राई के हो भन्ने बारेमा विद्धान तथा लेखकहरुको भनाई

  निनाम कुलुङ 'मंगले'
70 Shares

त्यसो त राई के हो ? भन्ने सम्बन्धमा जनकलाल शर्माले किरातहरुका बारेमा ‘हाम्रो समाज एक अध्ययन’ नामक किताबको पाना नम्बर–३१८ मा ‘नौ लाख किराँत’ उपशीर्षकमा यसरी उल्लेख गरेका छन् ‘–हड्सन महोदयका अनुसार किराँतीहरुको प्रमुख शाखालाई ‘खम्बु’ भनिन्छ । यिनीहरुको बसोवास भएको प्रदेशलाई कुनै समय ‘नौ लाख किराँत’ पनि भनिन्थ्यो । यस्तो नामाकरण गर्ने कारणमा हड्सन महोदय भन्छन्– “यस प्रदेशमा कुनै समय घरैपिच्छे दुई आनाका दरले कर लगाईन्थ्यो र त्यो करको संख्या नौ हजार आना पुग्दथ्यो । यसैलाई बढाएर त्यहाँका मानिसले यसलाई गाउँको संख्यामा ल्याए ।” यसको उल्लेख प्mिलट महोदयले पनि गरेका छन् । तर, विचारणीय प्रश्न के छ भने त्यस प्रदेशमा दुई आनाका दरले घरपिच्छे कर लगाइँदैनथ्यो । बरु यो कर प्रतिपरिवार दश पैसाका दरले लगाइन्थ्यो र त्यस्तो करलाई ‘मेगचन’ भनिन्थ्यो । मेगचन ‘मेगजिन’को अपभ्रंश रुप हुन सक्दछ । संभवतः यो कर गोरखालीहरुको त्यस प्रदेशमा प्रवेश भएपछि गोलीगठ्ठाका लागि युद्धका समयमा लगाइएको कर थियो । गोलीगठ्ठालाई मेगजिन भनिन्छ भन्ने कुरा यहाँ व्याख्या गर्ने आवश्यक छैन । यो कर युद्धको समयमा लगाईएको भए तापनि विक्रम संवत् २००७ सालसम्म कायमै रह्यो, कारण जेसुकै होस् उनीहरुको प्रदेशलाई ‘नौ लाख किराँत’ भनिन्थ्यो त्यसमा कुनै सन्देह छैन । हुन सक्तछ त्यहाँका बासिन्दाको विश्वासअनुसार समस्त किराँतजातिको सङ्ख्या नौ लाख अनुमान गरिएको हवस् । ंयस अवस्थामा त्यस प्रदेशको नाम नौ लाख किराँत सार्थक पनि हुन आउँछ ।’

त्यस्तै समाजशास्त्री डोरबहादुर विष्टले लेखेको ‘सबै जातको फुलबारी’ नामक किताबको पाना पाँचमा ‘–राई भन्ने खास गरी कुनै जातिको नाम भने होइन । यो त गाउँका ठालू वा मुखिया जनाउने शब्द मात्र हो । माझ किरातमा धेरैजसो राईहरु आपूmलाई जिमी वा जिमीन्दार भन्नेगर्छन, तापनि राई शब्द बढी प्रचलनमा आउँदैछ । सुरुमा बाहुनलाई पण्डित, नेवारलाई साहूजी, राणा र ठकुरीलाई बाबुसाहेब, अरु छेत्रीलाई काजी, लिम्बु र थकालीलाई सुब्बा, तामाङ र हिमालीलाई लामा, मधेसका थारुलाई चौधरी, दमाईलाई नगर्ची, सार्कीलाई मिजार, कामीलाई सुनार आदिले सम्मानपूर्वक सम्बोधन गरेजस्तै मात्र थियो ।’ भनी लेखेका छन् । त्यस्तै पाना ९ मा ‘यहाँको सबै जग्गा केहीअघिसम्म राईको किपट थियो । यहाँका किपटिया राईबाहेक अरु ठाउँबाट बस्न आएका राई हुन् वा अरु जोसुकै जातका हुन्, तिनलाई रैती भन्ने चलन थियो । किपटिया राईहरुले जग्गाको नापअनुसर तिरो नतिरी सबैले बराबरी घरधुरीको तिरो तिर्ने चलन थियो । जसले गर्दा थोरै जग्गा हुने किपटियालाई मर्का परेको थियो । त्यसैले धेरैजसो राईहरु किपट खारेज गराउन खुसी थिए ।’ भनी लेखेका छन् ।

त्यस्तै चाल्र्स म्याकडग्लसले पनि ‘द कुलङे राई’ नामक किताबको ठाउँठाउँमा ‘–… राई … द चिफ एन्ड हेडमेन एप्पोइन्टेड वेर/वेएर गिभन द टाईटल अफ ‘राई !’ (चिफ), ह्विच इभेन्च्युअल्ली केम टु बी एप्लाइड टु द एथ्निक ग्रुप ऐज अ होल । …’, ‘द राई … किपट ओनर/ओवनर…’, इन दोज डेज राई मेन्ट/मिन्ट चिफ एन्ड वाज नट डायग्नोस्टिक अफ ग्रुप मेम्बरशीप …, भनी लेखेका छन ।

त्यस्तै हड्सन, गाइएन्जेल, शिवकुमार श्रेष्ठ, डिल्लीराम दाहाल, धरणीधर दाहाल, भवानी बराल, कमल तिगेला, इन्द्र कुलुङ, सिएम खम्बु, भूपध्वज थोमरोस, भगीराज इङनाम, वीर नेम्बाङ, कन्दङवा, अर्जुनबाबु माबोहाङ लगायत दर्जनौं स्वदेशी तथा विदेशी इतिहासकार, खोजअनुसन्धानकर्ता, लेखक, विद्धानहरुले पनि राई नेपालको कुनै पनि जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि पूर्वमा रहेका किरातीहरु र उनीहरुको भूगोल समेत फुटाएर स्थानीय स्तरमा शासन गर्न केन्द्रका शासकहरुले दिएको पदवी वा पगरी मात्रै हो भनी लेखेका छन् ।

हुन पनि त्यो वेला (नेपालको भगौलिक एकीकरण अघि) सम्म एकै रहेका वल्लो किरातका सुनुवारहरुलाई मुखिया, माझ किरातका कुलुङ, बान्तावा लगायालाई राई र पल्लो किरात (लिम्बुवान) का लिम्बु र लाप्चालाई सुब्बा पदवी वा भनौं पगरी दिईयो । पछि आएर त यस्तो राई, सुब्बा र मुखिया पदवी वा भनौं पगरी अरु जात वा जातिका मान्छेहरुलाई पनि दिन थालियो । यसको प्रमुख कारणमा स्थानीयस्तरमा जति धेरै राई, सुब्बा र मुखिया पदवी वा भनौं पगरी सिर्जना गर्यो धेरै धेरै केन्द्रको सरकारले कर उठाउन पाउँथ्यो । स्मरणीय छ, यस्तो राई, सुब्बा र मुखिया पदवी वा भनौं पगरी पाएकाहरुले पञ्चखत बाहेकका सबै खाले भैmझगडा, जारी, बाटोघाटो, साँध, सिमाना आदिबारे परेको कानुनी समस्याहरु मिलाउँथे । त्यस्तै जग्गाको कर (भूमि कर/मालपोत), खर्चरी, बन, जंगल, काठ, दाउरा, ठेकी, बेठी, बेठ–बेगार, सिकार, महकुर, पाहाकुर, सिर्तो, बिलो, झारा, दौडाहा टोली (सरकारी निरिक्षक) आउँदा चाहिने ढाक्रे (भरिया) आदि पनि राई, सुब्बा र मुखियाहरुले नै आआप्mनो गाउँ वा क्षेत्रमा पर्ने सिमासम्म पुर्याउने व्यवस्था गर्नु पथ्र्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार