जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माङसेबुङमा सुरु (तस्बिरहरु)

इलामको माङसेबुङ गाउँपालिका-२ स्थित डोलटार खेलमैदानमा शनिबार सुरु भएको १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट तियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई ।

इलाम : १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आज (शनिबार) सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति इलामको आयोजना र माङसेबुङ गाउँपालिकाको व्यवस्थापनमा माङसेबुङ गाउँपालिका-२ स्थित डोलटारमा सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले गरेका छन् । विद्यालयस्तरबाट नै खेलाडीहरुको उत्पादन गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले बताए ।

सोमबारसम्म सञ्चालन प्रतियोगितामा पालिकास्तरका प्रतियोगिताबाट छनौट भएका १० वटै पालिकाबाट एक हजार दुई सय जना खेलाडीहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नारायण भट्टराईले बताए । उनीहरुलाई स्थानीय चिसोपानी पञ्चमी बजार र रक्से बजारका २४ बढी होटल र होमस्टेहरुमा राखिएकको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए ।

प्रतियोगिताको पहिलो दिन आज दौडतर्फ छात्र र छात्रा दुवैको एक सय मिटर दौड र १५ सय मिटर एवम् आज छात्र र छात्रा दुवैको सटफुटको फाइनल खेल सम्पन्न भएका छन् । एक सय मिटर दौडमा छात्रतर्फ इलाम नगरपालिकाका विकास लिम्बू पहिलो, सूर्योदय नगरपालिकाका सुजल प्रधान दोस्रो र देउमाई नगरपालिकाका निरोज लिम्बूले तेस्रो स्थान हासिल गरेका छन् । छात्रातर्फ फाकफोकथुम गाउँपालिकाकी स्मिता रोक्का पहिलो, माई नगरपालिकाकी सृजना थापा दोस्रो र इलाम नगरपालिकाकी मलिका बाँस्तोलाले तेस्रो स्थान हासिल गरेकी छन् ।

 

त्यस्तै, १५ सय मिटर दौडमा छात्रतर्फ इलाम नगरपालिकाका कुशल देवान पहिलो, फाकफोकथुम गाउँपालिकाका करुण राई दोस्रो र सन्दकपुर गाउँपालिकाका सुगम दियालीले तेस्रो स्थान हासिल गरेका छन् । छात्रातर्फ माईजोगमाई गाउँपालिकाकी सनिता राई, फाकफोकथुम गाउँपालिकाकी इन्द्रमाया निरौला दोस्रो र माई नगरपालिकाकी अनिसा शंकरले तेस्रो स्थान हासिल गरेकी छद्द् ।

सटफुटमा छात्रतर्फ माङसेबुङ गाउँपालिकाका निश्चल राई पहिलो, इलाम नगरपालिकाका सनम राई दोस्रो र माईजोगमाई गाउँपालिकाका माहाङ लिम्बूले तेस्रो स्थान हासिल गरेका छन् । छात्रातर्फ इलाम नगरपालिकाकी सुस्मिता लुँइटेल पहिलो, सूर्योदयकी उमा लाप्चा दोस्रो र रोङ गाउँपालिकाकी मेलिना राईले तेस्रो स्थान हासिल गरेकी छन् ।

कातामा छात्रतर्फ इलाम नगरपालिकाका आर्यन सुनुवार पहिलो, रोङ गाउँपालिकाका प्रतिक बस्नेत दोस्रो एवम् देउमाई नगरपालिकाका सलश्रीत राई र माङसेबुङ गाउँपालिकाका सायोन राईले तेस्रो स्थान हासिल गरे । छात्रातर्फ रोङ गाउँपालिकाकी प्रकृति राई पहिलो, माङसेबुङ गाउँपालिकाकी एन्जीला राई दोस्रो एवम् सूर्योदय नगरपालिकाकी सृजना तामाङ र चुलाचुली गाउँपालिकाकी सलिना राईले तेस्रो स्थान हासिल गरिन् ।

भलिबल, एथलेटिक्स र मार्सल आर्टमा अन्य खेलहरु आइतबार र सोमबार हुनेछ । एथलेटिक्स अन्तरगत दौड, उफ्रने र फ्याँक्ने तथा मार्सल आर्ट अन्तरगत कराँते, तेक्वान्दो र उसु खेल सञ्चालन हुनेछन् ।

प्रतियोगितामा सम्पूर्ण खेलको नतिजा एकीकृत गरी पालिकाहरु विजेता र उपविजेता घोषित हुनेछन् । विजेता टिम एवम खेलाडीले राष्ट्रपति रनिङ शिल्ड र नगद पुरस्कार तथा उपविजेता टिम एवम् खेलाडीले ट्रफी र नगद पुरस्कार पाउनेछन् । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराईने अध्यक्ष बाँस्तोलाले बताए ।

प्रतियोगिता सदरमुकाम बाहिर, उपस्थिति उत्साहजनक

कुनैबेला विद्यालस्तरमा निकै चर्चित थियो वीरेन्द्र शिल्ड प्रतियोगिता । तत्कालिन राजा वीरेन्द्र शाहको नाममा २०३२ सालदेखि जिल्ला सदरमुकाममा प्रतियोगिता सञ्चालन हुने गर्दथ्यो । जिल्ला शिक्षा कार्यालयले जिल्लाका खेलाडीहरुको क्षमता विकासका लागि भन्दै भलिबल, कबड्डी, एथलेटिक्स र विभिन्न रचनात्मक प्रतियोगिता सञ्चालन गर्ने गरेतापनि माओवादी जनयुद्ध र राजा वीरेन्द्रको हत्यापछि रोकियो ।

गणतन्त्र प्राप्तिपछि २०६६ सालदेखि सोही प्रतियोगिताको नाम परिवर्तन गरेर राष्ट्रपति रनिङ शिल्डको नाममा आयोजना हुन थाल्यो । तर प्रतियोगिता राजाको पाला झैं सबै जिल्ला सदरमुकाममा मात्र सीमित थियो ।

जिल्ला खेलकुद विकास समिति इलामले गत वर्षदेखि भने जिल्लास्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता कोशी प्रदेशमा पहिलो पटक सदरमुकाम बाहिर आयोजना गर्‍यो । सदरमुकामबाहिर प्रतियगिता आयोजना गरेको भन्दै प्रदेश सरकारबाट समेत पुरस्कृत भयो । सधैं इलाम सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता गत वर्षदेखि सदरमुकाम बाहिर सञ्चालन गर्न थालेको हो ।

यस वर्ष माङसेबुङ गाउँपालिकामा आयोजना गरेको हो । ग्रामीण क्षेत्रमा आयोजना गरेको प्रतियोगितामा सबै पालिकाबाट उत्साहजनक उपस्थिति रहेको वक्ताहरुले बताए । उनीहरुले सदरमुकाममा आयोजना हुने गरेको प्रतियोगिता ग्रामीण क्षेत्रका दुरदराजका मैदानमा आयोजना गर्दा समेत उत्साहजनक उपस्थिति भएको बताउँदै अन्य पालिकाहरुमा समेत प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड लिए ।

कार्यक्रममा जिसस प्रमुख राईसहित पूर्व प्रदेशसभा सदस्य एवम् नेकपा माओवादी केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमन, माई नगरपालिका प्रमुख खम्बासिंह लिम्बू, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईश, माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ, नेकपा एमालेका उपसचिव रविन्द्र सुवेदीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाँस्तोलाको अध्यक्षतामा भएको  थियो । उनले जिल्ला स्तरीय खेलकुद प्रतियोगितालाई विकेन्द्रीकरण गर्ने लक्ष्यसाथ सदरमुकामबाहिर सुरु गरिएको प्रतियोगिताले थप हौसला दिएको बताए  । आउँदो साल माई नगरपालिकामा प्रतियोगिता आयोजना गरिने उनले बताए ।

जिसस प्रमुख राई र माङसेबुङ गाउँपालिका अध्यक्ष राईलाई सम्मान

यसैबीच सोही कार्यक्रमको अवसरमा जिल्ला खेलकुद विकास समिति इलामले जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई र माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईलाई सम्मान गरेको छ ।

१४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न सबै पालिकासँग समन्वय गरेर महत्वपूर्ण सहयोग गरेको भन्दै जिसस प्रमुख राईलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष बाँस्तोलाले बताए ।

उता माङसेबुङ गाउँपालिका अध्यक्ष राईले समते  १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न गाउँपालिकाको तर्फबाट व्यवस्थापन गरेर सहयो गरेको भन्दै सम्मान गरिएको बाँस्तोलाले जानकारी दिए । अध्यक्ष राइलाई पनि दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको अध्यक्ष बाँस्तोलाले जानकारी दिए ।

कार्यक्रममा विभिन्न पालिकाबाट उपस्थित खेलाडीहरुको समूहले मार्चपास गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार