नेपाली मनको आवाज

  नयाँ बुलन्द  128 पटक हेरिएको

देश दुख्छ अाँगन दुख्छ , सीमा झनै दुख्छ।
कोपिला मै आशा पनि , नफक्रदै सुक्छ ।।
कति बसौं मौन बनि , केहि त बोलौ हुन्छ ।
सबै सामु मनको बह , खोलौ खोलौ हुन्छ।।
आउला भनि भन्दाभन्दै , त्यो दिन कहिले आउला ।
बलि चढ्ने सपुतले , न्याय कहिले पाउला ।।
देशकै निम्ति मरेको ऊ , हाम्लाई हँसाउन ।
अग्रगामी विकासको , थिति बसाउन ।।
रगत बग्यो धेरै हाम्रो , पसिना नि बग्यो।
कर्मशील हात हाम्रो , समुद्रपारले लग्यो।।
रित्तो लाग्छ देश आज , राजनीतिको खानी।
तिम्लाई उता पठाएर , लुट्छ्न जानाजानी ।।
शासन फेर्‍याैँ शासक फेर्‍याैँ, सोच फेरिएन।
दोष मात्र हेर्दाहेर्दै , देश हेरिएन ।।
आउने आए जाने गए , माखो मार्दै मार्दै ।
माकुरीका दुईचार वटा , जालो झार्दै झार्दै।।
भरोसाका खम्बा पनि , कम्जोर हुँदै गए ।
आफ्नै लाग्नेहरु पनि , टाढाका झै भए।।
बाचा दिए हरेकले , देश बनाउने ।
तिनै भए आजभोलि , ह्वास्स गनाउने ।।
झिलिमिली हुन्छ भने , नयाँ नेपाल हाम्रो ।
मख्ख पार्दै हुस्स पार्ने , यै बानी न राम्रो ।।
आशा कति राख्यौं हाम्ले , आश्वासनको भारी।
कस्तो बिऊ रोपिएछ , भ्रष्टाचारको घारी ।
हामी पनि उस्तै नै छौ , झोला बोकि दिन्छौं ।
देशै बेच्ने कुरामा नि , ताली ठोकि दिन्छौं ।।
राम्रो हाम्लाई चाहिदैन , हाम्रो भए पुग्छ ।
उता पेट ह्वात्त फुल्छ , यता आन्द्रा सुक्छ ।।
पढिलेखी जान्ने भई , छोडिहिड्ने देश।
देश डुब्छ आऊ अब , नबस बिदेश ।।
तिम्रो श्रमको पसिनाले , उसको देश बन्छ।
चाहिन्जेलको प्यारो तिमी ,कुन्दिन निस्की भन्छ।।
आऊ साथी फर्की आऊ , सुन यहीँ फल्छ।
बाल्न जाने मुस्कानको , दियो पनि बल्छ ।।
परिवर्तन गर्नु पर्छ , सोचौं मिलिजुली ।
बाधा होइनन् विकासका, पहाड हिमचुली।।
बलवान् छ्न हात हाम्रा , बाझो फोर्न सक्छ्न।
आफ्नै बलमा भविष्य र , भाग्य कोर्न सक्छ्न।।
फल्न सक्छ्न झुल्न सक्छ्न , अनगिन्ती बाली।
बाँझो फुटे बन्जर पनि , हुन्छ हरियाली ।।
यति सुन्दर देश हाम्रो , जलश्रोतको धनी ।
चिनिएको युगाैंदेखि , उर्भर भूमि भनी ।।
नजानेरै नचिनेरै हामी पछि पर्‍यौं ।
जोड(+)गर्ने हिसाबलाई ,भाग(÷)हाम्ले गर्‍यौं ।।
 पूर्ण ढुङ्गेल ( बिर्तामोड )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार