
इलाम : किरात समुदायको महान् चाड उभौली शुक्रबार इलामसहित देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । किराती रीति र परम्परा अनुसार भूमिको पूजा गरी यो पर्व मनाइएको हो ।
किरातीहरुको बाहुल्यता रहेको क्षेत्रमा उभौली धुमधामका साथ मनाइएको हो । यो पर्व राई, लिम्बू, याख्खा, सुनुवार र भुजेल जातीले आआफ्नै तरिकाले मनाएका छन् । पर्वको अवसरमा ती समुदायले शनिबार बिहानैदेखी प्रकृती, देवीदेवता र भुमीको पूजा अर्चना गर्दै र एक आपसमा शुभकामना बाँड्दै यो पर्व मनाए ।
यस पर्वका विषयमा स्थान र परम्परा अनुसार विभिन्न मिथक सुनिन्छन् । पृथ्वीमा कृषि युगको सुरुआत भएदेखि नै यो चाड प्रचलनमा आएको विश्वास गरिन्छ । उभौलीलाई समुदाय, ठाउँ र भाषागत भिन्नता अनुसार विभिन्न नामले पुकारिन्छ ।
किरातीहरु प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाउने गर्दछन् । किरातहरुको यो पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।
अन्नबाली राम्रोसँग सप्रियोस्, पानी परोस्, कीरा, फट्याँङ्ग्रा तथा जङगली जनावरले दुःख नदिउन्, सबैमा सुख, शान्ति, सुस्वास्थ्य, दैवीप्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाइन्छ । तराईतिर गर्मी बढेर माछा, पशुपक्षी, चराचुरुङ्गी, कीरा फट्याङ्ग्रा समेत उँभो चिसो लेकतिर बसाइँ सर्छ भन्ने विश्वासले वैशाख पूर्णिमामा मनाइने पर्वलाई उभौली भनिएको किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूले बताए ।
किरात याक्थुङ चुम्लुङ इलामले इलाम नगरपालिका ६ बालनगाउँमा पूजाअर्चना गरी उभौली पर्व (यक्वा तङनाम) मनाएको छ ।
त्यस्तै किरात राई समुदायले साकेला नाच, मौलिक पोषाकहरुको प्रदर्शनी र पुजाआजा गरि बिभिन्न कार्यक्रमका साथ इलाममा यो पर्व मनाएका छन् । उभौलीको अवसरमा किरात राई समुदायले मौलिक नाच र झाँकी प्रदर्शन गरे । उनीहरुले इलाम नगरपालिका-७ मा रहेको ओपीधारामा रहेको साकेला थानमा पुजाअर्चना सहित शुभकामना आदानप्रदान गरेका छन् ।
पहिलो दिनमा घरघरमा लिपपोत गरिन्छ । आफ्ना पिता पुर्खाले मानेको तीन चुलो ढुङ्गाको विधिपूर्वक पूजा समेत गरिन्छ । किरात समुदायले वैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म यो पर्व मनाउने गर्दछन् ।



















































