राष्ट्रपति रनिङ शिल्डको उपाधि इलाम नगरपालिकालाई

इलाम : १४ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत इलाममा सञ्चालित जिल्लास्तरीय छनौट प्रतियोगिताको उपाधि इलाम नगरपालिकाले जितेको छ ।

सोमबार माङसेबुङ गाउँपालिका-२ स्थित डोलटारमा सम्पन्न प्रतियोगितामा इलाम नगरपालिकाले २५ स्वर्ण, १८ रजत र १८ कास्य पदकसहित उपाधि हात पारेको हो । इलाम नगरपालिका गत वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत सञ्चालित जिल्लास्तरीय छनौट प्रतियोगिताको समेत विजेता पालिका हो ।

जिल्लाको चार नगरपालिका र छ गाउँपालिकाका विद्यालयमा अध्ययनरत छात्रछात्रा सहभागी प्रतियोगितामा १२ स्वर्ण, १२ रजत र सात कास्य पदकसहित रोङ गाउँपालिका दोस्रो, ११ स्वर्ण, २० रजत र २६ कास्य पदकसहित सूर्योदय नगरपालिका तेस्रो भएका छन् ।

सात स्वर्ण, छ रजत तीन कास्य पदकसहित फाकफोकथुम गाउँपालिका चौथो, चार स्वर्ण, पाँच रजत र नौ कास्य पदकसहित चुलाचुली गाउँपालिका पाँचौ, तीन स्वर्ण, दुई रजत र तीन कास्य पदकसहित माईजोगमाई गाउँपालिका छैठौं र तीन स्वर्ण, एक रजत र तीन कास्य पदकसहित माङसेबुङ गाउँपालिका सातौं भएको भएको छ ।

त्यस्तै, दुई स्वर्ण, एक रजत र १४ कास्य पदकसहित माई नगरपालिका आठौं, एक रजत र दुई कास्य पदकसहित देउमाई नगरपालिका नवौं तथा एक रजत र एक कास्य पदकसहित सन्दकपुर गाउँपालिका दशौं भएका छन् ।

प्रतियोगितामा स्वर्ण पदक विजेता इलाम नगरपालिकाले नगद रु १५ हजारसहित राष्ट्रपति रनिङ शिल्ड प्राप्त गरेको छ । रजत पदक विजेता रोङ गाउँपालिकाले रु १२ हजार र कास्य पदक विजेता सूर्योदय नगरपालिकाले नगद रु १० हजारसहित ट्रफि प्राप्त गरेको भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए ।

विजेता र उपविजेता टिम तथा खेलाडीहरुलाई प्रमुख अतिथि फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालसहित माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले पुरस्कार प्रदान गरेका थिए ।

जिल्ला खेलकुद विकास समिति इलामको आयोजना र माङसेबुङ गाउँपालिकाको व्यवस्थापनमा भएको प्रतियोगिता अन्तरगत एथलेटिक्सतर्फ २६ स्वर्ण, २६ रजत र २६ कास्य, भलिबलतर्फ दुई स्वर्ण र दुई रजत, तेक्वान्दोतर्फ १२ स्वर्ण, १२ रजत र १२ कास्य, कबड्डीतर्फ दुई स्वर्ण, दुई रजत र दुई कास्य, सितोरियो कराँतेतर्फ १२ स्वर्ण, १२ रजत र १२ कास्य, एवम् उसुतर्फ १२ स्वर्ण, १२ रजत र १२ कास्य पदकका लागि प्रतिष्पर्धा भएको थियो ।

सधैं इलाम सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता गत वर्षदेखि सदरमुकाम बाहिर सञ्चालन हुन थालेको हो । गत वर्ष फाकफोकथुम गाउँपालिकामा सञ्चालन भएको प्रतियोगिता यस वर्ष माङसेबुङ गाउँपालिकामा सञ्चालन भएको हो । आउँदो साल माई नगरपालिकामा प्रतियोगिता सञ्चालन हुने गरी झण्डा हस्तान्तरण भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाँस्तोलाले जानकारी दिए । जिल्ला स्तरीय खेलकुद प्रतियोगितालाई विकेन्द्रीकरण गर्ने लक्ष्यसाथ सदरमुकामबाहिर सुरु गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार