
आर्थिक वर्ष २०८३।०८४ को नीति, कार्यक्रम तथा बजेट
यस गरिमामय सभामा उपस्थित गाउँसभा सदस्यज्यूहरु,
राष्ट्रसेवक कर्मचारी, पत्रकार, सुरक्षाकर्मी र अन्य आमन्त्रित महानुभवहरु ।
नेपालको संविधान,२०७२ व्यवस्था अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्य प्रचलित कानुनहरुको कार्यान्वयनको क्रममा सन्दकपुर गाउँपालिकाको विकास र समृद्धिको यात्रामा गाउँसभाको चालु अधिवेशनको यस वैठकमा गाउँसभा सदस्य ज्यूहरुलाई स्वागत गर्दै आ व २०८३।०८४ को गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाइ खुशी लागेको छ ।
देशमा संघीय लोकतन्त्रान्त्रिक गणतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका जनआन्दोलन, जेन्जी आन्दोलन र अधिकार प्राप्तिका लागि भएको विभिन्न आन्दोलनहरुमा सहादत हुनुभएका आदरणीय अमर सहिदहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । वहाँहरुको योगदानको उच्च मूल्यांकन गर्दै हार्दिक सम्मान व्यक्त गर्दछु ।
अव म आगामी आ.व.२०८३।०८४ को लागि सन्दकपुर गाउँपालिकाको नीति तथा कार्यक्रम यस सम्मानित गाउसभामा पेश गर्न चाहान्छु ।
सोच, लक्ष्य, उद्देश्य
सन्दकपुर गाउँपालिकाको टोल स्तरीय बैठक, वडा समितिको बैठक हुँदै सार्वभौम कार्यपालिकामा विभिन्न चरणमा भएको सर्वसम्मत निर्णयानुसार, विगतमा बनेको सन्दकपुर गाउँपालिकाको बीस वर्षे गुरुयोजना २०७८/७९–२०९७/९८ र यस सरकारले लिएको नविनतम जनमुखी कार्यान्वयन योग्य नीतिहरुलाई एकिकरण गरि यस आर्थिक वर्ष २०८३।०८४ को सोच, लक्ष्य र उद्देश्य यस सभामा पेश गर्न चाहान्छु ।
“भौतिक, आर्थिक, सामाजिक, साँस्कृतिक तथा प्रशासनिक पूर्वाधार,
सवल, सक्षम, उत्कृष्ट व्यस्थापन सन्दकपुर गाउँपालिका समृद्धिका आधार” ।
सन्दकपुरलाई भौतिक रुपले विकसित र सुविधायुक्त, आर्थिक र सांस्कृतिक रुपले सुसम्पन्न बनाई स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा गुणस्तरीय सुविधायुक्त सुरक्षित पहुँच र सेवा, लैगिक रुपमा महिलामैत्री, बालमैत्री, अपाङ्गमैत्री, जेष्ठ नागरिक मैत्री, सामाजिक रुपले समावेशी समातामूलक साथै सहभागितामुलक, वातावरणीय रुपले स्वच्छ, सफा हराभरा, न्यायिक तथा प्रशासनिक रुपले प्रविधिमैत्री चुस्त, दुरुस्त, सक्षम सुशासनयुक्त प्रणाली अपनाई सवै क्षेत्रमा उत्कृष्ट नमुना कार्यहरु गर्दै पर्यटकीय गाउँको रुपमा विकास गरी कोशी प्रदेशकै उत्कृष्ट पर्यटकीय गाउँपालिकाको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडी बढ्ने छौँ ।
- भौतिक पूर्वाधारहरूको समानुपातिक दिगो विकास तथा विस्तारबाट सेवा, सुविधा र बजारमा पहुँच र उपयोग वृद्धि भई जीवनयापन सहजता तर्फ उन्मुख गर्ने ।
- वन वातावरणको संरक्षण, स्वच्छ खानेपानी तथा सरसफाईमा सहज पहुँचमा वृद्धि गर्ने ।
- सहकारीको माध्यमबाट कृषि तथा पशुपालन पेशालाई व्यवसायिक बनाई रोजगारमूलक तर्फ उन्मुख गर्ने ।
- पर्यटकीय पूर्वाधारको लगत तयार एवं पूर्वाधारमा स्तरवृद्धि र उचित लगानी गर्ने ।
- उद्योग तथा व्यवसायको सिर्जना, वृद्धि र विस्तार गरी रोजगारी र उद्यमशीलताको विकास गर्ने ।
- सामाजिक न्यायको सिद्धान्तलाई अवलम्वन गरि समतामूलक समाजको निर्माण गर्ने ।
- शिक्षा तथा खेलकुद सर्वसुलभ, गुणस्तरीय, प्राविधिक, व्यवसायिक र समावेशी गराउन योजनावद्ध विकासको शुरुवात गर्ने र शिक्षालाई वैज्ञानिक ,व्यवहारिक र स्थानिय तह सुहाउदो शिक्षण प्रणाली लागु गरि सिपमुलक बनाउन सवै तवरले योजनाहरु ल्याउने ।
- स्थानीय लोकसंस्कृति, कलासाहित्य ,भेषभुसा, भाषा, लिपि ,परम्पराको संरक्षण, सम्वर्धन र विकास गर्ने ।
- स्वास्थ्य सेवावाट प्राप्त हुने आधारभूत सेवाको गुणस्तर वृद्धि र सुलभता गर्ने ।
- विद्युतीय सुशासनलाई अंगीकार गरी सेवालाई राम्रो बनाउने ।
- विपदजन्य जोखिम न्यूनिकरणका लागि योजना र कोष निर्माण गर्ने ।
- आर्थिक र सामाजिक रुपले पछाडी पारिएका र परेका नागरिकहरुलाई उनीहरुको जीवनस्तर उकास्न उद्यमशील बनाउँदै व्यवसायिक विकासमा सवैलाई अर्थपुर्ण सहभागिता गराई क्रियाशिल बनाउँदै लाने ।
- फोहरमैला व्यवस्थापनमा वैज्ञानिक पद्धतीको शुरुवात गर्नै ।समग्रमा सन्दकपुर गाउँपालिकाको राजश्वका क्षेत्र र दायराहरुलाई वैज्ञानिक बनाउदै आन्तरिक श्रोतको बढोत्तरी गरी दिगो विकासमा आधारित भएर मानव विकाससंगै आर्थिक, सामाजिक, भौतिक र संस्कृतिक हिसावले सुसम्पन्न एवम् समृद्ध गाउँपालिका बनाउने ।
बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा अवलम्वन गरिएका प्रमुख नीति तथा आधारहरुः
सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको त्याग, पसिना र वलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतान्त्रात्मक शासन व्यवस्थाको स्थापना सँगै आएको तीन तहको सरकार संचालन प्रणाली अनुसार यस सन्दकपुर गाउँपालिकामा स्थानीय सरकारको अभ्यास भएको आज यो दोस्रो सरकारको पाचौँ नीति तथा कार्यक्रम हो । संघ र प्रदेश सरकारले लिएको नीति अनुरुप जनमुखी नीति र कार्यक्रम सञ्चालन गर्नु हाम्रो दायित्व हो । लोकतान्त्रिक पद्धतीलाई व्यवहारमा उतार्दे यसलाई दिगोरुपमा संस्थागत गरी जनताको इच्छा पूरा गर्नु यस सरकारले पहिलो कर्तव्य ठानेको छ । पर्याप्त स्रोतसाधनको अभावका कारण जनतालाई दिएको बचन एकै पटक पुरा गर्नु चुनौतिपुर्ण कार्य रहेता पनि उपलब्ध आर्थिक स्रोत साधनको उच्चतम प्रयोग गर्ने गरि जनसहभागितामा आधारित भई टोलबस्ती, वडा समिति र विभिन्न विषयगत समितिमा छलफल गरि कार्यपालिकाबाट सर्वसहमतिले नीति तथा कार्यक्रमहरु पारित गरिएको छ । देशमा भएको राजनैतिक परिवर्तनलाई संस्थागत गर्दै जनताका असिमित आकांक्षा र आवश्यतालाई उचित सम्वोधन गरि अघि वढ्नुपर्ने यस घडिमा सन्दकपुर गाउँपालिका इलामले पनि विगतको गाउँसभाले निर्णय गरि कार्यान्वयनका चरणमा रहेका महत्वपुर्ण कार्यहरुलाई निरन्तरता दिंदै र जनताका समसामयिक इच्छा आकांक्षाहरुको पनि सक्दो सम्वोधन गर्ने कोसिस गर्दै लैजाने उद्देश्य राखेको छ ।
यस सन्दकपुर गाउँपालिका पर्यटन, कृषि, पशुपालन, उद्योग, व्यापार र व्यवसायका लागि प्रचुर सम्भावना बोकेको स्थानीय तह हो । यस गाउँपलिकालाई त्यति मात्र नभएर जडिबुटीको अनुसन्धान केन्द्र, आर्युवेद कलेज र जडिबुटी उद्योग स्थापना, कृषि तथा बाली विज्ञानको शिक्षण गर्ने केन्द्रको रुपमा पनि विकास गर्न सकिने उतीकै प्रवल सम्भावना रहेको छ । यसर्थ यो स्थानीय सरकारले सधै जनताको ईच्छानुसार समन्वय, सहकार्य र सहअस्तित्वलाई स्वीकार्दै जनताको सेवा गुर्न पहिलो धर्म र कर्म मानेका छौं ।
यसै सन्दर्भमा नेपालको संविधान २०७२ मा उल्लेख गरिएका स्थानिय तहको अधिकार क्षेत्र, राज्यका निर्देशक सिद्धान्त र नीति, संघ र प्रदेश सरकारले अंगीकार गरेका राष्ट्रिय नीतिहरुलाई आधारको रुपमा लिदै स्थानिय सरकार सञ्चालन ऐन,२०७४ को दफा ७१ उपदफा १ बमोजिम यस गाउँपालिकाको बार्षिक नीति तथा कार्यक्रम तर्जुमाका लागि निम्न विधि अवलम्वन गरिएको छ ।
- जनताका वास्तविक माग र आवश्यकताको आधारमा वस्ती स्तरका मागलाई प्राथमिकतामा राख्दै सरोकारवाला सवै विकास साझेदारी संघ संस्था र जनताको व्यापक सहभागिता सहित, वडा समितिको वैठकवाट स्थानीय स्तरको माग संकलन गरिएको छ ।
- आर्थिक विकास र सामाजिक विकासलाई बढी प्राथमिकतामा राखी, पूर्वाधार विकास, सार्वजनिक सेवा तथा संस्थागत विकास, महिला सशक्तिकरण तथा नेतृत्व विकास र वातावरण तथा विपद व्यवस्थापनका प्रत्येक वडावाट क्षेत्रगत योजना तथा कार्यक्रम छनौट गरी योजना तथा कार्यक्रम समावेश गरिएको छ ।
- वडा तहवाट प्राप्त आयोजना तथा कार्यक्रमलाई निम्न आधारमा विषयगत समिति हुदै बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा समितिद्वारा आयोजना तथा कार्यक्रमको प्राथमिकिकरण गर्दै कार्यपालिकामा पेश गरेको र कार्यपालिकामा छलफल गर्दै सर्वसहमतिले पारित गरिएको छ ।
योजना तर्जुमाका क्रममा प्राथमिकिकरणका आधारहरु निम्नानुसार उल्लेख गरिएको छ ।
- आन्तरिक आयलाई सहयोग पुर्याउन, राजश्व परिचालनमा योगदान पुर्याउने ।
- जनताको वास्तविक आवश्यकताको परिपूर्ती गरी जीवनस्तर उकास्ने एवम् आम्दानी र रोजगारी सिर्जना गर्ने ।
- लैङ्गिक समानता, सामाजिक समावेशीकरणको र सामाजिक न्यायको अभिवृद्धि गर्ने ।
- नेपालकै महत्वपूर्ण पर्यटकिय गन्तव्यको रुपमा सन्दकपुरलाई विकास गर्न आवश्यक पर्ने पूर्वाधारको निर्माण गर्ने ।
- स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै उत्पादकत्व र उद्यमशिलताको विकास गर्ने ।
- आर्थिक विकास र गरिवी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने ।
- सहकारीको प्रवर्धन गर्दै स्थानीय कृषिजन्य उत्पादनलाई प्रर्वद्धन गर्न बढी प्रोत्सहानका साथ प्राथमिकतामा राख्ने ।
- स्थानीय स्रोतसाधनको अधिकतम उपभोगमा आधारित भई जनसहभागिता अभिवृद्धि गर्ने ।
- दिगो विकास, पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा योगदान पुर्याउने ।
- सेवा प्रवाहलाई प्रविधिमैत्री बनाई छिटो छरितो, समय सापेक्ष, निष्पक्ष र प्रभावकारी बनाउने ।
- संस्थागत विकास, सुशासन, मितव्ययी खर्च प्रणाली र पारदर्शिता अभिवृद्धि गर्ने ।
- सामाजिक सदभाव, परम्परागत धर्म-संस्कृति, चाडपर्व र अन्य स्थानीय संस्कृति र पहिचान प्रवर्द्धन गर्ने ।
क्षेत्रगत नीति तथा कार्यक्रमहरु
क.आर्थिक बिकास क्षेत्रका नीति तथा कार्यक्रम
कृषि विकास
- पालिकाको सबै वडाहरुमा “एक वडा एक उत्पादन कार्यक्रम” को शुरुवात गरिनेछ ।
- सन्दकपुर गाउँपालिकाको मुख्य कृषि नगदेबालीका रुपमा रहेको अलौँची उत्पादनलाई अझ बढोत्तरी गर्ने मुख्य उद्देश्यका साथ कृषकहरुलाई प्रोत्साहान कार्यक्रम सञ्चाल गर्नका साथै यस पालिकालाई अलौँची जोन घोषणा गरिनेछ ।
- रैथाने वाली प्रवर्धन कार्यक्रम संचालन गरिनेछ ।
- सन्दकपुर गाउँपालिकामा एक कृषि खरिद बिक्र केन्द्रको अवधारणालाई कार्यान्वयनमा ल्याईनेछ ।
- कृषिलाई आधुनिकिकरण तथा औजारीकरण गर्न ५० प्रतिशल लागत साझेदारीमा कृषि औजार बितरण गरिनेछ ।
- “स्वस्थ माटो सन्दकपुरको पहिचान” भन्ने नारा सहित माटो परिक्षण सेवालाई फिल्ड स्तरसम्म संचालन गरी कृषि चुन बितरण गरिनेछ ।
- बिषादीको प्रयोग न्युनिकरण गर्दै जैबिक खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम संचालन गरिनुका साथै बालीमा लाग्ने रोग किरा नियन्त्रण गर्न एकिकृत शत्रु जिव ब्यवस्थापन कृषक पाठशाला IPM सञ्चालन गरीनेछ ।
- सन्दकपुर गाउँपालिकामा उत्पादित फलफूल तथा तरकारी बालीको ब्रान्डिङ तथा प्याकेजिङ गरी बजारीकरण गर्ने कार्यको सुरुवात गरिनेछ ।
- उन्नत बिउ बिजन, प्रविधी हस्तान्तरण, आकस्मिक बाली र पशुपन्छी रोग रोकथाम तथा पशुपन्छीमा परजिवी नियन्त्रणका लागी औषधी बितरण र प्राबिधिक सेवालाई निरन्तरता दिइनेछ ।
पशुपन्छी विकास :
- “दुध उत्पादनको मुख्य आधार, कृत्रिम गर्भाधानद्वारा नश्ल सुधार” भन्ने नाराका साथ कृत्रिम गर्भाधान कार्य संचालनका लागी गाई भैसी र वाख्राको जमेको बिर्य र तरल नाइट्रोजन खरिद ढुवानी तथा ब्यवस्थापन कार्यलाइ निरन्तरता दिइनेछ ।
- सफा दुधजन्य बस्तु उत्पादन तथा ब्यवसायीकरण गर्नका लागि डेरी उद्योग तथा दुग्ध उत्पादक सहकारी संस्थाहरुसंगको लागत साझेदारीमा छुर्पी प्रवर्धन कार्यक्रम लाई निरनतरता दिइनेछ ।
- खोरेत रोग नियन्त्रण तथा उन्मुलन गर्नका लागि संघ र प्रदेश सरकार संगको सहकार्य तथा समन्वयमा खोरेत रोग नियन्त्रण सम्बन्धी कार्यक्रम संचालन गरी सन्दकपुर गाउँपालिकालाई खोरेत रोगबाट मुक्त गर्न खोरेत रोग नियन्त्रण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- पशुपन्छीका बिभिन्न महामारीजन्य रोग रोकथाम तथा नियन्त्रण गर्न पशुपन्छी खोप कार्यक्रम संचालन गरिनेछ ।
- चौरीपालन व्यवसायलाई प्रवर्धन गर्न चौंरी पालक कृषक समुह संगको लागत साझेदारीमा याक/चौंरी प्रवर्धन कार्यक्रम लाई निरनतरता दिइनेछ ।
सहकारी प्रवर्धन
- सम्पुर्ण सहकारी संस्थाहरुलाई सहकारी तथा गरिवी सम्वन्धी व्यवस्थापन सुचना प्रणाली COPOMIS अध्यावधिक गरी यसै अर्थिक बर्ष भित्र बित्तिय कारोवार सञ्चालनको लागी राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा इजाजत पत्र लिन सहजिकरण गरिनेछ ।
- सहकारी संस्थाहरुको प्रवर्धन तथा क्षमता बिकास गरी प्रविधिमा पहुँच पुर्याउनको साथै सहकारी ऐन बमोजिम सहकारी संस्था अद्यावधिक गरिनेछ ।
- सबै सहकारी संस्थाहरुको नियमित अनुगमन गरी सहकारी मुल्य मान्यता सिद्दान्त र कानुन बमोजिम सञ्चालन हुने व्यवस्था मिलाइनेछ ।
- सहकारी संस्थामा गरिएको बचत फिर्ता तथा गुनासो संबोधन संयन्त्र गठन गरी कार्य संचालन गरिनेछ ।
पर्यटन प्रबर्धन
- रामसार सूचीमा सूचीकृत माइपोखरीदेखि विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविरसम्म पुग्ने ट्रेकिङ मार्गको निर्माण र विस्तार लागि संघीय, प्रदेश र स्थानीय सरकारहरूसँग आवश्यक समन्वय, सहकार्य र साझेदारी कायम गरिनेछ। यस मार्गलाई अन्तर्राष्ट्रियस्तरको आकर्षक पदयात्रा गन्तव्यका रूपमा विकास गर्न पहलकदमी लिइनेछ ।
- पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्न डिजिटल प्रविधिमा आधारित पर्यटन गन्तव्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ।
- ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा रैथाने पर्यटनस्थलहरूको पहिचान, संरक्षण, विकास, प्रवर्द्धन एवं प्रभावकारी प्रचार–प्रसार गरिनेछ।
- “एक स्थानीय तह, एक रैथाने स्वाद घर” अवधारणालाई कार्यान्वयनमा ल्याई स्थानीय परिकारको संरक्षण, प्रवर्द्धन तथा व्यवसायीकरणमा जोड दिइनेछ। साथै, स्थानीय संस्कृति, परम्परा र मौलिक खानाको प्रवर्द्धनका लागि परम्परागत खाना तथा सांस्कृतिक महोत्सवहरूको नियमित आयोजना गरिनेछ।
- माइपोखरी बाट सन्दकपुर डाँडासम्म पुग्ने फाल्गुनन्द पदमार्गको निर्माण र पदमार्ग परिधि संरचनाको काम सम्पन्न गरी फाल्गुनन्द ट्रेल रेस संचालन गरिनेछ ।
- रेडपाण्डा महोत्सवलाई निरनतरता दिइनेछ ।
- हिल स्टेसन वा पर्यटकिय पालिका घोषणाका लागी संघ तथा प्रदेश सरकार संग समन्वय गरिनेछ ।
- सरोकारवालाहरु संगको सहकार्य र साझेदारीमा सन्दकपुरमा पाइने चराहरुको अध्ययन तथा तथ्यांक संकलन गरिनेछ ।
- सन्दकपुर गाउपालिका अन्तर्गतका पर्यटकिय क्षेत्रहरु तथा तिनमा हुने उत्सव, महोत्सव तथा पर्यटकिय गतिविधिहरुलाई समेटी प्रकाशन गरिएको पर्यटन पात्रो (क्यालेन्डर) लागु गरीने छ । “एक पालिका एक पर्यटन सूचना केन्द्र” लाइ व्यवहारमा कार्यान्वयन गरिनेछ ।
- पर्यटन पुर्वाधार, पदमार्ग निर्माण तथा पुननिर्माण, सुचना बोर्ड, खानेपानी, शौचालय, आरामस्थल निर्माण तथा स्थानिय बास्तुकला प्रवर्धन संवन्धी कार्यहरु गरिनेछ ।
- रेडपाण्डा प्रजन्न तथा संरक्षण क्षेत्र सञ्चालन र व्यस्थापन गरिनेछ ।
रोजगार, सीप तथा उद्यमशीलता बिकास
- युवाहरुमा रहेको नवप्रवर्तनशील सोच, सीप, ज्ञान तथा व्यवसायिक अवधारणालाई प्रोत्साहन गर्न प्रतिस्पर्धात्मक आधारमा अनुदान तथा सहुलियतपूर्ण कर्जा र अनुदान उपलब्ध गराई उद्यमशीलता विकास र रोजगारी सिर्जना गराइनेछ ।
- रोजगार विहीनहरूको दर्ता र सार्वजनिक रोजगार कार्यक्रमका अतिरिक्त स्थानीय सीप तथा सोको माग, नक्साङ्कन, तालिम, समन्वय, उद्यमशीलता सहजीकरण तथा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण सम्बन्धी कार्यक्रम एकद्वार प्रणाली मार्फत सञ्चालन गरिनेछ।
- सुरक्षित आप्रवासन (सामी) कार्यक्रम लाई निरन्तरता दिइनेछ ।
- लघु उद्धमको माध्यमबाट नयाँ उद्धमी श्रृजना गरिनेछ साथै पुराना उद्धमी लाई स्तरउन्नती गरी प्रबिधी हस्तान्तरण गरिनेछ ।
- बित्तिय साक्षरता कार्यक्रम संचालन गरिनेछ ।
- युवा लक्षित उद्यम बिकास कार्यक्रम संचालन गरिनेछ ।
ख. सामाजिक विकास क्षेत्रका नीति तथा कार्यक्रमहरुः
- “एक पालिका एक नमूना आवासिय विद्यालय” स्थापना गरि गुणस्तरिय, सिपयुक्त, प्रयोगात्मक, प्रबविधिमैत्री, वैज्ञानिक र जिवन उपयोगि शिक्षाको व्वस्थापन गर्दै लगिनेछ ।
- गुणस्तरीय प्रारम्भिक बालविकास शिक्षामा समतामूलक पहुँच स्थापित गर्न प्रारम्भिक बालविकास शिक्षा कार्यक्रमको विस्तार गर्दै लगिनेछ । यसैगरी प्रारम्भिक बालविकास शिक्षाका सहजकर्ताहरूको मनोबललार्इ उच्च राख्न विगतदेखि प्रदान गरिदै आएको प्रोत्साहन अनुदानलार्इ निरन्तरता दिइनेछ ।
- शिक्षक दरबन्दी कम भएका विद्यालयलाई स्वयंसेवक शिक्षक व्वस्थापनको प्रबन्ध मिलाईने छ । विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र विद्यालय सहयोगीहरुको लागि उपलब्ध गराउँदै आएको थप पारिश्रमिकलाई निरन्तरता दिइनेछ ।
- शैक्षिक गतिविधिमा सुधार एवम् प्रभावकारी विद्यार्थी मुल्याङ्कन प्रणालि विकास गर्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग नतिजा सूचकका आधारमा कार्यसम्पादन सम्झौता र प्र. अ. ले आफु मातहतका प्रत्येक शिक्षकसँग कार्यसम्पादन सम्झौता गर्नेवातावरण मिलाई कार्यसम्पादन सम्झौतालाई शिक्षकको वृत्ति विकाससँग आबद्ध गरिनेछ ।
- विद्यालय शिक्षा क्षेत्र योजनाको लक्ष्य र उद्देश्य हासिलका गर्नका लागि बनेको गाउँ शिक्षा योजना निर्माण तथा अद्यावधिक गरि शिक्षामा गुणात्मक सुधार गर्दै लगिनेछ ।
- एकीकृत पाठ्यक्रम (कक्षा १-३) को मूल मर्म अनुरुप विद्यार्थी सिकाइ उपलब्धीको अभिलेखका लागि विद्यार्थी मूल्याङ्कन अभिलेख पुस्तिकाकको विकास र वितरण गरिनेछ ।
- शैक्षिक सुधारका लागि शिक्षण सिकाइ समय कार्यान्वयन कार्यविधी- २०७४ लाई पूर्णत कार्यान्वयन गराई शिक्षक तथा विद्यार्थी विद्यालय समय भित्र रहने वातावरण सिर्जना गरी अनुगमन र निरीक्षणलाई नियमित र प्रभावकारी बनाइनेछ ।
- परीक्षा प्रणालीमा सुधारका लागि कक्षा ८ को परीक्षाका साथै कक्षा ५ को परीक्षालार्इ पालिकास्तरबाट सञ्चालन गरीनेछ ।
- विद्यार्थी नतिजाका आधारमा सामुदायिक विद्यालय, शिक्षक तथा विद्यार्थीलार्इ प्रोत्साहन स्वरुप नगद वा जिन्सि पुरस्कार वितरण गर्नुका साथै शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रमहरू तर्जुमा गरि लागु गरिनेछ ।
- आधारभूत तह कक्षा ८ र माध्यमिक कक्षा १० र १२ का विद्यार्थीहरुको सिकाई उलपब्धि अभिवृद्धिका लागि आवश्यक अतिरिक्त कक्षा (ट्यूसन कोचिङ्गको) व्यवस्था मिलाइनेछ ।
- विद्यालयस्तरीय शैक्षिक कार्यक्रमहरूलार्इ योजनाबद्ध बनाउने र व्यवस्थापकको क्षमता विकास कार्यक्रम सञ्चालन गर्दै पालिका स्तरिय शैक्षिक क्यालेण्डर निर्माण गरी कार्यान्वयन गर्ने कार्यलाई निरन्तर्ता दिईनेछ ।
- प्रारम्भिक बालविकास केन्द्रलाई क्रमश सुविधासम्पन्न बनाउँदै लगिनेछ ।
- शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोगलार्इ बढावा दिइ नवप्रवर्तनलार्इ अंगिकार गर्न शिक्षकहरूको पेशागत क्षमता विकास तालिम कार्यक्रम सञ्चलन गरिनेछ ।
- सबै सामुदायिक विद्यालयहरुलाई नवप्रवर्तन र प्रविधिमैत्री बनाउन विद्यार्थी संख्या र सञ्चालित तह समेतको आधारमा सुचन प्रविधिका (ICT) साधनको व्यवस्थापन गर्दै लगिनेछ र एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालिको प्रयोगलाई प्रभावकारी बनाईनेछ ।
- जनसंख्याको बनोट, भौगोलिक अवस्थाक समेतलार्इ मध्यनजर गर्दै विद्यार्थी संख्या न्यून भएका र दुरिको आधारमा विद्यालय नक्साङ्कन गरि आवश्यकतानुसार विद्यालयहरूलार्इ समायोजन गर्नुका साथै शिक्षक दरवन्दी मिलान कार्यलार्इ प्रभावकारी रुपमा अगाडि बढाइनेछ ।
- सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, प्रभावकारी व्यवस्थापन तथा सञ्चालनका लागि प्र. अ. प्रोत्सहन, विद्यालय व्यवस्थापन अनुदान वितरण, विद्यालय व्यवस्थापन समितिसँग निरन्तर अन्तरक्रिया छलफल र क्षमता विकासका कार्यक्रम कार्यान्वयनको व्यवस्थापन मिलाईनेछ ।
- प्राविधिक धार सञ्चालित सामुदायिक विद्यालयको सञ्चालन, व्वस्थापन, विद्यालय समुदमय सम्बन्ध सुधार र ल्याबको व्वस्थापन तथा प्रयोगात्मक कार्यको लागि आवश्यक व्वस्था गरिनेछ ।
- विद्यालयमा विविधता व्यवस्थापन गर्दै विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालय बाहिर नरहने वातावरण सिर्जना गरिनेछ ।
- बालमैत्री विद्यालयको अवधारणा अनुसार सबै विद्यालयमा बालमैत्री, अपाङ्गमैत्री र छात्रामैत्री पूर्वाधार र विद्यालय वातावरण निर्माणमा जोड दिइनेछ ।
- सामुदायिक विद्यालयका छात्राहरुलाई निशुल्क सेनिटरी प्याडको सहज पहुँच र उपलब्धताको व्यवस्था गर्नुका साथै विद्यालयमा चल्दै आएको दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।
- तोकिए बमोजिम विपन्न विद्यार्थीलाई उपलब्ध गराउनु पर्ने छात्रवृत्ती कोटाको कार्यान्वयनलाई पारदर्शी र प्रभावकारी र लक्षित वर्ग उन्मुख गराउन आवश्यक नियमन गरिनेछ ।
- पालिकाभित्र सञ्चालित सामुदायिक सिकाइ केन्द्रलाई व्यवस्थित गरी सामुदायिक सिकाइ केन्द्रलार्इ सुविधासम्पन्न सामुदायिक पुस्तकालय र सामुदायिक सूचना केन्द्र र सिप तथा उद्धमशिलता विकाससँग सम्बन्धित संस्थाको रूपमा विकास गरि वैकल्पिक र जिवपर्यन्त सिकाईको लागि आवश्यक व्वस्था मिलाइनेछ।
- स्थानिय भाषा भाषि, धर्म संस्कृति, परम्परा, परम्परागत सिप, धार्मिक शिक्षा, धार्मिक, ऐतिहासिक र पर्यटकिय स्थालको संरक्षण, प्रबर्द्धन र सो सँग सम्बन्धित ज्ञान सिपलाई नयाँ पिडीमा हस्तान्तरणका लागि स्थानियम पाठ्यक्रममा समावेश गरिनेछ ।
- युवा क्लबमा आबद्ध युवाको नेतृत्व विकास र Career Guidance का पक्षमा जोड दिइनुका साथै विभिन्न विधामा युवा प्रतिभा पहिचान र प्रदर्शनका प्रतियोगिता आयोजना गरी अवसर प्रदान गरिनेछ ।
- विद्यार्थी तथा शिक्षकको अन्तर्निहीत प्रतिभा प्रस्फुटन गरार्इ सर्वाङ्गीण विकासमा टेवा पुर्याउन पालिका स्तरिय प्रतिस्पर्धार्मक कार्यक्रम, राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता, विद्यार्थी प्रतिभा पहिचान लगायतका क्रियाकलाप सञ्चालनमा निरन्तरता दिइनेछ । खेलकुद विकासका लागि आवश्यक खेल सामग्री तथा सहयोग उपलब्ध गराइ विद्यालयमा खेलकुद र अतिरिक्त क्रियाकलापको माध्यमबाट विद्यार्थीको बहुआयमिक प्रतिभाको विकास गरिनेछ ।
स्वास्थ्य:
- “जनप्रतिनिधि प्रतिवद्धता कार्यान्वयन कार्यक्रम” अन्तर्गत गर्भवती, सुत्केरी, असक्त, जेष्ठनागरिक तथा उच्च जोखिममा रहेका मातृ स्वास्थ्य सेवाग्राहीलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याउने उद्देश्यले एम्बुलेन्स खरिद गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइनेछ।
- यस पालिका भित्रका जेष्ठनागरिक तथा अशक्तहरुलाई घर तथा टोलस्तरमा आधारभूत स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
- मातृ तथा नव शिशु मृत्युदरमा न्यूनिकरण गर्ने उद्देश्यका साथ प्रारम्भिक कार्यक्रमको रुपमा वडा नं ३ मा घरमै हुने प्रसुतिको अन्त्य गरि पुर्ण संस्थागत प्रसुतिको सेवा प्रदान गरि उक्त वडालाई पुर्ण संस्थागत प्रसुतिको क्षेत्र घोषणा गरिनेछ ।
- सबै स्वास्थ्य चौकीहरुमा स्वास्थ्यकर्मीहरुको व्यवस्था गरि अत्यावश्यक औषधीको निरन्तर उपलव्धता हुने व्यवस्था मिलाइनेछ ।
- गाउँपालिकाका सवै वडाहरुमा दक्ष जनशक्ति, औषधी उपकरण, र स्वास्थ्यकर्मी सहितका स्वास्थ्य चौकी र घुम्ती गाउँघर क्लिनिक र खोप क्लिनिक सञ्चालनलाई निरन्तरता दिइनेछ ।
- सवै वडाहरुमा सञ्चालनमा रहेका बर्थिङ्ग सेन्टरहरुलाई सुदृढ र प्रभावकारी बनाइनेछ । स्थायी पदपूर्ति नभइन्जेलसम्मका लागि बर्थिङ्ग सेन्टरमा आवश्यक जनशक्तिको व्यवस्थापन गरिनेछ ।
- स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नागरिकहरुलाई जागरुक गराइनेछ । अपाङ्गता भएका अति विपन्न सेतो तथा पहेलो कार्ड प्राप्त व्यक्ति तथा परिवारको स्वास्थ्य बीमा गर्नमा पचास प्रतिशत रकम गाउँपालिकाले व्यहोर्ने छ ।
- वृद्धवृद्धा, फरक क्षमता भएका नागरिकहरुको प्रत्येक महिनामा एक पटक स्वास्थ्य जाँच अनिवार्य रुपमा गरिनेछ तथा व्यक्तिगत सरसफाई र स्वास्थ्यका सर्ने तथा नसर्ने रोग सम्बन्धी जनचेतनामूलक कक्षा संचालन गरिनेछ ।
- अपाङ्गता भएका नागरिकहरुलाई उनीहरुको दैनिक जीवनयापनलाई सहज तुल्याउन विशेष अपाङ्गमैत्री कार्यक्रमहरु ल्याईनेछ । साथै सवै स्वास्थ्य संस्थाहरुलाई जेष्ठ नागरिक मैत्री,बालमैत्री र किशोरकिशोरी मैत्री बनाउँदै लगिनेछ ।
- महिला सामुदायीक स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्सहान स्वरुप दिदै आएको मासिक रु. एक हजार लाई निरन्तरता दिईने छ ।
- महिला सामुदायीक स्वास्थ्य स्वयंसेविकाहरुको पालिका र स्वास्थ्य चौकी स्तरिय स्वयंसेविका कोषलाई व्यवस्थित गरि सञ्चालन र व्यवस्थापन गरिने छ ।
- पालिका अन्तर्गतका मानसिक रोगीको पहिचान र औषधी वितरण कार्यलाई निरन्तरता दिईनेछ ।
- २ वर्ष मुनिको वालवालिकाहरुलाई २४ महिना सम्म प्रत्येक महिना जाँच गर्न स्वस्थ्य बच्चाहरुको पहिचान गरी आमा र वुवालाई प्रोत्साहन गरिनेछ ।
- वालवालिकाको उचाइ अनुसरको तौल लिन प्रत्येक महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई उपकरण को ब्यवस्था मिलाइनेछ ।
- थप नसर्ने रोगको विरामी नहुने व्यवस्थापनको लागी स्वास्थ्य शिक्षा स्वस्थ्य आमा समूह मार्फत घरघरमा पुर्याईनेछ ।
- महिला सामुदायिक स्वास्थ्य स्वायंम सेवीकाहरुलाई ६० बर्ष उमेर हदका कारण सेवाबाट अवकास भएका बखत सम्मान तथा बिदाई गरिनेछ ।
- माईमझुवा स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला सेवा सञ्चालन गरि तोकिएको सेवाहरुको जाँच गरि सेवा सञ्चालन गरिनेछ ।
- आगामी बर्षहरमा अन्य वडाहरुमा समेत प्रयोगशाला सेवा क्रमश सञ्चालनमा ल्याइनेछ ।
आयुर्वेद :
- यस गाउँपालिका अन्तर्गत रहेको जमुना आयुर्वेद औषधालय भवनलाई मर्मतसुधारका साथै आवश्यक सेवाकक्षहरु तथा उपकरणहरु व्यवस्थापन गरि न्युनतम सेवा मापदण्ड (Minimum Service Standards-MSS) अनुरुप थप व्यवस्थित रुपमा संचालन गर्दै लगिनेछ ।
- आधारभूत आयुर्वेद स्वास्थ्य सेवा अन्तर्गत रहेको पंचकर्म/पुर्वकर्म/उपक्रम सेवाका लागि पुरुष तथा महिला सेवाका लागि छुटाछुटै कक्षमा आवश्यक जनशक्ति (विशेषगरि महिला अभ्यंगकर्ता) को व्यवस्थापन तथा निरन्तरता दिईनेछ ।
- नागरिक आरोग्य कार्यक्रम अन्तर्गत (१ र ३ नं. वडाका लागि-माबुमोड देउराली, २ नं. वडाका लागि-माईमझुवा र ४ नं. वडाका लागि-माबु ) संचालन हुदै आएको गाउँघर आयुर्वेद क्लिनिकलाई नागरिक आरोग्य सेवा केन्द्रको रुपमा व्यवस्थित गरि पुर्वपंचकर्म सेवासहित, यस गाउँपालिका भित्र आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा पहुँच नपुगेको क्षेत्रमा आवश्यक्ता अनुसार अर्धमासिक वा मासिक रुपमा संचालन गरि निरन्तरता दिईनेछ ।
- आयुर्वेद औषधालय तथा नागरिक आरोग्य सेवा (गाउँघर आयुर्वेद क्लिनिक) केन्द्रका लागि निःशुल्क अत्यावश्यक औषधिको निरन्तर उपलब्धता हुने व्यवस्था मिलाइनेछ ।
- “स्वस्थ जीवनका लागि एक घर पाँच योग, पाँच जडिबुटी एवं पाँच सदवृत” नारासहित भान्सा सुधार कार्यक्रम अभियानको रुपमा संचालन गरि प्रत्येक घरमा स्थानीय जडिबुटीको उपलब्धता एवं स्वस्थ जीवनशैली परिपालनामा जोड पुर्याईनेछ ।
- यस गाँउपालिका भित्र पाइने स्थानीय जडिबुटीको पहिचान सहितको तथ्यांक सकलन गरि अभिलेखीकरण गरिने छ । स्थानीय जडिबुटीको आयुर्वेदिय उपयोग, संरक्षण, संबर्द्धन, रोपण,संग्रहण एवं जीवनशैलीमा उपयोगता बारे अभिमुखिकरण कार्यक्रम संचालन गरिनेछ ।
युवा तथा खेलकुद:
- युवाहरूको सीप, क्षमता, नेतृत्व विकास तथा उद्यमशीलता प्रवर्द्धन गरी उत्पादनशील रोजगारी र स्वरोजगारका अवसर सिर्जना गरिनेछ।
- गाउँपालिकास्तरीय युवा नीति तर्जुमा गरी युवाहरूको अर्थपूर्ण सहभागिता, नेतृत्व विकास र सशक्तीकरणलाई प्रोत्साहन गरिनेछ।
- युवा स्वरोजगार कार्यक्रमलाई विशेष प्राथमिकतामा राखी प्रधानमन्त्री रोजगार कार्यक्रमसँग जोड्दै रोजगारीको अवसरहरु श्रृजना गर्दै लगिनेछ ।
- स्काउटिङ्ग र रेडक्रसका कार्यक्रमहरु संचालनमा ल्याईनेछ ।
- “स्वास्थ्य, पर्यटन र राष्ट्रियताको लागि खेलकुद” भन्ने नाराका साथ खेलकुद पर्यटनलाई प्रर्वद्धन गर्दै विभिन्न खेलकुदका गतिवधिहरु संचालन गर्नका साथै एक वडा एक खेलमैदान स्तरोन्नतिको कार्य गरिनेछ । गाउँपालिका स्तरीय अन्तरवडा खेलकुदको आयोजना गरिनेछ।
- समुदायस्तरमा नियमित खेलकुद प्रतियोगिता सञ्चालन गरी प्रतिभावान खेलाडीहरूको पहिचान, संरक्षण र प्रोत्साहन गरिनेछ।
- खेलकुदको क्षेत्रमा व्यवसायिक खेलाडी उत्पादन गर्नका लागि सम्बन्धित खेल प्रशिक्षकको व्यवस्था गरि बालबालिका तथा किशोर उमेर समूहका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ ।
- राष्ट्रिय तथा अन्तरपालिका स्तरका प्रतियोगिताहरूमा सहभागिता जनाउने खेलाडीहरूलाई आवश्यक सहयोग, प्रशिक्षण र प्रोत्साहन उपलब्ध गराइनेछ।
लैंगिक समानता र सामाजिक समावेशिकरण, सुरक्षा र संरक्षणः
- बालबालिकाको सर्वाङ्गीण विकास, संरक्षण, सहभागिता तथा बालअधिकार सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासनका सबै मापदण्ड पूरा गरी आर्थिक वर्ष २०८३/०८४ भित्र गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिनेछ।
- सवै प्रकारका सामाजिक सुरक्षा भत्ताहरु आधुनिक,विश्वासनीय र सुविधाजनक बैंकिङ् प्रणाली मार्फत जनतालाई सेवा उपलब्ध गराई रहेकोमा उप्रान्त यी सेवालाई जनमुखी समयसापेक्ष र चुस्त दुरुस्त गरिनेछ ।
- ज्येष्ठ नागरिकहरुलाई मनोबल बढाउन ज्येष्ठ नागरिक हित अनुकुल कार्यक्रमहरु ल्याईनेछ।
- लक्षित वर्गको आवश्यकता र बजेटको उपलब्धताका आधारमा उक्त समुदायको जीवनस्तरमा परिवर्तन ल्याउने खालका योजना तथा कार्यक्रममा लगानी गरी जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरु ल्याइनेछ ।
- किशोरी समुहलाई सशक्त बनाई बाल विवाह न्युनीकरणमा सहयोगी भुमिका निर्वाह गर्ने कार्यक्रमहरु ल्याइनेछ ।
- गाउँपालिकामा सञ्चालन हुने सवै किसिमका कार्यक्रम र नीति निर्माण तहमा लैंगिक समता र सामाजिक समावेशीकरणलाई उच्च प्राथमिकता दिइनेछ ।
- आदिवासी जनजाती, महिला आदि लक्षित समुदायको भाषा, धर्म, संस्कार, संस्कृतिको विकासको लागि
- आवश्यक ऐन, कार्यविधी र रणनीति बनाउन आवश्यक व्यवस्था गरिनेछ ।
- सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई पारदर्शी तथा प्रभावकारी बनाउन बायोम्याट्रिक भेरिफिकेशन (Biometric Verification) संघीय सरकारको निर्णयानुसार लागु भई रहेको अवस्थामा अझ सुदृढ गरिनेछ ।
- बालश्रम मुक्त गाउँपालिका घोषणाको कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- “गाउँपालिकाको समग्र विकासको आधार मानिएका गाउँपालिकाभित्रका प्रमुख तथा रणनीतिक सडकहरूको स्तरोन्नति गरी कालोपत्रे, कंक्रिट ढलान, पक्की नाली तथा आवश्यक सडक संरचनाहरू बनाइ “सबै मौसममा चल्ने सडक” (All-weather road) सञ्जालको विकास गरिनेछ।
- सुरक्षित र व्यवस्थित यातायातका लागि सडक संकेत, कल्भर्ट तथा आवश्यक संरचना निर्माण गरिनेछ।
- जनसहभागीतामूलक, पारदर्शी, वातावरणमैत्री, अनुशासित एवं स्वच्छ प्रतिस्पर्धामा आधारित विकास पद्धतीलाई जोड दिँदै उत्पादनमूलक एवं रोजगारीमूलक विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
- पर्यटकीय क्षेत्रहरुमा पुग्ने सडकहरुको प्राथमिकताको आधारमा स्तरोन्नती गरिनेछ । साथै सन्दकपुर गाउँपालिकामा रहेका सबै ग्रामीण सडक र कृषि सडकहरुलाई क्रमश: स्तरोन्नती गरिनेछ ।
- संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरि दुईवटा वडाहरुलाई जोड्नको लागी (Motorable) गाडी जान सक्ने पक्की पुलको डि.पि.आर गरी योजनाहरु सञ्चालन गरिने छ । यात्रालाई सहज र सरल बनाउन झोलुङगे पुल र काठे पुल निर्माण मर्मतलाई निरन्तरता दिइनेछ ।
- निर्माण भएका र निर्माण गरिने सडकहरु सडक मापदण्ड अनुसार बनाईनेछ । सडक क्षेत्राधिकार Right of way लाई कायम गर्न सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिनेछ ।
- सन्दकपुर डाँडासम्म पुग्ने मुख्य सडकहरुलाई गौरवको योजनाको रुपमा विकास गर्न संघीय सरकार ,प्रदेश सरकारसंग समन्वय गरी निर्माण कार्यलाई द्रुत गतिमा लगिनेछ ।
- अन्तर स्थानीय तहलाई जोड्ने मुख्य सडकहरुलाई विशेष प्राथमिकतामा राखिनेछ ।
- संघीय सरकार र प्रदेश सरकारसंग समन्वय गरी पर्यटन प्रर्वद्धनको लागि गाउँपालिका क्षेत्रमा
पर्यावरणीय सन्तुलन एवं वातावरणमैत्री विकास गर्ने पद्धतीको अवलम्बन गरिनेछ ।
- साना सिँचाई कार्यक्रम अन्तर्गत स्थानीय सरकार, प्रदेश सरकार र स्वीस सरकारको लागत साझेदारीमा आयोजनाहरुको मर्मत सम्भार गरिनेछ ।
- कृषि उत्पादन वृद्धि गर्न सिँचाइ प्रणालीको विस्तार, मर्मत तथा आधुनिकीकरण गरिनेछ।
- सबै वडामा स्वच्छ र सुरक्षित खानेपानीको दीगो आपूर्ति सुनिश्चित गर्न खानेपानी आयोजना निर्माण, विस्तार तथा स्तरोन्नति गरिनेछ।
- वैकल्पिक तथा नवीकरणीय ऊर्जा (सौर्य ऊर्जा) प्रवर्द्धन गरिनेछ।
- डिजिटल गाउँपालिका निर्माणका लागि इन्टरनेट पहुँच विस्तार तथा सूचना प्रविधिको प्रयोगलाई प्रवर्द्धन गरिनेछ ।
- यस पालिका अन्तर्गत रहेको ऐतिहासिक स्थल सातखाल्डे सहिद पार्कलाई अझ स्तरोन्नती गरिनेछ ।
घ. वन, वातावरण तथा विपद् व्यवस्थापनः
- विपद् व्यवस्थापन, राहत, उद्धार तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन पालिका, वडा र टोलस्तरीय समितिहरूको गठन तथा सुदृढीकरण गरिनेछ। साथै, सम्बन्धित पदाधिकारीहरूलाई आवश्यक तालिम दिई विपद् जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गरी क्षति घटाउने कार्य गरिनेछ।
- विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सुरक्षा निकाय, रेडक्रस, सामुदायिक संस्था, टोल विकास संस्था, टोलस्तरी विपद समित तथा सरोकारवालाहरुसँग समन्वय, सहकार्य गरिनेछ ।
- विपद् जोखिम न्यूनिकरणका लागि आवास विमा कार्यक्रम र विपद् प्रभाबितहरुका लागि जग्गा व्यवस्थापनको कार्य गरिनेछ ।
- गाउँपालिका क्षेत्र भित्र रहेका सीमसार क्षेत्र,पानीका मुहान,तालतलैया क्षेत्र र वनजंगललाई संरक्षण संवर्धन गर्ने नीति लिइनेछ ।
- वनक्षेत्र, खाली स्थान र डाँडाहरुमा स्थानीय प्रजातीका वृक्षहरु रोप्ने नीति ल्याईनेछ । जसको लागि विभिन्न सरोकारवाला संघ संस्था सवै पक्षहरुसंग समन्वय र सहकार्य गरी कार्य अगाडी बढाईनेछ ।
- वनजन्य पदार्थ, जडीवुट्टी उत्पादन र सदुपयोग गर्ने कार्यक्रम अघि वढाइनेछ । वन उपभोक्ता समितिका पदाधिकारीहरुलाई बनजंगलको संरक्षण र विकासको लागि विषेश तालिम दिईनेछ ।
- विपद् उत्थानशील योजना र प्रतिकार्य योजना तयार गरी लागू गरिनेछ ।
- हरित सडक निर्माण गरि वातावरण सन्तुलन र सौन्दर्यकरण गरिनेछ ।
- विपदवाट क्षति भएका निजी निवासहरुको प्रवलिकरण र निर्माण कार्यक्रमलाई प्राथामिकताका साथ स्थलगतरुपमा प्राविधिक कर्मचारी खटाई कोवोकलेक्टको माध्यमबाट विवरण संकलन तथा प्रविष्टिका आधारमा अनुदान उपलव्ध गराइनेछ ।
- बजारहरुको फोहर मैला व्यवस्थापन गर्न ल्याण्ड फिल्ड साईडहरुको क्रमश : व्यवस्थापन गर्न पहल गरिनेछ ।
- भू उपयोग योजना कार्यान्वयनका लागि नीति तय गरिनेछ । जग्गा वर्गीकरण भए अनुरुपको मापदण्ड कार्यान्वयन गरिनेछ ।
ङ. सुशासन तथा संस्थागत विकास क्षेत्रः
- गाउँपालिकाको सेवा प्रवाहलाई छिटो, पारदर्शी, प्रविधिमैत्री र सेवाग्राहीमैत्री भ्रष्टचार मुक्त सहनशीलता नीति अपनाईनेछ । एकीकृत घुम्ती सेवा, घर दैलो सेवा जस्ता कार्यक्रमहरु नियमित रुपमा गरिनेछ ।
- सेवा प्रवाहलाई नागरिकमैत्री, सरल, छिटो र प्रभावकारी बनाउन एकद्वार प्रणाली (One-Stop Service) कार्यान्वयनका लागि आवश्यक भौतिक तथा संस्थागत संरचनाहरूको निर्माण तथा सुदृढीकरणको सुरुवात गरिनेछ।
- पञ्जिकरणको कार्यलाई छिटो, छरितो पारदर्शी गरी आधुनिक प्रविधिको प्रयोगबाट बैज्ञानिक पद्धतिमा रुपान्तरण गरिनेछ ।
- भूक्तानी प्रणालीलाई वैज्ञानिक र पारदर्शी बनाईने नीति लिईनेछ जसको लागि अवलम्वन गरिने कार्यविधिहरुको तर्जुमा गरी शिघ्र लागु गरिनेछ ।
- नागरिक सुरक्षा र सचेतनाको लागी जनतासंग प्रहरी कार्यक्रमलाई अझ प्रभावकारी बनाइनेछ ।
- गाउँपालिकाको सवै शाखा तथा समितिहरुलाई सक्रिय बनाउने नीति लिईनेछ । न्याय सम्पादन कार्यलाई छिटो ,छरितो ,पारदर्शी, प्रवीधिमैत्री बनाईनेछ ।
- गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण तथा सार्वजनिक खर्चको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न वडा तथा पालिकास्तरमा नियमित रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिनेछ।
- गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा सामुदायिक विद्यालयहरुमा CCTV जडान तथा ई-हाजिरी (electronic attendance) लाई अझ दिगो र प्रभावकारी ढंगबाट अनिवार्य गर्दै लगिनेछ ।
- गाउँपालिका र वडा कार्यालयहरुमा नागरिक वडापत्रको व्यवस्था गरि नागरिकको सूचना प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरिनेछ ।
- सार्वजनिक सुनवाई, सामाजिक परिक्षण, सर्वजनिक परिक्षण, व्यवस्थापन परिक्षण, बेरुजु फछर्यौट, आन्तरिक नियन्त्रण प्रणाली र वित्तिय अनुशानलाइ निरन्तरता दिइनेछ ।
- सुशासनको प्रत्याभूती दिलाउँदै विद्युतिय शासनको अवधारणालाई साकार बनाउँदैँ लगिनेछ ।
सूचना, सञ्चार तथा प्रविधि विकास
- युवाहरुलाई सूचना प्रविधि, नवप्रवर्तन, डिजिटल उद्यमशीलतामा आकर्षित गर्न प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
- गाउँपालिकाको नीति कार्यक्रम, उपलब्धि, सार्वजनिक सूचना तथा जनचेतामूलक सन्देशहरुको प्रसारण तथा प्रकाशनमा स्थानीय सञ्चार माध्यमहरुलाई प्राथमिकता दिइनेछ।
- संचार क्षेत्रको विकासको निम्ति पूर्णकालीन रुपमा स्थानीय तहमा रही पत्रकारीता गर्ने पत्रकारहरु तथा सञ्चारगृहलाइ प्रोत्साहन गर्ने नीति लिइनेछ ।
- सञ्चारकर्मी उत्पादन तथा स्थानीय पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम, अभिमुखीकरण तथा क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।
- गाउँपालिकाभित्र क्रियाशील सञ्चारगृह, एफएम रेडियो, अनलाइन सञ्चारमाध्यम, पत्रपत्रिका तथा सामुदायिक सञ्चार संस्थागँग सहकार्य र समन्वयलाई प्रभावकारी बनाउइनेछ ।
- प्रेस स्वतन्त्रता, सूचनाको हक तथा जिम्मेवार पत्रकारिताको सम्मान गर्दे सूचना प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाइनेछ ।
- साइबर सुरक्षा तथा सूचना संरक्षणका लागि आवश्यक हार्डवेयर, सफ्टवेयर तथा सुरक्षा संरचनाको विकास गरिनेछ
साझेदारी तथा अन्तरसरकारी समन्वय
- संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य, समन्वय तथा सहअस्तित्वको सिद्धान्तलाई आत्मसात गर्दे विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाइनेछ।
- पालिकाको प्राथमिकताका आयोजना कार्यान्वयनका लागि संघ, प्रदेश तथा विकास साझेदार निकायसँग सहलगानीको अवधारणा अवलम्बन गरिनेछ ।
- संघ र प्रदेश सरकारबाट प्राप्त हुने समपुरक अनुदान, सशर्त अनुदानको लागि आवश्यक साझेदारी बजेटको प्रबन्ध मिलाइ योजनाहरु कार्यान्वयनमा ल्याइनेछ ।
- साझा हित र आवश्यकता भएका विकास आयोजनाहरु कार्यान्वयन गर्न छिमेकी स्थानीय तहहरुसँग अन्तरपालिका सहकार्य र साझेदारीका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
- सरकारी, गैरसरकारी, निजी क्षेत्र, सहकारी क्षेत्र तथा विकास साझेदार संस्थाहरुसँग साझेदारीमा विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
संस्कृति, कला तथा सम्पदा संरक्षण
- स्थानीय मौलिक भाषा, कला, संस्कृति, साहित्य, परम्परा, जात्रा, पर्व तथा सास्कृतिक सम्पदाहरुको पालिकास्तरमा अभिलेखीकरण गरी संरक्षण, संवर्द्धन र पुस्तान्तरणको काम सुरु गरिनेछ ।
- ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका सम्पदाको पहिचान, अभिलेखीकरण, संरक्षण र पुनः निर्माणलाई प्राथमिकता दिइनेछ ।
- मठ मन्दिर, चैत्य विहार, गुम्बा, पोखरी, धारा, कुवा, कुण्ड, मुहान तथा अन्य सम्पदाको संरक्षण, मर्मत तथा पुनः निर्माणको कामलाई निरन्तरता दिइनेछ ।
- विद्यालय तहमा स्थानीय इहिहास, संस्कृति तथा सम्पदासम्बन्धी शैक्षिक सामाग्री विकास गरी स्थानीय पाठ्यक्रममा समावेश गरिनेछ ।
- सम्पदा संरक्षणका लागि आवश्यक कानुन, कार्यविधि तथा मापदण्ड तर्जुमा गरी कार्यान्वयन गरिनेछ
राजस्व परिचालन तथा वित्तीय व्यवस्थापन
- वजेट तथा कार्यक्रम तर्जुमालाई सहभागितामूलक, नतिजामूलक र कार्यसम्पादनमा आधारित गरिनेछ ।
- पालिकाको आन्तरिक राजस्वको दायरा विस्तार गरी राजस्व संकलनलाई दिगो, पारदर्शी र प्रभावकारी बनाइनेछ।
- राजस्व प्रशासनलाई सूचना प्रविधिमैत्री, सेवामुखी र करदातामैत्री बनाइनेछ।
- आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ गर्दै बेरुजु न्यूनीकरण तथा वित्तीय जोखिम व्यवस्थापन गरिनेछ।
- पालिकाको राजस्व सुधार कार्ययोजना तयार गरी कार्यान्वयन गरिनेछ।
- सार्वजनिक खरिद तथा ठेक्का व्यवस्थापनलाई प्रतिस्पर्धी, पारदर्शी र प्रविधिमैत्री बनाइनेछ।
- बेरुजु फर्छ्यौट तथा आन्तरिक नियन्त्रण सुधारका लागि विशेष अभियान सञ्चालन गरिनेछ।
- राजस्व चुहावट नियन्त्रण, करको दायरा विस्तार तथा बेरुजु असुलीलाई प्राथमिकता दिइनेछ।
- करदातामा कर तिर्ने संस्कृतिको विकास गर्न सचेतना, शिक्षा तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिनेछ।
न्यायिक तथा कानुनी सेवा
- स्थानीय तहको अधिकारक्षेत्रभित्र पर्ने विवादहरूको मेलमिलाप तथा न्यायिक निरूपणलाई थप प्रभावकारी बनाउन न्यायीक समितिमा दर्ता हुने विवादहरुको समयमा नै किनारा लगाउने प्रवन्ध मिलाइनेछ
- विवादहरुलाई मेलमिलापकर्ताहरु मार्फत मेलमिलाप र मध्यस्थ गराउने व्यवस्थाका लागि स्रोत र मेलमिलाप केन्द्रको व्यवस्थापन र क्षमता विकास गरिनेछ । विवाद दर्तालाई सफ्टवेयरमा आधारित वनाइनेछ
- मेलमिलापकर्ता तथा न्यायिक समितिसँग सम्बन्धित जनशक्तिको क्षमता विकासका लागि नियमित तालिम सञ्चालन गरिनेछ।
- नागरिकहरूका लागि कानुनी साक्षरता तथा जनचेतना अभियान सञ्चालन गरिनेछ।
- स्थानीय कानुन, कार्यविधि, निर्देशिका तथा मापदण्डहरूको आवश्यकतानुसार निर्माण, संशोधन तथा अद्यावधिक गरिनेछ।
- जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, नेपाल बार तथा सम्बन्धित निकायहरूसँग समन्वय गरी न्यायिक सेवा सुदृढ गरिनेछ।
धन्यवाद
तुलाराम गुरुङ
सभाअध्यक्ष















































