डम्बरबहादुर खड्काको पराजय : बाबुसँग झिनो, छोरासँग भारी मतान्तर

इलाम : इलाम-२ पहिले बाबुसँग झिनो मतान्तरमा निर्वाचनमा पराजित भएका उम्मेद्वार यस वर्ष छोरासँग भारी मतान्तरमा पराजित भएका छन् । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्का नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद्वार स्वर्गीय सुवासचन्द्र नेम्बाङसँग पराजित भएका थिए । यस पटकको उपनिर्वाचनमा खड्का सुवासचन्द्रकै कान्छा छोरा सुहाङ नेम्बाङसँग समेत पराजित भए ।

अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा खड्का सुवासचन्द्रसँग एक सय १४ को झिनो मतान्तरले पराजित भएका थिए । विजयी सुवासचन्द्रले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार नौ सय छ मत पाएका थिए । यस पटकको उपनिर्वाचनमा सुहाङसँग पाँच हजार आठ सय ३० मतको फराकिलो मतान्तरमा पराजित भए । नेम्बाङले २७ हजार सात सय ७२ मत पाएर विजयी हुनुभयो भने खड्काले २१ हजार नौ सय ४२ मत पाएर पराजित भए ।

सुवासचन्द्रको २०८० भदौ २६ गते काठमाडौंमा निधन भएपछि उपनिर्वाचन भएको थियो । बाबुको निधनपछि एमालेले उनका छोरा सुहाङलाई नै उम्मेद्वार बनाएको थियो । कार्यकाल नसकिदैँ निधन भएका सुवासचन्द्रको उत्तराधिकारीको रुपमा छोरा सुहाङ निर्वाचित भएका हुन् । सुहाङले आफ्ना बाबुले थालेका पुराना तथा अधुरा कामलाई पूरा गर्ने बताउँदै आएका छन् ।

इलाम-२ मा छ वटा पालिकाका ४२ वटा वडाहरु पर्दछन् । चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिको सबै, माई नगरपालिकाको ६, ७ र ८ वडा, देउमाई नगपालिकाको सबै र इलाम नगरपालिकाको सबै (१० बाहेक) वडाहरु पर्दछन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा माङसेबुङ गाउँपालिका अध्यक्ष, फाकफोकथुम गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, माई नगरपालिका प्रमुख र उपप्रमुख र देउमाई नगरपालिका प्रमुख र उपप्रमुख एमालेले जितेको थियो । चुलाचुली गाउँपालिका अध्यक्ष र इलाम नगरपालिका प्रमुख र उपप्रमुख कांग्रेसले जितेको थियो ।

कांग्रेस पराजयमा बामपन्थी गठबन्धन मुख्य फ्याक्टर

यस पटकको उपनर्वाचनमा कांग्रेस पराजयका लागि मुख्य फ्याक्टर निर्वाचनको संघरमा बनेको बाम गठबन्धन बन्यो । हेभीवेट उम्मेद्वार सुवासचन्द्र नेम्बाङसँग झिनो मतान्तरमा पराजित डम्बरबहादुर खड्का एमालेले राजनीतिमा प्रवेशै नगरेका सुहाङ नेम्बाङलाई उम्मेद्वार बनाएछि सहजै जित निकाल्ने आशामा थिए । तर, खड्को त्यो आशा बाम गठबन्धन निर्माणसँगै निराशामा परिणत भयो । अन्तत्वगत्व खड्का सुहाङसँग फराकिलो अन्तरमा पराजित हुनुपर्यो ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा सुवासचन्द्र नेम्बाङ एक्लै निर्वाचनमा थिए । खड्कालाई भने तत्कालीन सत्ता गठबन्धनका दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा माओवादी केन्द्र (एकीकृत समाजवादी) को साथ थियो । गठबन्धनको कडा चुनौतिका बाबजुत सुवासचन्द्रले जित निकालेका थिए । तर, यस पटक कांग्रेस एक्लै निर्वाचन लड्दा एमालेलाई भने माओवादी केन्द्र, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेपाल परिवार दलको साथ रहयो । गठबन्धनको साथ पाएपछि सुहाङलाई जित निकाल्न सहज भएको हो ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पार्टीहरुले पाएको समानुपातिक मत विश्लेषण गर्दा यस पटकको उपनिर्वाचनमा एमालेलाई जितका लागि नयाँ सत्ता समीकरणले सहज भएको पुष्टि हुन्छ । सो निर्वाचनमा सबैभन्दा धेरै एमालेले २६ हजार पाँच सय ६२ मत पाएको थियो । त्यसपछि कांग्रेसले २२ हजार तीन सय ३३, माओवादी केन्द्रले पाँच हजार एक सय ५३ र राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ६८ पाएको थियो । अन्य पार्टीले दुई हजार कटाएनन् ।

एमालेको मतमा माओवादीको मत थपिदाँ ३१ हजार सात सय १५ हुन्छ । नेकपाको पनि केही मत थपिदाँ सहजै जित निस्कनेमा सुहाङ ढुक्क हुनुहुन्थ्यो । एमाले र माओवादीको मतलाई मात्र विश्लेषण गर्दा यस पटकको उपनिर्वाचनमा तीन हजार नौ सय ४३ मत अन्य उम्मेद्वारमा गएको देखिन्छ । पहिचानवादी स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंथ लिम्बू थेगिम एक महिना अघिमात्र एमाले परित्याग गरी उम्मेद्वारी दिएकाले एमालेभित्रको केही मत स्वतन्त्र उम्मेद्वार थेगिममा गएको देखिन्छ ।

उता कांग्रेसले भने यस पटकको उपनिर्वाचनमा केहीबाहेक आफ्नो मत सुरक्षित गर्न सफल भएको छ । अघिल्लो निर्वचनमा समानुपातिक २२ हजार तीन सय ३३ मत पाएको कांग्रेसले यो उपनिर्वाचनमा तीन सय ८० मत मात्र गुमाएको देखिन्छ ।

पहिचानवादी स्वतन्त्र उम्मेद्वार थेगिमले पाएको ११ हजार चार सय ५७ मत मत पहिचानवादी घटक दलको मतमा बाम गठबन्धनको करिब चार हजार मत र कांग्रेसको थोरै मत तान्न सफल भएको देखिन्छ । पहिचानवादी घटकमा आवद्ध दलमध्ये राष्ट्रिय जनमुक्ति पार्टीको एक हजार चार सय १३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक हजार तीन सय २९ र जनता समाजवादी पार्टीको नौ सय छ मत थियो । त्यसमा अन्य साना दलको मत लिएको देखिन्छ ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीले तीन सय ६४ मत बढाएको देखिन्छ । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ चार हजार छ सय ८६ मत पाएको रास्वपाका मिलन लिम्बूले पाँच हजार ५० मत पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार