
इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित वरभञ्ज्याङमा टोल विकास संस्थास्तरीय फुटबल प्रतियोगिता शुक्रबार सुरु भएको छ ।
वरभञ्ज्याङ आधारभूत विद्यालयको खेलमैदान सुरु भएको प्रतियोगिता अन्तरगत पहिलो दिन चारवटा टिम विजेता हुँदै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
पहिलो खेलका लागि लामिडाँडा टोल विकास संस्था ‘सी’ निर्धारित समयमा उपस्थित नभएपछि वरभञ्ज्याङ टोल विकास संस्था ‘सी’ स्वता विजेता घोषित भयो ।
दोस्रो खेलमा टाइब्रेकरमा फिँजारा टोल विकास संस्थालाई पराजित गर्दै नावालुङ टोल विकास संस्था विजयी बनेको छ । निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि टाइब्रेकरमा विजेता निर्धारण गर्नुपरेको थियो ।
तेस्रो खेलमा समावेशी टोल विकास संस्थालाई २-० गोल अन्तरमा पराजित गर्दै पाटीगाउँ टोल विकास संस्था विजयी बनेको छ ।
चौथो खेलका लागि निर्धारित समयमा आशिष टोल विकास संस्था उपस्थित नभएपछि योङहाङ टोल विकास संस्था स्वत विजेता घोषित भएको थियो ।
प्रतियोगिता अन्तर्गत शनिबार पनि चार खेल हुनेछन् । पहिलो खेलमा घोर्लेभिर टोल विकास संस्था र नमुना टोल विकास संस्था, दोस्रो खेलमा ढुङ्गेडाँडा टोल विकास संस्था र गजुरमुखीधाम टोल विकास संस्थाबीच खेल हुनेछ ।
त्यस्तै तेस्रो खेलमा वरभञ्ज्याङ टोल विकास संस्था ‘बी’ र पाटीगाउँ टोल विकास संस्था ‘बी’ एवम् चौथो खेलमा वरभञ्ज्याङ टोल विकास संस्था ‘ए’ र सिम्लेटार टोल विकास संस्थाबीच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा १३ वटा टोल विकास संस्थाका १६ वटा टिमको सहभागिता रहेको आयोजक समित अध्यक्ष रेवत श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका विजेता टिमले ३० हजार बराबरको खसी र उपविजेताले २० हजार बराबरको खसी पाउनेछन् ।
प्रतियोगिताको फाइनल जेठ २५ गते हुनेछ ।
माङसेबुङ गाउँपालिका-१ नं. वडा सिलिङतर्फ खेलकुद शिर्षकमा विनियोजित एक लाख ५० हजार बजेटबाट आयोजक समिति गठन गरी प्रतियोगिता सञ्चालन गरिएको वडा सचिव हिमाल खनालले जानकारी दिए ।
आयोजक समिति अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष भूपाल योङहाङले गरेका थिए ।



















































