वरभञ्ज्याङ र पाटीगाउँ फाइनल प्रवेश

  नयाँ बुलन्द
126 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित वरभञ्ज्याङमा जारी टोल विकास संस्थास्तरीय फुटबल प्रतियोगितामा वरभञ्ज्याङ टोल विकास संस्था र पाटीगाउँ टोल विकास संस्था फाइनल प्रवेश गरेका छन् ।

आइतबार भएको पहिलो खेलमा घोर्लेभिर टोल विकास संस्थालाई टाइब्रेकरमा पराजित गर्दैं वरभञ्ज्याङले फाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा दुवै टिमबाट बराबरी गोल भएपछि टाइब्रेकरको आधारमा विजेता निर्धारण गरिएको थियो ।

दोस्रो खेलमा गजुरमुखी धाम टोल विकास संस्थालाई ४-१ गोल अन्तरमा पराजित गर्दै पाटीगाउँ टोल विकास संस्थाले फाइनलको यात्रा तय गरेको हो ।

उपाधिका लागि वरभञ्ज्याङ र पाटीगाउँबीच सोमबार हुने फाइनलमा प्रतिष्पर्धा हुने आयोजक समिति सचिव लोकेन्द्र लिम्बू (बाजहाङ) ले जानकारी दिए । प्रतियोगिताका विजेता टिमले ३० हजार बराबरको खसी र उपविजेताले २० हजार बराबरको खसी पाउनेछन् ।

फाइनलको अवसरमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण खेल र महिलाहरुको समेत खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा १३ वटा टोल विकास संस्थाका १६ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिता वरभञ्ज्याङ आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको छ ।

माङसेबुङ गाउँपालिका-१ नं. वडा सिलिङतर्फको खेलकुद शिर्षकमा विनियोजित एक लाख ५० हजार बजेटबाट आयोजक समिति गठन गरी प्रतियोगिता सञ्चालन गरिएको वडा सचिव हिमाल खनालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार