इलाम उपनिर्वाचन : एमाले उम्मेद्वार सुहाङ हजार मतान्तरले अगाडि

  नयाँ बुलन्द
497 Shares


इलाम : इलाम क्षेत्र नं. २ को जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद्वार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लगेका छन् ।

फाकफोकथुम गाउँपालिका-१, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा नेम्बाङले कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले भन्दा एक हजार एक मत बढी पाएका छन् । नेम्बाङले तीन हजार सात सय ८३ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले दुई हजार सात सय ८२ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका मुढा चिन्ह पाएका पहिचानवादी स्वतन्त्र उम्मेद्वार डेकन्द्रसिंह लिम्बू थेगिमले सात सय ८४ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले पाँच सय ६१ मत प्राप्त गरी चौथो स्थानमा छन् । आठ हजार ६३ मत गणना गर्दा ८२ मत बदर भएको छ ।

यो समाचार तयार पार्दासम्म फाकफोकथुम गाउँपालिका-७ को मतगणना भइरहेको छ । सो वडामा एक हजार चार सय ७६ मत खसेको छ । फाकफोकथुम गाउँपालिकाको मतपत्र गणना सकिएपछि चुलाचुली गाउँपालिकाको मत गणना गरिने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

इलाम-२ मा फाकफोकथुम गाउँपालिकाका सबै ७ वटा वडा, चुलाचुली र माङसेबुङ गाउँपालिकाका सबै ६/६ वटा वडा, माई नगरपालिकाका ६, ७ र ८ वडा, देउमाई नगरपालिकाका सबै ९ वटा वडा र इलाम नगरपालिकाका ११ वटा वडा (१० बाहेक) गरी ४२ वटा वडा पर्दछन् ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो । यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार