इलाम : इलामको चुलाचुली गाउँपालिका ले आर्थिक वर्ष २०८३/८४ का लागि कृषि आधुनिकीकरण, प्राविधिक शिक्षा, रोजगारी सिर्जना, पूर्वाधार विकास र सुशासनलाई केन्द्रमा राखेर वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा अध्यक्ष राजेन्द्र केरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा प्रशासनिक पूर्वाधार, सवल र सक्षम सुशासनयुक्त व्यवस्थापन चुलाचुली गाउँपालिकाको समृद्धिको आधार’ भन्ने मूल नारालाई आत्मसात गरिएको छ ।
नीति तथा कार्यक्रममा गाउँपालिकाले सामना गरिरहेका कमजोर भौतिक पूर्वाधार, दक्ष जनशक्तिको अभाव, छरिएका बस्ती, कमजोर आन्तरिक स्रोत, सार्वजनिक निर्माणको गुणस्तर तथा पर्यटन पूर्वाधार विकासका चुनौतीलाई सम्बोधन गर्ने लक्ष्य राखिएको छ। गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार र सुशासनका क्षेत्रमा केन्द्रित भएर विकास अभियान अघि बढाउने जनाएको छ ।
कृषि आधुनिकीकरण र उत्पादन वृद्धिमा जोड
गाउँपालिकाले कृषि क्षेत्रलाई आर्थिक विकासको मुख्य आधार मानेर आधुनिकीकरण, विविधीकरण, बजारीकरण तथा व्यवसायीकरणमार्फत नागरिकको जीवनस्तर उकास्ने नीति लिएको छ। किसानहरूको वर्गीकरण गरी कृषक परिचयपत्र वितरण गर्ने, कृषि तथा पशु पकेट कार्यक्रम सञ्चालन गर्ने, बाँझो जमिनको उपयोग बढाउने तथा प्रत्येक वडामा सामूहिक कृषि व्यवसाय सञ्चालन गर्ने योजना अघि सारिएको छ ।
फलफूल, अर्गानिक तरकारी, पशुपालन, खाद्यान्न तथा दलहन उत्पादनलाई प्रोत्साहन गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने रणनीति अवलम्बन गरिएको छ । कृषि उत्पादन भण्डारण तथा बजारीकरणका लागि आवश्यक पूर्वाधार निर्माणमा समेत जोड दिइएको छ ।
प्राविधिक शिक्षा र सीप विकासलाई प्राथमिकता
नीति तथा कार्यक्रममा प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखिएको छ। सिपयुक्त जनशक्ति उत्पादन, प्राविधिक विषयमा छात्रवृत्ति, प्राविधिक शिक्षालयको स्तरोन्नति तथा विद्यालय शिक्षालाई रोजगारमुखी बनाउने लक्ष्य राखिएको छ ।
गाउँ शिक्षा योजना निर्माण गरी कार्यान्वयनमा ल्याउने, स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक विकास गर्ने तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने नीति पनि लिइएको छ। एसईई परीक्षाको नतिजा सुधारका लागि पूर्वतयारी कार्यक्रमलाई थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ ।
स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य
गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने लक्ष्य राखेको छ। स्वास्थ्य सेवाको गुणस्तर सुधार, सेवा विस्तार तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणलाई आगामी वर्षको प्राथमिकतामा राखिएको छ ।
पर्यटन र रोजगारी सिर्जनामा ध्यान
स्थानीय प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटन विकास गर्ने नीति लिइएको छ। पर्यटन पूर्वाधार निर्माणसँगै स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने कार्यक्रम सञ्चालन गरिने भएको छ। युवालाई सीप विकास तथा उद्यमशीलतासँग जोड्ने योजनासमेत नीति तथा कार्यक्रममा समेटिएको छ ।
भूमिसम्बन्धी सेवा स्थानीय तहबाटै
गाउँपालिकाले मालपोत र नापीसम्बन्धी सेवा लिन अन्य जिल्लासम्म धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षदेखि सबै प्रकारका भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय स्तरबाटै सञ्चालन गर्ने तयारी गरिएको छ ।
त्यस्तै, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोगसँग सहकार्य गरी जग्गाधनी प्रमाणपुर्जा वितरण प्रक्रिया अघि बढाइने भएको छ ।
वन, वातावरण र सुशासनमा विशेष जोड
अवैध वन कटानी, तस्करी तथा वन डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउने, निजी वन दर्ता गर्ने, सामुदायिक वनको संरक्षण तथा वनजन्य उद्योग प्रवर्द्धन गर्ने नीति लिइएको छ ।
यस्तै, गाउँपालिकाले सेवा प्रवाहलाई थप पारदर्शी, चुस्त र गुणस्तरीय बनाउँदै सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ। सार्वजनिक प्रशासन सुधार, संस्थागत क्षमता अभिवृद्धि तथा नागरिकमैत्री सेवा विस्तारमार्फत प्रभावकारी शासन प्रणाली विकास गर्ने लक्ष्य नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
अध्यक्ष केरुङले प्रस्तुत नीति तथा कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षण, पर्यटन र सुशासनका माध्यमबाट समृद्ध चुलाचुली निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गरेका छन् ।
















































