विष्णु माझी : जसको गीतविना आउँदैन तीज !

काठमाडौँ । वर्षभरि सांगीतिक हिसाबले प्राय: गुमनाम । व्यक्तिगत जीवन त त्यसै गुमनाम झैं छ उनको । जसै तीज आउँछ, अनि उनको गुमनाम सांगीतिक जीवनले चर्चाको शिखर चुम्छ । नि:सन्देह प्राय: तीजमा मात्रै झुल्किने र लोकसंगीतको पारो चढाउने गायिका हुन् विष्णु माझी ।

विष्णु माझी र तीज एकअर्काका पर्याय झैं बनेका छन् । तीजका लागि भनेर अरु लोकप्रिय गायक-गायिकाका गीतहरु एकपछि अर्को आइरहेका छन् । तर पनि विष्णु माझीका गीत नआएसम्म तीज आए झैं लाग्दैन भन्छन् श्रोता ।

हरेक तीजमा विष्णुको एक गीत सार्वजनिक हुन्छ । अनि त्यसले एकखालको हंगामा नै मच्चाउँछ । गत वर्ष आयो ‘आइनँ आमा’, जसले त्यसबेला आएका सयौं तीज गीतलाई छायामा पारिदियो । यो गीतलाई युट्युबमा हालसम्म २ करोड ४० लाख भन्दा बढी पटक हेरिएको छ । अघिल्ला वर्षहरुमा ‘चरी जेलैमा’ जस्ता गीतले संगीतप्रेमी लठ्ठ बनाए ।

Shivam Cement

आखिर किन खोजिन्छ तीजमा विष्णु माझी ?

सर्जक शिव हमाल विष्णुको स्वरको ‘अलौकिक’ जादु नै खोजिनुको मुख्य कारण रहेको बताउँछन् ।

‘उहाँको जस्तो अलौकिक स्वर न हिजो थियो, न भोलि हुनेछ,’ हमाल भन्छन्, ‘एक युगमा एकचोटि एउटा व्यक्तिले पाउने स्वर र कला उहाँमा छ । मौलिकता, मिठास र पीडा बोल्न सक्ने क्षमता नै उहाँको स्वरको ठुलो शक्ति हो ।’

गायिका लक्ष्मी न्यौपाने मीठो स्वरकै कारण विष्णु सबैको मनमा बस्न सफल भएको बताउँछिन् । ‘उहाँको आवाजले सबैको मनमुटु छुन्छ । त्यसैले नै उहाँ रोजाइमा पर्नुहुन्छ,’ गायिका न्यौपाने भन्छिन्, ‘त्यति मीठो आवाज छ, जुन कल्पना गर्न सकिन्न ।’

bishnu Majhi1 majhi

लोकगायक पुरुषोत्तम न्यौपाने विष्णु आवाजले सांगीतिक तिर्खा मेटाउने बताउँछन् । ‘स्वर एकदमै राम्रो हो । तिर्खा मेटाउने खालको छ,’ उनी भन्छन् । विष्णु माझीको स्वरमा मिठास त छ नै, पीडा व्यक्त गर्न सक्ने क्षमता पनि उत्तिकै छ ।

गायकीको यति चर्चा हुँदा विष्णुको व्यक्तिगत जीवन भने रहस्यमयी लाग्छ । उनी न कुनै सार्वजनिक स्थानमा भेटिन्छिन्, न कुनै कार्यक्रममा देखिन्छिन् । मिडियामा अन्तर्वार्ता त परको कुरा सामाजिक सञ्जालमा पनि कतै देखिन्नन् । बस्, वर्षमा एक गीत दिन्छिन्, सांगीतिक तिर्खा मेटाइदिन्छिन् र हराउँछिन् । यसैकारण उनको व्यक्तिगत जीवन सांगीतिक जीवन भन्दा बढी चर्चाको विषय बनिरहेको छ ।

गायिका देवी घर्ती मगर रहस्यमयी ढंगले बस्ने भएकाले पनि उनको खोजी बढी भएको हुनसक्ने बताउँछिन् । ‘विष्णु माझीलाई लुकेको भएर खोजेको होला नि,’ गायिका घर्ती भन्छिन्, ‘जताततै नभेटिने, कार्यक्रममा नआउने, गीत पनि हतपत नल्याउने, मान्छेले सम्पर्क गर्दा नि नभेट्नेलाई खोजी त गरिन्छ नै ।’

देवीको विचारसँग सहमत जनाउँछन् पुरुषोत्तम न्यौपाने । उनी विष्णुलाई दुर्लभ गायिका मान्छन् ।

‘पछिल्लो समय स्टेजहरूमा उहाँ देखिन्नुहुन्न । पहिला आफूले नचाहेरै होला, पछि अब चाहेर पनि फेरि आयोजकले पनि अब नआउनेलाई किन बल गरिरहने भन्ने पनि भायो होला,’ गायक न्यौपाने भन्छन्, ‘मिडियाहरूले पनि भेट्न नपाउने, बोल्न नपाउने भनेपछि खोजी त गर्छन् नै ।’ दुर्लभताले नै उहाँको नयाँ गीत आउँदा एक प्रकारको उत्सव जस्तै हुने उनी बताउँछन् ।

हिजोआज तीज गीतले आफ्नो मौलिकता बिर्सिंदै गएको भन्दै आलोचना पनि हुने गरेको छ । तीजका गीत भड्किला र छाडा भएको भन्दै सेन्सरको माग समेत उठ्ने गरेको छ ।

यस्तोमा विष्णुका गीतमा भने तीजको वास्तविक मर्म, महिलाका पीडा र मौलिकता हुन्छ । यसले पनि उनी तीजमा बढी सम्मानित गायिका बनेकी छिन् ।

‘पछिल्लो समय भड्किला, चड्किला गीतहरू आइरहेको बेला महिलाको पीडा, व्यथा समेटेर मन छुने गीत विष्णु माझीकै हुन्छ । त्यो नै सबैको रोजाइमा पर्छ,’ गायिका लक्ष्मी न्यौपाने भन्छिन् ।

विष्णुका गीत मार्मिक त छन् नै, नाच्न मिल्ने खालमा पनि छन् । जसले तीजलाई अरु खास बनाउँछ ।

गायिका तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगर विष्णुले समाजले खोजेको जस्तो भाका र शब्दमा गीत ल्याउने भएकाले बहुप्रतीक्षित हुने बताउँछिन्  ।

‘उहाँको गीतमा मिठासपन हुन्छ, संस्कारको कुरा हुन्छ । वर्षमा एउटा गीत मात्र निकाल्नुहुन्छ, त्यसमा पनि लगानी राम्रो गरेर अडियो र भिडियो निकाल्नुहुन्छ,’ थापा भन्छिन्, ‘त्यसले गर्दा पनि दर्शक-श्रोताले खोज्छन् ।’

विष्णुसँगै उनका श्रीमान् सुन्दरमणि अधिकारीको पनि चर्चा हुन्छ । विष्णुका सबै गीतमा सुन्दरमणिकै शब्द तथा संगीत हुन्छ ।

‘सुन्दरमणिको सिर्जना र विष्णु माझीको आवाजको संयोजनले नै हरेक वर्ष अब्बल प्रस्तुति सम्भव भएको हो,’ गायक शिव माझी भन्छन् ।

विष्णु माझी तीजको एक ब्रान्ड बनिसकेकी छिन् । उनको गीत नआउँदासम्म तीज अपुरो लाग्ने बानी भइसक्यो श्रोता-दर्शकमा । सबैलाई गीतसँगै चासो हुने कुरा छ- आखिर व्यक्तिगत जीवन चाहिँ किन गुमनाम छ विष्णु माझीको ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार