इलाम : इलामको माइजोगमाई गाउँपालिकामा सम्पन्न वडास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि वडा नं. ३ नामसालिङले जितेको छ ।
स्थानीय अमर कल्याण माध्यमिक विद्यालयको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा वडा नं ५ सोयाङलाई टाइब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै नामसालिङले उपाधि जितेको हो ।
निर्धारित समयको खेलमा दुवै टिमबाट गोलरिहत बराबरी भएपछि टाइब्रेकरमा विजेता निर्धारण गर्नुपरेको थियो ।
उपाधिसँगै नामसालिङले नगद १५ हजार र उपविजेता सोयाङले नगद १० हजारसहित ट्रफी र मेडल पाएको छ ।
माईजोगमाई खेलकुद विकास परिषदको आयोजनामा भएको प्रतियोगितामा माईजोगमाईका ६ वटा वडाका महिला टिमको सहभागिता रहेको थियो ।
माईजोगमाई खेलकुद विकास परिषदका अध्यक्ष देवेन्द्र पौडेलको अध्यक्षता र माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष डुरन देवान, वडा नं. ५ का वडाध्यक्ष निर्मलध्वज राईलगायतको उपस्थिति थियो ।
माईजोगमाईमा रहेका फुटबल खेलाडीहरूको खेल प्रतिभालाई बाहिर ल्याउनको लागि माईजोगमाई खेलकुद विकास परिषदले विभिन्न खेलहरूको आयोजना गर्दै आईरहेको छ ।