इलाममा‘केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट’ सुरु

इलाम : इलाममा आज (शनिबार) देखि दुई दिने ‘केचना–कञ्चनजङ्घा जिम्मेवार पर्यटन सम्मेलन’ (केचना–कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट) सुरु भएको छ । पूर्वी नेपालको दिगो र जिम्मेवार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगरपालिका नगर पर्यटन प्रवर्द्धन समितिको आयोजनामा सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा जिम्मेवार पर्यटन सम्मेलन सुरु भएको हो ।

सम्मेलनको उद्घाटन कोशी प्रदेश पर्यटन, वन तथा वातारणमन्त्री भीम पराजुलीले गरे । कार्यक्रमलाई सम्बोधन मन्त्री पराजुलीले पर्यटन क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिइने बताए । मन्त्री पराजुलीले सीमित स्रोतसाधनका बाबजुद सरकारले अघि सारेका पर्यटनसम्बन्धी अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी दिए ।

कार्यक्रममा चार जिल्लालाई लक्षित गरी सीमापार पर्यटन (क्रस बोर्डर टुरिजम) लाई थप प्रभावकारी र उद्देश्यपूर्ण बनाउने विषयमा जोड दिइएको थियो । सो अवसरमा पर्यटन प्रवर्द्धक तथा वातावरण संरक्षक राज बसुलाई सम्मान गरिएको थियो । कार्यक्रममा इलाम–१ का निर्वतमान सांसद महेश बस्नेतले समेत मन्तव्य व्यक्त गरेका थिए ।

पहिलो दिनको कार्यक्रममा रेड पाण्डा नेटवर्क इलामका संयोजक राम रिमालले ‘केचना-कञ्चनजङ्घा करिडोरमा रेडपाण्डाको अवस्था’ विषयमा प्रस्तुति दिएका थिए । त्यस्तै ‘सीमापार पर्यटनः स्थानीयदेखि वैश्विक अवसरहरू’ विषयक सामूहिक छलफलमा राज बसु, विजय गदाली, विजय झुमझुम तथा केदार शर्माको सहभागिता रहेको थियो । उक्त सत्रको सहजीकरण लोकल सन्देशका प्रधान सम्पादक एवम पर्यटन पत्रकार सुजन तिम्सिनाले गरेका थिए ।

यसैगरी लेखक तथा पर्यटन व्यवसायी वासुदेव बरालको कृति ‘कोशी गन्तव्य, अनुभव र सम्भावना’ मा आधारित ‘आकाश जाने बाटो’ र ‘सुन्तलामुनिको डिनर’ विषयमा साहित्यकार प्रकाश थाम्सुहाङले परिचर्चा गरेका थिए । सम्मेलनस्थलमा महिला उद्यमी सङ्घले १५ वटा प्रदर्शनी स्टल सञ्चालन गरेको छ।

दोस्रो दिन आइतबार वन्यजन्जुसम्बन्धी जानकार नेत्र कार्कीको ‘विटुवि’, प्रोफेसर निरोज श्रेष्ठको ‘हस्पिटालिटी’, प्राध्यापक राजेन्द्र बरालको ‘पर्यटनमा जिम्मेवारीता’ र भारतका सेफ साइकुमार शर्माको ‘पाककला’ सम्बन्धी प्रस्तुति रहनेछ ।

त्यस्तै ‘पर्यटनमा हरित लगानीः दिगो पर्यटनका लागि वित्तीय साझेदारी’ विषयमा पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडा, नेपाल ट्राभल्स एण्ड टुर एसोसिएसन कोशीका अध्यक्ष पुन्य भट्टराई, उद्योग वाणिज्य सङ्घ कोशीका पर्यटन विभाग अध्यक्ष भबेस श्रेष्ठ, होटल एसोसिएसन कोशीका अध्यक्ष राजन श्रेष्ठ, होटल व्यवसायी सङ्घ कोशी अध्यक्ष राजन दङ्गाल र जिल्ला सहकारी सङ्घ इलाम अध्यक्ष लिलाप्रसाद थापाबीच छलफल हुनेछ । छलफलमा पत्रकार सुदीप श्रेषठले सहजीकरण गर्नेछन् ।

त्यस्तै ‘केचनादेखि कञ्चनजङ्घाः होचोदेखि अग्लो पर्यटकीय करिडोर र नेपाल सरकारको नीति’ विषयमा प्रतिनिधिसभाका सांसदहरू इलामका निश्कल राई, पाँचथरका नरेन्द्र केरुङ र ताप्लेजुङका तिलकुमार मेन्याङ्बोबीच छलफल हुनेछ । छलफलमा पत्रकार भीम चापागाईंले सहजीकरण गर्नेछन् ।

सम्मेलनअन्तर्गत ड्राइभर पोटर क्लबको आयोजनामा माईपोखरीसम्म ल्यान्डरोभर र्‍याली सम्पन्न भएको छ। साथै प्याब्सन इलामको आयोजनामा चित्रकला प्रतियोगिता पनि सञ्चालन गरिएको छ। ‘आरोग्य वर्ष २०८७ र इलामको अन्तरसम्बन्ध’ विषयमा होटल एसोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टेक महतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नगर पर्यटन प्रवर्द्धन समिति अध्यक्ष सुशीला सापकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा इलाम नगरपालिकाका प्रमुख केदार थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवीप्रसाद पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए।

तराईदेखि हिमाली क्षेत्रसम्म फैलिएको जैविका विविधता, प्राकृतिक सम्पदा र सांस्कृतिक विशिष्टतालाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको संयोजक सापकोटाले बताइन् ।

‘हाम्रो मुख्य लक्ष्य नेपालको सबैभन्दा होचो भूभाग केचना र विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घालाई एउटै पर्यटकीय करिडोरका रूपमा विकास गर्ने, प्रचारप्रसारमार्फत पर्यटन प्रवर्द्धन गर्ने हो’, संयोजक सापकोटाले भनिन्, ‘तराईदेखि हिमाली क्षेत्रसम्म फैलिएको जैविका विविधता, प्राकृतिक सम्पदा र सांस्कृतिक विशिष्टतालाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने लक्ष्य छ ।’

सम्मेलनमा जिम्मेवार पर्यटन, जैविक विविधता, वातावरणीय सन्तुलन, स्थानीय समुदायको सहभागिता एवं हरित अर्थतन्त्रका विषयमा राष्ट्रिय र अन्तरराष्ट्रिय विज्ञहरूबीच छलफल हुनेछ ।

कार्यक्रमबाट पूर्वी नेपालको पर्यटन विकासका लागि दीर्घकादीन रणनीति तया गर्ने अपेक्षा रहेको आयोजकका सहसंयोजक देवीप्रसाद पौडेलले बताए । ‘पर्यटकको सङ्ख्या बढाउने मात्र नभई पर्यटनको माध्यमबाट स्थानीय समुदायले प्राप्त गर्ने लाभ, प्राकृतिक सम्पदाको संरक्षण र सांस्कृतिक सम्मानलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको छ’, उनले भने, ‘तराई, पहाड र हिमललाई जोड्ने यो अवधारणाले पूर्वी नेपालको पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा चिनाउने विश्वास लिएका छौँ ।’

कार्यक्रममा जिम्मेवार पर्यटन र हरित अर्थतन्त्रबारे प्यानल छलफलसँगै, पूर्वी नेपालको भूगोल झल्काउने ‘ल्यान्डस्केप ग्यालरी’, तस्विर तथा श्रव्यदृश्य प्रदर्शनी, स्थानीय कला तथा सांस्कृतिक प्रस्तुति, स्थानीय कला, हस्तकला प्रदर्शनी र इलामेली परिकारको प्रदर्शनी एवं बिक्री कक्षा सञ्चालन गरिएको आयोजकका सचिव अर्जुन पोख्रलले जानकारी दिए । कार्यक्रमअन्तर्गत इलामका प्रमुख पर्यटकीय गन्तव्यहरू माईपोखरी, छिन्टापु, सन्दकपुरलगायतको अवलोकन भ्रमणसमेत व्यवस्था गरिएको उनले उल्लेख गरे ।

इलाममा श्रीअन्तु, कन्याम, सन्दकपुर, कालपोखरी, गुफापातल, माईपोखरी, छिन्टापु, गजुरमुखी, माङमालुङ, भालुढुङ्गा, कुइभिरजस्ता पर्यटकीय क्षेत्र छन् । कार्यक्रमले यस्ता पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको सचिव पोख्रेलले बताए । कार्यक्रमका लागि इलाम नगरपालिकाले नौ लाख सहयोग उपलब्ध गराएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार