
पाँचथरः कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा सञ्चालन गरिएको दुईदिने निशुल्क बृहत स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ। जेठ १३ र १४ गते सञ्चालन भएको शिविरमा ३ हजार २ सय ३४ जना विभिन्न रोगका बिरामीले निशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा विशेषज्ञ चिकित्सकको परामर्श सेवा प्राप्त गरेका छन्।पूर्वी पृतना हेडक्वार्टरको महा निर्देशन, श्री नं. २१ बाहिनी अड्डाको पहल, विरदल गणको आयोजना, सैनिक अस्पताल इटहरीको संयुक्त सहभागिता तथा कुम्मायक गाउँपालिकाको व्यवस्थापन र कुम्मायक आधारभूत अस्पतालको समन्वयमा शिविर सञ्चालन गरिएको थियो।
कुम्मायक आधारभूत अस्पतालको १५ शैयामा सञ्चालन गरिएको शिविरमा सामान्य चिकित्सक सेवासँगै विशेषज्ञ सेवा पनि प्रदान गरिएको थियो। शिविरमा सर्जरी, बालरोग, स्त्रीरोग, छाला तथा यौन रोग, हाडजोर्नी, नाक,कान,घाँटी, मुटु रोग, सुगर, प्रेसर, क्यान्सर, वाथरोग, युरिक एसिड, आँखासम्बन्धी समस्या, महिनावारी गडबडी, बाँझोपन लगायत विभिन्न रोगको प्रारम्भिक पहिचान गरी उपचार तथा परामर्श प्रदान गरिएको थियो।

सैनिक अस्पताल इटहरीका प्राविधिक महासेनानी अनिलकुमार सिंह डंगोलका अनुसार शिविरबाट १६१ जना बालबालिका, ८९१ जना अधबैँसे, ४२६ जना वृद्धवृद्धा, ९१० जना महिला र ५६८ जना पुरुष लाभान्वित भएका छन्। त्यसैगरी प्याथोलोजी सेवामा १६९ जना, नाक-कान-घाँटी तथा एलर्जी विभागमा १८० जना, दन्त सेवामा १७० जना, छाला रोगतर्फ १७५ जना, आँखा सेवामा ३८० जना, औषधि प्रयोगकर्ता ६२२ जना, हाडजोर्नी सम्बन्धी समस्याका ७९८ जना, सर्जरीतर्फ १३५ जना, मानसिक रोगतर्फ ४५ जना, रेडियोलोजी तथा अल्ट्रासाउन्ड सेवामा १७१ जना, बालरोग विशेषज्ञतर्फ ७४ जना तथा स्त्रीरोग विशेषज्ञतर्फ २५० जना सेवाग्राहीले सेवा लिएको जानकारी डंगोलले दिए।

शिविरमा २० जनाभन्दा बढी दक्ष चिकित्सकको सहभागिता रहेको थियो। माइनर ओटी सेवा, सिस्ट तथा लाइपोमा उपचार, भिडियो एक्स-रे, इसिजी, प्रयोगशाला सेवा, निशुल्क औषधि वितरण तथा स्वास्थ्य परामर्श सेवा समेत उपलब्ध गराइएको थियो। शिविरमा पुरुषभन्दा महिला र अन्य रोगीभन्दा आँखासम्बन्धी समस्या भएका बिरामीको संख्या बढी रहेको तथ्यांकले देखाएको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको शिविरमा नेपाली सेनाले नेपाल रेडक्रस सोसाइटी, यासोक उपशाखा, स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूसँग समन्वय गरी सेवा प्रदान गरेको थियो।

यद्यपि, आवश्यक उपकरणको अभाव र शिविरको समयावधि छोटो भएकाले धेरै दीर्घरोगी बिरामीले अपेक्षित सेवा लिन नसकेको भन्दै केही स्थानीयवासीले गुनासो गरेका छन्। शिविरलाई अझ व्यवस्थित र दीर्घकालीन बनाउनुपर्ने मागसमेत स्थानीयले गरेका छन्।शिविर समापन कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, पाँचथरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, श्री नं. २१ बाहिनीपति झलेन्द्र भट्टराई, विरदल गणका गणपति प्रमुख सेनानी किशोर अधिकारी, कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती, उपाध्यक्ष महेन्द्रबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनाल, स्वास्थ्य शाखा प्रमुख केदार खड्का लगायत जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो। पूर्वी पृतनापति उपरथी गौरवकुमार केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।




















































