डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ पवित्रहाङमा कपको फाइनलमा

  राम योङहाङ
441 Shares

इलाम : डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत इलामको धार्मिक क्षेत्र माङसेबुङमा जारी १४ औं संस्करणको पवित्रहाङ्ममा कप महिला फुटबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ ।

आज आइतबार प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा माङसेङ गाउँपालिका इलामलाई २-१ गोल अन्तरमा रोक्दै मानेभञ्ज्याङ उपाधिनजिक पुगेको हो ।

पहिलो हाफमा २ गोलले पछि परेको माङसेबुङ दोस्रो हाफमा खेलमा फर्कन कोसिस गरेपनि पर्याप्त हुन सकेन । पहिलो हाफमा अग्रता बनाएर मनोबल उच्च बनाएको मानेभञ्जाङका लागि सुरुवाती अग्रता नै जितका लागि पर्याप्त बन्यो ।

खेलको ११ औं मिनेमा पेमा डुक्पाले गोल गरी टिमलाई अग्रता दिलाइन् । इन्जुरी समयमा कुसुम क्षेत्रले अग्रता दोब्बर बनाइन् । दोस्रो हाफमा माङसेबुङले पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गोल अन्तर घटाउन सफल बन्यो ।

खेलको उत्कृष्ठ खेलाडी विजेता मानेभञ्ज्याङकी पेमा डुक्पा घोषित हुँदै नगद पुरस्कार प्राप्त गरिन् ।

मानेभञ्ज्याङले उपाधिका लागि दिपेन्द्रशिखर फुटबल क्लब इलाम र कनकाई नगरपालिका झापाबीच सोमबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

विजेताले नगद तीन लाख एक सय ६८ र उपविजेताले नगद दुई लाख एक सय ६८ रुपैँया पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही नगद पुरस्कार पाउनेछन् ।

किरात धर्मगुरुआमा साँवा पवित्रहाङ्मा लिङदेनको ६८ ‍औं जन्मोत्सवको अवसरमा सञ्चालित प्रतियोगितामा नेपाल, भुटान र भारतका ८ वटा महिला टोलिको सहभागितामा थियो ।

पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिता पूर्वी पहाडको सर्वाधिक पुरस्कार राशी भएको महिला फुटबल प्रतियोगिता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार