इलाम नगरपालिकाले चुम्यो प्रथम अन्तरपालिका उपमेयर महिला फुटलबको उपाधि

इलाममा सदरमुकाममा सञ्चालित प्रथम अन्तरपालिका उपमेयर महिला फुटलब प्रतियोगिताको उपाधि ग्रहण गर्दै विजेता इलाम नगरपालिकाका खेलाडीहरु ।

इलाम  : इलाम सदरमुकाममा सञ्चालित प्रथम अन्तरपालिका उपमेयर महिला फुटलब प्रतियोगिताको उपाधि इलाम नगरपालिकाले चुमेको छ ।

आज (शनिबार) भएको फाइनल खेलमा सूर्योदय नगरपालिकालाई टाइब्रेकरमा ४-२ गोल अन्तरमा पराजित गर्दै इलाम नगरपालिकाले उपाधि चुमेको हो ।

निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि टाइब्रेकरमा विजेता निर्धारण गर्नुपरेको थियो । टाइब्रेकरमा इलाम नगरपालिकाकी जेनिफर राना, केरेन लिम्बू, झुमा पोर्तेल र पूर्णिमा राईले गोल गरिन् । सूर्योदयकी तुलसा बोहोरा र अनिशा राईको प्रहार मात्र गोलमा परिणत भयो । भावना राईको प्रहार इलाम नगरपालिकाकी गोलरक्षक सुशिला चौधरीले बचाउनुभयो भने हिमा रावतको प्रहार फ्रेममा लागेर बाहिरिएको थियो ।

उपाधि जितेको इलाम नगरपालिकाले नगद रु दुई लाखसहित ट्रफी हात पार्यो । उपविजेता बनेको सूर्योदय नगरपालिकाले नगद रु एक लाखमा चित्त बुझायो । फाइनल खेलको उत्कृष्ट खेलाडी उपविजेता सूर्योदयकी प्रतिक्षा राई घोषित भइन् । उनले नगद रु तीन हजार प्राप्त गरिन् ।

प्रतियोगिताको उत्कृष्ट गोरक्षक विजेता इलाम नगरपालिकाकी सुशिला चौधरी, उत्कृष्ट डिफेन्डर झुमा पोर्तेल, उत्कृष्ट मिडफिल्डर मनिषा थापा मगर, उत्कृष्ट प्रशिक्षक इलामकै पवन सुवेदी र सर्वाधिक गोलकर्ता इलामकै समिक्षा मगर घोषित भइन् । त्यस्तै, उदयीमान खेलाडी माइजोगमाई गाउँपालिकाकी बन्दना बेघा र उत्कृष्ट खेलाडी सूर्योदय नगरपालिकाकी हिमा राईत घोषित हुँदै नगद रु तीन हजार र ट्रफी पाइन् ।

माईभ्याली फुटबल क्लब इलामको आयोजनामा फागुन १० गतेदेखि सञ्चालित प्रतियोगितामा इलामका १० पालिकाका महिला टिमको सहभागिता रहेको थियो ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार