
पाँचथरः फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिनस्थित तिनचुले जडिबुटी कृषि सहकारीको संयोजनमा जडिबुटी खेती सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ। वनस्पति अनुसन्धान केन्द्र इलामको आयोजनामा सम्पन्न उक्त तालिम जडिबुटी सहकारी महासंघ कोशी प्रदेश अध्यक्ष शंखध्वज नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै नेम्वाङले जडिबुटी खेती नेपालको आर्थिक समृद्धिका लागि महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै यस्ता तालिमलाई अझ प्रभावकारी बनाउँदै व्यापक किसान सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए। उनले जडिबुटी सम्बन्धी ज्ञान, सीप र प्रविधिको विस्तारले ग्रामीण क्षेत्रमा स्वरोजगार सिर्जना गर्नुका साथै आयआर्जन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। तालिममा फाल्गुनन्द आयुर्वेद शाखा प्रमुख राजु पराजुलीले स्थानीय रूपमा पाइने जडिबुटीका प्रजाति, तिनको वैज्ञानिक खेती विधि, संरक्षण, प्रशोधन तथा प्रयोगका विषयमा विस्तृत प्रशिक्षण दिएका थिए। उनले विशेष गरी नेपालमा पाइने बहुमूल्य तथा लोपोन्मुख जडिबुटीको संरक्षण आवश्यक रहेको औंल्याउँदै यसको दिगो उपयोगमार्फत दीर्घकालीन फाइदा लिन सकिने बारेमा प्रशिक्षण दिए ।

त्यसैगरी वन अधिकृत जगदीश रेग्मीले जडिबुटी खेतीको व्यावसायिक सम्भावना, नेपाल सरकार तथा वन कार्यालयका नियम-कानुन, जडिबुटी संकलन, प्रशोधन, भण्डारण, व्यापार र विदेशी निकासी प्रक्रियाबारे सहजीकरण गरेका थिए। उनले प्रतिबन्धित जडिबुटीको सूची, कच्चा पदार्थ निकासीसम्बन्धी कानुनी व्यवस्था, प्रशोधनपछि मात्र बिक्री गर्नुपर्ने प्रावधान तथा अवैधानिक कारोबारका जोखिमबारे सहभागीलाई स्पष्ट जानकारी गराए। साथै किसानले प्राप्त गर्न सक्ने सरकारी सेवा-सुविधा, अनुदान, प्राविधिक सहयोग तथा आवश्यक मापदण्डबारे समेत जानकारी दिइएको थियो।तालिममा चिराइतो, लोट सल्ला, मजिठो, धसिङ्गरे, टिमुर, तेजपत्ता, गुर्जो, बोझो, झ्याउ, कोइरालो, कुरिलो लगायतका जडिबुटीजन्य वनस्पतिको औषधीय गुण, आर्थिक महत्व र बजार सम्भावनाबारे जानकारी दिइएको थियो। साथै जडिबुटीको गलत प्रयोगबाट हुन सक्ने स्वास्थ्य जोखिम, बिक्री वितरणका क्रममा हुने अवैधानिक गतिविधि तथा त्यसबाट निम्तिने कानुनी कारबाही, दण्ड-सजाय र झन्झटबारे पनि सहभागीलाई सचेत गराइएको थियो। कार्यक्रममा सहभागी किसानका जिज्ञासा, गुनासा र अनुभव आदानप्रदानमार्फत अन्तरक्रियात्मक छलफल समेत गरिएको थियो।
डिभिजन वन कार्यालय इलामका अधिकृत चन्द्रमोहन मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्मचारी रोशन गिरीले सञ्चालन गरेका थिए। सहकारीका अध्यक्ष पेम्बा शेर्पाले सहकारीको स्थापना कालदेखि हालसम्मका गतिविधि, जडिबुटी उत्पादनको अवस्था तथा किसानले भोगिरहेका समस्या र चुनौतीबारे प्रकाश पारेका थिए।वनस्पति कार्यालयका चन्द्रशेखर कर्ण, निरज खड्का लगायतको प्राविधिक टोलीको उपस्थितिमा सम्पन्न उक्त तालिममा ४० जना स्थानीय किसानको सहभागिता रहेको थियो। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै व्यावसायिक जडिबुटी खेतीतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सहकारीले २०६७ सालदेखि जडिबुटी उत्पादन तथा व्यावसायिक खेती विस्तार कार्यक्रम सकृय रुपमा सञ्चालन गर्दै आएको छ। विभिन्न समयमा जिल्ला वन कार्यालय, डिभिजन वन कार्यालय तथा राष्ट्रिय वनस्पति अनुसन्धान विभागसँग सहकार्य गर्दै बिरुवा वितरण, तालिम तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको सहकारीले जनाएको छ। २०७४/०७५ सालमा चिराइतो तथा टिमुर रोपण अभियान सञ्चालन गरिएको थियो भने पशुपालन प्रवर्द्धन तथा आलु जोन विस्तार कार्यक्रममार्फत समेत सदस्यहरूको आयआर्जनमा वृद्धि भएको उल्लेख गरिएको छ।आर्थिक रूपमा सहकारीको अवस्था क्रमशः सुदृढ बन्दै गएको र जडिबुटी खेती, आलु उत्पादन, पशुपालन तथा अर्गानिक मल उत्पादनका कार्यक्रमले सदस्यहरूको वार्षिक आम्दानीमा सकारात्मक प्रभाव पारेको जनाइएको छ। आगामी दिनमा जडिबुटी खेती विस्तार, स्थानीय उत्पादनको बजार विकास तथा ब्रान्डिङ, डिजिटल सेवा प्रणालीको विकास र अर्गानिक उत्पादनलाई संस्थागत रूपमा अघि बढाउने नीति सहकारीले अवलम्बन गरेको छ।
सहकारीका अध्यक्ष शेर्पाका अनुसार जडिबुटी खेती नेपालको बहुमूल्य सम्पत्ति भएको क्षेत्र भएकाले यसको संरक्षण, उत्पादन र व्यवस्थित बजार व्यवस्थापनमार्फत विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। यसले देशको अर्थतन्त्र मजबुत बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै उनले जडिबुटी खेतीलाई थप व्यावसायिक र दिगो बनाउने लक्ष्य रहेको बताए।



















































