भाइटिकाको दिन दोकानडाँडामा ‘दुतीया बजार बृहत् सांस्कृतिक कार्यक्रम’

  युद्धबहादुर बोहोरा
182 Shares

 

इलाम : भाइटीकाको दिन फाकफोकथुम गाउँपालिका–७, दोकानडाँडामा यस वर्ष पनि परम्परागत रूपमा लाग्ने दुतीया बजारमा विशेष सांगीतिक र सांस्कृतिक रौनकका साथ मनाइने भएको छ।
कार्तिक ६ गते (भाइटीकाको दिन) एकतप्पा दुतीया बजार ककफेवा तङ्नाम बजार व्यवस्थापन समिति , दुतीया बजार व्यवस्थापन उपसमितिको आयोजनामा हुने यो ‘बृहत् सांस्कृतिक कार्यक्रम’ पारिवारिक माया, सांस्कृतिक गर्व र सामूहिक एकताको उत्सवका रूपमा मनाइने आयोजक समितिले जानकारी दिएको छ। कार्यक्रममा लोकप्रिय राष्ट्रिय तथा स्थानीय कलाकारहरूका प्रस्तुति रहनेछन्। गायक तथा संगीतकार पुष्प राई, विजय मुकारुङ, दिनेश योङ्हाङ, चर्चित गायिका भगवती खाती, नृत्य निर्देशक रोमित कर्माचार्य, रोसित कर्माचार्य साथै प्रनिशा श्रेष्ठ र सलिना अधिकारीको विशेष प्रस्तुति रहने आयोजक समितिका सचिव प्रकाश परियार जानकारी दिएका छन्।

यसै अवसरमा नृत्य र गायन प्रतियोगिता समेत आयोजना गरिनेछ। नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थानका विजेतालाई र गायन प्रतियोगितामा प्रथम र द्वितीय स्थानका विजेतालाई आकर्षक पुरस्कार प्रदान गरिने बताइएको छ। कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न तयारी तीव्र गतिमा अघि बढाइएको छ। “दिपावलीको खुशीसँगै भाइबहिनीको आत्मीयता, संगीत र संस्कृतिको रौनक सँगै मनाऔं, भाइटिकाको दिन दोकानडाँडामा भेटौं,” आयोजक समितिले सबैमा आह्वान गरेको छ। कार्यक्रमले स्थानीय संस्कृति, परम्परा र समुदायबीचको एकता सुदृढ गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

कार्यक्रम आयोजना गर्न फाकफोकथुम–७ वडा कार्यालय, एकतप्पा, इलामले सहयोग गरेको छ भने अन्य दाताहरुबाट पनि आर्थिक सहयोग हुने क्रम जारी रहेको आयोजक समिति अध्यक्ष पञ्चबहादुर योङ्हाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार