इलाम : मानिसको जीवनमा अनेक संयोगहरु हुने गर्छन् । यस्तै संयोग भएको छ, नेपाली कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्कालाई । उनलाई डेढ वर्षको अवधिमा एकै घरका बाबु-छोरासँग निर्वाचन लड्ने संयोगले जुर्यो । तर, विडम्बना उनी दुवैजनासँग पराजित भए ।
२०७९ मा प्रतिनिधसभा सदस्यका लागि भएको निर्वाचनमा इलाम-२ बाट बाबुसँग झिनो मतान्तरले पराजित खड्का यस वर्ष उनकै छोरासँग भारी मतान्तरले पराजित हुनुपर्यो । अघिल्लो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद्वार स्व. सुवासचन्द्र नेम्बाङसँग एक सय १४ को झिनो मतान्तरले पराजित भएका थिए । सुवासले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार नौ सय छ मत पाएका थिए ।
खड्का यस पटकको उपनिर्वाचनमा भने स्व. सुवासकै छोरा सुहाङसँग पाँच हजार आठ सय ३० मतको फराकिलो मतान्तरमा पराजित भए । नेम्बाङले २७ हजार सात सय ७२ मत पाएर विजयी भए भने खड्काले २१ हजार नौ सय ४२ मत पाएर पराजित भए ।
सुवासचन्द्र नेम्बाङको २०८० भदौ २६ गते काठमाडौंमा निधन भएपछि भएको उपनिर्वाचनमा एमालेले उनका छोरा सुहाङलाई नै उम्मेद्वार बनायो । कार्यकाल नसकिदैँ निधन भएका सुवासको उत्तराधिकारीको रुपमा छोरा सुहाङ निर्वाचित हुँदा कांग्रेसले यसपटक पनि पराजय व्यहोर्नुपर्यो ।
कांग्रेस पराजयका लागि मुख्य कारण निर्वाचनको संघरमा बनेको ‘बाम गठबन्धन’ बन्यो । ‘हेभीवेट’ उम्मेद्वार सुवासचन्द्र नेम्बाङसँग झिनो मतान्तरमा पराजित डम्बरबहादुर खड्का एमालेले राजनीतिमा प्रवेशै नगरेका सुहाङ नेम्बाङलाई उम्मेद्वार बनाएछि सहजै जित निकाल्ने आशामा थिए । तर, खड्काको त्यो आशा बाम गठबन्धन निर्माणसँगै निराशामा परिणत भयो । अन्तत्वगत्व खड्का सुहाङसँग फराकिलो अन्तरमा पराजित हुनुपर्यो ।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा सुवासचन्द्र नेम्बाङ एकल रुपमा थिए । खड्कालाई भने तत्कालीन सत्ता गठबन्धनका दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा माओवादी केन्द्र (एकीकृत समाजवादी) को साथ थियो । गठबन्धनको कडा चुनौतिका बाबजुत सुवासचन्द्रले जित निकालेका थिए । तर, यस पटक कांग्रेस एक्लै निर्वाचन लड्दा एमालेलाई भने माओवादी केन्द्र, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेपाल परिवार दलको साथ थियो । गठबन्धनको साथ पाएपछि सुहाङलाई जित निकाल्न सहज भएको हो ।
पहिचानवादी स्वतन्त्र उम्मेद्वार थेगिमले पाएको ११ हजार चार सय ५७ मत मत पहिचानवादी घटक दलको मतमा बाम गठबन्धनको करिब चार हजार मत र कांग्रेसको थोरै मत तान्न सफल भएको देखिन्छ । पहिचानवादी घटकमा आवद्ध दलमध्ये राष्ट्रिय जनमुक्ति पार्टीको एक हजार चार सय १३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक हजार तीन सय २९ र जनता समाजवादी पार्टीको नौ सय छ मत थियो । त्यसमा अन्य साना दलको मत थपिएको देखिन्छ ।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पार्टीहरुले पाएको समानुपातिक मत विश्लेषण गर्दा यस पटकको उपनिर्वाचनमा एमालेलाई जितका लागि नयाँ सत्ता समीकरणले सहज भएको पुष्टि हुन्छ । सो निर्वाचनमा सबैभन्दा धेरै एमालेले २६ हजार पाँच सय ६२ मत पाएको थियो । त्यसपछि कांग्रेसले २२ हजार तीन सय ३३, माओवादी केन्द्रले पाँच हजार एक सय ५३ र राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ६८ पाएको थियो । अन्य पार्टीले दुई हजार कटाएनन् ।
एमालेको मतमा माओवादीको मत थपिदाँ ३१ हजार सात सय १५ हुन्छ । नेकपाको पनि केही मत थपिदाँ सहजै जित निस्कनेमा सुहाङ ढुक्क थिए । एमाले र माओवादीको मतलाई मात्र विश्लेषण गर्दा यस पटकको उपनिर्वाचनमा तीन हजार नौ सय ४३ मत अन्य उम्मेद्वारमा गएको देखिन्छ । पहिचानवादी स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंथ लिम्बू थेगिम एक महिना अघिमात्र एमाले परित्याग गरी उम्मेद्वारी दिएकाले एमालेभित्रको केही मत स्वतन्त्र उम्मेद्वार थेगिमले तानेको देखिन्छ ।
उता कांग्रेसले भने यस पटकको उपनिर्वाचनमा केहीबाहेक आफ्नो मत सुरक्षित गर्न सफल भएको छ । अघिल्लो निर्वचनमा समानुपातिक २२ हजार तीन सय ३३ मत पाएको कांग्रेसले यो उपनिर्वाचनमा तीन सय ८० मत मात्र गुमाएको देखिन्छ । कांग्रेस इलामका सचिव निरोज खड्कीले आफ्नो पार्टी पराजित हुनुमा मुख्य कारण बाम गठबन्धन नै भएको बताउनुभयो । ‘हाम्रो पराजयको मुख्य कारण निर्वाचनको संघारमा निर्माण भएको बाम गठबन्धन नै बन्यो,’ खड्गीले भन्नुभयो, ‘यसपटक हामी एकजुट थियौं, एक्लाएक्लै लडेको भए हामी जित्थ्यौं ।’
पहिचानवादी स्वतन्त्र उम्मेद्वार थेगिमले पाएको ११ हजार चार सय ५७ मत मत पहिचानवादी घटक दलको मतमा बाम गठबन्धनको करिब चार हजार मत र कांग्रेसको थोरै मत तान्न सफल भएको देखिन्छ । पहिचानवादी घटकमा आवद्ध दलमध्ये राष्ट्रिय जनमुक्ति पार्टीको एक हजार चार सय १३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक हजार तीन सय २९ र जनता समाजवादी पार्टीको नौ सय छ मत थियो । त्यसमा अन्य साना दलको मत थपिएको देखिन्छ ।
उता राष्ट्रिय स्वतन्त्र पार्टीले तीन सय ६४ मत बढाएको छ । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ चार हजार छ सय ८६ मत पाएको रास्वपाका मिलन लिम्बूले पाँच हजार ५० मत पाउनुभयो । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार तीन सय ७४ मत खसेको थियो । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा थिए ।