चिताएको पूरा हुने देवस्थल ‘गजुरमुखी धाम’

  बालकृष्ण बस्‍नेत
35 Shares

माङसेबुङ : चिताइएको पुग्ने देवस्थलको रुपमा इलामको माङसेबुङ गाउँपालिका–१ स्थित गजुरमुखी धाम परिचित छ । बोली नआएकाको बोली आउने र सन्तान नभएकालाई सन्तान प्राप्ति हुने श्विासमा गजुरमुखी धाममा पुग्ने क्रम पुरानै हो । हिन्दु एवम् किरात धर्मावलम्बीहरूका लागि पवित्र धार्मिक स्थल मानिएको जगुरमुखी धाम समुन्द्री सतहबाट ४ सय ८० मटिर उचाइमा अवस्थित छ ।

स्थानीय बाजवीर योङहाङले पत्ता लगाएको भनिएको गजुरमुखीबाट नै गजुरमुखी धाम नामाकरण भएको बताइन्छ । यसको उत्पति करिब २ सय ५० वर्ष अगाडि भएको किवदन्ती छ ।

विशेष गरेर निसन्तानहरु सन्तान माग्न र शिशहरुको बाली नआए बाली फट्ने विश्वासमा श्रद्धालु त्यहाँ पुग्ने गरेका छन् । स्थानीय अग्रजहरुको भनाइअनुसार निसन्तान र कुनै बालकको बोली आउँदैन भने बोली आउने यहाँको प्रमुख विशेषता हो । भाकल बुझाउन बर्सेनि धेरै मानिसहरु यहाँ आउने गदर्छन् । गजुरमुखी धाममा एकपटक मात्रै गएर नहुने मान्यता छ । गजुरमुखीसँग केही माग्न आए पूरा भएपछि पुनः आफूले मागेको कुरा पूरा भएको खबर पुर्या‍‍उन जानुपर्ने मान्यता छ । यही मान्यता अनुसार भक्तजन दुई पटक त्यहाँ पुग्ने गर्दछन् । यहाँ शनिबार र मंगलबार भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ ।

यहाँ प्रत्येक वर्ष कात्तिक पूर्णिमाको अवसरमा ३ दिनसम्म धार्मिक मेला लाग्ने गरेको छ । पवित्र देउमाई खोलाको नजिक रहेको धाम आसपास रेहेको समतल भूभाग र हराभरा वनले पनि त्यहाँ पुग्नेलाई मोहित बनाउने गरेको छ । मन्दिर क्षेत्रमा साधुसन्त बस्ने कुटी, धर्मशाला, खानेपानी धारा, सिँढी एवम् बाटोको राम्रो व्यवस्था भएको छ । धामको शीर डाँडावरिपरि विभिन्न जातका फलफूलका बगैंचा र प्राकृतिक हरियालीले सिँगारिएको यो क्षेत्र आकर्षक र मनोरम छ । इलाम सदरमुकामबाट ४० किलोमटिर दुरीमा यो स्थान रहेको छ । इलाम सदरमुकामबाट मेची राजमार्गको नेपालटार–मंगलबारे हुँदै गजुरमुखी पुग्न सकिन्छ । मंगलबारेसम्म कालोपत्रे र त्यसउताको सडक ग्राभेल गरिएकाले त्यहाँ पुग्न सहज छ । झापाको दमकबाट लारुम्बा, चतुरे हुँदै धाम पुग्न सकिन्छ ।

‘बाजबिरे घण्टी’

गजुरमुखी धाम ऐतिहासिक एवम् धार्मिक स्थल हो । यस स्थलको नजिकै बग्ने देउमाई खोला पश्चिम र फेवा  खोलाको उत्तरमा गजुरमुखी धाम अवस्थित छ । करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको यस धाम परिसरभित्र संसारी माईथान, बाह्र ज्योतिलिङ्ग शिवालय, पाथिभरा जस्ता थुप्रै स्थलहरू पनि रहेका छन् । हरियाली रूख बि?वा, विभिन्न जातका फलफूल, रङ्गीचङ्गी र फूलहरूले छोपेको गजुरमुखी धाम आफैँमा सुन्दरताकी धनी देखिन्छिन् । विभिन्न कालखण्डमा गजुरमुखीलाई अक्करेभिर भन्ने गरेको किंवदन्ती छन् ।

चट्टानमाथिको बडेमानको चट्टान नाङ्गो आखाँले सोझै हेर्न ठूलो साहस चाहिन्छ । सदियौँदेखिका ठूला ठूला रूख चट्टानमाथि अडिनु जो कोहीले यस धामको अदभूत शक्तिको प्रसंशा गर्ने गर्छन् । वि. सं. १८३६ सालमा बाजबिर योङहाङ नाम गरेका पुजारी (धामी) ले अदभूत शक्तिकी देवी गजुरमुखी माता रहेको यस स्थानमा तपस्या गरी उत्पत्ति  भएको त्यहाँस्थित शिलालेखमा उल्लेख छ । तीव्र विकास र बाक्लिँदो पर्यटक आगमनले सम्वृद्धितर्फ उन्मुख यस स्थल पुग्न इलाम सदरमुकामबाट करिब ४० किलोमिटर दुरी पार गरेर इलाम सदरमुकामबाट कच्ची र कालोपत्रे हुँदै पुग्न सकिन्छ ।

निम पूजामा मात्र ‘बाजबिरे घण्टी’

ठूलो बाकसभित्र रङ्गीन कपडाले बेरिएको टलक्क टल्किने घण्टी देखाउँदै ७६ वर्षीय शिवचन्द्र योङहाङ भन्छन्, ‘यो बाजवीरको घण्टी हो ।’ झट्ट हेर्दा टल्किने सुनैको जस्तो देखिने, क्षमता भन्दा बढीको ओजन अनुमान गरिने र अलौकिक किसिमको आवाज दिने बाजवीरे घण्टी बाजवीरका २८औँ पुस्ताले सुरक्षित राखेका छन् । गजुरमुखी धामको उत्पतिकर्ता बाजवीर र उनले ४ महिना भक्तिभाव गरेको ठाउँ गजुरमुखी धाम भएकोले सोही समयमा देवी भावद्वारा पाएको घण्टी हो भन्छन् शिवचन्द्र । तर यो घण्टी ऐतिहासिक हो या होईन भन्ने कुनै सत्यतथ्य भने छैन । नेपाल पुरातात्विक विभागमा घण्टीको जाँच गर्ने तयारी भने भईसकेको परमपरागत बाजवीर सेवा समितिका अध्यक्ष युवराज योङहाङले बताए । वि.स. १८३६ कात्तिक शुक्लपक्ष पूर्णिमा तिथिका दिन विधिवत रूपमा गजुरमुखीको ओडारबाट निस्कँदै गर्दा बाजवीरले साथमा ल्याएको घण्टी भएकाले आजका दिनसम्म पनि कात्तिक शुक्लपक्ष पूर्णिमाका दिन निम पूजाका रूपमा सो बाजवीरे घण्टीको विधिवत रूपमा पुजाआराधना गरिरहेको शिवचन्द्रको भनाइ छ ।

गजितहाङका माइला छोरा फेःजिरी फेदाङ्बा बाजवीर पुर्खा हिलिहाङका २४ औँ पुस्तामा पर्छन्, उनले १८३६ देखि १८६२ सम्म गजुरमुखी धामको पहिलो पुजारी रहेर २६ वर्ष बसी १८६२ मा स्वर्गारोहण भई आफ्ना २५ औँ पुस्ताका छोरा सुरवीर र २६ औँ पुस्ताका नाति हंसधोज हुँदै आउँदा २८ औँ पुस्तामा सहानन्द, जलाहाङ र नालहाङका नाति, पनातिहरूले सुरक्षित रूपा राखी पूजा आराधना गर्दै आईरहेको पुजारी समिति सचिव लिला योङहाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार