
इलाम : इलामको सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब १८ करोड ४३ लाख ४६ हजार ३ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।नगरसभामा कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालले आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब १८ करोड ४३ लाख ४६ हजार ३०० रुपियाँको बजेट प्रस्तुत गरेका हुन् ।
सार्वजनिक बजेटमध्ये पुँजीगत (विकास) तर्फ ४८ करोड १६ लाख २९ हजार रुपियाँ अर्थात् ४०.६७ प्रतिशत र चालु तर्फ ७० करोड २७ लाख १७ हजार ३०० रुपियाँ अर्थात् ५९.३३ प्रतिशत विनियोजन गरिएको छ।
नगरपालिकाका अनुसार आन्तरिक राजस्वबाट ६ करोड २५ लाख, संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक अनुदानबापत ६४ करोड ७३ लाख, प्रदेश सरकारबाट ६ करोड ९३ लाख ८९ हजार, राजस्व बाँडफाँडबाट १६ करोड ७६ लाख ५५ हजार तथा अघिल्लो वर्षको मौज्दातबाट २१ करोड ५७ लाख २ हजार ३०० रुपियाँ जुट्ने अनुमान गरिएको छ।
नगरले सामाजिक विकास क्षेत्रमा ५४ करोड ७६ लाख ११ हजार रुपियाँ (४६.२४ प्रतिशत) विनियोजन गरेको छ। पूर्वाधार विकासतर्फ ३० करोड १ लाख ५४ हजार रुपियाँ (२५.३४ प्रतिशत), आर्थिक विकास क्षेत्रमा ८ करोड ८२ लाख ९३ हजार रुपियाँ (७.४५ प्रतिशत), वन, वातावरण तथा विपद् व्यवस्थापनमा ६ करोड ५१ लाख रुपियाँ (५.५ प्रतिशत), सुशासन तथा संस्थागत क्षमता विकासमा २ करोड ५८ लाख ८८ हजार रुपियाँ (२.१९ प्रतिशत) तथा कार्यालय सञ्चालन र प्रशासनिक खर्चतर्फ १५ करोड ७३ लाख रुपियाँ (१३.२८ प्रतिशत) विनियोजन गरिएको छ।
त्यस्तै, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा नौ करोड नौ लाख ८८ हजार रुपियाँ (७.६९ प्रतिशत) बजेट छुट्याइएको छ।
नगरपालिकाले महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउन महिलाको नाममा दर्ता हुने उद्योग–व्यवसायमा ३५ प्रतिशत कर छुट दिने व्यवस्था गरेको छ। त्यस्तै “ग” श्रेणीसम्मको अपाङ्गता परिचयपत्र भएका व्यक्तिद्वारा सञ्चालित व्यवसायमा ५० प्रतिशतसम्म कर छुट दिने व्यवस्था गरिएको छ।
नगरभित्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा कडा रोगका बिरामीलाई वडाबाट उपलब्ध हुने सिफारिस र नाता प्रमाणीकरणलगायतका सेवाहरू निःशुल्क गरिने व्यवस्था गरिएको छ।
सामुदायिक विद्यालयमा अध्ययनरत “ग” श्रेणीसम्मका अपाङ्गता भएका विद्यार्थी तथा दलित विद्यार्थीलाई कुनै पनि प्रकारको शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
नगरपालिकाले चिया उद्योगलाई प्रोत्साहन गर्न तयारी चिया उत्पादन गर्ने उद्योगले वार्षिक उत्पादनका आधारमा एकमुष्ट कर बुझाउन सक्ने वा प्रतिकिलोग्राम १ रुपियाँ ५० पैसाका दरले किस्ताबन्दीमा कर बुझाउन सक्ने लचिलो व्यवस्था गरेको छ।
कार्यवाहक नगर प्रमुख बरालका अनुसार नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको हो ।
















































