माङसेबुङ गाउँपालिकाले दियो नौ विद्यालयलाई कम्प्युटर र प्रिन्टर

  राम योङहाङ
462 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले नौ वटा आधारभूत विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको छ । बुधबार माङसेबुङ गाउँपालिकामा एक कार्यक्रम गरी नौ वटा कम्प्युटर र छ वटा प्रिन्टर वितरण गरेको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरुलाई  प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरे ।

माङसबुङ गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०।०८१ को ‘अध्यक्ष विकास कार्यक्रम’ अन्तर्गत कम्प्युटर र प्रिन्टर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत चौहाले बताए । गाउँपालिकाले माङसेबुङ गाउँपालिका-१ स्थित मण्डिका आधारभूत विद्यालय, माङसेबुङ गाउँपालिका-२ स्थित खाम्नुवा आधारभूत विद्यालय र सिंहदेवी आधारभूत विद्यालय, माङसेबुङ गाउँपालिका-३ स्थित बालद्विप आधारभूत विद्यालय र पवित्रा आधारभूत विद्यालयलाई कम्प्युटर र वटा प्रिन्टर वितरण गरेको हो ।

यस्तै माङसेबुङ गाउँपालिका-४ स्थित जनज्योति आधारभूत विद्यालय, माङसेबुङ गाउँपालिका-५ स्थित जयश्वरी आधारभूत विद्यालय, माङसेबुङ गाउँपालिका-६ स्थित सिंहदेवी आधारभूत विद्यालय र माङमालुङ आधारभूत विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको हो ।

आधारभूत विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग गर्ने उद्देश्यले सामग्री वितरण गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले बताए ।  ‘सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि कम्प्युटर र प्रिन्टर वितरण गरिएको हो’ खतिवडाले भने, ‘कतिपय विद्यालयमा यसअघि नै कम्प्युटर र प्रिन्टर वितरण गरिसकिएको छ, बाँकी विद्यालयमा समेत आगामी दिनमा वितरण गरिनेछ ।’ यसले सामुदायिक विद्यालयहरुलको लेखा तथा जिन्सी सामग्री व्यवस्थापनमा मद्दत पुग्ने विश्वास रहेको उनले बताए ।

माङसेबुङ गाउँपालिकाको चालु आर्थिक वर्गको हिउँदे सभाले आधारभूत विद्यालयमा कम्प्युटर र प्रिन्टर खरिदका लागि सात लाख रुपैयाँ विनियोजन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार