‘सेहोनाम्लाङ महोत्सव’ फुटबल खेलको उपाधी माङसेबुङ -२ र पीवाईसीलाई

  नयाँ बुलन्द
42 Shares

घुर्बिसे पञ्चमीः सेहोनाम्लाङ महोत्सव अन्तर्गत आयोजित फुटबल प्रतियोगितामा महिलातर्फ फाक्तेप युथ क्लब(पीवाईसी) र पुरुषतर्फ माङ्सेबुङ -२ ले प्रथम स्थान हाँसिल गरेको छ । महिलातर्फको फाइनल खेलमा फाक्तेप युथ क्लबले लभिजम स्पोर्टिङ क्लब फिदिमलाई १-० गोल अन्तरले हराउँदै जीत हाँसिल पार्यो

भने, पुरुषतर्फ माङ्सेबुङ-२ ले हाङ पृथीसिं एफसीलाई २-० गोल अन्तरले पराजित गरेको हो । घुर्विसे पञ्चमीको खेलमैदानमा भएको महिलातर्फको फाइनल खेलमा फाक्तेपको तर्फबाट स्मारिका चेम्जोङले निर्णायक गोल गरेकी थिइन् । खेलको प्लेयर अफ द म्याच पनि स्मारिका चेम्जोङ नै घोषित भएकी थिइन् । उनी सेमिफाइनल खेलमा पनि प्लेयर अफ द म्याच बन्न सफल भएकी थिइन् । पुरुषतर्फको फाइनल खेलमा रोनिश राई र किरण मगरले एक-एक गोल गरेका थिए । खेलको प्लेयर अफ द म्याच रोनिश राई घोषित भएका थिए । महिलातर्फ फाक्तेप युथ क्लबकी झुमा पोर्तेल सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।

माङ्सेबुङ-२ का रोनिश राई सर्वोत्कृष्ट डिफेन्डर र भक्त चेम्जोङ सर्वोत्कृष्ट गोलकिपर घोषित भएका छन् । सेहोनाम्लाङ सांस्कृतिक पर्यटन महोत्सवअन्तर्गत खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ सात टिम सहभागी थिए । पुरुषतर्फको विजेता टिमले एकलाख नगद पुरस्कार प्राप्त गरेको छ भने महिलातर्फको विजेता टिमले पचास हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

युथ क्लबकै पूर्णिमा राईले प्रतियोगितामा पाँच गोल गरी सर्वाधिक गोलकर्ता बनिन् । यसैगरी, रेखा मगर सर्वोत्कृष्ट डिफेन्डर तथा मोनिका कुमाल सर्वोत्कृष्ट गोलकिपर घोषित भए । सेमिफाइनलमा दुई गोल र फाइनलमा निर्णायक गोलसहित दुवै खेलमा प्लेयर अफ द म्याच बन्न सफल फाक्तेपकी चौध वर्षीया खेलाडी स्मारिका चेम्जोङलाई उदीयमान खेलाडीको विशेष पुरस्कार प्रदान गरिएको थियो । पुरुषतर्फ माङ्सेबुङ-२ का किरण मगर सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । ब्राइटस्टार एफसी याम्बापुङका दिल लिम्बूले प्रतियोगितामा पाँच गोल गरी सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन् ।

यसैबीच, घुर्बिसे पञ्चमी कवर्डहलमा ब्याडमिन्टन प्रतियोगिता पनि सम्पन्न भएको छ । तीन लेभलको खेलमा सबै पुरुष डबल खेलाडी रहेका थिए । जम्मा ८८ टिमले इन्ट्री गरेका मध्ये ८५ टिमले खेलमा सहभागिता जनाएका थिए ।  ए लेभलमा आठ टिमले इन्ट्री गरेता पनि सात टिमको खेल भएको थियो । उक्त खेलमा शसत्र प्रहरीबल मोरङका भोजराज गुरङ र लाक्पा शेर्पा प्रथम बने । बी लेभलमा २१ टिमले इन्ट्री गरेका थिए । जसमध्ये  २० टिम बीचको खेल भएको थियो । उक्त खेलमा पाँचथर फिदिमका दर्पण केरुङ र जय नेम्वाङले प्रथम स्थान हात पारे भने, सी लेभलमा ५९ टिम इन्ट्री मध्ये ५८ टिमको खेलमा तुम्वेवा गाउँपालिका पाँचथरका रमेश दाहाल र गोविन्द लावती पहिलो बने । खेल शुरु भएको दिन १२ टिम,दोस्रो दिन २४ ,तेस्रो दिन २६ र अन्तिम दिन तीन टिमलाई खेल खेलाइएको जनाइएको छ । यस क्षेत्रमा भएको ब्याडमिन्टन खेलमा हालसम्म सबैभन्दा बढी टिम सहभागी रहेको आयोजकले जानकारी दिए ।

चैत्र २६ गतेदेखि घुर्बिसे पञ्चमीमा संचालित सेहोनाम्लाङ औद्योगिक तथा सांस्कृतिक पर्यटन महोत्सव अन्तर्गत आयोजित फुटबल र ब्याडमिन्टन खेल महोत्सवको सातौ दिन आइतवार सम्पन्न भएको हो । समापन कार्यक्रमका प्रमुख अतिथि  नेपाली कांग्रेस केन्द्रिय समिति सह-महामन्त्री भीष्मराज आङ्देम्बेसहित अन्य अतिथि र आयोजक समितिद्वारा विजयी टिम तथा खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार