चुलाचुली गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम (पूर्ण पाठ)

  नयाँ बुलन्द
14 Shares

 

चुलाचुली पालिका

गाउँ कार्यपालिकाको कार्यालय

चुलाचुली इलाम, कोशी प्रदेश २०८३

चुलाचुली गाउँपालिकाको गाउँसभाको १८ औँ अधिवेशनमा २०८३ असार १० गते बुधबार अध्यक्ष श्री राजेन्द्र केरुङले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०८३/८४ को बार्षिक नीति तथा कार्यक्रम

चुलाचुली गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

चुलाचुली इलाम, कोशी प्रदेश

भौतिक, आर्थिक, सामाजिक, साँस्कृतिक तथा प्रशासनिक पूर्वाधार, सवल, सक्षम सुशासन युक्त व्यवस्थापन चुलाचुली गाउँपालिकाको समृद्धिको आधार

गाउँसभाका उपाध्यक्षज्यू,

गाउँसभाका सदस्यहरुज्यू

राज्य पुनःसंरचना पछि नेपालको संविधानले नेपालमा तीन तहको सरकारको व्यवस्था गरेको साथै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपालमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गरी तीन तहको सरकारहरु क्रियासिल रहेको छ । नेपालका तीनै तहका सरकारहरुको एकल अधिकार र साझा अधिकारहरुको विशिष्ठ व्यवस्था गरिएको छ ।

नेपालको संविधान, स्थानीय सरकार सन्चालन ऐन २०७४, कोशी प्रदेश सरकारले जारी गरेको गाउँसभा तथा नगरसभा संचालन ऐन, २०७५ प्रचलित कानूनको अधीनमा रही निर्माण भएका विभिन्न नियम र कार्यविधिहरुको परिधि भित्र रही गाउँसभाका १८ औँ अधिवेशन गर्न गइरहेका छौँ ।

स्थानीय सरकारको रुपमा रहेको चुलाचुली गाउँपालिकाको अध्यक्ष तथा यो गरिमामय सभाको सभाध्यक्षको हैसियतले गाउँ सभाको यस १८ औँ अधिवेशनको प्रथम बैठकमा गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८३र८४ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न गईरहेको छु । नेपालको राजनीतिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणका लागि जीवन उत्सर्ग गर्नुहुने सम्पुर्ण ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त बिशेषतालाई आत्मासाथ गरी विविधता बीचको एकता, सामाजिक साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सदभावलाई संरक्षण गर्दै राष्ट्रियता, स्वाधिनता, लोकतन्त्र, सामाजिक न्याय, समानता र समृद्धिको लागि नेतृत्व गर्नु हुने नेपाली राजनीतिक व्यक्ति व्यक्तित्वहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, २०७४,स्थानीय तहको योजना तर्जूमा दिग्दर्शन, २०७८, आवधिक योजनाहरु, नेपाल सरकार, प्रदेश सरकार र चुलाचुली गाउँपालिकाले गरेको प्रतिवद्धता, दीगो विकासको लक्ष्य, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, महिला बालबालिका, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, संघीय सरकार तथा प्रदेश सरकारको क्षेत्रगत नीति, स्थानीय चुनावी घोषणा–पत्र, गाउँपालिकाले जनता समक्ष गरेको प्रतिबद्धता, स्थानीय आवधिक योजनाहरुलाई गाउँपालिकाको सम्बृद्धिको गन्तव्य प्राप्तिका लागि निर्माण गरिने नीति तथा कार्यक्रमको मूलआधार मानिएको छ ।

आगामी आर्थिक बर्ष २०८३।८४ को वार्षिक नीति, बजेट तथा कार्यक्रम निर्माण गर्ने क्रममा लिएका आधारहरूलाई यस सम्मानित सभामा प्रस्तुत गर्दछु ।

  • नेपालको संविधानमा निर्दिष्ट सिद्धान्त तथा नीति,
  • स्थानीय तहको अधिकार क्षेत्र,
  • स्थानीय तहको बार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४
  • दीगो विकासको लक्ष्य,
  • आवधिक योजनाले तोकेका प्राथमिकताहरू,
  • नेपाल सरकार तथा प्रदेश सरकारले जारी गरेको आर्थिक बर्ष ०८३।८४ को निति तथा कार्यक्रम,
  • सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन,
  • स्थानीय जनताको माग, चाहना तथा आवश्यकता,
  • स्रोत साधनको उपलब्धता,

  • कमजोर र कठिन भू-बनोट, अत्यावश्यक भौतिक पूर्वाधारको न्यूनता, दक्ष जनशक्तिको अभाव, छरिएका बस्तीहरू, कमजोर शासकीय क्षमता, सार्वजनिक निर्माणमा हुने न्यून गुणस्तर, बजेट कार्यान्वयन क्षमता, कमजोर सुशासन, आन्तरिक स्रोतको अभाव, पर्याप्त पर्यटन पूर्वाधारको वृद्धि गर्ने बिषयहरू हाम्रो सामु चुनौतिको रुपमा रहेका छन् ।

  • उपरोक्त चुनौतिहरूको सामना गर्दै समृद्ध चुलाचुली गाउँपालिका निर्माणको अभियानलाई अघि बढाउन नीति तथा कार्यक्रमका उद्देश्यहरू निम्नानुसार निर्धारण गरेको छु ।
  • गाउँपालिकाको भौगोलिक सिमाना स्पष्ट गर्ने,
  • गाउँपालिकाको आर्थिक विकासको आधारको रुपमा रहेको कृषि क्षेत्रलाई आधुनिकीकरण, विविधीकरण, बजारीकरणर व्यावसायिकरण मार्फत जिवनस्तर उठाउने,
  • गुणस्तरीय र प्राविधिक शिक्षा प्रदान गर्ने,
  • गाउँपालिकाबाट प्रवाह गर्ने सेवामा पारदर्शिता, चुस्तता र गुणस्तरीयता कायम गर्ने,
  • आम नागरिकको सार्वजनिक सरोकारको विषयमा पहुँच अभिवृद्धी गर्ने,
  • योजनाबद्ध रूपमा द्रुत गतिमा पूर्वाधारको विकास गर्ने,
  • सबै प्रकारका विकासमा दीगोपन कायम गर्ने,
  • रोजगारी, आय आर्जन तथा सिप विकासका क्षेत्रहरूलाई फराकिलो बनाई नागरिकको आर्थिक, सामाजिक अवस्थालाई सुधार गर्ने,
  • लक्षित वर्गको सशक्तीकरण मार्फत सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्ने,
  • स्वास्थ्यसेवाको पहुँचमा वृद्धी गर्ने,
  • वार्षिक नीति तथा कार्यक्रमले निम्न बिषयहरूलाई प्राथमिकतामा राखेको छ ।
  • प्राविधिक शिक्षामा जोड दिदै सिपयुक्त शैक्षिक जनशक्ति उत्पादन,
  • कृषिको आधुनिकीकरण र व्यावसायिकरण तथा पर्यटन प्रवर्द्धन,
  • दीगो संरचनाको निर्माण,
  • उत्पादन र उत्पादकत्वमा,
  • सामाजिक, आर्थिक विकास मार्फत जीवनस्तरमा,
  • सडक, सिँचाई, खानेपानी, विद्युतीय पुर्वाधार निर्माण र स्तरोन्नती,
  • सार्वजनिक प्रशासन र सेवा प्रवाहमा सुधार तथा सुशासनमा जोड,
  • रोजगारीका अवसरहरु सिर्जना,
  • स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा सुधार,
  • प्रभावकारी सेवा प्रवाह मार्फत सुशासनमा जोड,
  • संस्थागत क्षमतामा सुधार,
  • वन तथा वातावरणको संरक्षण,
  • युवा तथा खेलकुद विकास,

गाउँसभाका उपाध्यक्षज्यू,

गाउँसभाका सदस्यहरुज्यू

४. अब म, आर्थिक वर्ष २०८३/०८४ को लागि भौतिक, आर्थिक, सामाजिक, साँस्कृतिक तथा प्रशासनिक पूर्वाधार, सवल, सक्षम सुशासन युक्त व्यवस्थापन चुलाचुली गाउँपालिकाको समृद्धिको आधार भन्ने मुल लक्ष्य प्राप्तीका लागी क्षेत्रगत रुपमा नीति तथा कार्यक्रम पेश गर्दछु ।

. आर्थिक विकास

(क) कृषि तथा पशु विकास

  • चुलाचुली गाउँपालिकाको उत्पादन लोकल रक्सीलाई ब्रान्डिङ गर्नका लागी आवश्यक नीति लिइनेछ,
  • पालिकाभित्रका किसानहरूलाई आयको आधारमा न्यून, मध्यम र उच्च वर्गमा वर्गीकरण तथा सूचीकरण गरी कृषक परिचयपत्र मार्फत पालिका कृषक प्रोफाइल तयार गरी कार्यान्वयन गर्ने प्रकृया अगाडी बढाइनेछ ।
  • चुलाचुली गाँउपालिकामा भाङखेतिको सम्भाव्यता अध्यन गरी सो खेतिबाट तेल र औषधीजन्य कच्चा पदार्थ उत्पादन र प्रशोधन कार्य प्राथमिकताका साथ अगाडि बढाइनेछ
  • प्रचुर मात्रामा उत्पादन हुने सिमल तरुल उत्पादनलाई ब्रान्डिङ गर्न आवश्यक जग्गा प्राप्ति गरी सिमल तरुल उद्योग स्थापना र सञ्चालनका गरी किसानलाई प्रोत्साहित गर्न काननु प्रक्रिया अगाडी बढाइनेछ ।यसका साथै सिमल तरुलबाट उत्पादन भएको वस्तुलाई खाना, खाजाको रुपमा प्रोत्साहन गर्ने नीति लाई निरन्तरता दिइनेछ ।
  • कृषि तथा सिंचाई क्षेत्रको समग्र विकासका लागी सतह तथा भूमिगत सिँचाई प्रणाली निर्माण गर्न संघिय र प्रदेश सरकारसँग आवश्यक समन्वय र पहल गरिनेछ ।
  • आन्तरिक बजार विस्तार मार्फत गाउँपालिकामा उत्पादित दुग्ध पदार्थ, खाद्य पदार्थ, तरकारी फलफूल लगायत अन्य नगदे बालीहरूको भण्डारणको उचित व्यवस्था गरी बजारमा निकासीका लागि पहल गरिनेछ ।
  • प्रत्येक वडामा सामूहिक व्यवसाय सञ्चालन गराई रोजगारीको अवसर सिर्जना गर्न गाउँपालिका क्षेत्रमा बाँझो रहन गएको जमिनको उपयोग गरी कृषि जोनको स्थापना गर्ने नीति लिइनेछ ।
  • वडा तथा क्षेत्र विशेष फलफूल खेती, अर्ग्यानिक तरकारी खेती, पशुपालन, खाद्यान्न, दलहन जस्ता आधारभूत वस्तुमा आत्मानिर्भर बनाउन बाँझो जग्गालाई उपयोग गर्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
  • कृषि उपजको उत्पादन सघनतालाई ध्यानमा राखेर कृषि तथा पशु पकेट कार्यक्रम सञ्चालन गरिनेछ ।
  • कृषिको आधुनिकीकरण, व्यवसायिकरण, प्रशोधन तथा औधोगिकीकरणका लागि सर्वसुलभ ऋण, अनुदान लगायतमा वित्तीय पहुँच वृद्धि गर्न सरकारी, गैरसरकारी, सहकारी, नीजि क्षेत्र तथा वित्तीय संस्थाहरूवीच समन्वय र साझेदारीलाई जोड दिईनेछ ।
  • बीउ, मल, नश्ल सुधार, जैविक विषादी, औषधि आदिको सहज आपूर्तिको लागि निजी तथा सहकारी क्षेत्रको सहकार्यमा सुपथ कृषि सामग्री पसलहरूको स्थापना तथा सञ्चालनका लागि पहल गरिनेछ ।
  • कृषि उत्पादनको उचित भण्डारण गर्नको लागि सङ्घीय तथा प्रदेश सरकार र अन्य निजी क्षेत्र, दातृ निकायहरूसँग सहकार्य तथा समन्वय गरी ‘एक वडा एक कृषि उपज सङ्कलन केन्द्र’ निर्माण गर्न पहल गरिनेछ ।
  • पशु नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमलाई व्यवस्थित रूपमा निरन्तरता दिइनेछ ।
  • पशुहरुमा लाग्न सक्ने रोगहरु नियन्त्रणको लागि गाउँपालिकाको पशु सेवा शाखा मार्फत् नियमित पशु स्वास्थ्य परिक्षणकको व्यवस्था गरी पशुपालक कृषकहरूलाई आवश्यक औषधि वितरण कार्यक्रमलाई व्यवस्थित गर्दै लगिनेछ ।
  • रेविज रोग नियन्त्रणको लागि नियमित रुपमा रेविज खोप कार्यक्रम संचालन गरिनेछ र सामुदायिक कुकुर व्यवस्थापनको लागि वन्ध्याकरण घुम्ती शिविर संचालन गरिनेछ ।

(ख) उद्योग, वाणिज्य तथा सहकारी

  • आवश्यकता पहिचानका आधारमा पुर्नताजगी र एडभान्स सिप विकास तालिम कार्यक्रम सञ्चालन गरी स्थानीय स्तरमा नै उपलब्ध हुने कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्न अभिप्रेरित गरिनेछ ।
  • सहकारीहरूले गर्ने सम्पूर्ण कारोबारहरूलाई विद्युतिय कारोबार प्रणालीसँग आवद्ध गरि गाउँपालिकाले गर्ने अनुगमन तथा नियमनलाई थप प्रभावकारी बनाई सहकारी क्षेत्रमा सुशासन कायम गरिनेछ ।
  • गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्था र यसमा आवद्ध पदाधिकारीहरूको क्षमता अभिवृद्धि हुने किसिमका कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
  • साना तथा घरेलु उद्योग, परम्परागत घरेलु उद्योगहरूलाई प्रोत्साहन गर्ने नीति लिईनेछ ।

 

(ग) पर्यटन

  • आन्तरिक सांसक्तिक पर्यटनको माध्यमबाट आर्थिक गतिविधि चलयमान बनाउने उदेश्यले ऐना पोखरी महोत्सव, तिनकुने पोखरी सांस्कृतिक पर्यटकीय महोत्सव गर्न सरकारी निकायहरूसँग समन्वय र साझेदारी गरिनेछ ।
  • चुलाचुली गाउँपालिकाको सिमानामा रहेको विभिन्न पर्यटकीय स्थलहरुलाई पर्यटनमैत्री बनाउन साझेदारी पूर्वाधार विकासको अवधारणालाई अगाडी बढाइनेछ ।
  • गाउँपालिकाको आन्तरिक पर्यटन प्रबर्द्धन गर्न र विपन्न विद्यार्थीहरुलाई सहयोग गर्नका लागी च्यारेटी सो गरिनेछ ।
  • सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा आन्तरिक र बाह्य पर्यटकलाई सुविधा पुग्ने गरी आवश्यक होटल रेष्टुरा, पार्क, स्वीमिङ पुल, होमस्टे समेत निर्माण गर्न र सञ्चालन गर्न सर्वसाधारण नागरिकलाई प्रोत्साहित गरिने छ ।
  • चुलाचुली क्षेत्र भित्रका पर्यटकीय क्षेत्रहरू मैनाचुली पर्यटकीय क्षेत्र, निङ्कोक्मा (लभ डाँडा), तिनकुने पोखरी सिमसार क्षेत्र, शिवओरक मिलन पोखरी पर्यटकीय क्षेत्र, झण्डीडाडा पर्यटकीय क्षेत्र, अन्धराजा–अन्धारानी पर्यटकीय क्षेत्र, कुइनेटार (खुडी), किराँत हाङसाम माङहिम र सिद्धदेवी मन्दिर निर्माण गर्न आवश्यक पहल गरिनेछ ।
  • शिवओरक मिलन पोखरी पर्यटकीय क्षेत्र निर्माण कार्यका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र चुलाचुली गाउँपालिकाको साझेदारीमा भौतिक पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
  • आन्तरिक र बाह्य पर्यटन प्रबर्धनका लागी चुरे क्षेत्रको दृष्यावलोकन गर्न पद मार्ग निर्माण गर्ने नीति लिइने छ ।
  • ग्रामिण पर्यटन प्रवर्धनको निम्ति सामूहिक घरबास (होमस्टे) साना लज तथा सामुदायिक आवास व्यवस्थापनका लागि प्राविधिक सहयोग र तालिम आदिको समन्वय गरिनेछ ।

२. सामाजिक विकास क्षेत्र

(क) शिक्षा

  • शिक्षामा सबैको पहुँच सुनिश्चित गर्दै बालमैत्री वातावरणमा प्रविधियुक्त शिक्षण सिकाई सञ्चालन गरी शैक्षिक गुणस्तर सुदृढीकरणका लागि कार्यसम्पादनका आधारमा सबै सामुदायिक विद्यालयमा न्यूनतम दरबन्दीको व्यवस्था गर्न सम्बन्धित निकायसँग पहल गरिनेछ ।
  • स्थानीय मातृभाषा लाई प्रोत्साहन गर्नका लागि मातृभाषामा पठनपाठन गराउने सामुदायिक विद्यालयहरूलाई मापदण्ड बनाई मातृभाषा शिक्षक दरबन्दी अनुदान कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
  • हाल सञ्चालनमा रहेका भाषिक तथा बहुभाषिक पाठशाला र सबै माध्यमिक विद्यालयलाई विद्यार्थी संख्याको आधारमा क्रमशः कक्षा १२ सम्म स्तरोन्नति गर्दै सामुदायिक अध्ययन केन्द्रलाई प्रवर्धन गरिनेछ ।
  • सबै सामुदायिक विद्यालयहरुमा विद्युतिय स्मार्ट प्यानल बोर्ड जडान गर्ने नीति लिइनेछ ।
  • प्राविधिक शिक्षामा विद्यार्थीहरुको आकर्षण बढाउन प्राविधिक विषयमा छात्रवृत्ति कार्यक्रम उपलब्ध गराइनेछ ।
  • व्यावसायिक तथा प्राविधिक शिक्षामा प्राथमिकता दिई हाल सञ्चालित प्राविधिक शिक्षालयको स्तरोन्नति गर्ने, पूर्व प्राथमिक शिक्षा बालमैत्री र प्रविधियुक्त, आधारभूत शिक्षा सिपमूलक र माध्यमिक शिक्षा रोजगार उन्मुख बनाउन प्रोत्साहन गर्दै लगिनेछ । पुर्व प्राथमिक तहमा पाठ्यपुस्तक बितरणलाई निरन्तरता दिईनेछ ।
  • गाउँ शिक्षा योजना निर्माण सम्पन्न गरी सोको कार्यान्वयनको शुरुवात गरिनेछ ।
  • आधारभुत तहको स्थानिय पाठ्यक्रम निर्माण गरिनेछ । कक्षा ५ सम्मको पाठ्यपुस्तक विकास गरिनेछ ।
  • सामुदायिक विद्यालयहरूमा स्थानीय पाठ्यक्रम र स्थानीय पाठ्यपुस्तक निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।
  • नतिजा र गुणस्तर लाई जोड दिदै सदाको बर्षझै SEE पुर्व तयारी लाई अझ प्रभावकारी बनाउदै लगिनेछ । सबै विद्यालयहरूलाई बालमैत्री स्थानीय शासनयुक्त विद्यालयको रुपमा विकास गर्न आवश्यक बालमैत्री पूर्वाधार निर्माण कार्य गर्दै लगिनेछ ।
  • कक्षा ५ र कक्षा ८ मा सामूदायिक र संस्थागत विद्यालयहरूमा एकद्वार प्रणालीबाट मूल्याङ्कन गर्ने पालिका स्तरीय परीक्षालाई दिइनेछ ।
  • गाउँपालिका मातहतका सबै विद्यालयहरूको शैक्षिक कृयाकलापमा एकरुपता कायम गर्न शैक्षिक क्यालेण्डर प्रयोगलाई अनिवार्य कार्यान्वयनलाई निरन्तरता दिइनेछ ।
  • सामूदायिक विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्न, विद्यालयमा विद्यार्थी टिकाई राख्न र विद्यालय बिचैमा छाड्ने विद्यार्थी दरलाई कम गर्न आधारभूत तहमा बालबालिका दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • विद्यालय खेलकुद विकासमा अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयलाई खेलकुद सामाग्री उपलव्ध गराईनेछ । विद्यालयको स्वामित्वमा रहेको जग्गाको आधारमा खेल मैदान निर्माणको नीति लिइनेछ ।
  • पालिकाभित्रका शिक्षाबाट बञ्चित बुहारीहरूका लागि बुहारी शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
  • पालिकाभित्रको सामुदायिक विद्यालयमा अपाङ्ग, असहाय विद्यार्थीहरूलाई निःशुल्क शिक्षाको व्यवस्था मिलाउँदै लगिनेछ ।
  • सामुदायिक विद्यालयका विद्यार्थीहरलाई डिजिटल सिकाई सामाग्रीको आवश्यक प्रबन्ध मिलाइने छ ।
  • अनौपचारिक तथा बैकल्पिक शिक्षा कार्यक्रम मार्फत शैक्षिक पहुँच सुदृढीकरण गरिनेछ ।
  • चुलाचुली गाउँपालिका वडा नं २ स्थित जनता मा.वि. बाह्रगोठे लाई नमुना विद्यालयको रुपमा विकास गर्न विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधारको सुदृढीकरण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • आवश्यकता र प्राथमिकताका आधारमा विद्यालयको भवन निर्माणलाई निरन्तरता दिइनेछ ।
  • शिक्षणलाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन शिक्षक तालिम संचालन गरिनेछ साथै उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
  • गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

(ख) स्वास्थ्य

  • चुलाचुली गाउँपालिका वडा नं २ स्थित १५ सैय्याको आधारभूत अस्पतालबाट आकस्मिक सेवा तथा अत्याधुनिक उपकरण सहित बिशेषज्ञ डाक्टरको सेवा लाई थप विस्तार गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
  • नसर्ने रोगहरू जस्तै उच्च रक्तचाप, मधुमेह, मृगौला रोगजस्ता रोगीहरूको उपचारमा विशेष प्याकेज ल्याइनेछ । ग्रामीण भिडियो एक्सरे सेवा, गर्भपन सेवा, पाठेघरको क्यान्सर, आङखस्ने लगायतको उपचारको सेवा निःशुल्क हुने व्यवस्था मिलाइनेछ ।
  • चलाचुली गाउँपालिकाका नागरिकहरूलाई स्वास्थ्य सेवा प्रवाहमा सहजता दिन एम्बुलेन्सको व्यवस्थापन गरी सुत्केरी, अपाङ्गता भएका व्यक्ति र ७० बर्ष माथिका वृद्धवृद्धाहरूलाई निशुल्क सेवा प्रवाह गरिनेछ ।
  • गाउँपालिकाको विभिन्न वडामा सञ्चालित स्वास्थ्य चौकीहरू, आधारभूत स्वास्थ्य केन्द्र, गाउँघर क्लिनिक र सामुदायिक स्वास्थ्य इकाइहरूलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्दै लगिनेछ ।
  • स्वास्थ्य बिमा कार्यक्रमलाई विस्तार गर्दै लगिनेछ ।जसमा स्वास्थ्य स्वयंसेविका, अपाङ्गता भएका व्यक्तिका परिवार, एकल महिला, सहिद परिवार र वेपत्ता परिवार परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था मिलाइनेछ ।
  • पूर्ण असक्त, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता भएका, गर्भवती र दीर्घरोगीलाई प्रत्येक महिनामा घरमै गएर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिनेछ ।
  • प्रत्येक वडा र टोलमा योग शिविर सञ्चालन गर्ने व्यवस्था मिलाउदै लगिनेछ ।
  • स्वास्थ्य संस्थाहरुमा सुत्केरी हुने महिलाहरुलाई तथा नवजातशिशुलाई पोषण प्रोत्साहन स्वरुप बैंक खाता खोली आर्थिक सहयोग उपलब्ध गराइने नीति लिइनेछ ।
  • गाउँपालिकाको हरेक वडाका टोल वस्तीहरूमा स्वास्थ्य क्षेत्रमा प्रभावकारी भूमिका खेल्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूको प्रोत्साहन भत्ताको कार्यक्रमलाई निरन्त्तरता दिइनेछ ।
  • गाउँपालिका क्षेत्रमा स्थायी रूपले बसोबास गर्ने नागरिकहरूलाई लक्षित गरी सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय स्वास्थ्य संस्थामा कम्तिमा ४ पटक गर्भ जाँच गराई तथा सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन भएको स्वास्थ्य संस्थामा सुत्केरी गराएको र ३५ दिनभित्रमा सम्बन्धित वडा कार्यालयमा वच्चाको जन्मदर्ता गराउने आमालाई प्रोत्साहन गर्न सुत्केरी पोषण कार्यक्रम र न्यानो झोला वितरण कार्यक्रम सञ्चालन गरिनेछ ।
  • स्वास्थ्य तथा व्यक्तिगत सरसफाई कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत र विद्यालय बाहिर रहेका समेत रजस्वला सुरु भईसकेका बालिकाहरूलाई निःशुल्क सुरक्षित स्यानिटरी प्याड वितरणको कार्यलाई निरन्तरता दिइनेछ ।
  • स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राखी कार्यसम्पादनलाई प्रभावकारी बनाउन आवश्यक तालिम, गोष्ठी तथा उचित प्रोत्साहनको व्यवस्था गरिनेछ ।
  • चुलाचुली गाउँपालिकाभित्र दीर्घरोग, नसर्ने रोग, महिलाहरूको पाठेघरको मुखको क्यान्सर रोग, आँखा जाँच शिविर सञ्चालन गर्नको लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय गरी निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गरिनेछ ।
  • स्वास्थ्य सुविधालाई आर्थिक र भौतिक रुपमा सहज र पहुँचयोग्य बनाइने छ ।
  • स्वास्थ्य संस्थाहरूको रेकर्डिङ्ग रिपोर्टिङ प्रणालीलाई व्यवस्थित रूपमा सफ्टवेरबाट सञ्चालन गर्ने व्यवस्थालाई विस्तार गरी निरन्तरता दिइनेछ ।
  • गाउँपालिका क्षेत्रमा आयुर्वेद उपचारलाई सहज र सरल बनाउन आयुर्वेद अस्पताल निर्माणका लागि पहल गरिने छ ।
  • दुर्व्यसनको बढ्दो चापलाई मध्यनजर गरी लागु औषध प्रयोग न्युनीकरण गर्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
  • लागु पदार्थ दुर्व्यसनमा परेका व्यक्तिहरूलाई मनोसामाजिक परामर्शका लागि पुनःस्थापना केन्द्र निर्माण गर्न आवश्यक पहल गरिनेछ ।

गाउँसभाका उपाध्यक्षज्यू,

गाउँसभाका सदस्यहरुज्यू

(ग) खानेपानी तथा सरसफाई

  • खानेपानी योजनाहरूको सञ्चालन र मर्मत सम्भार गर्दै जनतालाई स्वच्छ, सफा, गुणस्तरीय र दिगो रुपमा खानेपानी उपलब्ध गराइने साथै सरसफाईको उचित व्यवस्था मिलाउने कार्यलाई निरन्तरता दिइनेछ ।
  • खानेपानीको स्रोत पहिचान गरी स्वच्छ र शुद्ध खानेपानीको परिपूर्तिको लागि तत्कालीन र दीर्घकालीन योजना निर्माण गरी एक घर एक धाराको अवधारणा कार्यान्वयनमा गर्न पहल गरिनेछ ।
  • चुलाचुली गाउँपालिका वडा नं ५ स्थित चपेटी खानेपानी आयोजना निर्माणको कार्य सम्पन्न गरिनेछ ।
  • चुलाचुली गाउँपालिका वडा नं ३ र ६ मा बृहत खानेपानी आयोजना निर्माणको कार्य गर्न आवश्यक पहल गरिनेछ ।
  • आफ्नो टोल आफै गरौ सफाई, स्वच्छ वातावरण स्वस्थ्य बसाई भन्ने अभियानलाई सार्थक बनाउन स्थानीय टोल विकास संस्थाहरू परिचालन गरी मासिक रूपमा निजी तथा सार्वजनिक स्थल सरसफाई गर्ने अभियान सञ्चालन गर्ने नीति लिइनेछ ।

(घ) कला,  साहित्य,  भाषा तथा संस्कृति प्रवर्द्धन

  • गाउँपालिकामा सबै जातजातिको भाषा, धर्म, संस्कृति, कला, साहित्यको समान रूपमा संरक्षण, संवर्द्धन एव विकास गर्नका लागि कला, साहित्य, भाषा तथा संस्कृति प्रतिष्ठान स्थापना गर्न पहल गरिनेछ ।
  • चुलाचुली गाउँपालिका आदिवासी जनजातिको सघन बसोबास भएको गाउँपालिका हो, त्यसमा पनि लिम्बु र राई जातिको अति बहुल्यता भएको हुनाले गाउँपालिकामा लिम्बू भाषालाई कामकाजी भाषाको रुपमा घोषणा गर्न आवश्यक कानुनी प्रक्रिया पुरा गरी कार्यालयहरूमा मातृभाषाको कर्मचारी दरबन्दी सृजना गरी आ.व २०८३/८४ बाट कार्यान्वयन गरिनेछ ।
  • सबै जातिको भाषा र संस्कार संस्कृतिलाई जगर्ना गर्नका लागि समुदायमा भाषिक शिक्षक नियुक्तिको प्रक्रिया पुरा अगाडि बढाउनेछ ।
  • गाउँपालिकामा रहेका धार्मिक सम्प्रदायहरूको विशेष स्थानहरू मठ मन्दिर, माङ्हिम, माङ्खिम, गुम्बा, चर्च, सेमीचोङ आदिको संरक्षणलाई प्राथमिकता दिइनेछ  ।
  • लोपोन्मुख मौलिक बाजा, मौलिक भाषा तथा संस्कृति संरक्षणको लागि आवश्यक पहल गरिनेछ ।
  • स्थानीय स्तरमा रहेका कलाकारहरूको कलालाई प्रोत्साहन गर्न कला प्रस्तुत गर्ने अवसर प्रदान गर्दै लगिनेछ । साथै उपयुक्त स्थानको अध्ययन गरी एक नाट्यशाला निर्माण गर्न पहल गरिनेछ ।
  • विभिन्न कला, भाषा, संस्कृति एवम् साहित्यको संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
  • ब्राम्हण, क्षेत्री लगायतका समुदायको कला, संस्कृति, भाषा, धर्म तथा रीतिरिवाजको संरणक्ष तथा प्रवर्धन गर्न आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
  • चुलाचुली गाउँपालिकामा छरिएर रहेका अल्पसङ्ख्यक मध्येका जोगी, धिमाल, मुसहर तथा कुमाल जातीहरूको संरक्षण तथा संवर्द्धन गर्न आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
  • किरात र इसाई धर्मावलम्बी समुदायको लागि एकिकृत समाधी स्थल निर्माणका लागि जग्गा उपलब्ध गराउन आवश्यक पहल गरिनेछ ।

(ङ) लैंगिक समानता तथा सामाजिक समावेशीकरण

. महिला :

  • प्रदेश सरकारको सहकार्यमा घरेलु हिंसापीडित महिलाहरूलाई सामाजिक न्याय र कानुनी सहायताका लागि सहयोग गर्न लैंगिक हिंसा निवारण तथा संरक्षण कोष सञ्चालन गरिनेछ ।
  • लैंगिक समानता तथा सामाजिक समावेशीकरणको नीति अवलम्बनलाई प्राथमिकता दिइनेछ ।
  • गाउँपालिका क्षेत्रमा महिला समूह, आमा समूहका नाममा सञ्चालित विभिन्न बचत समूहरूलाई गाउँपालिका वा वडा कार्यालयमा दर्ता गराई त्यस्ता समूहहरूलाई गाउँपालिकाले लक्षित कार्यक्रम मार्फत् हितकारी समूहको रूपमा विकास गराई सहकारी संस्थामा रूपान्तरण गर्न आवश्यक सहयोग गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
  • चुलाचुली गाउँपालिका क्षेत्रका विपन्न, दलित, अल्पसङ्ख्यक र सिमान्तकृत लक्षित वर्गका महिलाहरुलाई आर्थिक आत्मनिर्भर कार्यक्रमसँग आबद्ध गरिनेछ ।
  • महिला विरुद्ध हुने सबै किसिमका हिंसासँग सम्बन्धित विषयमा सचेतना, महिलाको अधिकार र क्षमता विकास सम्बन्धी नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयन गरिनेछ ।
  • महिला समुहद्वारा उत्पादन गरिएको दुना टपरीहरुको बजारीकरणका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
  • गाउँपालिकाको विकास निर्माण कार्यमा महिलाको सहभागिता अभिवृद्धि गर्न गाउँपालिकाका महिला समूह र सहकारी समूह बाहेक विकास निर्माण सम्बन्धी उपभोक्ता समितिमा सतप्रतिशत महिलाहरूले आयोजना कार्यन्वयन वा योजना सञ्चालन गरेमा जनसहभागिता वापतको रकममा ५० प्रतिशत छुट दिइने व्यवस्थालाई निरन्तरता दिइनेछ ।

. आदिवासी जनजाति:

  • गाउँपालिकामा बसोबास गर्ने आदिवासी जनजातिहरूको भाषा, धर्म, संस्कृति, रीतिरिवाज एवम् साँस्कृतिक पहिचानको संरक्षण र विकासका लागि विशेष पहल गरिनेछ ।
  • आदिवासी जनजातिको ऐतिहासिक थात्थलोमा प्राकृतिक स्रोत र साधनमा आश्रित आदिवासी जनजातिको उपभोग अधिकार, कानुनी सुरक्षा, प्राकृतिक स्रोतको उपयोग गर्नु अघि पूर्व सहमति र लाभको न्यायोचित बाँडफाँडको हकलाई सुरक्षित गरिनेछ ।
  • न्यून आर्थिक अवस्था भएका आदिवासी जनजातिको जीवनस्तर उकास्नका लागि सिपमूलक तालिम, कृषि तथा विषयगत क्षेत्रसँग सम्बन्धित नयाँ प्रविधिको अनुदान कार्यक्रम सञ्चालन गरिनेछ ।

. दलित :

  • दलित सामुदायको उत्थान र विकासको लागि प्रचलित कानुनको अधिनमा रही दलित सामुदायको अधिकार र क्षमता विकास सम्बन्धी नीति तथा कार्यक्रम सामाजिक समवेशीताको आधारमा तयार गरी लागू गरिनेछ ।
  • दलित समुदायको कला, संस्कृति, रीतिरिवाज, पराम्परागत पेशा व्यवसायलाई प्रवर्धन गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।

. बालबालिका :

  • चुलाचुली गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने कार्य अगाडी बढाइनेछ ।
  • बाल क्लव र बाल सञ्जाललाई सशक्त बनाई बालबालिकाहरूको हकहित र अधिकारको संरक्षण र प्रवर्धन हुने कार्यक्रम सञ्चालन गरिनेछ ।
  • बालविवाह अन्त्यका लागी किशोरी सशक्तिकरण कार्यक्रम प्रभावकारिताका साथ सञ्चालन गरिनेछ ।
  • बालवालिकालाई घरेलु कामदारको रूपमा प्रयोग गर्न वा राख्न बन्देज गरिनेछ ।
  • विद्यालयमा अध्ययनरत तोकिएको कक्षा सम्मका विद्यार्थीहरूलाई केन्द्रीय सरकारको नीति अनुरूपको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • बाबु/आमा नभएका वा असहाय, अति विपन्न बालबालिकाको पढ्न पाउने अधिकार अन्तर्गत विद्यालय भर्ना अभियानमा अविभावकत्व ग्रहण गर्ने नितिलाई निरन्तरता दिइनेछ ।
  • बाल बचत कार्यलाई प्रोत्साहन गर्न स्थानीय तहमा सञ्चालित सहकारी संस्था मार्फत कार्यक्रम सञ्चालन गरिनेछ ।
  • गाउँपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरू मार्फत् प्रत्येक वडाका विद्यालयहरूमा कम्तिमा महिनाको एक पटक स्वास्थ्य शिविर सञ्चालन गरी बालबालिकाहरूको स्वस्थ्य जाँच गरी कुपोषित बालबालिकाहरूलाई अस्पतालमा उपचारका लागि समन्वय गरिनेछ ।
  • बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै सामुदायिक तथा संस्थागत विद्यालय आसपासको क्षेत्रमा स्वास्थ्यलाई हानीकारक खाद्य तथा पेय सामाग्रीहरू (जङ्क फुड, सुर्तीजन्य तथा मदिराजन्य पदार्थ आदि ) को बिक्री वितरणलाई निरुत्साहित गरिनेछ ।

५.ज्येष्ठ नागरिक :

  • ज्येष्ठ नागरिकहरूको परिचयपत्र वितरणलाई सहज बनाई निरन्तरता प्रदान गरिनेछ ।
  • नेपाल सरकारद्वारा सञ्चालित ज्येष्ठ नागरिकहरूको स्वास्थ्य बिमा कार्यक्रमलाई यस गाउँपालिकामा सहज र प्रभावकारी बनाइनेछ ।
  • ज्येष्ठ नागरिकहरुको मासिक स्वास्थ्य परिक्षण गरी नियमित स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाइने छ ।
  • गाउँपालिकाको आवश्यक र उचित स्थानहरूमा ज्येष्ठ नागरिक मिलन चौतारी (मिलन केन्द्र भवन), निर्माणका लागि केन्द्र र प्रदेश सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
  • जोखिममा परेका ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरिनेछ ।
  • सरकारी, गैरसरकारी, सहकारी, नीजि तथा स्थानीय संघ संस्थाहरूको समन्वय र सहकार्यमा ज्येष्ठ नागरिक स्वास्थ्य सुरक्षा राहत कोष स्थापना गर्न पहल गरिनेछ ।
  • राज्य तथा सार्वजनिक निकायबाट हुने सार्वजनिक सेवा प्रवाहमा ज्येष्ठ नागरिकहरूलाई अग्राधिकार दिने र नीजि क्षेत्राट समेत यसमा प्रोत्साहन गर्ने व्यवस्था अवलम्बन गरिनेछ ।
  • पारिवारिक अपहेलनमा परेका ज्येष्ठ नागरिकहरूलाई बृद्धाआश्रममा लगेर राख्ने कार्यलाई निरुत्साहित गर्न आवश्यक कार्य गरिनेछ ।

. अपाङ्गता :

  • अपाङ्गता सम्बन्धी संस्थागत क्षमता विकास, शारीरिक पुनःस्थापना, स्वास्थ्य शिविर, वौद्धिक अपाङ्गता सशक्तीकरण, अपाङ्गता पुनःस्थापना केन्द्र सञ्चालन गर्ने कार्यलाई विशेष जोड दिईनेछ ।
  • अपाङ्गता भएका वर्गका लागि आर्थिक सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गरिनेछ । अपाङ्गता भएका व्यक्तिहरुका लागी अक्षय कोष स्थापना गरिनेछ ।
  • गाउँपालिकाबाट अपाङ्गता परिचयपत्र सरल र सहज ढङ्गबाट उपलब्ध गराउने व्यवस्था गरिनेछ ।
  • अपाङ्गता भएका व्यक्तिहरूको शारीरिक र मानसिक अवस्था अनुसारको क्षमता अभिवृद्धिका लागि सम्बन्धित सङ्घ/संस्थाहरूको सहकार्यमा गरिने कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ ।
  • अपाङ्गता भएका व्यक्तिहरूका लागि सम्पर्क कार्यालयको रूपमा प्रयोग गर्नको लागि भवन निर्माणमा पहल गरिनेछ ।
  • स्वास्थ्य सेवामा अपाङ्गता भएका व्यक्तिहरूको पहुच सुनिश्चित गरिनेछ ।
  • चुलाचुली गाउँपालिकाको अपाङ्गता सम्बन्धी ऐन तर्जुमा गरिनेछ ।
  • अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन गरेका वस्तुहरुलाई कोसेली घर मार्फत व्यवस्थापन गरी बजारीकरणको व्यवस्था मिलाइनेछ ।

गाउँसभाका उपाध्यक्षज्यू,

गाउँसभाका सदस्यहरुज्यू

. पूर्वाधार विकास

(क) सडक, भवन तथा पुल

  • चुलाचुली गाउँपालिका क्षेत्रमा नमुना वस्ती/नमुना बजार स्थापनाका लागि पहल गरिनेछ ।
  • चुलाचुली गाउँपालिका वडा नं ४ स्थीत आइतबारे बजार व्यवस्थापनका लागि पहल गरिनेछ ।
  • वडा नं. १ देखि ६ सम्म जोड्ने चुलाचुली मार्गको निर्माण कार्यलाई निरन्तरता दिईनेछ । साथै वडा नं. ६ को तोरीबारीदेखि फुङ्नाम जोड्ने सडकको विस्तृत परियोजना प्रतिवेदन अनुसार कार्य अघि बढाउन प्रदेश र सङ्घीय सरकारसँग समन्वय र सहकार्य गरी निर्माण कार्य अगाडी बढाउन पहल गरिनेछ ।
  • गाउँपालिकाबाट चालु आ.ब. २०८२/८३ मा बहुबर्षीय ठेक्का आव्हान भइ बमोजिम प्रत्येक वडाको कालोपत्रे निर्माण कार्य सम्पन्न गरिनेछ ।
  • चुलाचुली गाउँपालिका र छिमेकी पालिकाहरु कमन गाउँपालिका, शिवसताक्षी नगरपालिका, मिक्लाजुङ्ग गाउँपालिका, माङसेबुङ गाउँपालिका, माई नगरपालिका जोड्ने सडकहरु निर्माणका लागि प्रदेश सरकार र केन्द्र सरकारसंग आवश्यक पहल गरिनेछ ।
  • चुलाचुली गाउँपालिका अन्तर्गत रहेका अन्धराजा अन्धरानी, शिवओरक मिलन पोखरी जस्ता पर्यटकीय स्थल जाने कालोपत्रे सडक निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
  • चुलाचुली गाउँपालिका वडा नं ४ स्थित मुन्धुम गेटबाट कृषि मार्ग हुदै माङ्हिम मन्दिर जाने कालोपत्रे सडक निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
  • चुलाचुली गाउँपालिका वडा नं ३ स्थित चाँजु खोला उत्तर एकलव्य चोक हुदै देउराली चोकबाट मंगलसिद्धि जाने कालोपत्रे सडक निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
  • चुलाचुली गाउँपालिका वडा नं १ देखी फायर लाइन सिमाना हुँदै चुलाचुली गाउँपालिका वडा नं ५ सम्म जाने सडक निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
  • चुलाचुली गाउँपालिका वडा नं १ बाट शिवसताक्षी न.पा.को सताक्षी धाम जाने सडक साझेदारीमा निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
  • चुलाचुली गाउँपालिका वडा नं ३ स्थित पिडियो टोल उत्तर हुदै रमाइलो चोक जनता टोल जाने कालोपत्रे सडक निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
  • चुलाचुली गाउँपालिका वडा नं ३ को वडा कार्यालय उत्तर मिलन चोक, सुकुना, तिनतले कालोपत्रे सडक निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
  • दोभान सुपारीबोटे चुलाचुली गाउँपालिका वडा नं ३ स्थित सडक निर्माण गर्न आवश्यक व्यवस्था मिलाइने छ ।
  • वडा नं ४ शान्ति चोक पूर्व संगम चोक हुदै छिमेकी टोल पूर्व स्कुल डाँडा ओस्कार चोक पूर्व चाँजु खोला जोड्ने सडकको स्तरोन्नती कार्य अगाडी बढाइने छ ।
  • चुलाचुली गाउँपालिका वडा नं २ मा निर्माणाधीन हिमाली मार्ग कालोपत्रे सडक आ.व. २०८१/०८२ भित्र सम्पन्न गरिनेछ ।
  • कमल गाउँपालिका, झापासँगको साझेदारीमा पाडाजुङ्गीदेखी चुलाचुली गाउँपालिका वडा नं २ जोड्ने कालोपत्रे सडक निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
  • गाउँपालिका क्षेत्रभित्र रहेका अन्य सडकहरूमा पनि क्रमागत रूपमा कालोपत्रे गर्ने कार्यलाई निरन्तरता कायम गरिनेछ र सोका लागि विशेष प्राथमिकतामा राखी पर्याप्त बजेट व्यवस्था मिलाउन सङ्घीय एवम् प्रदेश सरकारका साथै सम्बन्धित निकायहरूसँग पहल गरिनेछ ।
  • गाउँपालिका भित्रका मोटरेबल सडक र पदमार्ग, पक्की मोटरेबल पुल, झोलुङ्गे पुलहरूको विस्तृत सम्भाव्यता अध्ययन तयार गरिनेछ ।
  • चुलाचुली गाउँपालिका वडा नं २ स्थित निर्माणाधीन १५ सैय्याको आधारभूत अस्पताल पश्चिम चाँजु खोलामा थुलुङ टोल एकलब्य चोक जोड्ने पक्की पुल निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
  • चुलाचुली गाउँपालिका भित्र आवश्यक विभिन्न स्थानहरूमा कल्भर्ट निर्माणका कार्यलाई निरन्तरता दिइनेछ ।
  • चुलाचुली १-६ सडक निर्माण एवम् चुलचुली १ देखि माई नगरपालिकाको महमाई सडक निर्माण गरी इलाम सदरमुकामसँग जोड्न पहल गरिनेछ ।
  • अन्तर जिल्ला सदरमुकाम, अन्तर गाउँपालिका तथा नगरपालिका जोड्ने सडकहरूलाई उच्च प्राथमिकतामा राखेर द्रुत गतिमा काम गर्नका लागि सम्बन्धित निकाय, विकास साझेदारहरूसँग समन्वय र सहकार्य गरिनेछ ।
  • गाउँपालिका क्षेत्रभित्र निर्माणाधीन मुख्य सडक आसपासमा ढल, विद्युत, टेलिफोन, केवल, खानेपानी लगायतका आवश्यक पूवार्धार भूमिगत रूपमा निर्माण गर्नका लागि सम्बन्धित कार्यालय तथा निकायसँग समन्वय गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
  • आ.व. २०८२/०८३ देखि घरनक्सा पास गरेर मात्र घर निर्माण गर्ने कार्यलाई कडाइका साथ पालना गराउने साथै हालसम्म निर्माण सम्पन्न भएका घरहरूको हकमा अभिलेखीकरण गर्दै लैजाने व्यवस्थालाई कडाइका साथ पालना गराइनेछ ।
  • गाउँपालिका क्षेत्रमा नयाँ निर्माण हुने भवनहरूको हकमा नेपाल सरकारबाट स्वीकृत बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड, २०७२ अनुसार हुने गरी घर नक्सा पास सुचारु गर्ने तथा उक्त मापदण्ड लागू हुनुभन्दा अघि निर्माण सम्पन्न भएका भवनहरूको हकमा अभिलेख प्रयोजनका निमित्त नेपाल सरकार तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी परिपत्र अनुसार हुने गरी तोकिएको दस्तुर लिई घर नक्शा पास गरिने नीतिलाई निरन्तरता दिइनेछ ।
  • सडक बत्ती विस्तार गर्नुपर्ने क्षेत्रमा आवश्यक पूर्वाधार तयार गरिदिन नेपाल विद्युत प्राधिकरण, विद्युत सहकारी संस्था तथा अन्य सरोकारवाला संस्था र निकायहरूसँग समन्वय तथा सहकार्य गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।

(ख) सिँचाई

  • खेतीयोग्य समथल जमीनमा सिँचाइको अभावको कारणले बाँझो हुन गइरहेको स्थान र क्षेत्रहरूको लगत तयार गरी त्यस्तो क्षेत्रको सम्भाव्यता अध्ययन गरेर विद्युतीय वा सौर्य लिफ्टिङ प्रणाली सञ्चालन गर्न आवश्यक पहल गरिनेछ ।
  • सिँचाई सुविधाको अभावबाट उत्पादनमा परेको प्रभावलाई ध्यानमा राखी सञ्चालनमा रहेका सिँचाई योजनाहरूलाई व्यवस्थित बनाउन नेपाल सरकार र स्विस सरकारको संयुक्त आर्थिक लगानीमा सञ्चालन गरिने साना सिँचाइ कार्यक्रमसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।
  • वडा नं १ देखी ६ सम्मका सिँचाईका श्रोतहरू अध्ययन अनुसन्धान गरी कृषिजन्य उत्पादनका लागि कुलो, नहर, कृषि पोखरी, डिप बोरिङ निर्माणलाई प्राथमिकता दिइनेछ । साथै चुलाचुली चुरे क्षेत्रबाट बग्ने खहरे खोला नियन्त्रण गरी पैनी तथा कुलोको माध्यमबाट सिँचाइको लागि पहल गरिनेछ ।
  • वडा नं १ देखी ६ सम्म रहेका कमल खोला नहर, ठुलो चाँजु नहर, चारहजारे सिँचाई, रतुवा नहर, मावा सिँचाई, नुनसरी सिँचाई र खवाना खोला सिँचाई आयोजनाहरूलाई मर्मत सम्भारका लागि आवश्यक पहल गरिनेछ ।
  • वडा नं ३ को सानो चाजु खोला नहर निर्माणका लागि आवश्यक पहल गरिनेछ ।

(ग) जलश्रोत र उर्जा विकास

  • चुलाचुली गाउँपालिकामा विद्युतिकरण नभएको क्षेत्रमा विद्युतीकरणको कार्य सम्पन्न गरी अँध्यारोमुक्त चुलाचुली क्षेत्र घोषणा गर्ने कार्यको प्रारम्भिक सर्भेको थालनी भैसकेकाले सोको पूर्णताका लागि नेपाल विद्युत प्राधिकरण, प्रदेश सरकार र संघीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।
  • भौगोलिक बनावटको कारणले राष्ट्रिय प्रसारण लाइनको विद्युत पुर्याउन सम्भव नभएको टोल वस्ती र घरहरूमा विभिन्न साझेदारी निकायहरूसँगको समन्वय र सहकार्यमा सौर्य उर्जा मार्फत अँध्यारोमुक्त कार्यक्रम सञ्चालन गरिनेछ ।
  • विद्युतीय चुल्हो, सुधारिएको चुलो तथा बायोग्याँस जडान गर्ने कार्यलाई प्रोत्साहित गरिनेछ ।
  • चुलाचुली गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका लघु जलविद्युत आयोजनाहरूलाई प्रभावकारी ढङ्गले सञ्चालन गरी ग्रामिण विद्युतीकरणलाई प्रवर्धन गरिनेछ साथै सम्भाव्यता अध्ययन गरी उपयुक्त स्थानमा जलविद्युतको विकास तथा विस्तारमा आवश्यक पहल गरिनेछ ।

 (घ) संचार तथा सूचना प्रविधि

  • गाउँपालिकाको प्रत्येक शाखाहरूबाट हुने सेवा प्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोगलाई प्राथमिकतामा राखी सो अनुसारको कार्य अगाडी बढाइनेछ ।
  • चुलाचुली गाउँपालिकाको स्थानीय सञ्चार नीति निर्माण गरिनेछ ।स्थानीय उदयमान सञ्चारकर्मीलाई पुरुस्कार सहित प्रोत्साहन गरिने नीति लिइनेछ ।
  • चुलाचुली गाउँपालिकाको विज्ञापन ऐन बनाई विज्ञापन वितरण प्रणाली पारदर्शी र व्यवस्थित बनाइनेछ ।
  • गाउँपालिकाको विभिन्न सन्देशमूलक सूचनाहरु स्थानीय सञ्चारकर्मीहरु मार्फत प्रकासन तथा प्रशारण गरिने नीति लिइनेछ ।
  • असमान रूपमा रहेको गाउँपालिका र वडा कार्यालयहरूको इन्टरनेटको अवस्था अन्त्य गर्न साथै सबै वडा कार्यालयहरूलाई गाउँपालिकासँग इन्टरनेटको माध्यमबाट जोड्न र सोहि माध्यमबाट इन्टरकम टेलिफोनको व्यवस्था गर्नका लागि इन्ट्रानेटको व्यवस्था गरिनेछ ।
  • पारदर्शी, छिटो,  छरितो र सुरक्षित डाटाबेस साथै पेपरलेस कार्यक्रमका लागि जिन्सी,  सिफारिस,  योजना,  राजश्व,  लेखा सफ्टवेयर प्रणालीबाट सञ्चालन गरिनेछ ।
  • सुचना प्रविधिमैत्री अध्यापन कार्यलाई प्रोत्साहन गर्न आवश्यक पूर्वाधारको व्यवस्था गर्दै सामुदायिक विद्यालयहरूमा इन्टरनेट सेवा विस्तार गर्न नेपाल दुर संचार प्राधिकरणसँग समन्वय र सहकार्य गरिनेछ ।
  • चुलाचुली गाउँपालिकाको कार्यालय परिसरभित्र रहने गरी एक सेवाग्राही लक्षित सार्वजनिक सार्वजनिक पुस्तकालय स्थापना गर्न पहल गरिनेछ ।

गाउँसभाका उपाध्यक्षज्यू,

गाउँसभाका सदस्यहरुज्यू

.  वन, वातावरण तथा विपद् व्यवस्थापन

(क) वन

  • चुरे क्षेत्रको वनलाई दिगो रुपमा संरक्षण गर्न सो क्षेत्रको वरिपरी बसोबास गर्ने भूमिहीन बासिन्दालाई नदी उकास तथा खोल्सा खोल्सी क्षेत्रमा बाँस लगायतका वन पैदावरमा आधारित व्यावसायिक आय आर्जनका कार्यमा उत्प्रेरित गरी भू–क्षयको दृष्टिले संवेदनशील सो क्षेत्रमा लोपोन्मुख वनस्पती तथा जीवजन्तूको संरक्षणमा जोड दिइनेछ ।
  • गाउँपालिकाभित्र जडिबुटी लगायतका वन पैदावरमा आधारित उद्योग स्थापनका लागि सरकारी, निजी, सहकारी र समुदायसँग साझेदारी गरिनेछ ।
  • गाउँपालिका क्षेत्रभित्र रहेको वन क्षेत्रको संरक्षण, पार्क निर्माण तथा वनक्षेत्रसँग सम्बन्धित आय आर्जनका क्रियाकलापहरू सञ्चालन गर्न सम्बन्धित निकाय, सरोकारवालासँग आवश्यक सहकार्य नीतिलाई निरन्तरता दिइनेछ ।
  • सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा स्थानीय सम्बन्धित सङ्घ संस्था र जनसहभागिता मार्फत सार्वजनिक र खुल्ला क्षेत्रहरूमा वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • डिभिजन वन कार्यालय, सब डिभिजन वन कार्यालय र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम समेतको समन्वय र साझेदारीमा चुरे क्षेत्र तथा वन संरक्षण सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • वन अतिक्रमण, अबैध कटानी, वन फडानी, चोरी निकासी, तस्करी तथा वन डढेलो नियन्त्रणका लागि गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समिति मार्फत प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
  • निजी वनलाई गाउँपालिकामा दर्ता गर्ने नीति अवलम्वन गरिनेछ ।
  • चुरे, सामुदायिक तथा सार्वजनिक वनको काठ, दाउरा र जडिबुटीहरूको उपयोग तथा परिचालन सम्वन्धित निकायको समन्वयमा गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
  • वन्यजन्तु तथा चराचुरुङ्गीको बासस्थान को संरक्षण तथा संवर्द्धन गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको अवैध बेचबिखन तथा चोरी निकासीलाई निरुत्साहित गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
  • वन पदैवारहरू सालिम्बो, बाबियो, लोक्ता आदीबाट सञ्चालन हुने लघु तथा घरेलु उद्योगलाई प्रवर्धन गरी आयआर्जनको स्रोतको रुपमा विकास गरिनेछ ।
  • चुलाचुली गाउँपालिकामा रहेका सार्वजनिक, सामुदायिक र निजी वनका कार्यक्रमहरू सञ्चालन गर्दा गाउँपालिकाको समन्वयमा गर्नुपर्ने व्यवस्था मिलाइनेछ ।

(ख) वातावरण

  • वातावरणमैत्री स्थानीय शासनलाई प्रवर्धन गर्नका लागि ग्रिन चुलाचुली नामक अभियान सञ्चालन गरिने नीतिलाई निरन्तरता दिइनेछ ।
  • प्लाष्टिक झोलाको किनबेचमा प्रतिबन्ध लगाउने गाउँपालिकाको नीतिलाई पूर्णता दिन तथा उपभोक्ता एवम् व्यावसायीहरूलाई विकल्प प्रदान गर्नका लागि गाउँ क्षेत्रमा गैर प्लाष्टिकजन्य झोला उत्पादन गर्न चाहने स्थानीय उद्योगीहरूलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
  • गाउँपालिकालाई पूर्ण सरसफाई युक्त गाउँपालिका घोषणा गर्न सम्बन्धित सरोकारवालाहरुलाई परिचालन गरिनेछ ।
  • स्वस्थ वातावरण निर्माणका लागि नवीकरणीय उर्जाको स्रोतलाई पहिचान, परिचालन तथा उपयोग गर्ने नीति लिइनेछ ।
  • गाउँपालिका क्षेत्रभित्र रहेका लघु, घरेलु तथा साना उद्योगबाट निस्कने फोहोर तथा धुलो र स्वास्थ्यलाई प्रतिकुल असर गर्ने सबै खाले प्रदुषणलाई न्यूनीकरण गर्ने नीति लिइने छ ।
  • हरित सडक निर्माणको अवधारणालाई अवलम्बन गर्न सडकको क्षेत्राधिकार बाहिरका क्षेत्रमा बिरुवा रोपी आवश्यक संरक्षण गर्ने जिम्मा सम्बन्धित उपभोक्ताहरूलाई दिने नीति लिइने छ ।
  • जैविक विविधता तथा प्राकृतिक स्रोतको संरक्षण गर्दै सो क्षेत्रबाट प्राप्त लाभको वितरणमा सम्बन्धित क्षेत्रका स्थानीय जनताहरुलाई प्राथमिकता दिइनेछ ।
  • गाउँपालिकाभित्र रहेका ताल, तलैया, पोखरी र सिमसारहरूको संरक्षण र व्यवस्थापनमा जोड दिइनेछ ।
  • गाउँपालिकाक्षेत्र भित्र सञ्चालन हुने विभिन्न कार्यक्रमहरूबाट उत्सर्जन हुने फोहोरको व्यवस्थापनका लागि फोहोर उत्सर्जक स्वयंलाई जिम्मेवार बनाउने नीति लिइनेछ ।
  • फोहोरमैलाको उचित व्यवस्थापन गर्न सार्वजनिक स्थानहरूमा डस्टविन राख्नका लागि व्यक्ति, संघ संस्था, टोल, सरकारी तथा गैरसरकारी क्षेत्रसँग साझेदारी गरिनेछ ।

 

(ग) विपद्

  • प्रकृतिक प्रकोप भुकम्प, महामारी, वाढी पहिरो, आगलागी साथै अन्य माहामारी समेतले निम्त्याउन सक्ने असहज अवस्थाको व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोषमा आवश्यक रकमको व्यवस्थापन गरिनेछ ।
  • संभावित खोलानदी कटान र भू–क्षय नियन्त्रण गर्न मौजुदा पहिरो र कटान क्षेत्रलाई बायो इञ्जिनियरिङ र स्थानीय प्रविधिमा आधारित चेक ड्याम निर्माण गरी कटान र भू-क्षय नियन्त्रण गर्ने नीति लिईनेछ ।
  • गाउँपालिका कार्यालय, वडा कार्यालयहरूका साथै गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालय, संघसस्था, सहकारी, साना तथा घरेलु उद्योग तथा पसलहरूमा अग्नी निरोधक उपकरण राख्न पहल गरिनेछ । साथै गाउँपालिकामा वारुण यन्त्रको व्यवस्थापनका लागि उचित पहल गरिनेछ ।
  • विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन गाउँपालिका स्तरीय विपद् प्रतिकार्य योजनाको निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
  • बाढी प्रभावित क्षेत्रका जनताहरूको तत्काल उद्धार गर्नका लागि गाउँपालिकाले उद्धारका आवश्यक सामाग्री हरुको व्यवस्था गर्दै उद्धार कार्यमा स्थानीय सरकार, सुरक्षा निकाय, विभिन्न संघ संस्था, उद्योगी व्यवसायी, स्थानीय बासिन्दा, शिक्षक तथा कर्मचारीहरुलाई तत्काल परिचालन गरिने व्यवस्था मिलाइनेछ ।
  • गाउँपालिकामा विपद् ब्यवस्थापन र राहतका लागि विनियोजित विपद् व्यवस्थापन कोषलाई आवश्यकताका आधारमा आपतकालिन सामाजिक सहयोगको रूपमा पनि प्रयोग गरिनेछ ।
  • नदी कटान र भू – क्षयको खतरा हुने स्थानबाट नदीजन्य तथा माटोजन्य पदार्थ उत्खनन् गर्ने कार्यमा बन्देज लगाइनेछ ।
  • जलधार क्षेत्रको संरक्षण तथा प्रवर्धन गर्न सम्बन्धित विज्ञहरूको परामर्शमा आवश्यक कार्य गरिनेछ ।
  • हात्ती आक्रमणबाट जोगिन बढी प्रभावित क्षेत्रमा पूर्व सूचना प्रणाली जडान एवम् साइरन, अन्तरस्थानीय तह सूचना प्रणाली वा अन्य उपयुक्त र आवश्यक सामाग्रीहरूको व्यवस्था मिलाइनेछ ।
  • लुकुवा पहिरो लाई नियन्त्रण गर्न राष्ट्रपति चुरे संरक्षण कार्यक्रमसँग आवश्यक समन्वय गरी उपयुक्त व्यवस्था मिलाइनेछ ।
  • चुलाचुली गाउँपालिकाभित्र बग्ने खोलाहरू कमल, बागद्वार, चाँजु, रातेहोली, सुख्खा होली, विधुवा, वुकुवा, रतुवा, मावा, दुधे, नुनसरी, खावना खोला आदीको प्राकृतिक जलप्रवाहलाई व्यवस्थित गरी नदी कटान तथा खोला उकास नियन्त्रण गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
  • चुलाचुली गाउँपालिकाको उपयुक्त स्थानमा सर्पदंश उपचार सेवा सहितको विभिन्न प्रकारका विषालु जिवहरूको डसाइको उपचार केन्द्रको स्थापनका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।

.संस्थागत विकास, सेवा प्रवाह र सुशासन

(क) सेवा प्रवाह र सुशासन

  • हालको चुलाचुली गाउँपालिकाको वडा नं ६ को जटिल भौगोलिक बनावटलाई मध्यनजर गर्दै शान्ति सुरक्षा तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन हालको वडा नं ६ लाई २ वटा वडामा विभाजन गर्न नेपालसरकारको नीति अनुरुप सम्बन्धित निकायमा सिफारिस गरिनेछ ।
  • चुलाचुली गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई प्रोत्साहान भक्ताको लागि विशेष व्यवस्था गरिनेछ । साथै करार सेवामा कार्यरत कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
  • गाउँपालिकाक्षेत्रभित्र आउने अतिथिहरुका लागी मायाको चिनो र अतिथि सत्कार गर्नका लागी प्राथमिकताका साथ खाना बस्नको उचित प्रबन्ध मिलाइनेछ ।
  • गाउँपालिका क्षेत्रभित्रका सुरक्षा निकायको कार्यलाई सहजीकरण गर्न गाउँपालिकाको स्रोत साधनले भ्याएसम्म आवश्यकता हेरी आवश्यक भौतिक तथा अन्य प्राविधिक सहयोग उपलब्ध गराइने नीतिलाई निरन्तरता दिइनेछ ।
  • गाउँपालिका क्षेत्रमा रहेका बैँक तथा वित्तीय संस्थातथा सहकारी संस्था आदिलाई सामाजिक उत्तरदायित्वको दायरामा ल्याइनेछ ।
  • सेवा प्रवाहलाई अझ व्यवस्थित, छिटो छरितो र सेवाग्राही मैत्री बनाउन कर्मचारीहरूमा रहरले काम गरौँ, हाँसेर सेवा गरौ भन्ने भावनाको विकास गराइनेछ ।
  • चुलाचुली गाउँपालिकालाई सुशासन मैत्री गाउँपालिकाको रूपमा स्थापित गर्नका लागि भ्रष्टाचारमा शून्य सहनशिलताको नीतिलाई प्रभावकारी रूपमा अगाडी बढाइने नीतिलाई निरन्तरता दिइनेछ ।
  • गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइ, कृषि तथा पशु शाखामा कार्यरत करार कर्मचारीहरूको सेवालाई आवश्यकता अनुसार निरन्त्तरता दिइनेछ । करार सेवामा कार्यरत कर्मचारीहरूको कार्यसम्पादन मुल्याङ्कन गर्दा निजहरूले कार्यविवरण अनुरुपको कार्य नगरेको पाइएमा निजसंगको सेवा करार अन्त्य गरिनेछ ।
  • साविकको स्थानीय निकायमा स्थायी नियुक्ति भई कार्यरत कर्मचारीहरूको सेवाबाट अवकाश हुँदाका बखत प्रदान गरिने सुविधाका लागि कर्मचारी कल्याण कोषको व्यवस्था गरिने छ ।
  • गाउँपालिकामा कार्यरत कर्मचारीहरूमा पदीय दायित्वबोध, जवाफदेहीता तथा व्यावसायिकताको लागि तालिमको व्यवस्था गरिनेछ ।
  • गाउँपालिका र वडा कार्यालयबाट सङ्कलन गरिने राजस्वलाई पारदर्शी बनाउन अनलाइन प्रणालीलाई निरन्तरता दिइनेछ ।
  • गाउँपालिकामा रहेको विधेयक समितिलाई सक्रिय बनाउदै गाउँपालिकामा रहेका विद्यमान कानूनहरुको आवश्यक संसोधन तथा परिमार्जन गर्दै आवश्यक नयाँ नीतिहरुको निर्माण गरी सोको प्रभावकारी कार्यान्वयन गरिनेछ ।
  • गाउँपालिका क्षेत्रभित्र विभिन्न कार्यक्रमहरू सरकारी तथा गैरसरकारी संस्थाहरूसँग सहकार्य तथा समन्वय गरी सञ्चालन गरिने नीतिलाई प्राथमिकतामा राखिएको छ ।
  • गाउँपालिकाका सबै वडामा सुझाव पेटिका, नागरिक बडापत्र, सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीको व्यवस्थामा निरन्तरता रहनेछ ।
  • जनतालाई जनताको घरदैलोमै गएर सेवा दिने उद्देश्य अनुरुप भौगोलिक रुपमा गाउँपालिकाको केन्द्रबाट टाढा रहेको स्थानमा भुक्तानी सहितको घुम्ती सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।

गाउँसभाका उपाध्यक्षज्यू,

गाउँसभाका सदस्यहरुज्यू

. विविध

(क) युवा, खेलकुद तथा रोजगारी

  • युवाहरूलाई समाजप्रति उत्तरदायी बनाउन सामाजिक कृयाकलापहरुमा सहभागी गराउने कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • युवाहरुलाई लागुपदार्थ दुर्व्यसनीमा फस्न बाट डाईभर्ट गर्न चुलाचुली ३ मा चाजु एकतासमाज रङगाशाला,खुकुना बहुउदेश्य रङगशाला,वडा नं. ३ मा विधुवा खेल मैदान,वडा नं. ५ मा बुकुवा रङ्गशाला निर्माण कार्य अगाडी युवाहरुलाई समाजमा सामाजिकिकरण गर्ने नीति लिइनेछ ।
  • चुलाचुली गाउँपालिकाद्वारा सञ्चालन हुने खेलकुद प्रतियोगिताहरु जस्तै चुलाचुली गोल्डकप, राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आदि लाई अझ व्यवस्थित गरी निरन्तरता प्रदान गर्दै लगिनेछ ।
  • राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने गाउँपालिकाका खेलाडीहरूलाई उचित पुरस्कार सहित सम्मान गरिनेछ ।
  • बालक्लव र स्काउटको प्रतिभा पहिचान तथा सो बाट अनुशासित र कर्तब्यनिष्ट नागरिक उत्पादनमा जोड दिन विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
  • तहगत रूपमा अन्तर विद्यालय, पालिकास्तरीय विभिन्न विधाका खेलकुद कार्यक्रमको आयोजना गरी शिक्षासँगै खेलकुद कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अझ प्रभावकारी बनाइनेछ।
  • वैदेशिकरोजगारीमा जान चाहने युवाहरूको लागि पनि सोहि अनुसारको अभिमुखीकरण तालिम र सचेतना सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरि वैदेशिक रोजगारीमा हुने जोखिम न्युनीकरण गर्ने नीति लिइनेछ।
  • वैदेशिक रोजगारीबाट फर्किएका तथा बेरोजगार सूचीकृत युवाहरूलाई लक्षित गरी पारिश्रमिकमा आधारित सामुदायिक आयोजना र युवा रोजगारका लागि रुपान्तरण पहल आयोजना सञ्चालन गरिनेछ ।
  • गाउँपालिकाभित्र हुने विकास निर्माणका कार्यहरूमा स्थानीय युवाहरूलाई रोजगारीका अवसरमा प्राथमिकतामा राख्न सहजीकरण गर्ने नीति लिइनेछ ।

(ख) सामाजिक सुरक्षा तथा संरक्षण

  • सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्राणाली सुदृढीकरण आयोजना अन्तर्गत आ.व. २०८१।८२ मा व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा दर्ता शिविर सञ्चालन, व्यक्तिगत घटना दर्ता किताबहरूको डिजिटाइजेसन, वडा कार्यालय तथा सेवा इकाइ व्यवस्थापन लगायतका कार्यहरू सञ्चालन गरिनेछ ।
  • बैंकसँग समन्वय गरी सामाजिक सुरक्षा भत्ता सम्बन्धित व्यक्तिको हातहातमा पुर्‍याउने नीतिलाई निरन्तरता दिइनेछ ।

(ग) गैर सरकारी संस्था

  • गैर सरकारी संस्थाहरूले आफ्ना कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्दा गाउँपालिकाको आवधिक तथा वार्षिक विकास योजना, सहभागितामूलक योजना पद्धतिका आधारमा स्थानीय स्तरबाट माग,  छनौट र प्राथमिकीकरण भई आएका आयोजना र कार्यक्रमहरू मध्येबाट गर्ने नीति लिइनेछ ।
  • गैर सरकारी संस्थाको पारदर्शिता, जवाफदेहिता सुनिश्चित गर्न सहजीकरण, परिचालन, अनुगमन र मुल्याङ्कनलाई प्रभावकारी बनाइनेछ ।
  • गैर सरकारी संस्था तथा लघुवित्त संस्थाहरूलाई कानुन बनाई सोही अनुरुप अनुमति लिएर मात्र कार्य गर्ने व्यवस्था गरिनेछ ।
  • सङ्घ संस्था तथा सहकारी संस्थाहरूको दर्ता नवीकरण कानुन बमोजिम अनिवार्य बनाइनेछ ।
  • गाउँपालिका क्षेत्रमा रोजगारको सिर्जना गर्ने, स्वरोजगारका लागि उत्कृष्ट कार्य गर्ने वा त्यस प्रकारका कार्यक्रमहरू सञ्चालन गर्ने सङ्घ संस्था र सहकारी संस्थालाई प्रोत्सहित गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • गाउँपालिकाद्वारा सङ्घ/संस्था र सहकारीहरूसँग सहकार्यको माध्यमबाट लोककल्याणकारी कार्यहरू सञ्चालन गरिनेछ ।

(घ) मठमन्दिर र धार्मिक क्षेत्र

  • ऐतिहासिक तथा धार्मिक स्थलहरूको पहिचान गरी सोको संरक्षण एवम् प्रवर्धन गर्दै धार्मिक पर्यटन स्थलको रुपमा विकास गर्दै अगाडि बढाइने छ ।
  • मठ मन्दिर तथा धार्मिक क्षेत्रहरूमा लागु औषध तथा अखाद्य पेय पदार्थहरूको प्रयोगलाई निरुत्साहित गरिनेछ ।
  • सम्भावित धार्मिक क्षेत्रहरूको खोजी गरी त्यस्तो धार्मिक स्थल वा क्षेत्रहरूको संरक्षण संवर्द्धन गरिनेछ ।

(ङ) गरिवी निवारण

  • गरिबी निवारण गर्न गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
  • गरिबी निवारणको निम्ति गरिबसँग विशेश्वर कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइनेछ ।
  • गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलाई विस्तार गर्दै लगिने र उद्यमीहरूले सरल र सहज तरिकाले ऋण प्राप्त गर्ने कार्यमा आवश्यक पहल र समन्वय गरिनेछ ।

(च) भूमि व्यवस्था

  • अन्तर जिल्ला हुदै मालपोत र नापीबाट सेवा लिने झन्झट बाट मुक्त हुन चालु आ.व बाटै सबै प्रकारका भूमि प्रशासन सम्बन्धी सेवा सञ्चालन गर्नका लागि सबै व्यवस्था मिलाइ प्रभावकारी सेवा सुचारु गरिनेछ ।
  • लामो समयदेखि समाधान हुन नसकेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्न सङ्घीय सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोगसँग सहकार्य गरी यथार्थ लगत लिई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराइने नीतिलाई निरन्तरता दिइनेछ ।
  • गाउँ क्षेत्रमा रहेका पोखरी, जलाशय तथा खानेपानी मुहानहरूको संरक्षण र संवर्द्धन गर्दै सदुपयोग गरिने छ ।
  • गाउँ क्षेत्रमा आवासीय जग्गा प्लटिङ्ग र बिक्री वितरणको कार्यलाई नियमन गर्न मापदण्ड तयार गरिनेछ ।

(छ) राजश्व नीति

  • राजश्व परिचालनका लागि करका दर भन्दा दायरा फराकिलो पारी नयाँ आम्दानीका स्रोतहरू पहिचान गरी आन्तरीक राजश्व वृद्धि गर्ने निति लिइनेछ ।
  • करयोग्य आर्थिक क्रियाकलापलाई करको दायरमा ल्याउँदै प्रगतिशील, समन्यायिक, पारदर्शी, व्यावसाय मैत्री राजश्व प्रणालीको विकास गरिनेछ ।
  • गाउँपालिकाको कर प्रशासनलाई करदातामैत्री बनाउन करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने छ ।
  • प्रत्येक वडा कार्यालयमा व्यापार व्यवसायको लगत सङ्कलन, दर्ता र नवीकरणको व्यवस्था मिलाइने छ ।
  • कुनै पनि व्यवसाय सञ्चालनका लागि भौतिक संरचना निर्माण गर्दा, भैरहेका भौतिक संरचनाको प्रयोग गर्दा तथा भैरहेका संरचनाको परिमार्जन गर्दा गाउँपालिकाले तोकेको मापदण्ड र राजश्व बुझाएर मात्र सञ्चालन गर्न सकिने व्यवस्था मिलाइनेछ ।
  • गाउँपालिकाक्षेत्र भित्र सञ्चालित होटल, लज, होमस्टे र मदिरा पसलहरूलाई राजश्वको दायरामा ल्याई गाउँपालिका मार्फत सोको प्रभावकारी अनुगमन गर्ने व्यवस्था मिलाइनेछ ।
  • गाउँपालिका भित्र विषादी मुक्त तरकारी तथा फलफूल र अन्य खेतीलाई प्रोत्साहित गर्नुका साथै दुधजन्य र मासुजन्य उत्पादनलाई व्यवसायीकरण गर्नका लागि उत्पादनकर्तालाई राजश्वमा विशेष छुट गरी आत्मनिर्भर बनाउने नीति लिइएको छ ।
  • शून्य प्रविधिमा सञ्चालनमा रहेका घरेलु उद्योग जस्तै घरेलु औजार सामग्री, माटोको भाँडा, खेलौना, मुर्ती,  डोरी,  पङ्खा,  ढाकी, मुडा,  डोका,  भकारी लगायत ढाका बुनाइ आदि सतप्रतिशत राजश्व छुट दिने नीतिलाई निरन्तरता दिइनेछ ।
  • गाउँपालिकाको आन्तरिक श्रोतलाई सक्षम बनाउनका लागि सहकारी, निजी क्षेत्र तथा सरकारी क्षेत्रबीचमा आवश्यक समन्वय गरी अगाडी बढाइने छ ।
  • राजस्व सुधार योजनाको कार्यान्वयन गर्दै लगिनेछ ।
  • राजस्व शाखाको व्यवस्थापन गर्दै राजस्व प्रशासनको लागि उपयुक्त संगठन निर्माण गर्दे लगिनेछ ।
  • कृषिजन्य तथा पशुजन्य सामाग्रीहरू, वन पैदावारहरू, खानीजन्य पदार्थहरू, नदीजन्य पदार्थहरू आदीको निकासी कर उपयुक्त दररेट कायम गरी आन्तरिक राजश्व वृद्धि गर्ने नीति लिइनेछ ।
  • नदिजन्य पदार्थको उत्खनन् तथा बिक्री गरी दहत्तर बहत्तर शुल्क सङ्कलन गर्न गाउँपालिकाको आफ्नो क्षेत्रभित्रको नदीहरूमा आफै आय ठेक्का बन्दोवस्त गर्ने र सिमनामा पर्ने नदीहरूको हकमा छिमेकी पालिकाहरूसँग समन्वय गरी आय ठेक्का बन्दोवस्त गर्ने व्यवस्था मिलाइनेछ ।

(ज) न्याय सम्पादन

  • न्याय सम्पादनलाई सर्वसुलभ बनाउनका लागि न्यायिक समिति तथा मेलमिलाप केन्द्रहरूलाई व्यवस्थित गर्दै लगिनेछ । साथै न्याय सम्पादनमा संलग्न हुने पदाधिकारीहरू तथा मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धिका कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ ।
  • विपन्न परिवार एवम् घरेलु हिंसा पीडितका लागि न्यायमा पहुँच पुर्‍याउन र उनीहरूलाई न्याय प्रदान गराउन आवश्यक सहयोग प्रदान गरिनेछ ।
  • घरेलु हिंसाको न्यूनीकरणका लागी कानुनद्वारा निषेध गरिएका आपराधिक क्रियाकलाप हुन नदिन कानुनी सचेतना कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

 

(झ) शान्ति सुरक्षा

  • जनताले आफूर आफ्नो सम्पत्ति सुरक्षित रहेको महसुस गर्ने गरी सुरक्षा व्यवस्था बिस्तार गर्ने नीति लिइनेछ ।
  • गाउँपालिकाको आवश्यक र सम्वेदनशील स्थानहरूमा सुरक्षाको लागि आवश्यक प्रबन्ध मिलाउन आवश्यक पहल गरिनेछ ।
  • हाल चुलाचुली गाउँपालिकामा अवस्थित प्रहरी चौकीको भूगोल र जनसङ्ख्यालाई आधार मानी इलाका प्रहरी कार्यालयको स्थापनाका लागि सम्बन्धित निकायमा पहल निरन्तर गरिनेछ ।
  • सार्वजनिक एवम् पूर्वाधार विकासका कार्यक्रमहरू सञ्चालन गर्ने सिलसिलामा निर्माण स्थल अवरोध गरी सञ्चालित योजना, कार्यक्रममा असर पार्ने वा अवरोध पुर्‍याउने व्यक्ति, समूह आदिलाई कानुनी कारबाहीको लागि सिफारिस गरिने र सम्बन्धित वडा र गाउँपालिकाबाट त्यस्ता व्यक्ति वा समूहलाई दिइने सेवा प्रवाहका सिफारिसहरूमा ६ महिनासम्म रोक लगाउन सकिने व्यवस्थालाई निरन्तरता दिइनेछ ।
  • सबै जातजाती, समुदाय, धर्मका रीतिरिवाज, परम्परा, चाडपर्व र उत्सव आदि कार्यक्रम सञ्चालन गर्दा छरछिमेक टोलबस्तीमा ध्वनीको नकरात्मक असर नपर्ने गरी निश्चित समयसीमा भित्र मात्र गर्ने गराउने र निर्धारित समयभन्दा थप समय सञ्चालन गर्नुपर्ने भए गाउँपालिकाबाट पूर्व स्वीकृति लिएर मात्र कार्यक्रम सञ्चालन गर्न पाउने व्यवस्था मिलाइने छ ।

गाउँसभाका उपाध्यक्षज्यू,

गाउँसभाका सदस्यहरुज्यू

अन्त्यमा,

चुलाचुली गाउँपालिकाको आर्थिक बर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुर्‍याउनु हुने उपाध्यक्षज्यू, गाउँसभाका सदस्यज्यूहरू तथा कर्मचारीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु । माथि उल्लेखित नीतिहरूलाई कार्यान्वयन गर्न आवश्यक बजेट तथा कार्यक्रम बनाई प्राथमिकताका साथ लागू गरिनेछ । प्रस्तुत गरिएका नीति तथा कार्यक्रम सफल बनाउन सरोकारवाला र आम चुलाचुलीबासी दाजुभाई तथा दिदिबहिनीहरूको रचनात्मक र सकरात्मक सहयोग रहन्छ भन्ने अपेक्षा राखेको छु ।

धन्यवाद !

 नोगेन सेवारो !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार