इलाम उपनिर्वाचन अपडेट : कांग्रेसका डम्बरबहादुर खड्काको अग्रता कायमै

  नयाँ बुलन्द
245 Shares

फिक्कल (इलाम) : इलाम क्षेत्र नं. २ को दूई वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभा सदस्य मतगणनामा नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले अग्रता कायमै राखेका छन् ।

फाकफोकथुम गाउँपालिका-१ र २ को दुई हजार आठ सय ३६ मतगणना गर्दा खड्काले एक हजार एक सय ४५ मत प्राप्त गरी ८२ मतको अग्रता बनाएका छन् । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद्वार सुहाङ नेम्बाङले एक हजार ६३ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा मुढा चिन्ह पाएका पहिचानवादी स्वतन्त्र उम्मेद्वार डेकन्द्रसिंह लिम्बू थेगिमले तीन सय ११ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले दुई सय नौ मत प्राप्त गरी चौथो स्थानका छन् । अन्य उम्मेद्वारले सय कटाएका छैनन् । मतपरिणामको ओपचारिक घोषणा भने हुन बाँकी छ ।

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए  ।

यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ  लिम्बू, नेकपा एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टिका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनीबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्तविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली प्रतिष्पर्धामा छन् । त्यस्तै पहिचानवादी स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू (थेगिम), स्वतन्त्र उम्मेद्वार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनबहादुर शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल छन् ।

सोमबार साँझसम्ममा अन्तिम मतपरिणाम आउने सम्भावना रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार