इलाम : ७० हजार मतदाता, कांग्रेससहित पहिचानवादीको वर्चश्व र दबाब, भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा उम्मेदवार।
इलाम २ को उपचुनावमा उम्मेदवारी दिँदै गर्दा सुहाङ नेम्वाङलाई लागेको थियो– युवा युवा भिड्दा कतै मत बाँडिएर नतिजा फरक पो पर्ने हो कि! त्यसमाथि कतिपयले वंशवादको आरोप लगाएका थिए।
त्यही भएर उनले इलाम छाडेनन्। उम्मेदवारी मनोनयनदेखि इलाम केन्द्रीत भएका उनले सिंगो पार्टीलाई इलाम उतारे।
दुई पटक त अध्यक्ष केपी शर्मा ओलीलाई नै लगेर मतदातामाझ उभ्याए।
‘मैले जुन तरिकाको मत प्राप्त गरेँ र इलामका आम मतदाताले विश्वास गर्नुभयो, यो क्षेत्रको समृद्धि र समाज रुपान्तरण गर्न मत दिएको रुपमा लिएको छु,’ सुहाङले विजयी भएपछि नेपालखबरसँग कुरा गर्दै भने, ‘इलाम २ को विकास निर्माणलाई पूर्णता दिने जिम्मा मेरो काँधमा आएको छ।’
सुहाङले भनेजस्तै भयो। इलाम २ का २७ हजार बढी मतदाताले ३५ वर्षका सुहाङलाई सिंहदरबार पठाएका छन्।
वैशाख १५ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा एमाले–माओवादी गठबन्धनका साझा उम्मेदवार सुहाङ ५ हजार ८ सय ३० मतान्तरले चुनाव जित्न सफल भए।
संसदीय राजनीतिको ‘डेब्यु’मा उनले एमालेलाई विजयी गराएर सिंहदरबारमा सानदार ‘इन्ट्री’ गरेका छन्। अबका ४३ महिना उनी इलाम-२ को प्रतिनिधि भएर संसदमा जनताका आवाज राख्नेछन्।
एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्बाङको भदौ २५ गते निधन भएपछि रिक्त थियो।
सुवासका कान्छा छोरा सुहाङलाई एमालेले उपचुनावको उम्मेदवार बनायो। जित्नेगरी एमाले निर्वाचन क्षेत्रका ४२ वटै वडामा खटियो।
केन्द्रमा जस्तै माओवादी केन्द्रसँग सहकार्य गर्यो।
सुहाङको पक्षमा माहोल बनाउन एमालेका स्थायी कमिटी सदस्यहरु शिवमाया तुम्बाहाङ्फे दुई महिनादेखि निर्वाचन क्षेत्रमै खटिएकी थिइन्।
मिहेनत गरे अनुसारको नतिजा आफ्नो पक्षमा पारेर एमालेले सुवास नेम्वाङको विरासत कायम राखेको छ।
एमालेले २०५६ देखि निरन्तर जितेको सो क्षेत्रको कमाण्ड अब ३५ वर्षे सुहाङको काँधमा आएको छ।
‘मैले जुन मत प्राप्त गरेका छौँ, इलामका जनताले हामीलाई माया गर्नुभयो। एमाले लगायतका पार्टीहरु जो–जोले हामीलाई सहयोग गर्नुभएको छ,’ सुहाङले थपे, ‘इलामको समृद्धिका लागि काम गर्न सक्छ भन्ने विश्वासकै कारण उहाँहरुले मत दिनुभएको हो।’
अपेक्षित नतिजा
चुनाव प्रचारका क्रममा उनले सबैको मन जित्ने प्रयास गरे। सबैसँग मीठो बोले, सम्भव भएका गाउँ र वडा पुगे। विपक्षी पार्टीका उम्मेदवारको मन दुखाएनन्। बुबा सुवासकै शैलीमा शालिन भाषण गरे। भाषणमा आश्वासन भन्दा यथार्थ दिलाउन खोजे।
यही कारण एमाले चुनाव जित्नेमा ढुक्क बसेको उनी दाबी गर्छन।
‘नतिजा अपेक्षित थियो। एकहिसावले जीत निश्चित थियो। अंकगणित, संगठन बलियो। माओवादी केन्द्र, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र परिवार दलको समर्थन थियो,’ सुहाङले थपे, ‘उपचुनाव भएको कारण पहिला भन्दा कम मत झर्छ भन्ने थियो तर, पहिलाकै हाराहारीमा मत झरेको अवस्था छ। उहाँहरूले उपचुनावलाई खुला रुपले स्वीकारेर इलामको समृद्धिका लागि मत दिनुभयो।’
कसरी सुरु हुन्छ सांसदको काम?
सांसदले मात्र गर्न सक्ने धेरै केही हुँदैन। निर्वाचन क्षेत्रका आम समस्या सम्बोधन गरिहाल्न सम्भव पनि छैन।
पहिलो पटक सिंहदरबार पुगेका उनको योजना के छ त?
‘सुरुमा त अपूर्ण काम पूरा गर्न लाग्छु, इलामको हीतको लागि काम गर्छु,’ उनले थपे, ‘सबैजनाले हातेमालो गरेर इलामको समृद्धिका लागि हीतका लागि अगाडि बढ्न जरुरी छ।’
अधिवक्ता समेत रहेका सुहाङ उपचुनाव जितेसँगै अब पूर्णकालीन राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका छन्।
फुटबल क्लब र आफ्नै ल फर्ममा सफल उनको राजनीतिक यात्रा कसरी अघि बढ्छ? त्यो त हेर्न बाँकी नै छ।
तर, इलाम २ मा पुराना र चलेका नेतालाई टिकट नदिएर एमालेले जुन रिस्क सुहाङमाथि लियो, त्यो परीक्षणमा अध्यक्ष केपी ओली सफल भएका छन्।
एमालेले मिसन ०८४ चलाइरहेको छ।
सुहाङको विजयले अबको चुनावमा कस्ता उम्मेदवारप्रति मतदाताको आकर्षण हुन्छ? यसबारे ओली राम्रै जानकार भएका छन्।
सुहाङलाई अघि सारेर एमालेले युवाहरूको पार्टी भन्ने बाटो खुला भएको छ।
एमालेबाट संसद पुग्ने सुहाङ सबैभन्दा कान्छा सांसद भएको प्रमुख सचेतक महेश बर्ताैलाले बताए।
‘हाम्रो पार्टीमा सुहाङभन्दा कान्छा कोही हुनुहुन्न,’ उनले नेपालखबरसँग भने, ‘एमालेलाई पहिचानविरोधी पार्टी भनेर लगाइएका सबै आरोप सुहाङको विजयसँगै खण्डित भएको छ।’
इलाममा सुहाङले पार्टीको विरासत जोगाएको बर्तौलाले बताए ।
‘एमालेले जितेको ठाउँमा जितको लिगेसी कायम राखेको हो,’ उनले थपे, ‘एमालेलाई पहिचानविरोधी भन्दै देशलाई साप्रदायिकतातिर लैजाने प्रयास सुहाङको जितसँगै अस्वीकृत भयो।’
उनको विश्लेषणमा एमालेलाई अन्य पार्टीले समेत मत दिएका छन्।
‘कतिपय व्यक्तित्वको मत पनि पाइन्छ, तर, एमालेमा आम भरोसा छ भनेरै अन्य पार्टीले समेत मत दिए,’ प्रमुख सचेतक बर्ताैलाले भने।
-सागर न्यौपाने/नेपाल खबर