काठमाडौं : सिरहाको लहान नगरपालिका–१७ हरिपुर टोलमा गएराति ६ घरमा लुटपाट भएको छ । राति ११ बजेको समयमा लुटेराहरुले बम पड्काएर लुटपाट गरेका हुन् ।
स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवको घर लुटिएको हो । लुटेराहरुले नगद तथा गरगहना लुटेका छन् ।
लुटेरालाई प्रतिकार गर्न खोज्दा योगेन्द्र यादव र निरंजन यादव गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि विराटनगर पठाइएको छ ।
अन्य घाइते रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादवलाई स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान थालिएको सिरहा प्रहरीले जनाएको छ ।