गोरखापत्रको बहुभाषिक पृष्ठः सबै भाषाभाषीको हुनुपर्छ

  निनाम लोवात्ती
21 Shares

नेपालकै जेठो दैनिक पत्रिकाको रुपमा प्रकाशित हुँदै आएको गोरखापत्र दैनिकले २०६२/०६३ को जनआन्दोलन-२ को राजनैतिक परिवर्तपछि (२०६४ असोजदेखि गोरखापत्र दैनिकले) ‘नयाँ नेपाल (बहुभाषिक) पृष्ठ’को रुपमा अलग्गै पृष्ठ छुट्टाएर नेपालका विभिन्न भाषाभाषीको सामग्री, समाचार र सूचना मुलक सामग्री छाप्न थाल्यो । त्यसका लागि गोरखापत्र दैनिक, गोरखापत्र संस्थान र त्यसबेला संंस्थानको महत्वपूणर् विभागमा रहेर नेपालका विभिन्न जातजातिको मातृभाषामा सामग्री प्रकाशित गर्नका लागि सकारात्मक पहल गर्ने व्यक्तित्वलाई ढीलै भए पनि धन्यवाद दिनै पर्छ ।

वास्तवमा धेरै अघिदेखि नै राज्यले गर्नुपर्ने यो काम गोरखापत्र दैनिकले सुरु गरेकोमा फेरि पनि गोरखापत्र दैनिकका टिमलाई धन्यवाद दिनै पर्छ । त्यसैले ‘नयाँ नेपाल (बहुभाषिक) पृष्ठ‘लाई सकारात्मक रुपमा लिदै बाँकी रहेका भाषाहरुमा पनि क्रमशः सामग्रीहरु प्रकाशित हँुदै जाऊन् भन्ने कामना गरौं । राष्ट्रिय जनगणना विसं २०७८ को तथ्यांकअनुसार नेपालमा एकसय २७ भाषा बोलिन्छ । ती मध्ये गोरखापत्र दैनिकले हालसम्म ४१ (अहिले अरु बढ्यो कि ?) भाषामा सामग्री प्रकाशित गर्दै आएको छ । तर, दुःखका साथ भन्नु पर्दा बहुभाषिक पृष्ठमा हाल प्रकाशित हुँदै आएको केही भाषाका सामग्री हेर्दा कतै नेपालका जातजाति, भाषाभाषी, धर्म, संस्कार, संस्कृतिलाई स्थान दिने नाममा दुरुपयोगका साथै फगत राजनीति मात्रै भएको त छैन ? प्रश्न उठाउन सकिन्छ ।

किनभने, गोरखापत्र दैनिकले हरेक जनगणनामा उल्लेख भएको र नेपालका भाषीका सम्बन्धमा अध्ययन गरेका प्रायः सबै अध्येताहरुले उल्लेख गरेको कुलुङ भाषा जो २०६८ मा भएको राष्ट्रिय जनगणनामा (जनसांख्यिक र भाषिक दुवै) को तथ्यांकमा उल्लेख भएको छ, कुलुङ मातृभाषामा सामग्री प्रकाशित गर्नका लागि गोरखापत्र दैनिकले कुलुङ मातृभाषाका लागि पनि अन्य भाषासरह अलग्गै पृष्ठ उपलब्ध गराओस् भनी विसं २०६५/०६६ देखि नै कुलुङ समुदायका अगुवाहरुले गोरखापत्र दैनिकको कार्यलय धाई रहेका छन् । तर, दुःखको कुरो हालसम्म पनि कुलुङ भाषाको सामग्रीका लागि गोरखापत्र दैनिकले अलग्गै पृष्ठ उपलब्ध गराउन सकेको छैन । लोकतन्त्र र गणतन्त्रको यो युगमा पनि यस्तो विभेद हुनु भनेको वास्तवमै दुःखद पक्ष हो । विसं २०७३ असार १ गतेदेखि संस्कृत भाषामा, २०७३ काक्तिक २७ गतेदेखि बान्तावाभाषामा, २०७३ फागुन १७ गतेदेखि खस (जुम्ली) भाषामा (पछिल्लो समयमा अरु भाषाहरु थपिएको हुन सक्छ) गोरखापत्रको बहुभाषिक पृष्ठमा अन्य स्वतन्त्र भाषासरह अलग्गै पृष्ठमा सामग्री प्रकाशित हुन थालेको छ । जुन कामलाई राम्रै मान्नुपर्ने हुन्छ । त्यसबाहेक मारवाडीभाषा, मुगालभाषा, मेचेभाषा, मगहीभाषा, लगायत अन्य भाषामा पनि गोरखापत्र दैनिकको बहुभाष्कि पृष्ठमा (अलग्गै पृष्ठ) सामग्री प्रकाशित हँुदै आएको छ । निश्चय नै यो धेरै राम्रो पक्ष हो ।

कुलुङ जातिका बारेमा कुरो गर्नुपर्दा २०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ रहेको थियो भने कुलुङ मातृभाषी चाहिँ ३३ हजार १२८ रहेको थियो । त्यस्तै विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या ३३ हजार ३८८, कुलुङ मातृभाषीको संख्या ३७ हजार ९१२ र आप्mनो पूर्खाको भाषा ‘कुलुङ’ भनी लेखाउनेको संख्या ४० हजार ४७९ रहेको छ । हुनत कुलुङ जातिको आधिकारिक संस्था “नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम)” ले गरेको आन्तरिक जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या एक लाख ६० हजारभन्दा पनि बढी संख्यामा रहेको छ । तापनि चेतना र बुझाईको कमी हुनुका साथै कुलुङ मात्रै लेख्दा केकसो हो ? भनेर अधिकांश कुलुङ जातिका घर मुलीहरुले विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनामा पनि कुलुङ राई भनी लेखाए । जसले गर्दा दुई तिहाईभन्दा बढी कुलुङ जातिको जनसंख्या राईमा गाभिन गयो । जुन कारणले गर्दा कुलुङ जातिको मात्रै नभएर राईकरणको मारमा परेका किराती भित्रका सबै जातिहरुको अलग्गै जातीय तथ्यांक यसरी नै थोरै संख्यामा आयो । त्यस्तै माथि नै उल्लेख गरेझैं नेपालमा आजसम्म देशी/विदेशी (दुवै क्षेत्रका) खोज-अनुसन्धानकर्ता र विद्धानहरुले गरेको हरेक भाषिक सर्वेक्षण र, राज्य आफैले १०-१० वर्षमा गर्ने गरेको राष्ट्रिय जनगणनामा पनि कुलुङ भाषा कुनै जातिको उपभाषिका हो नभनेर अलग्गै र सार्वभौम सम्पन्न भाषाकै मान्याता दिँदै आएको छ । तापनि कथित ‘राई’ जाति र राई भाषाको नाममा भीड र संख्या देखाएर राजनीति गर्ने, राजनीतिक फाइदा लिने प्रवृद्धिले गर्दा यसरी गाँजेमाजै भइरहेको छिपेको छैन ।

हुन त गोरखापत्र दैनिकले सुरुमै कुनकुन आधारमा र कसरी सम्बन्धित भाषाभाषीको सामग्रीहरु छाप्ने ? भनी मापदण्ड तयार गरेको भए धेरै राम्रो हुन्थ्यो । जस्तै गोरखापत्रको बहुभाषा पृष्ठका संयोजकले कति पढेको हुनु पर्ने ? उसले आफ्नो मातृभाषा जानेको हुनुपर्ने कि नपर्ने ? एक जाति, बहुभाषी राई भनेर आप्mनो मातृभाषा नै नजान्नेले अरुको भाषा कसरी जान्दछ/बुझ्दछ ? भन्ने लगायतका बारेमा प्रस्टसँग मापदण्ड बनाउनु पथ्र्यो । यसरी हेर्दा गोरखापत्रमा बहुभाषिक सामग्री आउनु आफैमा राम्रो भए तापनि कडाईका साथ रेखदेख गर्ने निकाय नभएर पनि होला, बहुभाषाको नाममा कतिपय अवस्थामा मनपरी नै भैरहेको देखिन्छ । कतिसम्म भने, कतिपय भाषाका पृष्ठ संयोजकले आफ्नो मातृभाषा नै जानेको हुँदैन । जस्तो राई भाषाको पृष्ठ संयोजकलाई उदाहरणका रुपमा लिन सकिन्छ । किनभने, राई भाषाका पृष्ठ संयोजकले लेखेको आफ्नो मातृभाषा (चाम्लिङ !) को सामग्री सहसंयोजक (तिलक राई) ले उल्था गरेका थिए । (प्रमाणका लागि २०६४ असोजको कुनै अंंक हेर्नोस् ।) अर्को कुरो आप्mनै स्वतन्त्र अस्तित्व भएको भाषाहरुको पछाडि ‘राई’ शब्द झुन्ड्याएर जस्तै थुलुङ राई, बाहिङ राई भनेर छापिने सामग्री ती राई भाषाका पृष्ठ संयोजकले कसरी बुझ्लान् ? भन्ने प्रश्न पनि छँदैछ । अझ आप्mनो मातृभाषा नै नबुभ्mने पृष्ठ संयोजकले अरुको मातृभाषाको सामग्रीले सम्बन्धित जातजातिको भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, जीवन शैली आदिको बारेमा के लेखेको छ ? के बोलेको छ् ? कसरी थाहा पाउने ?

