इलाम : इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान पक्षधर उम्मेदवार डकेन्द्र सिंह थेगिमले आफूले पाएको मत पहिचान आन्दोलनका लागि महत्वपूर्ण भएको बताएका छन् ।
उपनिर्वाचनको नतिजा आएपछि बुधबार इलाममा पहिचान पक्षधरले पत्रकार सम्मेलन आयोजना गरेका थिए । सो कार्यक्रममा उम्मेदवार थेगिमले आफूले पाएको मतबाट राज्य सञ्चालन गरिरहेकाहरु झस्किएको धारणा राखे ।
पत्रकार सम्मेलनमा पहिचान सहितको प्रदेश १ पुनः नामाङ्कन अभियान समिति का महासचिव रामभक्त कुरुम्बाङले एमाले अध्यक्ष केपी शर्मा ओली एकल पहिचानवादी भएको बताए । उनले भने, ‘ओली एकल पहिचानवादी हुन्, हामीले एकल पहिचानको नाम कोशी खारेजको माग गरिरहेका छौ, बहुपहिचानको माग गरिरहेका छौं ।’
पहिचान पक्षधर नेताहरुले उपनिर्वाचनमा मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरेको विश्लेषण गरे ।