
झापा : कवि रोशन यक्सोको कविता कृति सम्झनाको चुमोलुङ्माबारे शनिबार झापाको दमकमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
किरात मुन्धुम प्रतिष्ठानको आयोजना र फरक आयामको सह–आयोजनामा सम्पन्न परिचर्चा कार्यक्रममा कवि द्वय अभागी थेगुबा र देशु वनेमले कृतिमा समावेश कविताका बारे बोलेका थिए ।
चोमु शेर्पा खुशीले सहजीकरण गरेको कार्यक्रममा बोल्दै वनेमले भने –‘छोटा कविता पनि गहकिला, लामा कविता पनि अल्छी नलाग्ने किसिमका छन् । बन्धनमुक्त आकासमा उडेको अनुभूति हुने कविता ।’ कवितामार्फत कविले पहिचानको ब्यापक खोजी गरेको अर्का वक्ता थेगुवाको भनाइ थियो । ‘उहाँ पहिचान बारे स्पष्ट हुनुहुन्छ र कविता सिर्जनाको केन्द्रविन्दुमा पहिचानको खोजी रहेको छ’, थेगुवाको जिकिर थियो ।
परिचर्चाका बीच यक्सोको कृतिबाट क्रमशः ददि अज्ञात, चन्द्र सम्बाहाम्फे, रिता पोख्रेल, तिलक राई, अबि चेम्जोङ र सञ्जय राईले कविता वाचन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष एवम् प्रज्ञ मुनाराज शेर्माको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि रहेकी प्राज्ञ सुमित्रा वाङ्देल चेलीले कविको कृतित्वबारे चर्चा गर्दै पुस्तकबाटै कविता वाचन गरेकी थिइन् ।
विवश बलिभद्र कोइरालाले सञ्चालन गरेको औपचारिक कार्यक्रमका बीच स्रष्टा धनकुटे कान्छा र दिल भूटानीले शुभकामना दिएका थिए भने साङ्सेन पन्धाकले स्वागत गरेका थिए ।






















































