकहरूले सेवा, प्रक्रिया, आवश्यक कागजात, शुल्क, समयसीमा तथा जिम्मेवार पदाधिकारी सम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था गरि आवश्यक वजेट विनियोजन गरिएको छ । सुशासन तथा संस्थागत विकास क्षेत्रका लागि जम्मा रु. १२,०४,५७,०००।०० (अक्षरेपी बाह्र करोड चार लाख सन्ताउन्न हजार मात्र । ) वजेट विनियोजन गरिएको छ ।
गाउँसभाका सभाध्यक्षज्यू,
गाउँसभाका सदस्यज्यूहरू,
आ.व २०८३/०८४ को क्षेत्रगत विनियोजित वजेटलाई यसै साथ अनुसुचीहरुमा समावेश गरिएको छ ।गाउँसभाका सभाध्यक्षज्यू,
गाउँसभाका सदस्यज्यूहरू,
माथि उल्लेखित बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन नियमित अनुगमन, मूल्याङ्कन तथा सार्वजनिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गरिनेछ । अन्त्यमा, प्रस्तुत बजेट तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याउनुहुने संघीय तथा प्रदेश सरकार, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत तथा सम्पूर्ण गाउँवासीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । प्रस्तुत बजेटले गाउँपालिकाको समग्र विकास, समृद्धि र नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण आधार बन्ने विश्वास लिएको छु ।
धन्यवाद !
हरि बहादुर लुङ्गेली
गाउँपालिका उपाध्यक्ष

















































