माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका १ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ । वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
माङसेबुङ गाउँपालिका १ नं. वडा कार्यालयको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा आठ जना सेवाग्राहीले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
कार्यक्रममा रेवतबहादुर श्रेष्ठ, किरण लिम्बू, खड्गबहादुर शंकर, महेन्द्र मुखिया, लोकराज लिम्बू, डम्बर खड्का, प्रकाश बुढाथोकी र गजेन्द्र नेम्बाङ प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
उनीहरुले पूर्वाधार विकास, सडक निर्माण, खानपानी व्यवस्थापन, शिक्षा, स्वास्थ्यलगायत विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहका विषयमा गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
सेवाग्राहीको प्रश्नको जवाफ वडा अध्यक्ष भुपाल योङहाङ, सब इन्जिनियर दीपक चौधरी र पशु प्राविधिक राजु रायलगायतले दिएका थिए ।
कार्यक्रममा वडा अध्यक्ष योङहाङले सेवाग्राहीको प्रश्न र सुझावलाई सम्पतिको रुपमा ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयन गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए । वडा अध्यक्ष योङहाङले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
वडाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहबारे वडा अध्यक्ष योङहाङले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका सहजकर्ता राम योङहाङले ३० जनाको नागरिक अभिमत प्रतिवेदन पत्र र ३० जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु औंल्याईएको छ । वडा तहमा सञ्चालन गरिने सार्वजनिक कार्यक्रममा सीमान्त वर्गको उपस्थिति बढाइनुपर्ने, नागरिक बडापत्रको उपयोग बढाइनुपर्ने, उजुरी पेटिका सम्बन्धी जनचेतना वृद्धि गरी उपयोगमा वृद्धि गरिनुपर्ने, वडाको आम्दानी र खर्च बाहिर सूचना पाटीमा नियमित टाँस गर्नुपर्नेलगायत सुझावहरु औंल्याएको छ ।
त्यस्तै बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो । महिला सशक्तिकरणको कार्यक्रम ल्याउनुपर्ने, देउराली टोलमा बत्ति र पानीको व्यवस्था मिलाउनुपर्ने, गजुरमुखी धाम क्षेत्रमा बत्तिको व्यवस्था मिलाउनुपर्ने, वडाको स्वास्थ्य चौकीमा औषधिको सन्तुलनमा पहल गर्नुपर्ने, कृषि सडकको वयवस्थापन गर्नुपर्ने, वडा कार्यालय आसपासमा फोटोकपी गर्ने व्यवस्था मिलाउनुपर्नेलगायत सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको छ ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्दको अफिसियल फेसबुक पेजबाट भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।
जनप्रतिनिधि र कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रमका तस्विरहरु :