पावागाउँस्थित जन्मघरको आँगनमा एउटा ‘आलुचा’को रुख छ। रुखमा फल फल्दै छ।
छोराले रोपेको त्यो रुखको फल हेर्दै आमा सुनमाया भनिरहेकी छिन्, ‘यो बिरुवा सप्रिएको जस्तै उसले सोचेका कामहरू पनि सफल होस्।’
सानैमा त्यो रुख मिलन योङहाङ लिम्बुले रोपेका थिए। मिलन अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट इलाम–२ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्।
सुनमायाका पाँच सन्तान छन्। उनको कोखबाट ६ सन्तान जन्मिएका थिए। तीन छोरा, तीन छोरी।
जन्मिएको दुई वर्षमै सुनमायाले एउटी छोरी गुमाइन्। सानैमा गुमाएकी छोरीलाई सम्झन चाहन्नन्।
‘नभाको छोरीको गन्ती हुँदैन कि,’ निख्खर पूर्वेली लवजमा उनले भनिन्, ‘सम्झन पनि मन लाग्दैन हौ नानी।’
सुनमायालाई जन्मिएको साल याद छ। बिहे भएको वर्ष पनि याद छ। २०२० सालमा जन्मिएकी उनले ४० सालमा बिहे गरिन्।
०४४/०४५ सालतिर हुनुपर्छ, उनले माइली छोरीलाई जन्मिएको दुई वर्षमै गुमाइन्। कारण थियो, लहरेखोकी।
पालिकाकै विकट गाउँमध्येको एक हो, पावागाउँ। त्यतिबेला सवारी साधनको व्यवस्था थिएन।
सुनमायाले छोरीलाई अस्पताल पुर्याउन सकिनन्।
‘अस्पताल पुर्याउनै सकिएन, त्यतिबेला धेरै हिँड्नुपर्थ्यो। गाडी थिएन, कि दमक कि बिर्तामोड मात्रै थियो,’ उनले भावुक हुँदै सुनाइन्।
उनी आफैँ पनि अहिलेसम्म काठमाडौँ पुगेकी छैनन्। काठमाडौँ पुगिहाल्ने धोको पनि छैन।
तर, यहाँका बिरामीले चाँडै उपचार पाउने गरी गाडी चल्नेसम्म बनिदिए मात्रै आफू खुसी हुने उनी बताउँछिन्।
आफैँले जस्तो अरू कसैका छोराछोरीले साधन नपाएरै अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने सुनमायाको चाहना छ।
सुनमायाको जस्तै धोको छ, बुवा महासिंहको पनि। ‘छोराले जितेर विकटको समस्या बुझिदिए हुन्थ्यो,’ बुवा महासिंह भन्छन्।
मिलनका तीन दाजुभाइ छन्।
कान्छा विशन अघिल्लो साल मात्रै कोरिया पुगेका छन्। माइला जीवन पत्रकारितामै छन्। मिलनले पत्रकारिताबाट राजनीतिमा डुबुल्की मारेका छन्।
आमा सुनमायाका अनुसार, मिलनको जन्म ०४८ फागुन २८ गते भयो। मिलनको आनीबानी, काम, आचरण र मिहिनेतले सुनमाया प्रभावित छिन्। खासगरी काम गर्ने उनको जाँगर।
अहिले पनि घर आएको बेला उनी खाली हात बस्दैनन्। बरु भाइहरूचाहिँ गाउँघरका काममा धेरै वास्ता गर्दैनन् रे! त्यसैले मिलन जहाँ जुन काममा लागे पनि राम्रै गर्छन् भन्ने विश्वास आमालाई छ।
‘लिप्ने, बुन्ने, सोरसार गर्ने सबै काम गर्छ मिलनले, दौंतरीहरूलाई कहिल्यै हेपेन। जहिल्यै राम्रै गर्छ,’ आमाले सुनाइन्।
मिलनले घरमा आमालाई अकबरे खुर्सानी धेरै रोप्न भनेका छन्।
‘अहिले खुर्सानी धेरै रोप्नु अरे, त्यसो पो भन्छ,’ सुनमाया सुनाउँछिन्, ‘कुनै दिन आउँदा रोप्न पनि सघाउँछ।’
मिलनले आफूलाई अकबरे उम्मेदवारको रूपमा चिनाउन चाहेका छन्। उम्मेदवारी घोषणा गर्दादेखि नै उनले अकबरे उम्मेदवार भन्दै सिंगो इलामको प्रतिनिधित्व देखाउन खोजेका हुन्।
अकबरे खुर्सानीका लागि प्रख्यात मानिन्छ इलाम।
छोराले रोजेको पार्टी के हो? त्यसको सिद्धान्त के हो? उनलाई धेरै हेक्का छैन।
तर, चुनाव चिन्ह थाहा पाएकी छिन्।
‘राजानीतिबारे त त्यति जान्दिनँ,’ माङ्सेबुङकै भूगोलबाट उनले भनिन्, ‘अहिले त नयाँ फेर्नुपर्छ भन्ने आउनेजानेले भन्छन्।’
उनका घरमा पुग्नेहरू अहिले धेरैजसो मिलनको गुनगान गाइरहन्छन्।
छिमेकी, आफन्त र टाढाटाढाबाट आएकाले उनै मिलनबारे चर्चा गरिरहन्छन्। यसले सुनमाया खुसी छिन्।
‘यो मान्छे सानैदेखि आनीबानी जानेको, अवश्य हामीलाई सुःख ल्याउँछ भन्ने मात्रै छ नानी,’ उनले सुनाइन्।
सुनमाया र महासिंहको मनमा एउटा विषय सधैँ खड्किरहन्छ। गाउँमा बिजुली ल्याउने समय चल्दै थियो।
माथिमाथि डाँडामा सरकारी खम्बा र तारसहित बिजुली गयो।
तर, माङ्सेबुङको उनीहरूले कुटोकोदालो गरेको ठाउँमा चाइँचुइँ थिएन। बिजुली आउँदा स्थानीयबाटै पैसा उठाउन पर्यो।
यहाँका स्थानीयले आफ्नै बलमा तार र खम्बा जम्मा पारे।
‘सरकारी बिजुली बत्ती आउन त आयो, तर सिधा माथि डाँडाडाँडामा मात्रै,’ विकासमा देखिएको विभेद सम्झेर नरमाइलो मान्दै मिलनकी आमाले सुनाइन्, ‘यो गाउँभित्र दिएको छैन, त्यस्तो छ नानी।’
बाटो नहुँदा छोरी गुमाएकी सुनमायालाई बिजुली नभएर भोग्न परेका सास्ती झन् कति छन् कति?
‘इलामकै छोरा हो। मेरो छोराले बल गरिरहेको छ, यो ठाउँको विकासकै लागि पनि उसलाई सबैले भोट दिऊन्,’ उनको इच्छा छ।
पावागाउँमा मिलनको पुरानो शैलीको घर छ।
अहिले भइरहेको घरचाहिँ ०५२ सालमा बनेको रहेछ। मिलनका बुवाआमालाई ठ्याक्कै साल याद छैन।
तर, ४५ तिर आएको भूकम्पले घर क्षतविक्षत बनायो। त्यसपछि उनीहरूले कहिल्यै तला थपेर घर बनाएनन्।
घरका भित्तामा किराँत सभ्यताका चित्र कोरिएका छन्। यहाँका धेरैले घरका भित्तामा यस्ता सभ्यता झल्कने चित्र कोर्ने गरेका रहेछन्।
मिलनका बुवा धेरै बोल्दैनन्। गाँउभरिका मान्छे घर आउँदा र छोराबारे गरेका कुरा सुनेर दंग हुन्छन्।
अनि सोचेर भन्ने गरेका छन्, ‘हामीले बाख्रा पाल्यौँ, खेती गर्यौँ। छोराले यहाँकै किसानका बारेमा सोचोस्’
पावागाउँबाट सिरानतिर राईगाउँ छ। क्षत्री–बाहुनचाहिँ खासै छैनन्।
‘साविकको वडा १, २, ३ तिर अलिअलि क्षत्री हुनुहुन्छ। राई, लिम्बुचाहिँ छासमिसे छ,’ बुवा मानसिंहले भने।
मिलन नयाँ उदाएको दलमा आबद्ध छन्। उनले यसअघि पहिचान र संघीयताको विषयलाई चर्कोरूपमा उठाएका थिए।
यसपटक पनि इलाममा यो विषय चर्किएकै छ।
तर, मिलन आबद्ध दल यसबारे प्रस्ट भइसकेको छैन। यसले नै उनको चुनावी नतिजामा कस्तो असर पर्ने हो भन्ने प्रश्न परिवारमै पनि छ।
–
/नेपाल खबर