इलाम : कनकाई नगरपालिका झापा इलामको धार्मिक क्षेत्र माङसेबुङमा जारी १४ औं संस्करणको पवित्रहाङ्ममा कप महिला फुटबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ ।
आज सोमबार प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको अन्तिम सेमिफाइनल खेलमा दिपेन्द्रशिखर फुटबल क्लब इलाम विरुद्ध १-० गोलको कठिन जित निकाल्दै कनकाई नगरपालिका उपाधिनजिक पुगेको हो ।
खेलको १२ औं मिनेटमा नै कनकाईकी ममता राउतले गरेको गोल नै फाइनल प्रवेशका लागि निर्णायक बनेको थियो । दुवै टिमबाट राष्ट्रिय टिमका खेलाडीहरुको उपस्थितिले प्रतिष्पर्धा निकै रोचक बनेको थियो । सुरुवातमै अग्रता लिएको कनकाईलाई रक्षात्मक खेल फाइनल प्रवेशका लागि पर्याप्त बन्यो । इलामले भने अन्तिम समयसम्म गोल फर्काउन कोसिस गरेपनि सफल हुन नसकेपछि सेमिफाइनलबाटै बाहिरिन बाध्य भयो ।
खेलको उत्कृष्ट खेलाडी विजेता कनकाईकी ममता राउत घोषित हुँदै नगद पुरस्कार प्राप्त गरिन् ।
कनकाईले उपाधिका लागि २ फागुनमा हुने फाइनलमा डिफेन्डिङ च्याम्पियन मानेभ्ज्याङ फुटबल क्लब दार्जिलिङको सामाना गर्नुपर्नेछ । मानेभञ्ज्याङ आइतबार भएको पहिलो सेमिफाइनलमा माङसेबुङ गाउँपालिकालाई २-१ गोल अन्तरमा पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ ।
विजेताले नगद तीन लाख एक सय ६८ र उपविजेताले नगद दुई लाख एक सय ६८ रुपैँया पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही नगद पुरस्कार पाउनेछन् ।
किरात धर्मगुरुआमा साँवा पवित्रहाङ्मा लिङदेनको ६८ औं जन्मोत्सवको अवसरमा सञ्चालित प्रतियोगितामा नेपाल, भुटान र भारतका ८ वटा महिला टोलिको सहभागितामा थियो ।
खेलको भिडियो यहाँ छ, क्लिक गर्नुहोस् :