एकपछि अर्को दमदार नारा,अभियान र प्रस्तुती लिएर इलाम २ को उपनिर्वाचनमा उत्रिएका राजनीतिक दलका र स्वतन्त्र उम्मेद्वार आँफु जित्ने र अरुलाई हराउने कोशिसमा होमिएका छन् ।
घुमाउरो दाउको गोलचक्करमा चलिरहको चुनावी अभियानको परिदृश्य र माहोलले यस पटक कार्ययोजना भन्दा खुट्टा तानेर माथि पुग्ने पुरानै ढाँचालाई आत्मसाथ गर्ने हो कि भन्ने आशंका उत्तिकै देखिन्छ । परिवर्तन, आशा र सम्भावनाका किरणहरुलाई जीवित राखेर आफ्नो प्रतिनिधिलाई चलायमान बनाईं चुनावी वाचाहरु पुरा गर्न उत्साहित र बाध्य बनाउन सक्ने प्रत्येक नागरिकको सहयोग र खबरदारी हुनु पर्छ ।
कुनै व्यक्ति तथा दलको समर्थक वा विरोधी नभई भुगोलमा चलेको माहोललाई चित्रण गर्ने जमर्को गरेको छु । व्यक्ति वा दल विशेषको जीत वा हारले कुनै महत्व नराखने गरी प्रवृत्तिको मुख्य सवाल हो तर, यो पटक इलामले जित्नुपर्छ । नागरिकले दिएको मतको सदुपयोग हुनु पर्छ । इलामको धरातलीय आवश्यकता अनुसारको मुद्दा संसदमा चर्किनुपर्छ । बजेट आवश्यकता हो तर परिवर्तनलाई केवल बजेट मात्र महत्वपुर्ण पाटो होईन । स्वार्थ, प्रक्रिया र नियतले वर्षौँदेखि भत्किएको इलामलाई मर्मत गर्न क्षमता राख्ने निडर र निःस्वार्थी प्रतिनिधि भए मात्र पनि अहिले कै परिस्थितिमा उभिएर धेरै समस्याको समाधान हुन सक्छ । ‘जुनै जोगी आएपनि कानै चिरिएको’ भन्ने चरितार्थलाई चिरेर यस क्षेत्रको आवश्यकता र समस्यालाई पहिचान गरि समाधान दिन सक्षम प्रतिनिधिको खोजी अभियानको रुपमा यो चुनावलाई प्रस्तुत गर्न सकियो भने मात्र नागरिक र नेतृत्व दुवैको उद्देश्य पुरा हुन सक्छ ।
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदको काम, कर्तव्य र अधिकार स्पष्ट रुपमा कानुनमा उल्लेख गरिएको छ । एउटा संसद कानुन निर्माता मात्र होईन उ राष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा मन्त्री भएर नीति नियम लागु तथा बजेट व्यवस्थापन र कार्यान्वयन गर्न सक्ने अख्तियार भएको प्रतिनिधि पनि हो ।स्पष्ट कार्ययोजना, सेवामुलक राजनीति, जनताप्रति समर्पित उत्तरदायी सोच र इच्छाशक्ति भएमा अनौपचारिक तथा अभिभावकको भुमिकामा मध्यस्थकर्ता बनेर आवश्यक स्थानमा लबिङ गर्दै सरोकारवाला निकाय, नागरिक र सरकारबीचको पुल बनेर धेरै कार्य सम्पादन गर्न सक्ने स्थानमा संसद हुन्छन् ।
संविधानमा व्यवस्था भएको अधिकार, कार्यक्षेत्र र दायित्व भित्र तल उल्लेखित सवालहरु संघीय संसदको अधिकार तथा कार्यक्षेत्र बाहिर भए पनि स्थानीय निकाय, प्रदेश सरकार, केन्द्र सरकार, पुलिस-प्रशासन, नागरिक तथा दलहरुसँग समन्वय, सहकार्य तथा संवाद गरि कार्य सम्पादन गर्न सक्ने आधार निर्माण गर्ने आधार, भुमिका र क्षमता सांसदसँग हुनुपर्छ ।
सुहाङ नेम्बाङ: नेकपा एमालेका उम्मेद्वार नेम्वाङ उपनिर्वाचन घोषणा पश्चात् आजसम्मको राजनैतिक र व्यक्तिगत गतिविधिलाई नियाल्दा सबैभन्दा बलिया उम्मेदवार हुन् । आर्थिक रुपमा सक्षम शालिन युवा व्यक्तित्व, सुवास नेम्वाङको राष्ट्रिय स्तरको प्रभाव तथा विरासत, एमालेको बलियो र चलायमान संगठन तथा माओवादीसँगको गठबन्धन नै उनको विजयको महत्वपुर्ण आधारहरु हुन् । किराँत धर्मगुरुको आशीर्वादको भोट सुहाङ र डकेन्द्र थेगिम मध्ये एकजनालाई जाने सम्भावना नकार्न र परिवर्तन गर्न सकिदैन । यदि, सुहाङलाई त्यो भोट नआए पनि गत चुनावमा कांग्रेसलाई गएको माओवादीको भोट उनलाई आउने वातावरण गठबन्धनले तय गरेको छ । उनलाई पहिचानवादीले काट्ने मत जोगाउन केहि सहज देखिन्छ । वर्षौंबाट सुर्यमा भोट हालिरहेका तर किन र कसलाई भोट हाल्दैछौं, परिवर्तन कति भयो, नागरिकका आवश्यकता सम्बोधन भयो वा भएन भन्ने सवाल थाहा नै नपाएका तथा बुझ्नै नचाहाने इलामको अपरिवर्तनशील भोट बैंकले पनि सुहाङ नेम्बाङलाई सहज हुने यथार्थता नकार्न सकिदैन ।
रास्वपा र पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिम समुहले एक-अर्कालाई प्रमुख प्रतिस्पर्धीको रुपमा लिएर विरोधी शैलीलाई आत्मसात गर्नुले पनि एमालेलाई फाइदा पुग्ने देखिन्छ । हर्क साम्पाङ र रास्वपाको चर्किदो विवाद र चिसिएको सम्बन्धले रास्वपा र पहिचानवादी दुवैलाई क्षति पुगेको छ तर यसको फाइदा कांग्रेसलाई भन्दा बढी एमालेलाई नै हुने देखिन्छ । पार्टीको आशिर्वाद र बुबाको सपना पुरा गर्ने मात्रै उनको एजेण्डा नभई समग्र इलामबासीको दुःख पीडाको सारथी बन्नु पर्ने नागरिकको अपेक्षा छ ।
त्यसैले उनको विजयको प्रमुख आधार रहेको आदिवासी समुदाय नै बाँडिएर कोही कांग्रेस र कोही एमालेको झण्डामा रमाईरहेको परिदृश्य तथा पहिचानवादीहरु आफैंमा एकरुपता र एकता हुन नसक्नु नै उनीहरुको सबैभन्दा ठुलो चुनौती हो । वास्तविकतामा उनीहरुको चुनावी भिडन्त कांग्रेस र एमालेसँग हुनु पर्नेमा रास्वपासँगको टकरावले पुराना दललाई सहज बनाएको छ ।
डम्बर खड्काः नेपाली कांग्रेसका उम्मेदवार खड्का वाम इलाका तोडेर इतिहाँस बनाउन चुनावी अभियानमा होमिएका छन् । गत चुनावमा गठबन्धन गरेर पनि एमाले एक्लैसँग पराजित पात्र नै कांग्रेसबाट दोहोरिएका छन् । नेपाली कांग्रेसको सुस्त संगठन, राष्ट्रिय राजनीतिमा बनाएको अवसरवादी कुशासन चरित्र, दल भित्र मौलाएको गुट-उपगुटको स्वार्थ, आशा गरिएका युवा नेताको अराजनैतिक गतिविधि आदिले निरन्तर ओरालो यात्रामा हिडेको कांग्रेसको गत चुनाव यताको समयमा कुनै थप लोकप्रियता र आकर्षण बढेको देखिदैन । तै पनि पटकपटक हार खेपिरहेका खड्का एक लोकप्रिय युवाको ढुकढुकी बनेकै कारण उनले जीत हाँसिल गर्छन् भन्ने पार्टीको बुझाइ देखिन्छ । आम नागरिकको गत चुनावमा गठबन्धनबाट पनि जीत निकाल्न नसकेको कांग्रेसलाई पहिला प्राप्त हुने मत जोगाउन भने उत्तिकै मुस्किल छ । पहिचानवादीले एमालेको भोट जति काट्छन् त्यो भन्दा ज्यादा भोट कांग्रेसबाट काटिने निश्चित पनि अड्कलबाजी त्यतिकै छ । जसको कारण चुनावी अभियानमा देखिएका अनुहारहरु नियाल्दा रास्वपाको समर्थन र सहयोगमा फेरिएका मान्छेहरु संख्या एमालेको भन्दा कांग्रेसको बढी छ । दलगत रुपमा कांग्रेसले जित निकाल्न मुस्किल देखिन्छ । यद्यपि सहयोगी चरित्र निर्माण गरेर समाजसेवी छवि बनाएका तथा जिल्ला सभापति समेत रहेका स्थानीय व्यवसायी डम्बर खड्काका व्यक्तिगत रुपमा हेर्दा कडा टक्कर दिन सक्ने प्रतिस्पर्धी हुन् । व्यक्तिगत छवि तथा सामाजिक अभियान र समस्याहरु गरेका सहयोग र सत्कर्मले सबल हुदाँहुदै पनि संस्थापन ईतर समुहसंग विगतका निर्वाचनपछि भए गरेका कार्यशैलीको प्रभाव भने चुनौती बन्छ कि भन्ने उत्तिकै शंका हुन सक्छ ।
मिलन लिम्बुः रास्वपाका उम्मेदवार लिम्बु पनि अनपेक्षित रुपमा लालकिल्ला तोडेर घण्टी बजाउँन निरन्तर चुनावी अभियानमा छन् । नयाँ स्वाद र फरक मुहारको पर्खाईमा बसेका नेपाली जनतासंगै इलाम २ का नागरिक यस पटक आँफै यसको उपयोग गर्ने पात्र बनेका छन् । उनको जीत हुने सम्भावनालाई अहिले नै नकार्न मिल्दैन । रास्वपाको देश व्यापी आकर्षण, सम्भावना र आशाको दियो चुलिन्दै गएको बेला यस पटक इलाम २ मा पुराना दललाई सहजै जीत हाँसिल गर्नु भनेको फलामको चिउरा चपाउनु सरह बनेको छ । अन्य दलसँग आशा मारेका नागरिकको असन्तुष्टी भोट, कांग्रेस र एमालेमा उम्मेदवार छनोट पछाडीको आन्तरिक असन्तुष्टि र आक्रोशले मौन रुपमा घण्टीमा जाने अन्तर्घाती भोट, पुराना दललाई उनीहरुको असक्षमता र अलोकप्रियता प्रमाणित गर्न स्वतन्त्र नागरिकबाट प्राप्त हुने क्रस भोट नै मिलन लिम्बु विजय हुनसक्ने प्रमुख आधारहरु हुन् । पूर्वपत्रकार तथा माओवादीमा आबद्ध रहेका उनलाई त्यस समयका साथीभाई, शुभचिन्तक तथा सहकर्मीबाट व्यक्तिगत हिसाबमा प्राप्त हुने सहयोग तथा मतले उनलाई थप राहत मिल्ने देखिन्छ । जनजाति समुदायबाट प्रतिनिधित्व गरेका उनलाई पनि पहिचानवादी र एमालेमा जाने भोट आफुतिर आकर्षित गर्न केहि सहज हुने देखिन्छ । उच्चस्तरको डिजिटल प्रविधीको प्रयोग अनि आस्था नफेर्नुहोस् यस पटक मत मात्रै फेरेर एक पटक सेवा गर्ने मौका दिनुहोस् भन्ने उनको मिठास् शैलीले आम नागरिक र मतदाताको यस पटक ध्यान खिचिरहेको छ । प्रखर र चर्चित वक्त रमेश प्रसाईंको साथ पाएका लिम्बुलाई चुनावी माहोललाई आकर्षित बनाउन थप बल मिलेको देखिन्छ ।
डकेन्द्रसिंह थेगिमः पहिचानवादी उम्मेदवार थेगिमलाई विजय गराउँन सक्ने सामर्थ्य भनेको यस क्षेत्रमा रहेका आदिवासी जनजातिको मुख्य हात देखिन्छ । कोशी नामाकरणमा अस्तुष्ट पक्षको प्रमुख भुमिका भएता पनि आफू पूर्व शिक्षक भएका नाताले अधिकाँस यस भुगोलका नागरिक,सवै जाती, भाषा,धर्म र समुदायको आश्वसन र शुभचिन्तकको अपेक्षाले साझा उम्मेद्वार बनेको उनको प्रचार प्रसारबाट बुझ्न सकिन्छ । उनको यस भनाइ प्रति गैरआदिवासी समुदायको पनि साथ सहयोग नरहला भन्न सकिन्न । तर, अन्य समुदायले पहिचान पक्षधर उम्मेदवारलाई कुन आधारमा मत दिने हुन? यसको कारण भनेको पहिचानको सवाल उठान गर्नेले बुझाउन सकेनन् वा बुझ्नु पर्नेले बुझ्न सकेनन् । तथापी, हाल उनलाई धेरै दृष्टिकोणबाट उचाईमा पुग्ने साथ सहयोग मिलेको बुझ्न सकिन्छ ।चर्चित कलाकार आफ्ना सन्तान छोरा एकदेव र छोरी सुनिता थेगिमको लोकप्रियताले पनि उनलाई चुनावी माहोलमा भीड जम्मा गर्न मात्रै नभई सक्षम अभिभावकको परिचय खुलाउने अवसर बनेको छ । यसको प्रभावबाट उनलाई कम्जोर नसम्झिन समर्थकले जोडदार आवाज उठाएका छन् ।
पहिचानवादी र रास्वपाले एक-आपसमा प्रतिस्पर्धी हुदाँहुदै पनि आपसमा मौन बसेर कांग्रेस र एमालेको भण्डाफोरसँगै आ-आफ्नो स्पष्ट कार्ययोजना र भावी गन्तव्य नागरिकमा सञ्चार गरेर मत परिवर्तन गर्न सकेको अवस्थामा मात्र नयाँ व्यक्तिको उदय सम्भव देखिन्छ ।
इलाम २ को उपनिर्वाचनको प्रत्याशीहरुलाई उम्मेदवारी घोषणा गर्दैगर्दा तथा चुनावी अभियानको क्रममा मतदाताले लिखित तथा मौखिक रुपमा सोधेर स्पष्ट रुपमा माग्नुपर्ने कार्ययोजना र प्रतिबद्धता भित्रका दर्जन सवालहरु :
कोरोना जस्तै भवितव्य आउन सक्ने महामारी तथा संकटहरुमा नागरिकको रक्षा गर्न कस्तो भुमिका खेल्नु हुन्छ ?
कि राजधानीको सुविधा सम्पन्न कुनामा गुमनाम बस्नुहुन्छ ?
लम्पी स्किन जस्तै विनाशकारी रोगहरु पशुपंक्षीमा फैलिएर किसानको सपना र भरोसा खाल्डोमा पुर्दै गर्दा संसद र सरकारमा कसरी नागरिकको आवश्यकता, आशा र आँसुलाई उठान गर्नुहुन्छ ? कि संसदमा चुपचाप भत्ता पकाएर जिल्लामा आउँदा आसेपासे, चाकरी तथा भ्रमको माला र खादा भिरेर हिड्नुहुन्छ ?
बीउ बिजन र मलको सुलभ उपलब्धता एवंम् कृषि उत्पादन तथा दुधको बजार व्यवस्थापन र भुक्तानीको समस्या समाधानमा उत्पादक, खरिदकर्ता र बजार बीचमा कसरी पुल बनेर काम गर्नुहुन्छ ? कि किसानलाई आश्वासन बाँडेर बजारमा हल्ला गर्दै स्वार्थ समुहहरु च्यापेर चुपचाप बस्नुहुन्छ ?
जिल्लामा रहेका लघुवित्त तथा सहकारी संस्थाको कर्जा प्रवाह नीति तथा ऋण लिएर भईरहेको दुरुपयोग र पलायन रोक्नका निमित्त तपाईंको प्रयास कस्तो हुने छ ? कि चुनावको बेला हुन्छ-हुन्छ, मिलाउँछु भनेर चुनाव पछि गलत व्यक्ति, नियत र संस्थाहरु अन्धकारमा चियर्स गर्नुहुन्छ ?
वर्षौबाट रहिआएको चिया मजदुरहरु माथिको शोषण अन्त्य गर्दै त्यहाँ भित्रका समस्या हल गर्न सम्बन्धित क्षेत्रसँग कसरी जोडिनु हुन्छ ? कि चुनावी सभाको भाषणमा यो सवाल चुस्स बोलेर बिना रिजल्ट चिया पिएर बस्नुहुन्छ ?
इलाम संचालित हाईड्रो पावरको सम्झौता प्रतिकुल पानी प्रयोग तथा नदी दोहनबाट मरुभुमि हुदै गरेका खेतबारी संरक्षण गर्नका लागी दुरुपयोग रोक्दै कम्पनी र स्थानीय आवश्यकतालाई जोड्न कस्तो भुमिका रहन्छ ? कि बिजुली जस्तै उज्यालो आश्वासन बाँडेर समस्यालाई अन्धकारमा मिल्काई दिनुहुन्छ ?
जिल्ला निर्माणाधीन योजनाहरुको लापर्वाही, ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारको कालो पर्दा उतारेर प्रष्ट, दुर्त र गुणस्तरीय योजनाहरु सम्पन्न गराउन सरोकारवालासँग कसरी सहकार्य गर्दै खबरदारी गर्नुहुन्छ ? कि चुनावी खर्चको केहि अंशको बिल ठेकेदारलाई बुझाएर डबल रोलमा राजनैतिक फिल्म खेल्नुहुन्छ ?
नागरिकको आधारभुत स्वास्थ्य उपचारसँग जोडिएको जिल्ला अस्पताल इलामको दुर्गति, बेथिति, अभाव र ढिलासुस्ती लगायतका समस्याहरु पहिचान र समाधान गर्न इलाम अस्पतालको अपरेशन कुन अस्त्र र शास्त्र प्रयोग गरेर गर्नुहुन्छ ? कि सिटामोल, सेनेटरी प्याड र माक्स वितरणको कार्यक्रममा अतिथि बनेर त्यहि माक्सले असक्षमता र आवश्यकता छोप्नु हुन्छ ?
महेन्द्र रत्न बहुमुखी क्याम्पस, इलामको हिजो पहिचान र माहोल फर्काएर स्तरउन्नति गर्दै इलामलाइ शैक्षिक हवको रुपमा विकास गर्न क्याम्पस भित्रको लाजनीति मासेर शैक्षिक गतिविधिले क्याम्पस सजाउन सम्बन्धित संस्था, व्यक्ति र विद्यार्थीलाई सचेत र सहयोग गर्न कस्तो योजना बनाउनु भएको छ ? कि आफ्नो अनुकुलका विद्यार्थी नेता, प्राध्यापक नेता र कर्मचारी नेताको चलखेल र स्वार्थमा लालमोहर लगाइदिनु हुन्छ ?
लागु औषध प्रयोग, अत्याधिक मादक पदार्थ सेवन, जुवातास, पारिवारिक विचलन, आत्महत्या जस्ता सामाजिक विकृतिको अन्धकारमा ग्रसित र विचलित व्यक्ति र समुदायको सुधार गर्न कस्तो अभियान र सचेतना कार्यक्रमहरु सन्चालन गर्न सक्नुहुन्छ ? कि व्यक्तिगत इच्छा हो वा कार्यक्षेत्र पर्दैन भनेर तर्किनु हुन्छ ?
हवाई सेवालाई स्थानीय आवश्यकता अनुसार नियमित, मितव्ययी र सुरक्षित तरिकाले सन्चालन गर्न साथै एयरपोर्टको स्तर उन्नति र संरक्षणको लागी संसद रुपमा कस्तो खाका लिएर प्रस्तुत हुने योजना छ ? कि राजनैतिक र आर्थिक दाउपेच तथा जुगाँको लडाईं लड्ने मैदान मात्र सम्झनु हुन्छ ?
अपार सम्भावना बोकेको इलामको पर्यटन क्षेत्रको विकास, विस्तार, प्रचारप्रसार र संरक्षणको लागी कस्तो भिजन र कार्ययोजना लिएर आउनु भएको छ ? कि चिया बगान, वनजंगल, सार्वजनिक सम्पत्ति तथा जग्गाहरु अतिक्रमण गर्ने, भौतिक विकासको नाममा व्यापारीलाई सुम्पने निकाय र सरकारी सम्पदा एवंम् सम्पत्तिको दोहन गर्नेहरु माथि मौन बसेर प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग नै गर्नुहुन्छ ?
मुख्य प्रतिस्पर्धी देखिएका हालका चार जना उम्ममेद्वारमा कस्को पल्ला भारी होला त ? यसको परिणाम भने २०८१ बैशाख १५ पछिको निर्वाचनले मात्रै प्रस्ट पार्ने छ । त्यस अघि जस्ले जे पानी जोखाना र भ्रमका खेती गरेता पनि हरेक नागरिक पक्कै सचेत छन् ।
मतदाताको जवाफ आजभोली यस्तो छ ,’हामी आफ्नो विवेक प्रयोग गर्न सक्ने स्तरमा छौं , हामीलाई अब भेडाबाख्र नसम्झिए हुन्छ । यति भन्नसम्म हिम्मत बोकेका इलामे जनता यस पटक पक्कै पनि आफ्नो भाग्य रेखा कोर्न विकेक तिखारेका होलान् ।
जय साधुवाद,
सबैको हित होस्,सक्षमको जीत होस् ।।
दयाराम निरौला
इनपा -२,सुम्बेक (हाल : द.कोरिया)