त्यसैले यो पंक्तिकारको सुझाव के छ भने, यदि गोरखापत्र दैनिकमा प्रकाशित हुने बहुभाषिक पृष्ठ अर्थात् नयाँ नेपालको पृष्ठ संयोजकले आफ्नो मातृभाषा जान्नु नपर्ने हो भने किन गोरखापत्र संस्थानलाई आर्थिक रुपमा अनावश्यक व्ययभार मात्रै थोपर्ने ? त्यसको सट्टा गोरखापत्र दैनिककै कुनै शर्मा, उपाध्याय, पण्डित, क्षेत्री, श्रेष्ठ वा अरु कोहीलाई बहुभाषा पृष्ठ संयोजन गर्न दिए भैहाल्यो ! त्यस्तै बहुभाषिक पृष्ठमै छापिएको सामग्रीको कुरो गर्दा २०६४ चैत १५ गतेको राई भाषाकै पृष्ठमा गणेश राई ‘चिन्तन’ भन्ने मान्छेको लेखमा वृद्ध शेर्पा-शेर्पेनी (जोडीद्धय) ले माने घुमाउंँदै गरेको फोटो छापिएको थियो । त्यो के हो ? शेर्पाको बारेमा राईले लेखेको लेख हो कि ?…त्यस्तै २०६६ जेठ ९ गतेको शेर्पाभाषाको पृष्ठमा अंग्रेजी भाषामा सामग्री छापिएको थियो । उता २०६४ चैत २१ गते राउँत भाषाका सामग्री भनेर पहिलो पृष्ठमा भनिएको भए तापनि भित्रको सामग्रीचाहिँं उरांँव भाषाको थियो । त्यसो त माघ १, २०७३ मा पनि माथि संस्कृतभाषा भनिए तापनि तल मगर भाषाको सामग्री छापिएको थियो । त्यस्तै राई भाषा भन्दै आएको पृष्ठलाई पनि माघ ३, २०७३ मा चाहिँ चाम्लिङ राई भाषा भनिएको थियो । यसरी हेर्दा बहुभाषाको नाममा एक किसिमले मनपरी नै गरेको देखिन्छ । कि यसलाई सामान्य मानवीय गल्ती मान्ने ? अर्को भनेको ‘राई !’ भनेको कुनै जात वा जाति नभएर राजा, प्रधानमन्त्री, प्रधानन्यनयाधीश, मन्त्री, राज्यमन्त्री, मुख्य सचिव, सचिव, सांसद, पालिका प्रमुख आदि जस्तै ‘पद-पदवी-पगरी’ मात्रै भएको गर्दा राई भाषा हुने कुरै पनि भएन । त्यसैले गर्दा अहिले एक जाति राई २८ भाषी राई भन्ने जुन हौवा छ, अथवा भनौं गलत बुझाई रहेको छ, अब त्यस्तो बुझाईलाई सच्याउनुपर्ने देखिन्छ । किनभने राई जातिवाला महानुभाव ज्युहरुले भने जस्तै यदि साँच्चै एक जाति राई २८ भाषी राई छन्, भने को छ त ‘म एक जाति राई हुँ तर मेरो मातृभाषा चाहिँ २८ वटा छ !’ भनेर २८ वटा राई भाषामा खरररररररर…बोल्न सक्ने राई ? यदि छन्, भने राई जातिवाला महानुभाव ज्युहरुले त्यस्ता राईहरु देखाउन सक्नु पर्यो । होइन भने गलत भनाइ र बुझाईलाई सच्याउनु पर्यो ।

त्यसैले अबका दिनमा गोरखापत्र दैनिकमा बहुभाषामा सामग्री आउँंदा गोरखापत्रको व्यवस्थापन पक्षले बहुभाषाको नाममा मनपरी हुन दिनु हुँदैन । किनभने, गोरखापत्र दैनिकमा बहुभाषामा प्रकाशित सामग्रीहरु भनेको भोलि इतिहासमा अभिलेखीकरण हुने काम पनि हो । त्यसैले गोरखापत्र दैनिक जस्तो पुरानो र लामो इतिहास भएको पत्रिकाको ईमान-जमान, विश्वसनीयता र पारदर्शिताका निम्ति पनि सम्बन्धित गोगरापत्र दैनिकमा प्रकाशित हुने हरेक भाषाका पृष्ठ संयोजकले कति पढेको ? वा नपढेको भन्दा पनि उसले कम्तिमा आफ्नो मातृभाषा जानेको होस्, भन्नेतर्पm सोच्नुपर्ने देखिन्छ । हुन पनि एकछिन सोचौं त ! पृष्ठ संयोजकले नै आफ्नो मातृभाषा जान्दैन/बुझ्दैन भने उसले कुन सामग्री कस्तो हो ? कतै प्रकाशित सामग्रीले सम्बधिन्त जातिको विरुद्धमा अफवाह पैmलने गरी पो लेखेको/बोलेको छ कि ? अरु प्रति विद्धेष पो फैलाएको छ कि ? राज्य विप्लवको कुरो पो गरेको छ कि ? कसरी थाहा पाउँछ ? कि कसो हौ, बहुभाषिक पृष्ठका संयोजक कामरेडहरु र गोरखापत्र संस्थानका प्रमुख ज्युहरु एवम् गोरखापत्र दैनिकका सम्पादकीय विभाग हेर्ने सरहरु ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार