देउमाई नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम (पूर्ण पाठ)

  नयाँ बुलन्द
14 Shares

देउमाई नगरपालिकाको गरिमामय एघारौँ नगर सभामा उपस्थित सम्पूर्ण  सदस्यज्यूहरू, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी तथा सम्पूर्ण नगरवासी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दछु।

नेपालको संविधानले परिकल्पना गरेको समावेशी लोकतन्त्र, सुशासन र दिगो विकासको लक्ष्यलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम यस गरिमामय सभासमक्ष प्रस्तुत गर्न पाउँदा गौरवको अनुभूति गरेको छु।

संविधानले प्रदान गरेका अधिकार र जिम्मेवारीलाई आत्मसात् गर्दै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने, विकास निर्माणलाई व्यवस्थित र परिणाममुखी बनाउने तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत समुन्नत देउमाई निर्माण गर्ने दृढ संकल्पका साथ यो नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ।

यस अवसरमा लोकतान्त्रिक आन्दोलन, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र नागरिक अधिकारका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै विभिन्न आन्दोलनका घाइते, अपाङ्गता भएका तथा बेपत्ता नागरिकहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु।

गत असोज १८ गतेको अविरल वर्षा तथा पहिरोबाट ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु। साथै उद्धार, राहत तथा पुनःस्थापनामा खटिनुहुने सबै राजनितिक दल, जनप्रतिनिधि, सुरक्षाकर्मी, राष्ट्र सेवक कर्मचारी, विभिन्न संघ संस्था,नागरिक समाज स्वास्थ्यकर्मी तथा स्वयंसेवकप्रति हार्दिक आभार व्यक्त गर्दछु।

सीमित स्रोत–साधन र वित्तीय चुनौतीका बाबजुद पनि नगरवासीको विकास, समृद्धि र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न देउमाई नगरपालिका प्रतिबद्ध छ। कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार, वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा सुशासनलाई प्राथमिकतामा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गरिएको छ।

सभाका सदस्य ज्यूहरु

हाम्रो विद्यमान परिवेश (राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक, आदि)

विश्वव्यापी अर्थतन्त्र हाल विभिन्न भूराजनीतिक तनावका कारण प्रभावित हुँदै आएको छ। विशेषतः अमेरिका–इरानबीचको तनावले ऊर्जा बजार तथा अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा अस्थिरता सिर्जना गर्दा नेपालजस्ता आयात–निर्भर मुलुकहरूमा समेत प्रत्यक्ष असर परेको छ। यसले संघीय सरकारको राजस्व परिचालनमा दबाब सिर्जना भई स्थानीय तहमा प्राप्त हुने वित्तीय हस्तान्तरण रकममा संकुचन आएको अवस्था छ।

नेपाल अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुने चरणमा रहँदा दैनिक करिब दुई हजार युवा रोजगारीका लागि विदेशिनु पर्ने अवस्थाले गम्भीर चुनौती थपेको छ। बसाइसराइको तीव्रताले ग्रामीण बस्तीहरू सुनसान बन्दै गएका छन्, खेतीयोग्य जमिन बाँझिँदै गएको छ र आयातमुखी अर्थतन्त्र झन् विस्तार हुँदै गएको छ।

यस परिप्रेक्ष्यमा देशभित्रै उत्पादनशील रोजगारी सिर्जना गर्दै ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउनु आवश्यक छ। “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य हासिल गर्न आधुनिक, प्रविधिमैत्री र जनमुखी सुशासनमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ।

सभाका सदस्य ज्यूहरु,

आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तयार गर्दा देहाय बमोजिमका क्षेत्रहरुलाई प्राथमिकतामा राखिएको छ।

  • आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने,
  • उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने,
  • जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने,
  • स्थानीय पूर्वाधार विकास,
  • स्थानीय सहभागिता जुट्ने, स्वयंसेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने
  • स्थानीय स्रोत साधन र सीपको अधिकतम प्रयोग हुने
  • महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने,
  • लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि हुने,
  • दिगो विकास, वातावरणीय संरक्षण तथा सम्वर्द्धन गर्न सघाउ पुर्याउने
  • प्राकृतिक स्रोतको दिगो उपयोग तथा विपद व्यवस्थापन
  • भाषिक तथा साँस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्याउने

सभाका सदस्य ज्यूहरु,

आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्ने सन्दर्भमा निम्नलिखित विषय वस्तुहरुलाई आधार मानी तयार गरिएको छ ।

  • नेपालको संविधान,
  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४
  • प्राकृतिक सोत तथा वित्त आयोग ऐन, २०७४
  • अन्तर सरकारी वित्त व्यवस्थापन ऐन,२०७४
  • नेपाल सरकार, कोशी प्रदेश सरकारले तर्जुमा गरेका नीति तथा कार्यक्रम र बजेट
  • दातृ निकायसँग भएका सम्झौताहर,
  • वडा समितिबाट प्राप्त भएका मागहरु तथा सुझावहरु,
  • स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जूमा दिग्दर्शन, २०७४,
  • श्रोत साधनको उपलब्धता,
  • सरोकारवालाहरुको राय सुझाव,
  • सोह्रौँ पञ्चवर्षीय योजना,
  • दिगो विकास लक्ष्य
  • देउमाई नगरपालिको आवधिक योजनाले मार्गनिर्देश गरेका नीति तथा कार्यक्रम
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग भएका सहमति सम्झौताहरु

नगरवासीले दिएको अगाध माया र ममताबाट प्रेरित भई मैले देउमाई नगरपालिकालाई बसौँ बसौँ लाग्ने गाउँहरु र सहरहरु निर्माण सँगै समुन्नत र समृद्ध नगरपालिकाको रुपमा अघि बढाउन विगतमा भएका असल अभ्यासहरुलाई निरन्तरता दिदैँ र सुधार गर्नु पर्ने पक्षहरुलाई सिकाइका रुपमा ग्रहण गर्दै, यस नगरपालिकाको भूगोल, भाषा, धर्म, कला, सँस्कृति, जातियता, रहनसहन र रितिरिवाजमा भएको विविधताको सम्मान गर्दै सबै क्षेत्रको समानुपातिक विकासका लागि आगामी आ.व. २०८३/ ०८४ मा अवलम्बन गरिने नीतिहरु स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा १६ को उपदफा ४(क) को व्यवस्था अनुरुप प्रस्तुतिका लागि अनुमति चाहन्छु।

१.शिक्षा, युवा तथा खेलकुद

  • विद्यालयको शैक्षिक क्रियाकलापहरुलाई पारदर्शी र गुणात्मक रुपमा सञ्चालन गर्दै नियमित अनुगमन सुपरीवेक्षण कार्यलाई दृढताका साथ सञ्चालन गरिने छ ।
  • गुणस्तरीय मूल्याङ्कनका लागि विगत वर्षहरुमा जस्तै कक्षा ५ ,८ र १० को नगर स्तरीय स्तरमापन परीक्षा र गुणात्मक मूल्याङकन प्रणाली अवलम्बन गरिने छ ।
  • सेवानिवृत्त शिक्षक, उत्कृष्ठ कार्य सम्पादन गर्ने प्रधानाध्यापक, सर्वोत्कृष्ट नतिजा हासिल गर्ने शिक्षक तथा विद्यार्थीहरुलाई प्रोत्साहन गरिने छ ।
  • अतिरिक्त कृयाकलाप अन्तरगत विगत वर्षहरु जस्तै नगर स्तरीय अन्तर मा.वि. छात्रा फुटबल, छात्र छात्रा भलिबल र आधारभूत तहका छात्रहरुको फुटबल प्रतियोगिता सञ्चालन गरिने छ ।
  • कक्षा ८ को नगर स्तरीय परीक्षा र नतिजा प्रकाशन अत्यन्त व्यवस्थित रुपमा सञ्चालन गरिने छ ।
  • नगर शिक्षा योजना मुताविक प्रधानाध्यापकहरुको नियुक्ति प्रक्रिया शुरु गरिने छ ।
  • नगर शिक्षा योजना अनुसार नै शिक्षकहरुको मूल्याङ्कन मापदण्ड तयार गरी प्रोत्साहनको नीति अवलम्न गरिने छ ।
  • विद्यालयको भौगोलिक अवस्था विद्यार्थी संख्या समेतको व्यापक अध्ययन गरी विद्यालय समायोजन तथा दरबन्दी मिलानको कार्य समयमा नै सञ्चालन गरिने छ ।
  • शिक्षकहरुको पेशागत विकासका लागि आवश्यक तालिम गोष्ठीहरु समय समयमा सञ्चलान गरिने छन् ।
  • शिक्षाको गुणात्मक विकासका लागि विगत वर्षहरुमा जस्तै नगर शिक्षण स्वयम् सेवक, विद्यालय कर्मचारी तथा बालविकासका शिक्षकहरुलाई दिइदै आएको प्रोत्साहन रकम यथावत कायम गरिने छ ।
  • अतिरिक्त क्रियाकलाप र खेलकुदको समुचित विकासका लागि नगर खेल प्रशिक्षकहरुबाट माध्यमिक तहका विद्यालयमा केन्द्र बनाई खेलकुद तालिम सञ्चालन गरिने छ ।
  • योजनाबद्ध शैक्षिक कार्यक्रमका लागि शैक्षिक क्यालेण्डर , शिक्षक डायरी वितरण जस्ता कार्यक्रहरु निरन्तर सञ्चालन गरिने छ ।
  • स्थानीय विषयको पाठ्यपुस्तक नगरपालिकाबाट छपाई गरी विद्यार्थीहरुमा निशुल्क वितरण गरिने छ ।
  • नगर शिक्षा योजनाले प्राथमिकीकरण गरेका अन्य कार्यक्रमहरु योजनाको मर्म अनुसार नै सञ्चालन गरिने छन् ।
  • देउमाई नगरभित्रमा रहेका सम्पूर्ण माध्यमिक विद्यालयहरुमा सत्र्चालित विद्यालय स्वास्थ्य स्वयंसेवक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • गरिबीका कारणले शिक्षामा पहूँच नहुने अवस्थालाई अन्त्य गर्न विद्यालयहरुमा छात्रवृति कोष कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • नगर प्रमुख छात्रवृति कोषबाट ईन्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीहरुलाई प्रदान गरिदै आएको छात्रवृति कार्यक्रमलाई निरन्तरता दिइने छ।
  • निशुल्क रुपमा वितरण गरिदै आएको स्यानिटरी प्याड वितरण कार्यक्रममा नगर भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरु तथा संस्थागत विद्यालयहरुका छात्राहरुलाई समेत समावेश गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
  • देउमाई नगरपालिकालाई शैक्षिक पर्यटन गन्तव्यको रुपमा स्थापित गर्ने लक्ष्य अनुरुप हाल भानुभक्त मा.वि.,मंगलबारेमा प्राविधिक धार अन्तर्गत सिभिल ईन्जिनियरिङ्ग, जितपुर मा.वि.,जितपुरमा पशुविज्ञान र खान्द्रुङ्ग मा.वि.,पञ्चमीमा विज्ञान संकाय सञ्चालनमा साधन स्रोतको यथोचित व्यवस्थापनलाई निरन्तरता दिने नीति अवलम्बन गरिनेछ।
  • युवालाई व्यवसायिक एवं उद्यमी बनाउन विभिन्न प्रकारका व्यवसायिक तथा सीपमूलक तालिम प्रदान एवं प्रविधि हस्तान्तरण गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
  • “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई साकार बनाउन नगर क्षेत्रभित्र विभिन्न स्थानमा खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्दै युवाहरुलाई खेलकुद गतिविधि तर्फ आकर्षित गर्न विभिन्न खेल विधाका नगर, जिल्ला तथा प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
  • नगरभित्र सञ्चालन हुने सम्पूर्ण खेल तथा खेलाडीलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिदै यूवालाई लागुपदार्थ दुर्व्यसनबाट टाढा रहन प्रेरित गरिनेछ।

२.स्वास्थ्य

सभाका सदस्य ज्यूहरु,

  • देउमाई नगरपालिकामा निर्माणाधिन १५ शैय्याको नगर अस्पताललाई निर्माण सम्पन्न गरीपूर्ण क्षमतामा सञ्चालन गर्न प्रदेश तथा संघीय सरकारसँग पहल गरिनेछ।
  • सुरक्षित मातृत्व तथा बालपोषण कार्यक्रमलाई निरन्तरता दिदै अपाङ्गता गर्भमै रोकथाम गर्नका लागि गर्भवती महिलाहरुका निशुल्क भिडियो एक्स रे सेवा विस्तार नीतिलाई निरन्तरता दिइनेछ।
  • “नगरको इच्छा आमा बच्चाको सुरक्षा” नारा सार्थक बनाउन नगरभित्रका सम्पूर्ण गर्भवती महिलाहरुलाई सुरक्षित रुपमा सुत्केरी गराउनका लागि प्राथमिक स्वास्थ्य केन्द्र, मंगलबारेबाट जिल्ला अस्पतालसम्म पुर्याउन निशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइनेछ।
  • “स्वस्थ एवं समृद्ध देउमाई” साकार पार्न महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई उच्च मूल्याङ्कन गर्दै प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • नगरपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईने राष्ट्रिय निःशुल्क कार्यक्रमका अत्यावश्यक औषधिहरुको स्टक आउट हुन नदिन नियमित व्यवस्थापनको नीतिलाई निरन्तरता दिइनेछ ।
  • डिजिटल स्वास्थ्य र नसर्ने रोग नियन्त्रण अन्तर्गत इन्टरनेट र प्रविधिको प्रयोग गरी विकट वडाका स्वास्थ्य संस्थाहरूलाई ठूला अस्पतालका विशेषज्ञसँग जोड्ने (टेलि-मेडिसिन) तथा ४० वर्ष माथिका नागरिकका लागि सुगर, उच्च रक्तचाप र क्यान्सर जस्ता नसर्ने रोगको निःशुल्क स्क्रिनिङ, सचेतना तथा औषधि वितरण कार्यक्रम सञ्चालनको नीति लिइनेछ ।
  • “स्वस्थ जीवनका लागि नियमित योग” भन्ने नारा साकार बनाउन आयुर्वेद सेवा सुदृढीकरण तथा सबलीकरण कार्यक्रम मार्फत योग शिविर सञ्चालन, मातृ शिशु स्तनपायी कार्यक्रम, स्वस्थ जीवनशैली अभियान तथा आयुर्वेद सेवा विस्तार कार्यलाई निरन्तरता दिइनेछ ।
  • विगतका वर्ष देखि प्रदान गर्दै आएको विपन्न नागरिक औषधी उपचार सम्बन्धी जटिल प्रकृतिका रोगको उपचारका लागि बिरामीलाई उपचारको पहूँच सम्म पुर्याउन आवश्यक यातायात सहयोगको ब्यवस्थालाई निरन्तरता दिईनेछ ।
  • सुत्केरी स्याहार तथा बालपोषण भत्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • पोषणमैत्री स्थानीय शासन प्रवर्द्धनका साथै कुपोषित बालबालिकाको लागि पोषण प्याकेज वितरणका लागि आवश्यक नीति लिइनेछ।
  • नियमित खोप कार्यक्रमलाई थप सुव्यवस्थित गर्दै चालु आ.व.मा झै आगामी आ.व.मा पनि देउमाई नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गर्न आवश्यक नीतिलाई निरन्तरता दिनेछ ।
  • खोप केन्द्रको भवन निर्माणका लागि आवश्यक नीतिलाई निरन्तरता दिइनेछ।
  • क्षयरोग मुक्त पालिका निर्माण अभियानलाई निरन्तरता दिइनेछ।
  • संघीय सरकारको नीति अनुरुप महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग तथा HPV खोप कार्यक्रमलाई सफल बनाउने नीतिलाई निरन्तरता लिइनेछ।
  • महिला स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि गर्दै टोल-टोलमा पुगेर पोषण, सरसफाइ एवं महामारी नियन्त्रण सम्बन्धी सचेतना जगाउने कार्यक्रम सञ्चालन गर्न आवश्यक नीति लिइनेछ ।
  • जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई अर्धबार्षिक रुपमा घर घरमा स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा उपलब्ध गराउने नीति लिइनेछ।
  • विभिन्त स्वास्थ्य संघ सस्थाको साझेदारीमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्न आवश्यक नीति लिइनेछ।
  • स्वास्थ्य सेवाबाट प्रदान गरिने प्रर्वधनात्मक, प्रतिकारात्मक तथा उपचारात्मक सेवाको गुणस्तर अभिवृद्धिको नीतिलाई निरन्तरता दिइनेछ।

सभाका सदस्य ज्यूहरु,

३.भौतिक पूर्वाधार विकास

  • “टोल विकासमा हाम्रो सहभागिता, पालिकासँग सहलगानी” भन्ने अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्दै समुदायमा स्वामित्व र सहभागिताको भावना अभिवृद्धि गर्न मागमा आधारित पूर्वाधार विकास कार्यक्रमहरूमा न्यूनतम २५ प्रतिशत लागत साझेदारी गर्न इच्छुक समुदाय तथा संघ–संस्थाहरूलाई प्राथमिकताका आधारमा सहभागी गराइनेछ।
  • नगर यातायात गुरुयोजनाको मार्गदर्शन तथा मापदण्डअनुसार सडक पूर्वाधारको विकास, विस्तार, स्तरोन्नति, संरक्षण तथा व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र दिगो बनाइनेछ।
  • देउमाई नगरपालिकाको दिगो, समावेशी तथा सन्तुलित विकास सुनिश्चित गर्न राष्ट्रिय तथा प्रदेशस्तरीय विकास नीतिहरूसँग सामञ्जस्य कायम गर्दै आवधिक विकास योजना तथा मध्यकालीन खर्च संरचनाको प्रभावकारी कार्यान्वयन गरिनेछ।
  • शहरी तथा ग्रामीण क्षेत्रका सडकहरूको गुणस्तर अभिवृद्धि, स्तरोन्नति, पहुँच विस्तार तथा सुरक्षित यातायात प्रवाह सुनिश्चित गर्ने कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ।
  • नयाँ सडक निर्माणलाई भन्दा विद्यमान सडकहरूको स्तरोन्नति, मर्मतसम्भार, संरक्षण तथा गुणस्तर सुधारलाई प्राथमिकता दिँदै उपलब्ध स्रोत र साधनको अधिकतम तथा प्रभावकारी उपयोग गरिनेछ।
  • विगतदेखि विभिन्न कारणले अधुरा रहेका विकास आयोजनाहरूको पहिचान गरी आवश्यक स्रोत तथा बजेटको सुनिश्चितता गर्दै ती आयोजनाहरूलाई उच्च प्राथमिकताका साथ सम्पन्न गरिनेछ।
  • संघ तथा प्रदेश सरकारसँगको सहकार्य र समन्वयमा देउराली–रत्न सुरुङ्ग–मंगलबारे–कटेज–फुटुक–इलाम गोलाखर्क सडक (सुवास रत्न सडक), नेपालटार–मंगलबारे सडक, मंगलबारे–गजुरमुखी सडक, देउराली–विन्दुले–मंगलबारे सडक, बोरिबोटे–बहारुङ–गजुरमुखी सडक तथा गाग्रेभञ्ज्याङ–बेलासे सडक लगायत रणनीतिक महत्वका सडकहरूको स्तरोन्नति, विस्तार तथा विकास कार्यलाई निरन्तरता दिइनेछ।
  • नागरिकको आवतजावतलाई सहज बनाउँदै सामाजिक तथा आर्थिक गतिविधिको विस्तारमा योगदान पुर्‍याउन आवश्यक स्थानहरूमा झोलुङ्गे पुल निर्माण, स्तरोन्नति तथा विस्तार कार्यक्रम सञ्चालन गरिनेछ।
  • निर्माण सम्पन्न भएका सार्वजनिक पूर्वाधारहरूको नियमित अनुगमन, मूल्याङ्कन, संरक्षण तथा मर्मतसम्भारलाई संस्थागत गर्दै सार्वजनिक सम्पत्तिको दीर्घकालीन उपयोग, प्रभावकारिता र दिगोपना सुनिश्चित गरिनेछ।
  • पूर्वाधार विकास आयोजनाहरूको योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन प्रक्रियामा सूचना प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै पूर्वाधार अभिलेख तथा व्यवस्थापन प्रणाली विकास गरी कार्यान्वयन गरिनेछ।
  • नगरभित्रका सार्वजनिक पूर्वाधारहरूको डिजिटल अभिलेखीकरण गरी सम्पत्ति व्यवस्थापन प्रणाली विकास गरिनेछ, जसबाट पूर्वाधारहरूको संरक्षण, मर्मतसम्भार तथा दीर्घकालीन व्यवस्थापनलाई व्यवस्थित बनाइनेछ।
  • कृषि, पर्यटन तथा स्थानीय आर्थिक विकासलाई टेवा पुर्‍याउने कृषि सडक, पर्यटन पहुँच मार्ग तथा उत्पादन क्षेत्रसँग जोडिएका पूर्वाधारहरूको निर्माण तथा स्तरोन्नतिलाई विशेष प्राथमिकता दिइनेछ।
  • सार्वजनिक पूर्वाधार आयोजनाहरूको गुणस्तर सुनिश्चित गर्न आवश्यक प्राविधिक परीक्षण, गुणस्तर नियन्त्रण तथा अनुगमन प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाइनेछ।

४.रोजगारी ,उद्यमशीलता प्रवर्द्धन तथा गरिवी निवारण

  • संघीय सरकारको नीति अनुरुप नगरमा रहेको रोजगार सेवा केन्द्रलाई रोजगार, सीप तथा उद्यमशीलता केन्द्रको रुपमा रुपान्तरण गरिसकिएको सन्दर्भमा नगरभित्र सञ्चालन गरिने सम्पूर्ण रोजगारी सिर्जना, सीप विकास, स्वरोजगार प्रवर्धन, उद्यमशीलता विकास लगायतका कार्यक्रम एकीकृत रुपमा सञ्चालन गर्न आवश्यक नीति ‌लिइनेछ।
  • राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रम, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलाई रोजगार, सीप तथा उद्यमशीलता केन्द्र मार्फत प्रभावकारी कार्यान्वयन गर्न आवश्यक नीति लिइनेछ।
  • बेरोजगार व्यक्तिहरु एवं रोजगारदाताहरुको तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने, वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा सहजीकरण गर्ने, वैदेशिक रोजगार बोर्ड तथा कन्सुलर सेवा विभागबाट प्रदान गरिने सेवाहरु नगरवासीहरुलाई नगरबाटै प्रदान गर्न आवश्यक नीति लिइनेछ।
  • नगरक्षेत्र भित्रका श्रम सक्रिय जनशक्तिलाई स्वरोजगार तर्फ उन्मुख गराउन घरेलु तथा साना उद्योग क्षेत्र, सीप तथा व्यवसाय प्रवर्द्धन गर्ने निकायहरुसँग आवश्यक समन्वय गरी स्थानीय परम्परागत सीप तथा ज्ञानको खोजी तथा संरक्षण गर्ने कार्यका लागि आवश्यक सीप एवं क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • वैदेशिक रोजगारीबाट फर्केका आप्रवासी कामदार, आप्रवासी कामदारका परिवार तथा नगरभित्र रहेका बेरोजगार व्यक्तिहरुलाई उनीहरुको सीप र क्षमताको पहिचान गरी स्वदेश मै रोजगार बनाउन संघीय सरकार र प्रदेश सरकार सँग समन्वय गरी श्रम तथा रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न आवश्यक नीति तय गरिनेछ।
  • बेरोजगार व्यक्तिहरुका लागि कार्यस्थलमा आधारित सीप विकास तालिम प्रदान गरि स्वरोजगार बनाउन आवश्यक नीति लिइनेछ।

५.खानेपानी, सिँचाई तथा सरसफाई

सभाका सदस्य ज्यूहरु,

  • स्वच्छ, सुरक्षित तथा पर्याप्त खानेपानी प्रत्येक नागरिकको आधारभूत आवश्यकता भएकाले नगरवासीलाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन खानेपानी वितरण सञ्जाल विस्तार, मर्मत–सम्भार तथा नयाँ धारा जडान कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • दीर्घकालीन रूपमा खानेपानी समस्याको समाधान गर्न नयाँ तथा दिगो जलस्रोतहरूको पहिचान, संरक्षण र व्यवस्थापन गर्दै बृहत् देउमाई खानेपानी आयोजना कार्यान्वयनका लागि आवश्यक पहल तथा समन्वयलाई प्राथमिकता दिइनेछ। आगामी आ.व मा समेत खानेपानी पूर्वाधार सुदृढीकरण कार्यका लागि थप लगानी परिचालन गरिनेछ।
  • टोल तथा बस्तीस्तरमा सञ्चालित खानेपानी आयोजनाहरूलाई क्रमशः नगरपालिकाको व्यवस्थापन प्रणालीमा आबद्ध गरी एकीकृत, व्यवस्थित र दिगो रूपमा सञ्चालन गर्ने नीति अवलम्बन गरिनेछ।
  • सुरक्षित खानेपानी, सरसफाई तथा स्वच्छताको दिगो व्यवस्थापन सुनिश्चित गर्न खानेपानी, सरसफाई तथा स्वच्छता योजना तर्जुमा गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ।
  • स्वच्छ, स्वस्थ र वातावरणमैत्री नगर निर्माणका लागि फोहोरमैला व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी, व्यवस्थित तथा दिगो बनाउने नीति अवलम्बन गरिनेछ।
  • फोहोर व्यवस्थापनको चुनौतीलाई सम्बोधन गर्न वडा कार्यालयहरूको समन्वयमा उपयुक्त स्थानहरूको पहिचान गरी आधुनिक फोहोर संकलन तथा व्यवस्थापन केन्द्र स्थापना गर्ने नीति लिइनेछ।
  • “सुन्दर शहर, हराभरा नगर” अभियानलाई थप प्रभावकारी बनाउँदै सार्वजनिक स्थल, सडक किनारा, पार्क तथा खुला क्षेत्रहरूमा डस्टबिन व्यवस्थापन, वृक्षारोपण तथा पुष्परोपण कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • मिति २०८२/०६/१८ गतेको अविरल वर्षाका कारण क्षति पुगेका खानेपानी तथा सिँचाइ आयोजनाहरूको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि दातृ निकायहरू, संघीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गरी कार्य अघि बढाइनेछ।

६.वन, वातावरण तथा विपद् व्यवस्थापनः

  • पानीका स्रोत सुक्न नदिन र पर्यावरणीय सन्तुलन कायम राख्न प्रमुख जलाधार र खानेपानी मुहानको संरक्षण गर्दै व्यापक वृक्षरोपण अभियान सञ्चालन गरिनेछ ।
  • संघीय र प्रदेश सरकारको समन्वयमा देउमाई नगरको प्राकृतिक सौन्दर्य र जैविक विविधता संरक्षण कार्यक्रम प्रभावकारी रूपमा अघि बढाइनेछ।
  • दिगो विकास सुनिश्चित गर्न ठूला संरचना निर्माणपूर्व अनिवार्य रूपमा वातावरणीय प्रभाव मूल्याङ्कन र विस्तृत आयोजना प्रतिवेदन तयार गरेर मात्र काम अघि बढाइनेछ।
  • मिति २०८२ असोज १८ को बाढी-पहिरोबाट क्षति पुगेका निजी आवासहरूको पुनर्निर्माणलाई उच्च प्राथमिकता दिई शीघ्र सम्पन्न गरिनेछ ।
  • पहिरो र भू-क्षयको उच्च जोखिममा रहेका क्षेत्रहरूको भूगर्भिक अध्ययन गर्दै जनधनको रक्षाका लागि पूर्व सूचना प्रणाली विकास गर्न पहल गरिनेछ।
  • विपद्को समयमा तत्काल उद्धार र राहतलाई प्रभावकारी बनाउन स्थानीय आपतकालीन सञ्चालन केन्द्रलाई स्रोत-साधन र प्रविधियुक्त बनाई थप सुदृढ गरिनेछ ।
  • जलवायु परिवर्तनका जोखिम न्यूनीकरण गर्न ‘स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना’ प्रभावकारी रूपमा लागू गरिनेछ ।

७.कृषि तथा पशुपन्छी विकास

सभाका सदस्य ज्यूहरु,

  • “देउमाई नगरपालिकाको पहिचान प्रांगारिक खेती अभियान” लाई साकार रुप दिन कृषिलाई वाध्यता हैन रहरका रुपमा विकास गर्ने गरी व्यवसायिक कृषि प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • ”घर घरमा करेसावारी, भान्सा – भान्सामा ताजा तरकारी” अभियान मार्फत विभिन्न जातका तरकारी तथा फलफुलका बिउ वितरण तथा प्राविधिक सीप प्रवर्द्धन गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
  • उन्नत खालका पशुपालन, व्यवसायिक तरकारी तथा फलफूल खेती, व्यवसायिक मत्स्यपालन, मौरीपालन, अलैची, अकबरे खोर्सानी, किवि, अदुवा, चिया, कफि, बेसार लगायतका नगदेबाली व्यवसाय गर्ने कृषकहरुलाई प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • कृषि तथा पशुपंक्षी सम्बन्धी तथ्यांक अद्यावधिक गरी किसान सूचिकरण र कृषक परिचय पत्र वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • बाली तथा पशुपंक्षी प्रवर्द्धन कार्यक्रम मार्फत रैथाने जातका वाली संरक्षण तथा प्रवर्द्धन गर्दै देउमाई नगरपालिकालाई आत्मनिर्भर बनाइ निर्यातमूखी बनाउने नीति लिइनेछ।
  • दुग्घ डेरी आद्युनिकिरण तथा छुर्पी प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • “हाम्रै नगरको झ्याले आलु – अर्गानिक खानपानमा नगरवासी सिपालु ” कार्यक्रम मार्फत स्थानीय उत्पादन वृद्धि गर्न, विऊ संरक्षण गर्न तथा वितरण, उत्पादित वस्तुको बजारीकरण गर्ने नीति लाई निरन्तरता दिइनेछ।
  • सेवा प्रवाहलाई सु-व्यवस्थित गर्न कृषि तथा पशु क्षेत्रमा विज्ञ जनशक्तिको व्यवस्थापनको नीतिलाई निरन्तरता दिइनेछ।
  • माटो परीक्षण शिविर सञ्चालनलाई निरन्तरता दिइनेछ।
  • कृषि आद्युनिकिकरण तथा प्रविधि हस्तान्तरणका कार्यक्रमहरुलाई प्राथमिकताका साथ सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
  • पशु नस्ल सुधारका लागि सेक्स सिमेन वितरण कार्यक्रमको निरन्तरताका लागि आवश्यक नीति लिइनेछ।
  • संघीय सरकार, प्रदेश सरकार सँगको सहकार्यमा खोरेत मुक्त पालिका बनाउनका लागि आवश्यक नीतिलाई निरन्तरता दिइनेछ।
  • वन्यजन्तुको प्रकोप नियन्त्रण मार्फत कृषिजन्य उत्पादनको वृद्धि तथा संरक्षणका साथै छाडा चौपाया नियन्त्रणका लागि आवश्यक नीति लिइनेछ।
  • रेविज रोग नियन्त्रणका लागि खोप अभियानलाई निरन्तरता दिइनेछ।
  • स्थानीयरुपमा उत्पादन हुने कृषिजन्य उत्पादनको परिमाणात्मक तथा गुणात्मक क्षति न्यूनीकरण गरी मूल्य अभिवृद्धि, बजार पहुँच विस्तार र किसानको आयवृद्धि गर्न संघीय सरकारसँगको सहलगानी तथा साझेदारीमा चिस्यान केन्द्र स्थापना एवं सञ्चालनको नीति अवलम्बन गरिनेछ

८.पर्यटन

  • नगरका प्रमुख पर्यटकीय गन्तव्यहरूको संरक्षण, व्यवस्थापन, सौन्दर्यीकरण तथा पर्यटन प्रवर्द्धनलाई उच्च प्राथमिकता दिइनेछ।
  • कुहिभिर क्षेत्रको प्राकृतिक तथा भौगोलिक विशेषतालाई पर्यटनसँग आबद्ध गर्दै उक्त क्षेत्रलाई साहसिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण, पदमार्ग व्यवस्थापन तथा सम्भाव्यता अध्ययनका कार्यक्रम सञ्चालन गरिनेछ।
  • “लालीगुँरास, चिया र प्रकृतिसँग देउमाई” भन्ने अवधारणालाई प्रवर्द्धन गर्दै नगरका पर्यटकीय गन्तव्यहरूलाई एकीकृत पर्यटन सर्किटका रूपमा विकास गरिनेछ।
  • पर्यटन क्षेत्रको दिगो विकासका लागि स्थानीय युवा, महिला तथा उद्यमीहरूलाई पर्यटन मार्गदर्शक, आतिथ्य सेवा, होमस्टे व्यवस्थापन तथा पर्यटन उद्यमशीलतासम्बन्धी क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ।
  • निजी क्षेत्र, सामुदायिक संस्था तथा सरोकारवालाहरूसँगको सहकार्यमा पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरिनेछ।

९.विद्युत तथा वैकल्पिक उर्जा

  • वैकल्पिक तथा नविकरणीय उर्जा प्रवर्द्धन अन्तर्गत सौर्य उर्जा, वायोग्यास, लघु जलविद्युत तथा हरित उर्जा उत्पादन तथा उपयोग कार्यक्रमलाई प्रोत्साहन गर्न आवश्यक नीति लिइनेछ।
  • देउमाई नगरपालिकाक्षेत्र भित्र निर्माणाधीन तथा सम्भाव्य विद्युतीय आयोजनाबाट देउमाई नगरवासीलाई अधिकतम लाभ सुनिश्चित गर्न आवश्यक नीति लिइनेछ।

१०.लक्षितवर्ग तथा समावेशीकरण

सभाका सदस्य ज्यूहरु,

  • घरेलु तथा लैङ्गिक हिंसा अन्त्यका लागि सचेतना कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • बालमैत्री नगरपालिका निर्माण तथा बालश्रम अन्त्यका गरि बालश्रम मुक्त पालिका घोषणाका लागि आवश्यक नीति अवलम्वन गरिनेछ।
  • महिला प्रवर्द्धन कार्यक्रम मार्फत नगरभित्रका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर एवं उद्यमी बनाउदै रोजगारीको विकास तथा स्थानीय श्रोत-साधन परिचालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • लक्षित वर्गका भवन निर्माणलाई निरन्तरता दिइनेछ।
  • घरेलु हिंसामा परेका व्यक्तिहरुलाई उद्धार, राहत तथा पुनर्स्थापना गर्नका लागि आवश्यक नीति लिइने छ।
  • अपाङ्गता भएका व्यक्तिहरुको सहज जीवनयानका लागि आवश्यक सहयता साभाग्री वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • प्रदेश सरकारको सहकार्यमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • प्रदेश सरकारको सहकार्यमा किशीरी सशक्तिकरण कार्यक्रम सञ्चालन गर्न आवश्यक नीति लिइनेछ।
  • लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सुनिश्चित गर्न आवश्यक नीति लिइनेछ।

११.मानव संशाधन विकास

  • संघीय सरकारको नीति अनुरुप नगरपालिकाको कर्मचारी सांगठनिक संरचना मुताविक जनशक्ति व्यवस्थापन गरी सेवाप्रवाहमा सुशासन कायम गर्न आवश्यक नीति लिइनेछ ।
  • जनप्रतिनिधीहरु, न्यायिक समिति तथा मेलमिलाप समितिको क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • कर्मचारीहरूको बृहत्तर व्यावसायिक तथा व्यक्तिगत विकास, क्षमता अभिवृद्धि, उच्च शिक्षामा अध्ययनको अवसर विस्तार, अनुसन्धान तथा नवप्रवर्तनको प्रवर्द्धन, नेतृत्व तथा व्यवस्थापकीय दक्षता विकास गरी गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक नीति लिइने छ।
  • संघीय सरकारले अवलम्वन गरेको नीति अनुसार नगरपालिकामा कार्यरत कर्मचारीहरुको तलब सुविधा समायोजन गरिनेछ साथै सम्पूर्ण अस्थायी, करार र कार्यक्रमका कर्मचारीहरुलाई समेत सुरक्षित भविष्यका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नीतिलाई निरन्तरता गरिनेछ।

१२. सूचना, सञ्चार तथा प्रविधि

सभाका सदस्य ज्यूहरु,

  • विद्यालयको शैक्षिक गुणस्तर तथा प्रशासनिक सेवा सुधारका लागि नविनतम प्रविधिको प्रयोग गर्ने नीति लाई निरन्तरता दिइनेछ।
  • नगरबाट प्रवाह हुने सेवामा गुणस्तर वृद्धि र पारदर्शिता कायम गर्न कर्मचारी तथा शिक्षकहरुलाई कृतिम बुद्धिमतामा आधारित क्षमता अभिवृद्धिका लागि आवश्यक नीति लिइनेछ।
  • सञ्चार क्षेत्रको विकासका निम्ति स्थानीय पत्रकारहरुलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
  • नगरपालिकाका सबै वडा कार्यालयहरू, स्वास्थ्य चौकी, र सामुदायिक विद्यालयहरूलाई नविनतम सूचना प्रविधि सँग जोड्न आवश्यक नीति अवलम्वन गरिनेछ।

१३.सामाजिक सुरक्षा एवं संरक्षण

  • मृत्यु दाहसँस्कार सहयोग तथा मुटुको भल्भ परिवर्तन, क्यान्सर, मृगौला प्रत्यारोपण गरेका बिरामीहरुलाई प्रदान गरिदै आएको निर्वाह भत्ता वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नागरिकका सन्तानलाई रोजगार बोर्डबाट अध्ययन छात्रवृत्ति पाउने अवस्था नभएमा उचित छात्रवृत्ति प्रदान गर्न आवश्यक नीतिलाई निरन्तरता दिइनेछ।

१४.राजश्व तथा बित्तीय व्यवस्था

  • स्थानीय व्यवसायी तथा आम नगरवासीलाई प्रोत्साहन गर्न करको दर वृद्धि गर्नु भन्दा करको दायरालाई फराकिलो वनाउदै प्रगतिशील कर संकलन नीतिलाई निरन्तरता दिइनेछ।
  • नगरपालिकाद्वारा एकीकृत सम्पत्ति कर संकलन हुँदै आएकोमा आगामी आ.व. बाट मालपोत तथा भूमिकर र सम्पत्ति कर अलग-अलग संकलन नीति लागु गरिनेछ।
  • नगर क्षेत्रका सम्पुर्ण व्यवसाय तथा सेवा क्षेत्रलाई अनिवार्य रुपमा करका दायरामा ल्याउन प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
  • देउमाई नगरपालिकाको आन्तरीक राजस्व वृद्धिका लागि सार्वजनिक तथा सामुदायिक बनका उत्पादन, नदिजन्य उत्पादन (ढुंगा, गिटि, वालुवा तथा जलचर समेत) र कानुनले वर्जित गरेका वाहेक बन क्षेत्रका वन्यजन्तु एवं जडिबुटिको कारोवारलाई करको दायरामा ल्याउने नीतिलाई निरन्तरता दिइनेछ।
  • नगरको समग्र राजस्व वृद्धिका लागि तयार गरिएको राजस्व सुधार योजनाको कार्यान्वयनका लागि तय गरिएको नीतिलाई निरन्तरता दिइनेछ ।

१५. प्राकृतिक श्रोत, भू-व्यवस्थापन र आवास व्यवस्था

सभाका सदस्य ज्यूहरु,

  • देउमाई नगरपालिकाभित्र निर्माण हुने नयाँ भवनहरूको नक्सा स्वीकृतिलाई अनिवार्य तथा प्रभावकारी रूपमा कार्यान्वयन गरिने नीति लिइने छ।
  • भू–उपयोग नीति तथा प्रचलित कानुनी व्यवस्थाअनुरूप नापी तथा भूमि प्रशासन सम्बन्धित निकायहरूसँग समन्वय गरी भू-वर्गीकरण तथा भू-अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित बनाइने नीति लिइने छ।
  • भूमि प्रशासन सम्बन्धी सेवाहरूलाई नागरिकको पहुँचमा थप प्रभावकारी, सहज र छिटोछरितो बनाउन भूमि प्रशासन कार्यालयलाई स्थानीय तह अन्तर्गत ल्याउन सम्बन्धित निकायसँग आवश्यक पहल तथा समन्वय गर्ने नीति लिइने छ।
  • नगरपालिकाभित्र रहेका सार्वजनिक, ऐलानी, पर्ती तथा अन्य सरकारी जग्गाहरूको पहिचान, अभिलेखीकरण, संरक्षण र उचित व्यवस्थापनका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने नीति लिइने छ।
  • प्राकृतिक स्रोत, वन, जलाधार क्षेत्र तथा जैविक विविधताको संरक्षण, संवर्द्धन र दिगो उपयोगका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने नीति लिइने छ।

सभाका सदस्य ज्यूहरु

१६.उद्योग, सहकारी तथा संघ-संस्था

  • लघु उद्यम विकासका लागि संघीय सरकार, प्रदेश सरकार संग सहकार्य गर्दै स्थानीय श्रोत साधन तथा यस क्षेत्रमा पाइने कच्चा पदार्थको प्रशोधन गर्ने घरेलु तथा साना उद्योग, कृषिजन्य, वनजन्य उद्योग स्थापना तथा संचालनलाई प्रोत्साहन गर्ने नीति लाई निरन्तरता दिइनेछ।
  • सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरी देउमाई नगरपालिकामा रहेका सम्पूर्ण सहकारीहरुलाई कोपो एम.आई.एस. प्रणालीमा अनिवार्य आवद्ध गरिनेछ।
  • सहकारी तथा संघ-संस्थाहरुको अनुगमन सम्बन्धी कार्यविधि अनुरुप अनुगमन कार्यलाई निरन्तरता दिइनेछ।
  • खारेज हुन वा एक अर्कामा गाभिन चाहने सहकारीहरुका लागि खारेजी वा मर्जरका आवश्यक नीतिलाई निरन्तरता दिइनेछ।

१७.सुरक्षा

  • नगरका सम्पूर्ण जनतालाई सुरक्षाको पूर्ण प्रत्याभुति दिन विभिन्न सुरक्षा निकायसँग समन्वय गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
  • नगरप्रहरीको व्यस्थापन मार्फत शान्ति सुरक्षा थप चुस्त पारिनेछ।
  • प्रत्येक वडामा प्रहरी विटको स्थापनाका लागि सम्बन्धित निकायसँगको पहललाई निरन्तरता दिइने छ।
  • नगरका मुख्य बजारक्षेत्रमा सिसि क्यामेरा जडान गरि सुरक्षा निगरानीलाई चुस्त बनाउने नीतिलाई निरन्तरता दिइनेछ।

  १८.अन्य निकाय सँगको सम्बन्ध

  • देउमाई नगरपालिकाको छिमेकमा रहेका इलाम नगरपालिका, माई नगरपालिका, माङसेबुङ्ग गाउँपालिका, फाकफोकथुम गाउँपालिका र फाल्गुनन्द गाउँपालिकासँग सडक सञ्जाल ,पर्यटन-विकास, जल उपयोग, विपद व्यवस्थापन लगायत विविध सामाजिक-आर्थिक क्षेत्रमा समन्वय, सहकार्य तथा साझेदारीका लागि विशेष नीति अवलम्वन गरिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्था सँग भगिनि सन्बन्ध जोड्दै अघि बढ्ने नीति लिइनेछ।

उपस्थित सभाका सदस्य ज्यूहरु,

आगामी आ.व.२०८३/०८४ को नीति तथा कार्यक्रमले समृद्ध देउमाई सुखी देउमाईवासी को लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छु। यस नीति तथा कार्यक्रमको कार्यान्वयनबाट संविधान र संघीयताको कार्यान्वयन तथा स्थानीयकरण, नगरवासीहरुको सामाजिक, आर्थिक रुपान्तरण, गुणस्तरीय र प्रभावकारी सार्वजनिक सेवा प्रवाह, जनाताको माग र आकांक्षाको प्रभावकारी सम्बोधन भई नगरवासीहरुमा नगरपालिका प्रतिको अपनत्वबोध र विश्वास अभिवृद्धि हुने अपेक्षा गरेको छु।

                अन्तमाः यो नीति तथा कार्यक्रम तर्जुमाको अवसरमा सहयोग गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्सेवक कर्मचारी, सुरक्षाकर्मी, उद्यमी, व्यवसायी, बैँक तथा वित्तिय संस्था, सञ्चारकर्मी, सहकारी, नागरिक समाज, सामाजिक संघ संस्था, विकास साक्षेदार, र सम्पूर्ण देश भित्र र वाहिर समेत रहनु हुने आमाबुवा, दिदी बहिनी तथा दाजुभाइहरुमा हार्दिक धन्यबाद व्यक्त गर्दछु। नगरपालिकाको बहुआयामिक विकास र नगरबासीहरुको जीवनस्तरमा उल्लेखनीय रुपान्तरण ल्याउदै स्वच्छ, समृद्ध, सभ्य र न्यायपूर्ण नगर निमार्णको लागि यो नीति तथा कार्यक्रमको कार्यान्वयनमा सरोकारवाला सबैको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गर्दछु।

धन्यबाद।

सुर्य प्रसाद पोख्रेल

(सभाध्यक्ष)

२०८३-०३-०९

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार