फाकफोकथुममा वैशाख २१ देखि २४ गतेसम्म एकीकृत घुम्ती सेवा शिविर सञ्चालन हुने

  नयाँ बुलन्द
56 Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिकाले नागरिकलाई घर नजिकैबाट सेवा उपलब्ध गराउने उद्देश्यले एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ । गाउँकार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै वैशाख २१ देखि २४ गतेसम्म शिविर सञ्चालन गरी जनतालाई प्रत्यक्ष सेवा प्रदान गरिने जनाएको हो ।

गाउँपालिकाका अनुसार वैशाख २१ गते वडा नं. १ र २ को वडा कार्यालयमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेवा प्रदान गरिनेछ । वैशाख २२ गते वडा नं. ६ र ७ को वडा कार्यालयमा सोही समयमा शिविर सञ्चालन हुनेछ भने वैशाख २४ गते वडा नं. ४ र ५ का लागि सम्बन्धित वडा कार्यालयमै सेवा उपलब्ध गराइनेछ ।

गाउँपालिकाले शिविरमार्फत योजना सम्झौता तथा उपभोक्ता समिति अभिमुखीकरण, पशुपन्छीसम्बन्धी सेवा (परजीवी नियन्त्रण, औषधि वितरण, फार्म दर्ता/नविकरण र पशु बाँझोपन सेवा), कृषि सेवा (बाली संरक्षण, औषधि वितरण, किसान सूचीकरण), बायोमेट्रिक प्रमाणीकरण लगायतका सेवा दिने जनाएको छ।

यसैगरी महिला, बालबालिका तथा सामाजिक सुरक्षा शाखाबाट ज्येष्ठ नागरिक र अपाङ्गता परिचयपत्र वितरण, रोजगारी सेवा शाखाबाट श्रम स्वीकृति तथा रोजगारीसम्बन्धी उपभोक्ता समिति अभिमुखीकरण, र प्रशासन शाखाबाट व्यवसाय/फर्म/होटल दर्ता तथा नविकरण सेवा समेत उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।

गाउँपालिकाले सम्बन्धित वडाका नागरिकलाई समयमै उपस्थित भई सेवा लिन आग्रह गरेको छ । शिविरले नागरिकलाई सहज, छरितो र प्रभावकारी सेवा प्रदान गर्ने विश्वास लिइएको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार