
इलाम : इलामको माङसेबुङ गाउँपालिका-३ स्थित चतुरेमा सञ्चालित ‘चतुरे बजार कृषि तथा पर्यटन महोत्सव प्रथम खुला नकआउट फुटबल प्रतियोगिता’ को उपाधि चिबुवा एफसी माङसेबुङ-३ ले हात पारेको छ । मङ्गलबार भएकफ फाइनल खेलमा गोर्खा स्पोर्टिङ क्लब माङसेबुङ-२ लाई २-० गोलको सहज जितमा चिबुवाले उपाधि जितेको हो ।
उपाधिका लागि चिबुवाका आइन्द्र लिम्बू र सुदर्शन लिम्बूले एक-एक गोल गरेका थिए ।
उपाधिसँगै चिबुवाले नगद ५० हजारसहित ट्रफि र प्रमाणपत्र हात पार्यो । उपविजेता बनेको गोर्खाले नगद ३० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पायो ।
यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी विजेता चसबुवा एफसीका संगीन लिम्बू, उत्कृष्ट गोलकिपर चिबुवा एफसीकै दिपेश धिमाल र सर्वाधिक गोलकर्ता चिबुवा एफसीकै आइन्द्र लिम्बू घोषित भए । उनीहरले ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै उत्कृष्ट डिफेन्डर उपविजेता गोर्खा स्पोर्टिङका निशान लिम्बू र उदयीमान खेलाडी गोर्खा स्पोर्टीङकै सुजन लिम्बू घोषित भए । उनीहरले पनि ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
विजेता र उपविजेता टिम र खेलाडीहरुलाई आयोजक चतुरे बजार कृषि तथा पर्यटन प्रवर्द्धन समिति अध्यक्ष रोशन राई, माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ, माङसेबुङ-३ नं. वडा अध्यक्ष लक्षुमन राई जनम, माङसेबुङ प्रवक्ता सुसन राई, खेल संयोजक प्रविन लिम्बूलगायतले पुरस्कार हस्तान्तरण गरे ।
चैत २४ गतेदेखि सञ्चालित प्रतियोगितामा झापा, इलाम र पाँचथरका १६ टिमको सहभागिता रहेको थियो ।
चतुरे बजार कृषि तथा पर्यटन प्रवर्द्धन समितिको आयोजनामा चतुरे बजार कृषि तथा पर्यटन महोत्सव अन्तर्गत फुटबल प्रतियोगिता सञ्चालन भएको थियो ।
यस्तै मङ्गलबार नै सम्पन्न भेट्रान्स प्रतियोगितामा माङसेबुङ गाउँपालिकालाई पराजित गर्दै मिक्लाजुङ गाउँपालिका विजेता बनेको छ।
उता पत्रकार र जनप्रतिनिधिबीचको मैत्रीपूर्ण खेलमा पत्रकार टोलि विजेता बनेको छ ।




















































