जिल्लास्तीय राष्ट्रपति रनिङ शिल्ड शनिबारदेखि, तयारी तीव्र

१४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीबारे जनकारी गराउन सोमबार इलाममा आयोजित पत्रकार सम्मेलन ।

इलाम : इलाममा १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन १२ गते (शनिबार) देखि हुँदैछ । जिल्लाको माङसेबुङ गाउँपालिका-२ स्थित डोलटार खेलमैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सोमबार इलाममा पत्रकार सम्मेलन गरी जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगिताका लागि खेलमैदान मर्तम, मञ्च व्यवस्थापन, होटल व्यवस्थापन, खानेपानी व्यवस्थापन, प्रचारप्रसारलगायतका सबै तयारी तीव्र पारिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले बताए ।

‘राष्ट्रपति रनिङ शिल्ड विद्यालयमा खेलाडी उत्पादन गर्ने प्रतियोगता हो । आज उत्पादन भएका खेलाडी नै भोली देशको खेल क्षेत्रको भविष्य हो’ अध्यक्ष बाँस्तोलाले भने ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्लाको मात्र नभएर समग्र देशको खेलकुदको भविष्य हो । यसलाई सफल पार्न तयारी तीव्र पारेका छौं ।’

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगितामा खेलाडी र व्यवस्थापन टिमका गरी करिब एक हजार दुई सय जनाको उपस्थिती हुने अनुमान गरिएको अध्यक्ष बाँस्तोलाले बताए । उनीहरुलाई स्थानीय चिसोपानी पञ्चमी बजार र रक्से बजारमा व्यवस्थापन गरिने भएको छ ।

प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत १८ वर्ष ननाघेका विद्यार्थीले सहभागिता जनाउनेछन् । प्रतियोगितामा छात्र र छात्रातर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट सञ्चालन हुनेछन् । एथलेटिक्स अन्तरगत दौड, उफ्रने र फ्याँक्ने तथा मार्सल आर्ट अन्तरगत कराँते (सितेरिया), तेक्वान्दो र उसु खेल सञ्चालन हुनेछन् ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनौट गरेर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराईने अध्यक्ष बाँस्तोलाले बताउनुभयो । प्रतियोगितामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनौट भएका छात्र र छात्रा खेलाडीहरुको सहभागिता रहनेछ ।

प्रतियोगितामा सम्पूर्ण खेलको नतिजा एकीकृत गरी पालिकाहरु विजेता र उपविजेता घोषित हुनेछन् । विजेता टिम एवम खेलाडीले शिल्ड र नगद पुरस्कार तथा उपविजेता टिम एम् खेलाडीले ट्रफी र नगद पुरस्कार पाउनेछन् ।

विगतमा इलाम सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता गत वर्षदेखि सदरमुकाम बाहिर सञ्चालन गर्न थालेको हो । गत वर्ष फाकफोकथुम गाउँपालिकामा प्रतियोगिता सञ्चालन भएको थियो । जिल्लास्तरीय खेलकुद प्रतियोगितालाई विकेन्द्रीकरण गर्ने लक्षसाथ सदरमुकामबाहिर लैजाने निर्णय गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाँस्तोलाले बताउनुभयो । प्रतियोगिता प्रत्येक वर्ष फरक-फरक पालिकामा सञ्चालन गर्ने सहमति भएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार