इलाम-२ : नौ वटा वडाको गणना बाँकी, सुहाङको मत २१ हजार नाघ्यो

इलाम :  प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ मा शनिबार भएको उपनिर्वाचनको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ । यस क्षेत्रमा पर्ने छ वटा पालिकामा पर्ने ४२ वटा वडाध्ये ३३ वडा वडाको मत गणना सकिएको छ । अब इलाम नगरपालिका ३ देखि १२ वडाको (१० बाहेक) मात्र गणना गर्न बाँकी छ ।

यसअघि ३३ वटा वडाको मत गणना सकिइसकेको छ । फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिकाको सबै तथा माई नगरपालिका-६, ७ र ८, देउमाई नगरपालिकाको सबै र इलाम नगरपालिकाको १ र २ को मत गणना सकिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

यो पालिकाका ११ वडामध्ये अघिल्लो स्थानीय तहको निर्वाचनमा ८ वटा वडा नेपाली कांगेसले जितेको थियो । कांग्रेसले यो पालिकालाई आफ्नो पकड क्षेत्र मान्छ भने एमालेले पनि यहाँबाट केही कम मत पाउने विश्लेषण गरेको छ । तर, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद्वार सुहाङ नेम्बाङले मतान्तर फराकिलो बनाइसकेका छन् । अहिलेसम्म गणना भएका ३३ मध्ये ३ वटा बाहेक सबै वडामा एमालेकै वर्चस्व थियो ।

जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेम्बाङले छ हजार छ सय २८ को मतान्तर बनाएका छन् । नेम्बाङले २१ हजार तीन सय ८० मत पाउँदा दोस्रो स्थानमा रहेको कांग्रेसका डम्बरबहादुर खड्काले १४ हजार सात सय ५२ मत पाएका छन् । खड्कालाई पहिचानवादी स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमले पच्छ्याइरहेका छन् । थेगिमले १० हजार एक सय ४६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेद्वार मिलन लिम्बूले तीन हजार छ सय तीन मतसहित चौथो स्थानमा छन् ।

त्यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले सात सय १५, एकीकृत समाजवादीका जितबहादुर राईले तीन सय १५, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले एक सय ५५ र राप्रपाका लक्ष्मी गुरुङले एक सय ४९ मत पाएका छन् ।

यो समाचार तयार पार्दासम्म (राती पौने ११ बजे) इलाम नगरपालिका-३, ४ र ५ को मत गणना भइरहेको छ । इलाम नगरपालिकामा २० हजार छ सय ६५ मत खसेको थियो । तीन स्थानमा मत गणना भइरहेको छ ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको यो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा छन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट एमाले उम्मेद्वार सुवासचन्द्र नेम्बाङ विजयी भएका थिए । उनको निधन भएपछि उपनिर्वाचन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार