
इलाम: फाकफोकथुममा सञ्चालित वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रमले किसान तथा उद्यमीमा नयाँ उत्साह, व्यवसाय विस्तार र लगानीको आत्मविश्वास बढाएको छ। कोशी प्रदेश सरकार, फाकफोकथुम गाउँपालिका र दायित्व नेपालको त्रिपक्षीय साझेदारीमा सञ्चालित कार्यक्रमले व्यवसाय विस्तार, रोजगारी सिर्जना र स्थानीय उत्पादनको प्रवर्द्धनमा टेवा पुर्याएको हो।
कार्यक्रमका लागि कोशी प्रदेश सरकारको ३० लाख रुपैयाँ, फाकफोकथुम गाउँपालिकाको २० लाख रुपैयाँ तथा दायित्व नेपालको १० लाख रुपैयाँ आर्थिक तथा प्राविधिक सहयोग रहेको थियो। गाउँपालिकाका सातवटै वडाबाट खुला आवेदनमार्फत ४० जना उद्यमी छनोट गरी उनीहरूलाई व्यवसाय विकास, उद्यमशीलता, व्यवसाय व्यवस्थापन, डिजिटल साक्षरता, वित्तीय व्यवस्थापन तथा लगानी प्रस्तुतीकरणसम्बन्धी तालिम प्रदान गरिएको थियो।
त्यसपछि विभिन्न मापदण्डका आधारमा उत्कृष्ट २० जना उद्यमी छनोट गरी उनीहरूलाई व्यवसाय सुदृढीकरणका लागि जनही २५ हजार रुपैयाँ साझेदारी लगानी उपलब्ध गराइयो। दोस्रो चरणमा उत्कृष्ट १० जना उद्यमी छनोट भई व्यवसाय विस्तारका लागि जनही १ लाख रुपैयाँ साझेदारी लगानी प्रदान गरिएको थियो। अन्तिम मूल्याङ्कनपछि उत्कृष्ट उद्यमी घोषणा गरिएकोमा पानीधाप चिया प्रशोधन उद्योग (फाकफोकथुम-२) सञ्चालन गर्दै आएकी भूमिका थापा प्रथम भई थप १ लाख ८५ हजार रुपैयाँ साझेदारी लगानी प्राप्त गरिन्। अन्य नौ जना उत्कृष्ट उद्यमीले जनही ९० हजार रुपैयाँ थप साझेदारी लगानी प्राप्त गरेका हुन्।
उद्यमी भूमिका थापाले भनिन्, ‘यो कार्यक्रमले मेरो उद्यमलाई ठूलो टेवा पुर्याएको छ। उत्पादनको गुणस्तर सुधार गर्न, बजार विस्तार गर्न र व्यवसायलाई व्यवस्थित रूपमा अघि बढाउन धेरै सहयोग मिलेको छ। अब अझ गुणस्तरीय चिया उत्पादन गर्दै व्यवसायलाई थप विस्तार गर्ने लक्ष्य लिएकी छु।’ यस कार्यक्रममा पहिलो उद्यमी बन्न सकेकोमा गौरव गर्दै पालिकाको नामलाई विश्व सामु चिनाउने प्रयत्न गर्ने बताइन् ।
उत्कृष्ट १० उद्यमीमा फाकफोकथुम-४ का चन्द्रबहादुर दंगाली (थामडाँडा पशुपालन सहकारी संस्था लिमिटेड), फाकफोकथुम-५ का महेन्द्र घिमिरे (नवमी पोल्ट्री फार्म एण्ड फ्रेश हाउस), फाकफोकथुम-७ का सिताराम भण्डारी (भण्डारी भैँसी फार्म), फाकफोकथुम-६ का मनबहादुर थापा (गायत्री कृषि तथा पशुपन्छी फार्म), फाकफोकथुम-५ का तुलसी पिठाकोटे (खडकुडे बहुउद्देश्यीय कृषि फार्म), फाकफोकथुम-६ की तारा खनाल (ऊर्जाशील कृषि फार्म), फाकफोकथुम-२ का घनेन्द्रकुमार राई (इलामेली अर्गानिक कृषि तथा पशुपन्छी फार्म), फाकफोकथुम-५ का चन्द्रबहादुर मुखिया (सेसमी कृषि तथा पशुपालन फार्म) र फाकफोकथुम-४ का लाखबहादुर मगर (दर्लामी मगर डेरी उद्योग) रहेका छन्।
दायित्व नेपालकी फिल्ड अफिसर विष्णु पौडेलका अनुसार कार्यक्रम नगद साझेदारी लगानीमा मात्र सीमित नभई व्यवसाय योजना निर्माण, क्षमता विकास, प्रविधि हस्तान्तरण, डिजिटल साक्षरता तथा बजार पहुँचमा समेत सहजीकरण गरिएको छ। परियोजनामार्फत डिपफ्रिज, छुर्पी सुकाउने भवन, चेन पुली, जेनेरेटरलगायत अत्यावश्यक पूर्वाधार निर्माण तथा उपकरण व्यवस्थापनमा समेत सहयोग गरिएको उनले बताइन्।
गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले फाकफोकथुमलाई कृषि तथा उद्यमशीलताको नमुना पालिकाका रूपमा विकास गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए। स्थानीय सरकारको उद्देश्य पूर्वाधार निर्माणसँगै नागरिकको आयआर्जन वृद्धि, उत्पादन वृद्धि र युवालाई गाउँमै उद्यम गर्न प्रोत्साहित गर्नु रहेको उनको भनाइ थियो।प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले उत्पादनमुखी कार्यक्रमले मात्रै दीर्घकालीन उपलब्धि दिने उल्लेख गर्दै स्थानीय उत्पादनको गुणस्तर, ब्रान्डिङ, प्याकेजिङ र बजारीकरणमा जोड दिनुपर्ने बताए। उनले स्थानीय सरकार, निजी क्षेत्र र उद्यमीबीचको सहकार्यबाट फाकफोकथुमका उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्याउन सकिने विश्वास व्यक्त गरे।
फाकफोकथुम गाउँपालिका कोशी प्रदेशकै कृषि उद्यमका लागि सम्भावना बोकेको स्थानीय तहका रूपमा चिनिन्छ। यहाँका करिब ९५ प्रतिशत नागरिक कृषि तथा पशुपालनमा आश्रित छन्। पालिकामा अलैँची, अर्थोडक्स तथा अर्गानिक चिया, दूध, घ्यू, विश्व बजारमा बिक्रि हुने छुर्पी, धान, चामल, कोदो, तोरी लगायतका कृषि उत्पादन व्यावसायिक रूपमा उत्पादन हुँदै आएका छन्। त्यसैले यस्ता उद्यम प्रवर्द्धन कार्यक्रमले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, रोजगारी सिर्जना र गाउँको अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। हाल यो कार्यक्रम इलामको फाकफोकथुम गाउँपालिका, झापाको गौरादह नगरपालिका र ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा सञ्चालन भइरहेको छ। सहभागी उद्यमीले साझेदारी लगानी, तालिम र प्राविधिक सहयोगले व्यवसायलाई थप प्रतिस्पर्धी र दिगो बनाउन ठूलो टेवा पुगेको बताएका छन्।
















































