
पाँचथरः आदिवासी जनजातिको पहिचान, संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाबारे सचेतना फैलाउने उद्देश्यले फाल्गुनन्द गाउँपालिकामा आदिवासी जनजाति सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आदिवासी जनजातिको मौलिक हक, नेपालको संविधानले व्यवस्था गरेका अधिकार, अन्तर्राष्ट्रिय श्रम संगठन ILO-169), संयुक्त राष्ट्रसंघीय आदिवासी अधिकारसम्बन्धी घोषणापत्र लगायतका विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रमको आयोजना नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान जिल्ला शाखा पाँचथरले गरेको हो भने फाल्गुनन्द गाउँपालिकाले सहयोग गरेको थियो। कार्यक्रममा अधिवक्ता याम योङ्हाङ र राम योङहाङले सहजीकरण गर्दै आदिवासी जनजाति समुदायको अधिकार संरक्षण, भाषा, संस्कार, संस्कृति, भूमि तथा पहिचानका सवालमा विद्यमान कानुनी व्यवस्थाबारे प्रशिक्षण दिएका थिए।दुई दिने कार्यक्रममा गाउँपालिकाका सातै वडाबाट महिला, पुरुष, विद्यार्थी, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले स्थानीय तहमा अधिकारसम्बन्धी जानकारी अझै आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमले समुदायमा सकारात्मक चेतना फैलाउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष शंखध्वज नेम्वाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन याम नेम्वाङले गरेका थिए। उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बे प्रमुख अतिथि तथा ठाकुरसिंह नेम्वाङ विशेष अतिथिका रूपमा सहभागी भई आदिवासी जनजातिको पहिचान र अधिकार संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताएका थिए। समापन कार्यक्रम वडा नं. ५ का अध्यक्ष विष्णु कुमार चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। समापनका क्रममा वडाध्यक्ष चेम्जोङले संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए।
आयोजक नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले विगतदेखि नै सामाजिक जागरण, शिक्षा, सचेतना, मानव अधिकार, आदिवासी जनजाति समुदायको हकहित तथा सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। प्रतिष्ठानले ग्रामीण क्षेत्रमा कानुनी तथा नागरिक चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने पनि जनाएको छ।



















































