इलाम उपनिर्वाचन : फाकफोकथुमको गणना सक्दा एमाले ११५५ ले अगाडि

  नयाँ बुलन्द
189 Shares

फिक्कल (इलाम)  : इलाम क्षेत्र नं. २ को जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद्वार सुहाङ नेम्बाङले मतान्तर बढाएका छन् ।

फाकफोकथुम गाउँपालिकाका सबै वडाको मतगणना सकिँदा नेम्बाङले कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले भन्दा एक हजार एक सय ५५ मत बढी पाएका छन् । नेम्बाङले चार हजार चार सय १३ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले तीन हजार दुई सय ५८ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका मुढा चिन्ह पाएका पहिचानवादी स्वतन्त्र उम्मेद्वार डेकन्द्रसिंह लिम्बू थेगिमले नौ सय ६३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले छ सय ४५ मत प्राप्त गरी चौथो स्थानमा छन् । नौ हजार छ सय २१ मत गणना गर्दा ९७ मत बदर भएको छ ।

अहिले चुलाचुली गाउँपालिका-१ को मतगणना सुरु छ ।

इलाम-२ मा फाकफोकथुम गाउँपालिकाका सबै ७ वटा वडा, चुलाचुली र माङसेबुङ गाउँपालिकाका सबै ६/६ वटा वडा, माई नगरपालिकाका ६, ७ र ८ वडा, देउमाई नगरपालिकाका सबै ९ वटा वडा र इलाम नगरपालिकाका ११ वटा  वडा (१० बाहेक)  गरी ४२ वटा वडा पर्दछन् ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो । यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार