
इलाम : इलामको चुलाचुली गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ३.६१ देखि ४ जीपीए हासिल गरेका आठ जना विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
मङ्गलबार गाउँपालिकामा एक कार्यक्रम आयोजना गरी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो । उनीहरुलाई एकएक थान अक्फोर्ड डिक्सनरीसहित दोसल्ला र सम्मानपत्रद्गारा सम्मान गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए । विद्यार्थीहरुको मेहनत, लगनशीलता र अनुशासनको कदर गर्दै सम्मान प्रदान गरिएको अध्यक्ष केरुङले बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष केरुङले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू चुलाचुली गाउँपालिकाको गौरव भएको बताए । उनले सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर क्रमशः सुधार हुँदै गएको उल्लेख गर्दै विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिको साझा प्रयासकै परिणाम राम्रो नतिजा आएको धारणा राखे ।

‘विद्यार्थीहरूको सफलता व्यक्तिगत मात्र होइन, समग्र गाउँपालिकाको सफलता हो,’ अध्यक्ष केरुङले भने, ‘यस्ता प्रतिभावान विद्यार्थीलाई प्रोत्साहन गर्न गाउँपालिका निरन्तर लागिपर्नेछ ।’
प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले विद्यार्थीहरुलाई प्रोत्साहना लागि सम्मान गरिएको बताउँदै उनले आगामी दिनमा समेत अथप मेहनत गर्न सुझाव दिए । 0
कार्यक्रममा गाउँपालिका अध्यक्ष केरुङले सरकार सञ्चालन र योजना निर्माणसँग सम्बन्धित विषयमा विद्यार्थीसँग अभ्याससहित छलफल समेत गरेका छन् ।
चुलाचुली गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालय पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षण, अतिरिक्त क्रियाकलाप तथा विद्यार्थी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यसकै सकारात्मक प्रभाव एसईई २०८२ को नतिजामा पनि देखिएको अभिभावकहरुको भनाइ छ।

एसईई नतिजामा चुलाचुली गाउँपालिका जिल्लामै प्रथम
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा चुलाचुली गाउँपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तहका रूपमा स्थापित भएको छ । विद्यार्थी उत्तीर्ण प्रतिशतका आधारमा चुलाचुली गाउँपालिकाले इलामका १० स्थानीय तहमध्ये पहिलो स्थान हासिल गरेको हो ।
सार्वजनिक गरिएको तथ्यांकअनुसार चुलाचुली गाउँपालिकाभित्र रहेका ९ वटा विद्यालयबाट एसईई परीक्षामा सहभागी विद्यार्थीमध्ये ८१ दशमलव ६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो प्रतिशत जिल्लाका अन्य सबै स्थानीय तहको तुलनामा उच्च रहेको छ ।
शैक्षिक उपलब्धिमा निरन्तर सुधार गर्दै आएको चुलाचुली गाउँपालिकाले यस वर्षको एसईई नतिजामार्फत जिल्लाभर सकारात्मक सन्देश दिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । उनका अनुसार गाउँपालिकाले विद्यालय व्यवस्थापन, शिक्षक परिचालन, विद्यार्थी नियमितता तथा अभिभावकको सक्रिय सहभागितालाई प्राथमिकतामा राख्दै आएको छ ।
एसईई २०८२ को नतिजाअनुसार इलाम नगरपालिका ८० प्रतिशत उत्तीर्ण दरसहित दोस्रो स्थानमा रहेको छ भने देउमाई नगरपालिका ले ७३ दशमलव ३३ प्रतिशत उत्तीर्ण दरसहित तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी माई नगरपालिका मा ६८ दशमलव ५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने सूर्योदय नगरपालिका मा ६२ दशमलव ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । रोङ गाउँपालिका को उत्तीर्ण प्रतिशत ५९ दशमलव ७१ रहेको छ ।
यस्तै फाकफोकथुम गाउँपालिका मा ४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने माइजोगमाई गाउँपालिका मा ४१ दशमलव ७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
तथ्यांकअनुसार सन्दकपुर गाउँपालिका मा ३६ दशमलव ८९ प्रतिशत तथा माङसेबुङ गाउँपालिका मा ३३ दशमलव ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस वर्षको नतिजाले जिल्लाभित्रका स्थानीय तहबीचको शैक्षिक अवस्था र गुणस्तरमा रहेको अन्तरलाई समेत उजागर गरेको छ । शहरी क्षेत्र र ग्रामीण क्षेत्रबीचको शैक्षिक पहुँच, शिक्षक उपलब्धता, भौतिक पूर्वाधार, विद्यार्थीको नियमितता तथा अभिभावकको शैक्षिक चेतनाले नतिजामा प्रभाव पार्ने गरेको देखिएको छ ।
शिक्षा क्षेत्रमा पछिल्लो समय स्थानीय तहहरूले लगानी बढाउँदै लगे पनि केही ग्रामीण पालिकामा अपेक्षाकृत कमजोर नतिजा देखिएकाले अब गुणस्तरीय शिक्षामा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ । विशेषगरी कमजोर नतिजा आएका स्थानीय तहमा विद्यालयको शैक्षिक वातावरण सुधार, शिक्षक व्यवस्थापन, अतिरिक्त कक्षा सञ्चालन तथा विद्यार्थी केन्द्रित कार्यक्रम प्रभावकारी बनाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ ।
चुलाचुली गाउँपालिकाको सफलताले जिल्लाका अन्य स्थानीय तहलाई पनि शैक्षिक सुधारतर्फ प्रेरित गर्नेछ । अघिल्लो वर्ष पनि चुलाचुली गाउँपालिका जिल्लाकै प्रथम भएको गाउँपालिका अध्यक्ष केरुङले बताए ।



















































