माङसेबुङ गाउँपालिकाद्वारा वान्तावा भाषा पाठ्यक्रम निर्माण

माङसेबुङ : आधारभूत तहमा ‘स्थानीय पाठ्यक्रम’ र ‘लिम्बू भाषा पाठ्यक्रम’ कार्यान्वयनमा ल्याएको इलामको माङसेबुङ गाउँपालिकाले ‘वान्तवा भाषा पाठ्यक्रम’ पनि निर्माण गरेको छ ।

माङसेबुङ गाउँपालिका–३ चतुरेस्थित जीवनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक मदनकुमार राईको संयोजकत्वमा गठित पाठ्यक्रम निर्माण कार्यदलले आधारभूत तह (कक्षा १–३) को वान्तावा भाषाको स्थानीय पाठ्यक्रम तयार गरेको माङसेबुङ गाउँपालिका शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले जानकारी दिए । कार्यदल सदस्यमा शिक्षक उदय राई, सकुन्तला राई, अम्बिकाप्रसाद राई, पूर्व शिक्षक गुञ्जकुमार राई र शिक्षा अधिकृत (छैटौँ) युवराज खनाल रहेका थिए

माङसेबुङ गाउँपालिकाले वान्तावा भाषाको स्थानीय पाठ्यक्रमअनुसार चाँडै पुस्तक छपाई गरी पठनपाठनको वातावरण बनाउने शिक्षा शाखा प्रमुख खतिवडाको भनाइ छ ।

यसैबीच सो पाठ्यक्रम यही जेठ १२ गते सार्वजनिक गरिने गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए । माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा कामकाजी घोषणा कार्यक्रमकै अवसरमा वान्तवा भाषा पाठ्यक्रम समेत सार्वजनिक गरिने अध्यक्ष राईले बताए ।

३३ दशमवल ६ प्रतिशत राई जातिको बसोबास रहेको माङसेबुङ गाउँपालिकाले पहिलोपटक वान्तावा भाषाको स्थानीय पाठ्यक्रम निर्माण गरेको हो ।

नेपालको संविधानको भाग ३ धारा ३१ मा शिक्षाको हक अन्तर्गत उपधारा ५ मा प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्न पाउने हकको व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम माङसेबुङले मातृभाषा शिक्षाको लागि वान्तवा भाषाको पाठ्यक्रम निर्माणमा जुटेको गाउँपालिका अध्यक्ष राईको भनाइ छ ।

यसअघि माङसेबुङ गाउँपालिकाले आधारभूत तह (कक्षा १–८) सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो माङसेबुङ’ निर्माण गरी ऐच्छिक विषयका रुपमा सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गर्दै आएको छ

त्यस्तै, आधारभूत तह (कक्षा १–५) सम्म लिम्बू भाषाको पाठ्यक्रम निर्माण गरी चारवटा विद्यालयमा पठनपाठन गर्दै आएको छ । माङसेबुङले लिम्बू जातिको बाहुल्यता रहेको वडा नं. ३ स्थित पवित्रा आधारभूत विद्यालय, वडा नं. ५ स्थित सरस्वती माध्यमिक विद्यालय, साम्जिक मुन्धुम आधारभूत विद्यालय र साम्जिक मुन्धुम पाठशालामा लिम्बू भाषा पाठ्यक्रम पठनपाठन गर्दै आएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले जानकारी दिए ।

माङसेबुङमा सामुदायिकतर्फ माध्यमिक विद्यालय (कक्षा १–१२) तीनवटा, माध्यमिक विद्यालय कक्षा (१–१०) सातवटा, आधारभूत विद्यालय (कक्षा १–८) १६ वटा, र आधारभूत विद्यालय (कक्षा १–५) सम्मका चारवटा विद्यालय छन् । संस्थागततर्फ माध्यमिक विद्यालय कक्षा (१–१०) दुई र आधारभूत विद्यालय (कक्षा १–८) का दुईवटा विद्यालय छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार