चुनाव भन्ने कुरा यस्तो भयो कि जोसँग पैसा छ उही मात्र उठ्न सक्ने भयो । चुनाव धेरै खर्चिलो र भड्किलो बन्दै गयो । यस्तो भएपछि संसदीय प्रणाली कति टिक्ने होला भन्ने प्रश्न पनि उठ्ने गरेको छ । नेपाली जनतालाई चुनावमा लिस्नो बनाएर सत्ताको घुम्ने कुर्सीमाथि बस्नेहरूको ताँती हामीले धेरै पहिलेदेखि देख्दै आएका छौँ । उनीहरूलाई जिताएर जनतालाई केही हुने होइन । आज जनता चरम निराशामा बाँचिरहेका छन् । सत्तामा बस्नेलाई के थाहा ?
यही १५ वैशाखमा उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा वैशाख १५ मा निर्वाचन गराउने निर्णय भएको छ । यससँगै अहिले उपनिर्वाचनको माहोल तातिरहेको छ । इलाम–२ मा २०७९ सालमा भएको निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए भने बझाङ–१ को प्रदेशसभामा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए ।
नेम्वाङको भदौ २६ गते हृदयाघातका कारण निधन भएको थियो भने सिंहको असार २५ मा सवारी दुर्घटनामा निधन भएको थियो । रिक्त निर्वाचन क्षेत्रमा उपचुनाव हुन थालेको हो । इलाम–२ मा कुन पार्टीले बाजी मार्छ भन्ने कुरा अहिले चासोको विषय बनेको छ । माओवादी केन्द्रले एमाले उम्मेद्वार सुवासका छोरालाई सघाउने भनिसकेको छ । नेकपा एकीकृत समाजवादीले पनि एमाले उम्मेद्वार सुवासका छोरालाई सघाउने भित्री तयारी गरेको देखिएको छ । रास्वपाले मिलन लिम्बूलाई अघि सारेको छ । इलाम २ उपनिर्वाचनको सर्वाधिक चासो र चर्चाको क्षेत्र बनेको छ ।
देश र जनताको चिन्ता गर्नेभन्दा पनि यो देशमा आफ्नो स्वार्थ पूर्ति गर्ने नेताहरू बढी भए । हाम्रो कर खाएर बाँचेका तर हाम्रो भलो गर्न नसकेका राजनीति दल र तिनका नेताहरूवाट अब आश गर्ने ठाउँ कतै देखिँदैन । दल र तिनका नेताहरूले जनतालाई खोज्ने भनेको चुनावका बेलामा मात्र हो । चुनाव सकिएपछि नेताहरू सबै बिर्सन्छन् । यतिबेला सबै पार्टी आआफ्नो दलको उम्मेद्वार जिताउने अभियानमा प्रचारका लागि गाउँ गाउँ हिँडिरहेका छन् । जनताको आँखामा छारो हाल्न सबै दल कम्मर कसेर हिँडेका छन् । चुनाव भन्ने कुरा यस्तो भयो कि जो सँग पैसा छ उही मात्र उठ्न सक्ने भयो । चुनाव धेरै खर्चिलो र भड्किलो बन्दै गयो । यस्तो भएपछि संसदीय प्रणाली कति टिक्ने होला भन्ने प्रश्न पनि उठने गरेको छ । नेपाली जनतालाई चुनावमा लिस्नो बनाएर सत्ताको घुम्ने कुर्सीमाथि बस्नेहरूको ताँती हामीले धेरै पहिलेदेखि देख्दै आएका छौँ । उनीहरूलाई जिताएर जनतालाई केही हुने होइन । आजजनता चरम निराशामा बाँचिरहेका छन । सत्तामा बस्नेलाई के थाहा ?
अब परम्परागत शैली र प्रवृत्ति नेपाली सचेत नागरिक त्यसमा पनि युवा पुस्ताले फिटिक्कै विश्वास गर्दैनन् भन्ने कुरा सबैले बुझ्न जरुरी छ । अब हुने उपनिर्वाचनको परिणाम कस्तो आउने हो त्यसमा आगामी राजनीति यात्रा तय हुने देखिन्छ । इलाम जिल्ला राजनीतिक, शैक्षिक र सामाजिक दृष्टिले राम्रो जिल्ला हो । आफूलाई मूलधारका पार्टी ठान्नेहरू यो उपनिर्वाचनमा जित्छन् या हार्छन् त्यो हेर्न बाँकी नै छ । गम्भीर धक्का पुराना दलले खाने हो भने चेत खुल्थ्यो कि भन्ने लाग्छ । रास्वपाले २०८४ सालमा सरकार गठन गर्न सक्ने गरी सुविधाजनक बहुमत प्राप्त गर्छ भन्ने कुरा अहिले नै चर्चा सुरु भइसकेको छ ।
यदि रास्वपाले पुराना दलहरूभन्दा फरक ढंगले काम गरेर देखाउन सक्यो भने जनताले पत्याउन सक्छन् । साथै अर्को कुरा । रास्वपासँग कुनै स्पष्ट राजनीतिक सिद्धान्त, आदर्श, नीति कार्यक्रम केही पनि छैन । यो पार्टी स्पष्ट राजनीतिक सिद्धान्त, आदर्श, नीति कार्यक्रम लिएर जनतासामु जानुपर्ने देखिन्छ । केही समसामयिक मुद्दा केन्द्रित चुनावी हौवा र केटाहरूको बहकाइले राजनीतिमा कुनै स्थायित्व दिन पनि सक्दैन । मान्छेहरू यो त एउटा साउने भेल हो भन्न थालिसकेका छन् । जानीनजानी रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछाने विवादमा परेका छन् । कुनै पनि पार्टीको प्रमुख व्यक्ति नै विवादित हुन पुग्यो भने स्वभावैले अन्य कार्यकर्तालाई अप्ठ्यारो पर्छ । यस्ता विषयलाई बिनाढिलाइ तत्काल स्पष्टीकरण दिनुपर्ने हुन्छ । अहिले रास्वपाभित्र धेरै असल व्यक्तिहरू भएको पाइन्छ । संसद्मा भएका मानिसहरूको प्रस्तुति र उपस्थितिले राम्रै प्रशंसा भएको अनुभूति गरिँदै छ । यसले एउटा सकारात्मक सन्देश आमजनमानसमा गएको छ । धेरै राम्रा मानिस त्यस पार्टीमा छन् । जुझारु र केही गरौँ भन्ने हुटहुटी भएका युवाहरूको बाहुल्यले राष्ट्रिय स्वतन्त्र पार्टीको छवि थप उज्ज्वल हुने धेरैको अड्कल छ । पुराना र परम्परागत पार्टीहरूको विकल्प जनताले खोजिरहेका छन् ।
आशन्न उपनिर्वाचनले रास्वपाको अवस्था के हुने हो अहिले यसै भन्न सकिँदैन । भ्रष्टाचार र कुशासन अनि बेथितिबाट वाक्क भएका नेपाली जनता विकल्प खोजिरहेका छन् । कुनै पनि चिज आर्जन गर्न जति सजिलो हुन्छ त्यसलाई जोगाउन त्यसभन्दा धेरै गुणा गाह्रो हुन्छ । यत्ति कुरा हेक्का राख्नैपर्छ । अब हुने उपनिर्वाचनले राज्यका सबै शक्ति र सर्वसाधरणलाई समेत विशेष उत्साह, चिन्ता र चासो बढाएको छ । कतै उत्साहित बनाएको छ भने पुराना दलहरूलाई चिन्तित बनाएको हुनुपर्छ । छोटो समयमा स्थापित राजनीतिक पार्टी रास्वपा यति चाँडै राष्ट्रिय पार्टीको रूपमा उदय होला भन्ने कमै मान्छेलाई लागेको थियो । अब दलहरूलाई खबरदारी गर्नुपर्ने जरुरी देखिएको छ ।
काम गरेर देखाउन भाषण गरेजस्तो सजिलो छैन । लोकतान्त्रिक प्रणाली आफैँमा विधि र पद्धतिमा चल्ने प्रणाली हो । त्यो विधि र प्रणालीलाई पछ्याउँदै जानुपर्ने हुन्छ । लोकतान्त्रिक व्यवस्था कुनै पनि अधिनायकवादी शासनजस्तो हुँदैन । नेपाल सार्वभौमसत्ता, अखण्डता र स्वाभिमान भएको मुलुक हो । नेपाल न विगतमा कसैको अधिनस्थ बन्यो न त कसैको गुलाम । यति धेरै स्वाभिमानी मुलुक अहिले किन कसैको परनिर्भरतामा अगाडि बढ्दैछ ? देश किन आत्मनिर्भर बन्न सकेन ? देश अझै परनिर्भरतातर्फ अगाडि बढ्ने र देशमा आर्थिक, समाजिक, जातीय, भाषिक, द्वन्द्व जन्मने खतरा प्रवल छ । जब देशमा नै आर्थिक र भौतिक संकट आइपर्दछ, कुनै व्यक्ति विशेष सम्पन्नताको नाममा उकासिन सक्दैन । यही विषय चिर्न नसक्दा नै नेपाल पछाडि परेको हो ।
नेपालको राजनीतिमा अवसरवाद, नातावाद, कृपावाद हाबी छ । फरक यति हो कि विश्वका अन्य देशहरूमा यो सबै चिर्नसक्ने नेता, राजनेता छन् भने नेपालमा छैनन् । फरक यति हो । स्वार्थलाई आफूभन्दा बाहिर राख्नेहरू सफल हुन्छन् अरू असफल । नेपालमा भएको यही हो । भौगोलिक, सामाजिक, सांस्कृतिक रूपमा विश्वमा सबैभन्दा अब्बल नेपाल अहिले परनिर्भरताको अन्तिम विन्दुमा पुगेको छ । भौगोलिक बनावट होस् कि उत्पादनमा नेपाल अब्बल मुलुक हो । यति धेरै परनिर्भरता र पराश्रित हुन हामीलाई कस्ले बनायो ? नेता सत्ता र स्वार्थका लागि लडिरहेका छन् । यही कर्मभित्र नेताको दिनचर्या बित्छ । व्यवस्था परिवर्तन भयो । तर, जनताको जीवनस्तर परिवर्तन भएन । देश विकास भएन । जबसम्म सिंगो देश र जनतालाई उत्पादन र कर्मसँग जोड्न सकिँदैन तबसम्म देश झन् झन् परनिर्भर हुनेमा कुनै शंका छैन ।
नेताहरू देश सिंगापुर बनाउँछु भन्दै हिँडे तर सकेनन् । त्यो त नेताहरूको चुनाव जित्ने स्वार्थ हो । किनकि जनतालाई बहकाएर सत्तामा पुग्ने खेल हो । सत्ता प्राप्त गर्न नेताहरू जेपनि गर्न पछि हट्दैनन् । क्षणिक सत्ता र स्वार्थ पूर्ति गर्न देश नै बन्धक राख्न उनीहरू पछि पदैनन् । सबैभन्दा पहिला देशका नागरिकहरू देशप्रति चनाखो बन्न सक्नुपर्छ । दल र तिनका नेताहरूको पछि लागेर केही हुँदैन । जबसम्म जनता कर्मशील, उत्पादनशील र चेतनशील हुँदैनन् तबसम्म यहाँ केही हुँदैन । राजनीति जनताको जीवनस्तर उकास्न हुनुपर्नेमा आफ्नो जीवनस्तर उकास्ने ध्याउन्नमा छ । अनि कसरी बन्छ देश ?राजनीति व्यक्ति केन्द्रित बनिदियो । जबसम्म जनता स्वाभीमानी र कर्मठ बन्न सक्दैनन्, तबसम्म नेताले जनता भड्काउने काममा लागिरहने छन् । देश र जनताको नाममा नेता र कार्यकर्ताले धेरैले धेरै कमाइसके, जनताको अबस्था ज्हाँको त्यही छ । नेपाली जनता लोकतन्त्र र गणतन्त्रका हिमायती हुन् र पक्षधर हुन् । निश्चित रूपमा आमजनताबीच नैराश्यता र वितृष्णा झाँगिएको छ । तर, त्यो निराशा व्यवस्थाका कारण नभई व्यवस्थाका सञ्चालक पात्रहरूका कारण हो । अविश्वास र नकारात्मक वातावरणका बीच नै पछिल्ला दिनहरूमा अस्वाभाविक एवं अपत्यारिला पात्रहरू उदाएका हुन् ।
-सौर्य